श्रीलङ्काको मन्दीबाट रिकभरी ‘असमान’ र सुस्त : विश्व बैंक
काठमाडौं । विश्व बैंकले मङ्गलबार नगद सङ्कटमा परेको श्रीलङ्काको सबैभन्दा खराब आर्थिक मन्दीबाट पुनःप्राप्ति ‘असमान र अपूर्ण’ रहेको र धेरै घरपरिवारले सन् २०२२ को सङ्कटको समयमा गुमाएको जीविकोपार्जन पुनः प्राप्त गर्न नसकेको बताएको छ । दक्षिण एसियाली यस टापु राष्ट्रको पछिल्लो समीक्षामा विश्व बैंकले सन् २०२५ मा ४.६ प्रतिशत र सन् २०२६ मा ३.५ प्रतिशतमा अर्थतन्त्र वृद्धि हुने अनुमान गरेको छ । यो गत वर्षको ५ प्रतिशतबाट घटेको हो । श्रीलङ्काको अर्थतन्त्रले सन् २०२२ मा सबैभन्दा खराब मन्दीको सामना गरेको थियो । उक्त वर्ष अर्थचतन्त्र ७.३ प्रतिशतले सङ्कुचित भएको थियो । सोही समयमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई महिनौँको सडक विरोधपछि राजीनामा दिन बाध्य पारिएको थियो । 'यद्यपि हालको आर्थिक प्रगति उत्साहजनक छ, रिकभरी असमान र अपूर्ण छ', विश्व बैंकका श्रीलङ्का विश्लेषक डेभिड सिस्लेनले कोलम्बोमा पत्रकारहरूलाई भने । गरिबी दर घटेको भए पनि सन् २०१९ को तुलनामा अझै दोब्बर उच्च रहेको छ । 'श्रम बजार सुधार गर्न ढिलो भएको छ', सिस्लेनले भने, 'दुई करोड २० लाख मानिसमध्ये करिब १० प्रतिशत अझै गरिबीको रेखामुनि बस्छन् ।' खाद्यान्न मूल्य उच्च रहिरहँदा विशेष गरी कमजोर समूहहरूमा कुपोषण गम्भीर समस्या बनेको छ । देशले सन् २०२२ अप्रिलमा ४६ अर्ब डलरको विदेशी ऋण चुकाएको थियो र सन् २०२३ को सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट दुई अर्ब ९० करोड डलरको चार वर्षे बेलआउट प्राप्त गरेको थियो । एक वर्षअघि सत्तामा आएका राष्ट्रपति अनुरा कुमार दिसानायकेको प्रशासनले उनका पूर्ववर्तीले ल्याएका धेरै कठोर उपाय र उच्च करहरू कायम राखेको छ । रासस
तरलता घटाउन ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं । अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले मंगलबार ९० अर्ब निक्षेप खिच्दैछ । नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत तरलता कम गर्न निक्षेप खिच्न लागिएको हो । ब्याजदर अनलाइन बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । मंगलबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८२ कात्तिक २ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । अहिले कुल निक्षेप ७३ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालिन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
ग्राहकहरूलाई खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका अनुसार ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण 'आयकर ऐन २०५८' बमोजिम नेपाल सरकारको स्थायी लेखा नम्बर प्रणालीमा आवश्यक छ । ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको 'प्यान अपडेट' विकल्पमार्फत आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । यसका साथै, ग्राहकहरूले बैंकको कुनै पनि शाखा कार्यालयमा गएर पनि प्यान अद्यावधिकको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बैंकका अनुसार, प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण ईडीटीएसमा सो प्यानमा स्वतः प्रविष्ट हुनेछ, जसले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ । यदि ग्राहकले प्यान अद्यावधिक नगरेका कारण कर विवरण ईडीटीएसमा दाखिला नभएमा, बैंक त्यसको जिम्मेवार हुनेछैन । यसैगरी, पहिले प्यान उपलब्ध गराए पनि करकट्टी विवरण समावेश नभएमा, ग्राहकहरूले नजिकैको शाखा वा ग्राहक सम्पर्क केन्द्र १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।