ग्राहकहरूलाई प्यान र इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले हालै जारी गरेको सूचनामार्फत ग्राहकहरूले आफ्नो विवरण सही रूपमा अद्यावधिक गर्न अनुरोध गरेको हो । बैंकका अनुसार, ‘प्यान अद्यावधिक’ र ‘इमेल अद्यावधिक’ प्रक्रिया पूरा गर्न ग्राहकहरूले panupdate.nicasiabank.comमा लगइन गरी वा एनआईसी एशिया मोबाइल बैंकिङ अनुप्रयोग (मोबैंक) मार्फत आवश्यक विवरण भर्न सक्नेछन् । यस प्रक्रिया अन्तर्गत पहिले नै विवरण अद्यावधिक गरिसकेकाहरूलाई पुनः दर्ता गर्न आवश्यक पर्नेछ भने नयाँ विवरण भर्न चाहनेहरूले मात्र आवेदन दिन सक्नेछन् । प्यान अद्यावधिक प्रक्रिया इलेक्ट्रोनिक कर कट्टी प्रणाली (ई–टीडिएस) मा विवरण पठाउने तयारीसँग सम्बन्धित रहेको बैंकले जनाएको छ । यस अन्तर्गत प्यान नअद्यावधिक भएका ग्राहकहरूको विवरण ई–टीडिएस प्रणालीमा पठाउन कठिनाइ हुने भएकाले कर विवरण सम्बन्धी त्रुटि हुन सक्ने सम्भावना रहन्छ। त्यसैले बैंकले सबै ग्राहकहरूलाई तत्काल प्यान अद्यावधिक गर्न आग्रह गरेको छ । त्यस्तै, ग्राहकहरूले आफ्नो इमेल ठेगाना अद्यावधिक पनि अनलाइनमार्फत गर्न सक्नेछन् । यसको लागि बैंकको वेबसाइट वा मोबैंक अनुप्रयोगको ‘मेरो प्रोफाइल’ भागमा गएर ‘इमेल परिवर्तन’ विकल्प प्रयोग गर्न सकिनेछ । बैंकका अनुसार प्यान र इमेल विवरण अद्यावधिक गर्नु बैंकिङ सेवा निरन्तरता, कर विवरण व्यवस्थापन तथा ग्राहकहरूसँग सहज सम्पर्क सुनिश्चित गर्न अत्यावश्यक रहेको छ । बैंकले यो प्रक्रियाबाट आफ्नो सेवा अझ पारदर्शी, सुरक्षित र ग्राहकमैत्री बनाउन सकिने विश्वास व्यक्त गरेको छ ।
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य
काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि ग्राहकहरुलाई अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ । ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ सुविधाहरुलाई अझ विस्तार गर्दै जाने निति अनुरुप दराज नेपालसँग सहकार्य भएको हो । यस सहकार्य अन्तर्गत २०८२ कार्तिक २५ गते देखी २०८२ मंसिर ५ गते सम्मको लागि लागु हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरुले दराज नेपाल मार्फत सामान खरिद गर्दा छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५सय रुपैयाँसम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटको लागि ग्राहकहरुले दराजबाट भौचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ । यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । हालै मात्र बैंकले क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधि रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य, को हुन् उनी ?
काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । कात्तिक २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सचिव रुद्रप्रसाद बन्जराका अनुसार बैंकका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ । नवनियुक्त सीईओ आचार्यले आगामी माघ १२ गतेदेखि कार्यभार सम्हाल्ने उनले बताए । बैंक सञ्चालक समितिले उनलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको उनले बताए । उनले बैंकको विभिन्न पदमा रहेर काम गरिसकेका छन् । स्थायी ठेगाना ललितपुरमा बस्ने आचार्य, २०६० सालमा सानिमा बैंकको स्थापनाकालदेखि नै बैंकमा कार्यरत रहि बैंकिङ क्षेत्रमा २१ वर्ष लामो अनुभव संगालेका छन् । हाल उनी सानिमा बैंकको नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका छन् । यस अघि पनि बैंकको दशवटा विभागमा उनले विभागीय प्रमुखका रुपमा राम्रो अनुभव बटुलेका थिए । उनको कर्जा मुल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीमा विज्ञता रहेको छ । साथै, उनी सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा सञ्चालक समितिमा अध्यक्षका रुपमा कार्यरत छन् । यसबाहेक पनि उनको प्रोडक्सन इन्जिनियरमा चार वर्ष र भिजिटिङ फ्याकल्टीमा पाँच वर्षको अनुभव रहेको छ । आचार्यले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर र एमएनआइटी, जयपुरमा इन्जिनियरिङ्गमा स्नातक डिग्री हासिल गरेका थिए । साथै, शैक्षिक उपलब्धि मध्ये राष्ट्रव्यापी एसएलसी परीक्षामा आदर्श विद्या मन्दिर हाई स्कुलबाट बोर्ड तेस्रो श्रेणी हासिल गरेका थिए । उनको कार्यकालमा बैंक थप सफलताको उचाईमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ ।