कामना सेवाको १९औं वार्षिकोत्सवमा नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले स्थापनाको १९औं वार्षिकोत्सव विभिन्न सामाजिक तथा आन्तरिक कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले बिहीबार नयाँ निक्षेप योजना ‘अल्फा ग्रो’ सार्वजनिक गरेको हो ।  १८ वर्षसम्मका बालबालिकालाई लक्षित यो योजनाअन्तर्गत खाता खोल्ने ग्राहकहरूलाई आकर्षक खुत्रुके उपलब्ध गराइनेछ । साथै, खातावालाको ५० हजार रुपैयाँसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ, जसको प्रिमियम खातावालाले १८ वर्ष नपुग्दासम्म बैंकले नै तिर्ने जनाएको छ । बैंकका अनुसार ‘अल्फा ग्रो’ खाता बालबालिकामा बचतको बानी विकास गर्ने र अभिभावकहरूलाई भविष्यमुखी वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो । यस योजनाले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुर्‍याउने बैंकको विश्वास छ । साथै वार्षिकोत्सवको अवसरमा बैंकले देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रम केन्द्रीय कार्यालयसहित सबै क्षेत्रीय कार्यालयहरूमा एकैसाथ सम्पन्न गरिएको बैंकले जनाएको छ । विभिन्न स्थानमा सम्पन्न रक्तदान कार्यक्रमबाट जम्मा ४२९ पिन्ट रगत संकलन भएको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले बुटवल क्षेत्रमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए भने केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्तसञ्चार केन्द्रकी भावना पाण्डेलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए । रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको नारायणगढ शाखा, पोखरा क्षेत्रको न्युरोड शाखा, बुटवल शाखा तथा पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा सम्पन्न भएको थियो । कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । त्यसैगरी, बैंकले वार्षिकोत्सवकै अवसरमा पाँचौं संस्करणको 'अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप' पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक विजयी भएको भने महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेको बैंकले जनाएको छ । बैंकका अमरसिंह शाखा र पोखरा न्युरोड शाखाले क्रमशः अमरसिंह उच्च मावि र पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम पनि सम्पन्न गरेका छन् ।

एनआईसी एशिया बैंकका ग्राहकका लागि होटल क्राउन इम्पेरियलमा छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सेवा लिँदा छुट पाउने भएका छन् । बैंक र होटलबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएपछि यो सुविधा लागू भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरूले होटल क्राउन इम्पेरियलमा आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (मोबाइल बैंकिङ एप) मार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यबाट ग्राहकहरूलाई विशेष छुटको सुविधा उपलब्ध हुनुका साथै मुलुकमा डिजिटल भुक्तानी प्रवर्द्धन र नगदरहित कारोबार संस्कृतिको विकासमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

कुमारी बैंकले लाभांश नदिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।  कात्तिक २६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउन निर्णय गरेको हो । बैंकको हालको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ । वार्षिक साधारण सभाको मिति र बुक क्लोज हुने मिति भने हालसम्म तोकिएको छैन ।