फोनलोन र कुमारी बैंकद्वारा ‘मल्टि डिस्बर्सल’ सुविधा सार्वजनिक
काठमाडौं । फोनलोन र कुमारी बैंक लिमिटेडको सहकार्यमा ‘कुमारी फोनलोन’ अन्तर्गत नयाँ ‘मल्टि डिस्बर्सल’ सुविधा सार्वजनिक गरिएको छ । डिजिटल बैंकिङलाई अझ लचिलो, सहज तथा ग्राहक–केन्द्रित बनाउने उद्देश्यसहित उक्त सेवा सञ्चालनमा ल्याइएको हो । यसअघि एक पटकमा एउटा मात्र कर्जा लिन मिल्ने व्यवस्थाका कारण ग्राहकले स्वीकृत सम्पूर्ण रकम एकैचोटि लिनुपर्ने बाध्यता थियो । थोरै रकम मात्र प्रयोग गर्दा पनि बाँकी सीमा उपयोग गर्न पुरानो कर्जा पूर्ण रूपमा राफसाफ गर्नुपर्ने अवस्था थियो । यही असुविधालाई मध्यनजर गर्दै ‘मल्टि डिस्बर्सल’ सुविधा सुरु गरिएको कम्पनीले जनाएको छ । नयाँ सुविधाअन्तर्गत ग्राहकले आफूलाई स्वीकृत कुल कर्जा सीमाभित्र आवश्यकताअनुसार रकम पटक–पटक निकाल्न सक्नेछन् । बाँकी रकम भविष्यका लागि सुरक्षित रहनेछ भने वास्तविक रूपमा प्रयोग गरिएको रकममा मात्र ब्याज लाग्नेछ । यसले ग्राहकलाई अनावश्यक ब्याजको भारबाट जोगाउने विश्वास गरिएको छ । साथै, कुनै पनि कागजी प्रक्रिया वा बैंक भ्रमण नगरी मोबाइल बैंकिङमार्फत तत्कालै कर्जा लिन सकिने व्यवस्था गरिएको छ । यसमार्फत ग्राहकले घरमै बसेर सहज रूपमा सेवा उपयोग गर्न सक्नेछन् । सेवा सार्वजनिक गर्दै फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले ग्राहकको जीवनशैली र वित्तीय आवश्यकतालाई केन्द्रमा राखेर सेवा विस्तार गर्दै आएको बताए । उनले ‘मल्टि डिस्बर्सल’ सुविधाले प्रयोगकर्तालाई कर्जामाथि नियन्त्रण, पारदर्शिता र सही सदुपयोगको अवसर प्रदान गर्ने उल्लेख गरे । कुमारी बैंकका योग्य ग्राहकहरूले कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत बिना धितो तथा बिना कागजी प्रक्रिया तत्कालै कर्जा प्राप्त गर्न सक्नेछन् । फोनलोनले यस सुविधामार्फत नेपालको डिजिटल कर्जा प्रणालीमा नयाँ आयाम थप्दै ग्राहकको वित्तीय सहजतालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
यस्तो छ शुक्रबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ २८ पैसा र बिक्रीदर १४४ रूपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रूपैयाँ ११ पैसा र बिक्रीदर १७० रूपैयाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रूपैयाँ ३१ पैसा र बिक्रीदर १९७ रूपैयाँ १२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रूपैयाँ ५५ पैसा र बिक्रीदर १८६ रूपैयाँ ३२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०१ रूपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ४३ पैसा र बिक्रीदर १०५ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ २८ पैसा र बिक्रीदर ११३ रूपैयाँ ७५ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ७९ पैसा र बिक्रीदर २० रूपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५५ पैसा र बिक्रीदर चार रूपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २८ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८४ पैसा र बिक्रीदर नौ रूपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ०३ पैसा र बिक्रीदर १६ रूपैयाँ ०९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ७८ पैसा र बिक्रीदर २२ रूपैयाँ ८८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४७ पैसा र बिक्रीदर १८ रूपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रूपैयाँ १२ पैसा र बिक्रीदर ४७४ रूपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३० पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ७८ र बिक्रीदर ३७६ रूपैयाँ ३४ पैसा रहेको छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
लुम्बिनी विकास बैंकद्वारा साहारा फुटबल एकेडेमीलाई २ लाख ५० हजार सहयोग
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले साहारा क्लब पोखराद्वारा सञ्चालित साहारा फुटबल एकेडेमीलाई आर्थिक सहयोग स्वरूप २ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । बैंकले विगत वर्षदेखि गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै पोखरा–१७ दोबिल्ला, कास्कीस्थित एकेडेमीलाई उक्त सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापालाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखा प्रबन्धकहरू, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङलगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यले साहारा एकेडेमीमा आश्रित बालबालिकालाई निरन्तर सहयोग गर्न पाउनु खुशीको विषय भएको बताए । साथै, साहारा क्लबले समाजमा उदाहरणीय तथा प्रशंसनीय कार्य गर्दै आएको भन्दै क्लबका पदाधिकारीहरूको प्रशंसा गरे । सहयोगका लागि आभार व्यक्त गर्दै साहारा क्लबका अध्यक्ष थापाले प्राप्त रकम एकेडेमीमा आश्रित बालकहरूको खाजा तथा खानामा खर्च गरिने जानकारी दिए । हाल एकेडेमीमा १५ जिल्लाका ३० जना कठिन तथा विपन्न परिस्थितिका बालकहरू आश्रित छन् । क्लबले उनीहरूको लालनपालन, शिक्षा तथा फुटबल प्रशिक्षणको व्यवस्था गर्दै आएको छ । साहारा क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गर्दै आएको छ । देशका सातै प्रदेशमा शाखा विस्तार गर्दै आएको लुम्बिनी विकास बैंक लिमिटेडका हाल ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा सञ्चालनमा छन् । 'निरन्तर सहयात्रा' भन्ने नारासहित बैंकले आधुनिक प्रविधियुक्त सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले बचत खातामा उच्च ब्याजदरको विशेष योजना पनि सञ्चालन गर्दै आएको जनाएको छ ।