एनआईसी एशिया बैंकले सार्वजनिक गर्यो लिलाम बिक्रीको अनलाइन पोर्टल
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्री सम्बन्धी विस्तृत विवरण उपलब्ध गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यस पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरुको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचान गर्न सकिने सुविधा उपलब्ध छ । ग्राहकहरूले लिलाम बिक्रीसम्बन्धी प्रकाशित सूचनामा रहेको क्युआर कोड स्क्यान गरेर सो पोर्टलमा प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । ग्राहकले इच्छाएको सम्पत्ति खरिद गर्न थप जानकारी आवश्यक परेमा, सोही पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी सोधपुछ गर्न सकिने व्यवस्था गरिएको छ । एनआईसी एशिया बैंकले सञ्चालनमा ल्याएको अनलाइन पोर्टलमा बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसम्बन्धी जानकारी नियमितरूपमा अद्यावधिक गरिने बताइएको छ । बैंकले यसबाट इच्छुक ग्राहकले सजिलै सम्पूर्ण विवरण बुझ्न र लिलाम बिक्रीमा भाग लिन सक्ने विश्वास व्यक्त गरेको छ ।
चितवनमा मालपोत र नापी कार्यालयलाई बैंकहरुको सामूहिक सहयोग
काठमाडौं । चितवन जिल्लामा रहेको मालपोत कार्यालय र नापी कार्यालय, भरतपुरलाई कार्यालय सञ्चालनका लागि आवश्यक कम्प्युटर, प्रिन्टर, टेबल र कुर्ची बैंकहरुले संयुक्तरुपमा हस्तान्तरण गरेका छन् । आइतबार भएको कार्यक्रममा प्रभुबैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड र सिन्धुविकास बैंक लिमिटेडका प्रतिनिधिहरु, मालपोत कार्यालयका प्रमुख रमेश प्रसाद गौतम र नापी कार्यालयका प्रमुख श्रीधन ढुंगानासहित उपस्थित थिए । प्रभुबैंकका प्रदेश प्रमुख सांग्रिला श्रेष्ठका अनुसार जेनजि आन्दोलनको दौरान सो कार्यालयहरुमा क्षति पुगेको र सेवा प्रभावित भएको थियो । बैंकहरुको यस सामूहिक पहलले कार्यालय सञ्चालनमा सहजता ल्याउने विश्वास व्यक्त गरिएको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा गर्यो १ करोड रुपैयाँ सहयोग
काठमाडौं । आन्दोलनका क्रममा भौतिक संरचनामा पुगेको क्षति पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई चेक हस्तान्तरण गरेका हुन् । बैंकका अनुसार यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत नेपाल सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमार्फत प्रदान गरिएको हो ।