एटीएमबाट पैसा निकाल्न कडाइ, १ लाख रुपैयाँसम्म घटाइयो सीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम कार्ड (डेबिट कार्ड) बाट हुने कारोबारको सीमा १ लाख रुपैयाँसम्म घटाएको छ । भुक्तानी सम्बन्धी कार्य गर्ने बैंक तथा वित्तीय संस्थालाई प्रतिमहिना ३ लाख रुपैयाँसम्म मात्रै रकम झिक्न मिल्ने व्यवस्था गरेको हो । यसअघि एटीएमबाट प्रतिमहिना ४ लाख रुपैयाँसम्म रकम झिक्न मिल्ने व्यवस्था थियो । तर, पछिल्लो समय डिजिटल कारोबार बढ्दै गएपछि सीमा घटाएको हो । यस्तै, डेबिट कार्डबाट हुने कारोबारको सीमा प्रतिदिन ५० हजार रुपैयाँमा झारेको छ । यसअघि डेबिट कार्डबाट प्रतिदिन १ लाख रुपैयाँसम्म झिक्न पाइने थियो । तर, भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै ५० हजार रुपैयाँले कटौती गरेको हो । यस्तै, प्रतिकारोबार २० हजार रुपैयाँ कारोबार गर्न मिल्ने व्यवस्था गरेको छ । यसअघि प्रतिकारोबार २५ हजार रुपैयाँसम्म कारोबार गर्न मिल्ने व्यवस्था थियो । डिजिटल कारोबार बढाउनका लागि डेबिट कार्डबाट हुने कारोबारको सीमा घटाएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता किरण पण्डित बताउँछन् । ‘डिजिटललाई प्रमोट गर्नका लागि सीमा घटाइएको हो । नगदलाई कम गरौं भन्ने हो । एटीएमको कारोबार पनि घटिरहेको छ । त्यसको नगद व्यवस्थापनको लागत पनि घटाउँदै जानुपर्ने हुन्छ । एटीएमले भुक्तानी गर्दैन, नगद प्रवाह गर्ने हो,’ उनले भने । राष्ट्र बैंकको उक्त व्यवस्थाले डिजिटल कारोबारलाई प्रोत्साहित गरेर नगद कारोबारलाई निरुत्साहित गर्न खोजिएको एक बैंकरले बताए । उनका अनुसार पछिल्लो समय क्यूआर कारोबार निरन्तर बढिरहेको सन्दर्भमा नगद कारोबार घटाउन खोजिएको हो । ‘पछिल्लो समय नगदको आवश्यकता कम रहेको महशुस भइरहेको छ । सानो सानो भुक्तानी पनि क्यूआर मार्फत भइरहेको देखिन्छ । यसले नगद कारोबार घटेको भन्ने बुझिन्छ । यो शीलशीलामा एटीएमबाट नगद झिक्ने सीमा घटाएको हो,’ ती बैंकरले भने । उनका अनुसार राष्ट्र बैंकले एटीएमबाट झिक्ने नगदको सुविधा घटाउँदा बैंकको लागत पनि घट्ने भएकाले फाइदा हुनेछ । ‘एटीएममा नगद व्यवस्थापन गर्नुपर्ने हुन्छ । एटीएममा जुन पायो त्यही नोट हाल्न मिल्दैन, राम्रो नोट हाल्नुपर्ने हुन्छ । त्यो नोटलाई सर्टिङ गर्नु पर्ने मान्छे राख्नु पर्ने हुन्छ । एउटा सर्टिङ गर्नुपर्ने मान्छेले टन्न पैसा लिएको हुन्छ । अब एटीएममा नोट व्यवस्थापन गर्ने मान्छेको खर्च घट्छ,’ ती बैंकरले भने, ‘कहिलेकाहीँ विदाको दिन एटीएममा पैसा राख्नुपर्ने हुन्छ । त्यो दिनको भत्ता दिनुपर्ने हुन्छ । एउटा एटीएममा पैसा राख्न ४ जना मान्छे चाहिन्छ । ४ जना मान्छेलाई भत्ता दिनुपर्ने हुन्छ । गाडीको ड्राइभर, सेक्युरिटिको पनि भत्ता दिनुपर्ने हुन्छ । अब ठूलो लागत घट्छ ।’ डिजिटल कारोबार बढेको हुँदा ग्राहकहरुलाई त्यति असहज नहुने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकको २०८२ साउनसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाका ५ हजार २६४ वटा एटीएम मेसिन सञ्चालनमा रहेका छन् । साथै, बैंकहरुले साउनसम्म १ करोड ३६ लाख ६१ हजार ८२१ वटा एटीएम (डेबिट कार्ड) जारी गरेका छन् । राष्ट्र बैंकका अनुसार २०८२ साउनमा एटीएम कार्डबाट ८५ अर्ब ८३ करोड ४० लाख रुपैयाँ मात्रै कारोबार भएको देखिन्छ । २०८१ साउनमा ९१ अर्ब ९३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेपाल एसबीआई बैंकको 'एफएटीए मूल्यांकनमा मार्गदर्शन – उत्कृष्ट अभ्यासहरू' विषयक गोष्ठी सम्पन्न
काठमाडौं । नेपाल एसबीआई बैंकले 'एफएटीए मूल्यांकनमा मार्गदर्शन उत्कृष्ट अभ्यासहरू' विषयक गोष्ठी सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपालले एफएटीएफ मूल्यांकनको तयारीका क्रममा मनी लन्डरिङ ९एएमएल० र आतंकवादको वित्तीयकरण (सीएफटी) नियन्त्रणका प्रभावकारी उपायहरू तथा संस्थागत समन्वयको महत्त्वमाथि जोड दिइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले एफएटीए मूल्यांकन सन्दर्भमा गोष्ठीको महत्त्वप्रति प्रकाश पारिन् । कार्यक्रममा मनी लन्डरिङ अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर, विभिन्न सरकारी तथा कानून कार्यान्वयन निकायका उच्च अधिकारीहरू, राष्ट्र बैंकका वरिष्ठ अधिकारीहरू, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू र अन्य सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थित थियो । गोष्ठीमा भारतीय स्टेट बैंकका पूर्व कार्यकारी श्री रामकृष्ण सुसेर्लाले सहजीकरण गरेका थिए । कार्यक्रममा नेपाल एसबीआई बैंक लिमिटेडका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, डेपुटी सीईओ तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेशकुमार पाण्डा तथा अन्य वरिष्ठ अधिकारीहरूको पनि उपस्थिति थियो । बैंकले पछिल्ला ३२ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०१ शाखा, २२ विस्तार काउन्टर, ७ प्रादेशिक कार्यालय, २० ब्रान्चलेस बैंकिङ, १२५ एटिएम र एक केन्द्रीय कार्यालयमार्फत सेवा सञ्चालन भइरहेका छन् ।
कामना सेवा विकास बैंकको अध्यक्षमा पुनः आचार्य नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुदिप आचार्य नियुक्त भएका छन् । बैंकको शुक्रबारर सम्पन्न १९ औं वार्षिक साधारणसभा पछि बसेको सञ्चालक समितिको ४०१ औं बैठकले आचार्यलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । आचार्य यसभन्दा अगाडि पनि बैंकको अध्यक्ष थिए । वार्षिक साधारणसभावाट आगामी चार वर्षको लागि संस्थापक समूहअन्तर्गत सुदिप आचार्य, भीमप्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूहअन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी र डा. पवनकुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए ।