स्तन र प्रोस्टेट क्यान्सरबारे जनचेतना फैलाउँदै सिटिजन्स बैंक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर र प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । यस पहलको उद्देश्य क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्नु, आम भ्रम हटाउनु, समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे कर्मचारीहरूलाई सचेत बनाउनु रहेको बैंकले जनाएको छ। कार्यक्रम मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव, भारतसँगको सहकार्यमा सञ्चालन गरिएको थियो, जसले यसलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको छ । कार्यक्रम अन्तर्गत माघ १३ गते सबै महिला कर्मचारीका लागि 'स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू' विषयक वेबिनार आयोजना गरिएको थियो । वरिष्ठ निर्देशक स्तन क्यान्सर, डा. कञ्चन कौरले वेबिनार सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा कुल ५१३ जना महिला कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए, जसले वेबिनार अन्तरक्रियात्मक र प्रभावकारी बनाएको बैंकको भनाइ छ । त्यसैगरी, माघ १४ गते ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि 'प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ' विषयक सत्र सञ्चालन गरिएको थियो । वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले उक्त सत्रको सहजीकरण गर्नुभएको थियो । यसमा कुल ५०९ जना कर्मचारीहरूले सहभागिता जनाएका थिए । दुवै वेबिनारले कर्मचारीहरूको स्वास्थ्यप्रति सचेतना बढाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने अपेक्षा बैंकले गरेको छ । बैंकले कर्मचारी, ग्राहक र अन्य सम्बन्धित निकायहरूका लागि आगामी दिनमा पनि यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । साथै, बैंकका कार्डवाहक ग्राहक महानुभावहरूले मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसअघि पनि 'फोनपे क्रेडिट कार्ड' सञ्चालन, नवयुवा लक्षित 'सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट', 'सिटिजन्स डिजी बैंक सेवा' एकीकृत अनलाइन प्लेटफर्म, फ्रिलान्सर सेविङ्ज अकाउन्ट, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी.आर.एन् नम्बर सुविधा, र क्रस बैंक टेलर सुविधा जस्ता नवप्रवर्तनात्मक सेवाहरू सुरु गरिसकेको छ। हाल बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ्ग ईकाइमार्फत १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
विकास बैंकको खुद नाफा साढे ३ अर्ब रुपैयाँ, ३ वटा अझै घाटामा
काठमाडौं । ६ महिनामा विकास बैंकहरूको खुद नाफा साढे ३ अर्ब रुपैयाँ आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा १६ वटा विकास बैंकले ३ अर्ब ४३ करोड ४२ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । यो गत वर्षको तुलनामा ३४.४३ प्रतिशत अर्थात् ८७ करोड ९७ लाख २२ हजार रुपैयाँ बढी हो । गत वर्षको पुसमा विकास बैंकहरूले २ अर्ब ५५ करोड ४५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। समीक्षा अवधिमा मितेरी डेभलपमेन्ट बैंकको नाफा सबैभन्दा धेरै वृद्धि भएको देखिन्छ । चालु आवको पुस मसान्तसम्ममा मितेरी बैंकको १२०.२५ प्रतिशत बढेर ५ करोड ७० लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ करोड ५८ लाख ८१ हजार रुपैयाँ नाफा गरेको थियो । यस अवधिमा सबैभन्दा धेरै नाफा भने मुक्तिनाथ विकास बैंकले गरेको छ । मुक्तिनाथ विकास बैंकको ३३.५७ प्रतिशत बढेर ६७ करोड २० लाख ४० हजार रुपैयाँ नाफा गरेको हो । यो नाफा विकास बैंकहरूमा सबैभन्दा धेरै हो । गत वर्षको पुस मसान्तमा बैंकको नाफा ५० करोड ३१ लाख २२ हजार रुपैयाँ नाफा गरेको थियो । लुम्बिनी विकास बैंकको ९३.३२ प्रतिशत बढेर २८ करोड ५३ लाख ७७ हजार रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ५३.९४ प्रतिशत बढेर ३० करोड २५ लाख ९७ हजार रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको २६.०३ प्रतिशत बढेर १ करोड १० लाख २ हजार रुपैयाँ, ज्योति विकास बैंकको २४.४४ प्रतिशत बढेर ३१ करोड १२ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । कामना सेवा विकास बैंकको २२.३४ प्रतिशत बढेर ३९ करोड ४५ लाख ५० हजार रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २२.१९ प्रतिशत बढेर ४० करोड ४२ लाख ८० हजार रुपैयाँ, कर्पाेरेट डेभलपमेन्ट बैंकको २०.५१ प्रतिशत बढेर १ करोड २९ लाख ४२ हजार रुपैयाँ, गरिमा विकास बैंकको १५.६३ प्रतिशत बढेर ६३ करोड ५१ लाख ३० हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको ६.४१ प्रतिशत बढेर ३० करोड ५९ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा एक्सेल डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा धनात्मक रहेको छ । एक्सेलको ८ करोड ८५ लाख ३६ हजार रुपैयाँ र सप्तकोशीको २ करोड ६८ लाख २० हजार रुपैयाँ नाफा गरेका छन् । गत वर्षको पुसमा एक्सल ९ करोड ५ लाख ३५ हजार रुपैयाँ र सप्तकोशी २ करोड ९९ लाख १७ हजार रुपैयाँ नोक्सानीमा थिए । समीक्षा अवधिमा विभिन्न ३ बैंक नोक्सानीमा रहेका छन् । पुस मसान्तसम्ममा सिन्धु विकास बैंक १ करोड ५४ लाख ६८ हजार रुपैयाँ, सालपा विकास बैंक १ करोड ४ लाख १ हजार रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंक ४ करोड ७३ लाख ४७ हजार रुपैयाँ नोक्सानीमा छन् ।
कृषि विकास बैंकद्वारा त्रिवि व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको व्यवस्थापन केन्द्रीय विभागलाई स्मार्ट डिजिटल बोर्ड सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा तथा दिगो विकास लक्ष्य क्षेत्रमार्फत शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ । यस सहयोगले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल प्रविधियुक्त माध्यमबाट पठनपाठन गर्न सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । स्मार्ट डिजिटल बोर्ड हस्तान्तरण कार्यक्रम बुधबार आयोजित एक कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले व्यवस्थापन केन्द्रीय विभागका प्रमुख प्रा. भवानी शंकर आचार्यलाई डिजिटल बोर्ड हस्तान्तरण गरे । कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक सुवेदीसहित विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्वय ध्रुव पौडेल र अञ्जु दाहाल, वरिष्ठ शाखा अधिकृत गीता नेपाल शर्मा, कीर्तिपुर शाखाका प्रबन्धक नारायणलाल श्रेष्ठ तथा बैंकका पूर्व उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठको उपस्थिति रहेको थियो । त्यसैगरी, व्यवस्थापन केन्द्रीय विभागका तर्फबाट विभाग प्रमुख प्रा. भवानी शंकर आचार्य, प्रा. डा. डिल्ली राज शर्मा लगायतका प्राध्यापकहरू, विश्वविद्यालयका कर्मचारीहरू तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रा. डा. सुनिता भण्डारी घिमिरेले गरेकी थिइन् ।