एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकले लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्‍याएको छ ।  २०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकले मुलुकभरका विभिन्न शाखाहरूमा ग्राहकहरूको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरू उपलब्ध गराएको छ ।  बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकरूलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्याएको छ ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो ।  युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको हो । नवप्रवर्तनयुक्त सुविधासहित प्रस्तुत गरिएको एनआईएमबी युनियन–पे कार्डमार्फत ग्राहकवर्गहरूले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन् । विश्वभरका लाखौं व्यापारी केन्द्र तथा एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउनेछ । यस कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियान अन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच (५) वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।  सीमित अवधिका लागि उपलब्ध यस आकर्षक अफरमार्फत ग्राहकहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन् । इच्छुक ग्राहकवर्गहरूलाई यस विशेष अवसरको लाभ लिन समयमै आवेदन गर्न बैंकले जानकारी गराएको छ । बैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवं ६० शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।  

शोधनान्तर स्थिति ४ खर्ब रुपैयाँ र चालु खाता साढे ३ खर्बले बचतमा

काठमाडौं । शोधनान्तर स्थिति ४ खर्ब रुपैयाँ भन्दा बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आव २०८२/८३ को ५ महिनामा शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा २ खर्ब  २५ अर्ब ३४ करोड रुपैयाँले शोधनान्तर स्थिति बचतमा थियो ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९८ करोडले बचतमा रहेको छ । यस्तै, समीक्षा अवधिमा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ५८ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५४ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३ अर्ब ५० करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ७ अर्ब ४७ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ६ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।