महालक्ष्मी विकास बैंकले गर्यो स्वास्थ्यदेखि सीप विकाससम्मका विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, दैवी प्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार विकास तथा मानव सेवाजस्ता विविध क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व नीति अनुरूप सञ्चालन गरिएका यी कार्यक्रमहरू समाजको समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यले सम्पन्न गरिएको बैंकले जनाएको छ । सोही क्रममा महालक्ष्मी विकास बैंकले लायन्स क्लब अफ काठमाडौं गुराँससँगको सहकार्यमा ललितपुर महानगरपालिका वडा नम्बर २१ स्थित श्री गन्धकुटी विहार, खोकनामा बृहत् स्वास्थ्य शिविर सञ्चालनका लागि आर्थिक सहयोग गरेको छ । उक्त शिविरमा स्तन क्यान्सर, सर्भिकल क्यान्सर र कोलोन क्यान्सरको पहिचान, मधुमेह तथा थाइराइड परीक्षण, सामान्य स्वास्थ्य जाँच र दन्त परीक्षण सेवा प्रदान गरिएको थियो । त्यसैगरी सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा अव्यवस्थित पार्किङ समस्याको समाधानका लागि ट्राफिक प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौंसँगको सहकार्यमा विभिन्न ट्राफिक संकेतसहितका रोड फर्निचरहरू हस्तान्तरण गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दलित सशक्तिकरण केन्द्र नेपालसँगको सहकार्यमा हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका स्थानीय बासिन्दालाई सिलाई मेसिन वितरण गरिएको छ । परम्परागत व्यवसायिक सीप, पेशा तथा कलाको संरक्षण, आधुनिकीकरण र प्रमाणीकरण गर्दै आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । यसैगरी, रुपन्देहीको सिदार्थनगर नगरपालिका–०९ स्थित श्री भानु माध्यमिक विद्यालयको खेलमैदान निर्माणका लागि बैंकको भैरहवा शाखा कार्यालयमार्फत आर्थिक सहयोग प्रदान गरिएको छ । खेलमैदानमा माटो भर्ने, रोलिङ गर्ने तथा पानी निकासका लागि आवश्यक निर्माण कार्यमा बैंकले सहयोग गरेको हो । बैंकले यस्ता संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू निरन्तर रूपमा अघि बढाउँदै लैजाने र यसबाट समाजको दिगो आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ ।
८ बैंकको घट्दा पनि १३.२६ प्रतिशत बढ्यो बैंकहरूको खराब कर्जा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका एक उच्च व्यवस्थापकले अन्तर्राष्ट्रिय लेखापरीक्षण कम्पनी बङ्गलादेशस्थित हाउल्याडर युनुस एन्ड कम्पनीलाई उद्धृत गर्दै भने, ‘तपाईंहरूको प्रतिवेदन अन्य बैंकको तुलनामा राम्रो आएको छ । पुस मसान्तसम्म हाम्रो खराब कर्जा साढे ४ प्रतिशतको हाराहारीमा छ । हाउल्याडर युनुस एन्ड कम्पनीको रिपोर्टमा पनि बढीमा ५.५ देखि ६ प्रतिशतसम्म मात्र देखिन सक्छ ।’ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको सम्झौता अनुसार हाउल्याडर युनुस एन्ड कम्पनीले नेपालका १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण सम्पन्न गरिसकेको छ, जसमा राष्ट्रिय वाणिज्य बैंक पनि समावेश छ । यद्यपि, चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) ४.३६ प्रतिशत विन्दुमा सीमित रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.०९ प्रतिशत कम हो । गत वर्षको पुस मसान्तमा बैंकको एनपीएल ४.९६ प्रतिशत विन्दु रहेको थियो । बैंकका ती अधिकारीका अनुसार पछिल्लो समय आर्थिक गतिविधिमा आएको शिथिलता तथा जेनजी आन्दोलनको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावले ऋण असुलीमा दबाब सिर्जना गरेको छ । यद्यपि, उनले आगामी दिनमा ऋण असुली क्रमशः सहज हुँदै जाने विश्वास व्यक्त गरे । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूको औसत खराब कर्जा (एनपीएल) ५.०७ प्रतिशत विन्दुमा पुगेको छ । गत वर्षको सोही अवधिमा यो अनुपात ४.४८ प्रतिशत विन्दु थियो । यस आधारमा बैंकिङ प्रणालीको एनपीएल वार्षिक रूपमा १३.२६ प्रतिशतले बढेको देखिन्छ । निजी क्षेत्रको लगानी सुस्त हुनु, उपभोग घट्नु तथा निर्माण र घरजग्गा क्षेत्र पूर्ण रुपमा सञ्चालनमा नआउँदा खराब कर्जा बढेको बैंकरहरु बताउँछन् । समीक्षा अवधिमा सबैभन्दा बढी खराब कर्जा एनआईसी एशिया बैंकको रहेको छ । बैंकको एनपीएल ६२.०३ प्रतिशतले बढेर ७.४७ प्रतिशत विन्दु पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको एनपीएल ४.६१ प्रतिशत विन्दु थियो । यस्तै, हिमालयन बैंकको खराब कर्जा ५९.८३ प्रतिशतले बढेर ७.९६ प्रतिशत विन्दु पुगेको छ । गत वर्षको पुसमा बैंकको एनपीएल ४.९८ प्रतिशत विन्दु थियो । प्रभु बैंकको एनपीएल ५६.९१ प्रतिशतले बढेर ७.९४ प्रतिशत विन्दु पुगेको छ भने सिटिजन्स बैंकको ४१.४४ प्रतिशतले बढेर ६.८६ प्रतिशत विन्दु पुगेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा ३४.८१ प्रतिशतले बढेर ७.९० प्रतिशत विन्दु, प्राइम बैंकको २८.६२ प्रतिशतले बढेर ६.३८ प्रतिशत विन्दु तथा एनएमबि बैंकको १५.१५ प्रतिशतले बढेर ४.५६ प्रतिशत विन्दु पुगेको छ । यसैगरी, सानिमा बैंकको एनपीएल १२.७३ प्रतिशतले बढेर ३.६३ प्रतिशत विन्दु, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.९४ प्रतिशतले बढेर १.८८ प्रतिशत विन्दु, नेपाल बैंकको ७.०१ प्रतिशतले बढेर ५.३४ प्रतिशत विन्दु, एभरेस्ट बैंकको ३.०३ प्रतिशतले बढेर ०.६८ प्रतिशत विन्दु तथा ग्लोबल आईएमई बैंकको १.०२ प्रतिशतले बढेर ४.९१ प्रतिशत विन्दु पुगेको छ । तर, चालु आवको दोस्रो त्रैमासमा ८ वटा बैंकले खराब कर्जा घटाउन सफल भएका छन् । समीक्षा अवधिमा सबैभन्दा बढी सुधार नेपाल एसबीआई बैंकले गरेको देखिन्छ । बैंकको एनपीएल २५.६३ प्रतिशतले घटेर २.६४ प्रतिशत विन्दुमा झरेको छ । गत वर्षको पुसमा बैंकको एनपीएल ३.५५ प्रतिशत विन्दु थियो । यस्तै, सिद्धार्थ बैंकको खराब कर्जा २३.३३ प्रतिशतले घटेर ३.४५ प्रतिशत विन्दु, नबिल बैंकको १३.७९ प्रतिशतले घटेर ४.२५ प्रतिशत विन्दु, कृषि विकास बैंकको ५.१० प्रतिशतले घटेर ४.६५ प्रतिशत विन्दु तथा माछापुच्छ«े बैंकको ४.४९ प्रतिशतले घटेर ४.२५ प्रतिशत विन्दुमा सीमित भएको छ । लक्ष्मी सनराइज बैंकको एनपीएल २.९९ प्रतिशतले घटेर ५.५० प्रतिशत विन्दु तथा कुमारी बैंकको ०.५७ प्रतिशतले घटेर ६.९२ प्रतिशत विन्दुमा झरेको छ ।
नेपालको वित्तीय समावेशीकरण सूचकांक ०.५३ पुग्यो
काठमाडौं । नेपालमा वित्तीय पहुँच, प्रयोग र सेवाको गुणस्तरमा उल्लेख्य सुधार भएके तथ्याङ्कले देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकांक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालको समग्र वित्तीय समावेशीकरण सूचकांक ०.५३ पुगेको छ । अघिल्लो वर्ष यो सूचकांक ०.४७ रहेको थियो । राष्ट्र बैंकका अनुसार सूचकांक मानव विकास सूचकांकको गणना विधिअनुसार ० देखि १ को स्केलमा मापन गरिन्छ, जहाँ उच्च अंकले उच्च वित्तीय समावेशीकरण जनाउँछ । सूचकांक पहुँच, प्रयोग र सेवाको गुणस्तर गरी तीन आयाममा आधारित ५५ वटा सूचक प्रयोग गरेर तयार पारिएको हो । प्रतिवेदनअनुसार पहुँच सूचकांक ०.४७ बाट ०.५३, प्रयोग सूचकांक ०.४९ बाट ०.५४ र गुणस्तर सूचकांक ०.४१ बाट ०.५० पुगेको छ । यसले वित्तीय संस्थाको विस्तार, डिजिटल सेवाको प्रयोग वृद्धि र ग्राहक अनुभवमा सुधार भएको संकेत गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले वित्तीय समावेशीकरणमा आएको सुधारले समावेशी आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै डिजिटल पूर्वाधार सुदृढीकरण र वित्तीय साक्षरता प्रवर्द्धनमा अझै प्रयास आवश्यक रहेको औंल्याएको छ ।