इलेक्ट्रिक कार बजारमा चम्कियो सेरेस, त्रैमासिक नाफा १०० मिलियन डलर नाघ्यो
काठमाडौं । चीनको प्रमुख इनोभेटिभ अटोमेकर सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा उल्लेखनीय उपलब्धि हासिल गर्दै २४१ प्रतिशत नाफा वृद्धिको घोषणा गरेको छ । कम्पनीले १०० मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको बताएको छ । सेरेसको बिक्री आम्दानी (रेभेन्यू) पनि यो त्रैमासिकमा ३ अर्ब अमेरिकी डलर नाघेको छ । यसको मुख्य श्रेय उच्च मागमा रहेका नवीन र ऊर्जा–कुशल सवारीसाधनहरूलाई दिइएको छ । नवप्रवर्तन, दिगोपन र ग्राहककेन्द्रित डिजाइनमा केन्द्रित सेरेसले स्मार्ट मोबिलिटी समाधानमार्फत विश्वव्यापी वातावरणीय लक्ष्यहरूमा योगदान पुर्याइरहेको बताइएको छ । मुनाफा विवरण सार्वजनिक भएसँगै कम्पनीको सेयर मूल्य ३ प्रतिशतले वृद्धि भएको छ । जसले लगानीकर्ताहरूको कम्पनीप्रतिको विश्वास झल्काउँछ । कम्पनीले भविष्यमा अझ लामो रेन्ज, उत्कृष्ट पर्फर्मेन्स र स्मार्ट फिचरसहित नयाँ मोडेलहरू ल्याउने तयारी गरिरहेको जनाएको छ । सेरेस ग्रुपले आफ्नो विश्वव्यापी विस्तार रणनीति अन्तर्गत सन् २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडेल ल्याउने घोषणा पनि गरिसकेको छ । यसले चीनबाहिर पनि सेरेसको विद्युतीय सवारी क्षेत्रमा अग्रणी उपस्थितिलाई पुष्टि गर्दछ । त्यस्तै, सेरेस थ्री मोडेलले हालै इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्डहरू जित्दै आफ्नो नवप्रवर्तन क्षमता र उत्कृष्टता पुनः प्रमाणित गरेको छ । लक्जरी सवारी क्षेत्रमा समेत बीएमडब्लू र मर्सिडिज जस्ता ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्दै सेरेसले उचाइ बनाइरहेको छ । सेरेसले अबको दिनमा पनि ईभी उद्योगमा अग्रगामी र भविष्यमुखी रणनीति लिएर विश्व बजारमा आफ्नो प्रभाव झनै विस्तार गर्ने लक्ष्य लिएको छ ।
टेस्लाको रोबोट्याक्सी परीक्षण : मस्कले खोल्दैछन् भविष्यको ढोका !
काठमाडौं । टेस्लाले अष्टिन, टेक्सासमा रोबोट्याक्सी सेवाको परीक्षण जुन महिनाको अन्त्यसम्ममा समयमै सुरु गर्ने तयारी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी एलन मस्कले मंगलबार उक्त जानकारी दिएका हुन् । यद्यपि कम्पनी अमेरिकी नियामकको तर्फबाट उठाइएका सुरक्षासम्बन्धी प्रश्नहरूको सामना गरिरहेको छ । मस्कले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा भने अनुसार टेस्लाले सुरुमा सहरका केही भागहरूमा करिब १० वटा स्वचालित सवारीहरू सञ्चालनमा ल्याउनेछ र केही महिनाभित्र त्यसलाई विस्तार गर्दै करिब १ हजार पुर्याउने योजना बनाएको छ । 'हामी खासमा पूरै अष्टिन क्षेत्रमा होइन, केवल सबैभन्दा सुरक्षित भागहरूमा मात्र रोबोट्याक्सी तैनाथ गर्दैछौं,' मस्कले भने । टेस्लाको बिक्री विश्वभर घटिरहेको छ, किनभने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ र मस्कको दक्षिणपन्थी राजनीतिक दृष्टिकोणका कारण उनी आलोचित भइरहेका छन् । मस्कले भनेका छन् कि उनले ट्रम्पको लागि गर्ने काम घटाउने र टेस्लामा ध्यान केन्द्रित गर्नेछन् । 'ह्वाइट हाउसमा मेरो मोटामोटी योजना हरेक केही हप्तामा केही दिनको लागि त्यहाँ हुने र जहाँ सहयोग गर्न सकिन्छ, त्यहाँ सहयोग गर्ने हो,' उनले भने । टेस्लाका लागि सफल रोबोट्याक्सी परीक्षण अत्यन्तै महत्वपूर्ण छ किनभने मस्कले कम्पनीको ध्यान सस्तो विद्युतीय सवारी निर्माणबाट हटाएर रोबोट्याक्सी सेवा र यसको अप्टिमस ह्युमनाइड रोबोटहरूमा केन्द्रित गराएका छन् । टेस्लाको बजार मूल्यको ठूलो हिस्सा यही आशामा आधारित छ । 'दीर्घकालीन रूपमा वास्तवमा महत्त्वपूर्ण कुराहरू भनेका स्वचालित प्रणाली (अटोनोमी) र अप्टिमस हुन्,' मस्कले सीएनबीसीलाई बताए । स्वचालित सवारी प्रविधि व्यवसायिक रूपमा प्रयोगमा ल्याउन कठिन साबित भएको छ, कडा नियम तथा ठूलो लगानीका कारण धेरै कम्पनीहरूले हार मानिसकेका छन् । अझै दौडमा रहेका कम्पनीहरू, जस्तै अल्फाबेटको वेमो पनि बढ्दो निगरानीमा परेका छन् । अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले गत अक्टोबरदेखि कम दृश्यता भएका अवस्थामा टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ (एफएसडी) प्रविधि संलग्न दुर्घटनाहरूको अनुसन्धान गरिरहेको छ । सो नियामकले गत हप्ता टेस्लालाई यसको भुक्तानयोग्य रोबोट्याक्सी सेवा सुरु गर्दा ती सवारीहरू खराब मौसममा कसरी प्रदर्शन गर्नेछन् भन्नेबारे जानकारी मागेको थियो । मस्कका अनुसार टेस्ला अन्य ठूला अटो कम्पनीहरूसँग आफ्नो एफएसडी सफ्टवेयर लाइसेन्स गर्नका लागि कुराकानीमा छ, जुन यसको रोबोट्याक्सीहरूको मुख्य आधार बन्नेछ । आफ्नो व्यापक कृत्रिम बौद्धिकता (एआई) योजनालाई अगाडि बढाउन मस्कको एक्सएआई स्टार्टअपले थप उन्नत मोडेल प्रशिक्षणका लागि डेटा केन्द्र क्षमतामा विस्तार गरिरहेको छ र टेनेसीको मेम्फिसमा रहेको यसको सुपरकम्प्युटर कोलोस्ससलाई संसारकै ठूलो भनिएको छ । एक्सएआईले मेम्फिस नजिकै नयाँ केन्द्रमा एनभीडीयाका एक मिलियन अत्याधुनिक ब्ल्याकवेल चिपहरू प्रयोग गर्ने मस्कले बताए । एक्सएआईले टेनेसीको दक्षिणपश्चिम मेम्फिसमा १० लाख वर्गफुट क्षेत्रफलको सम्पत्ति किनेको ग्रेटर मेम्फिस चेम्बरले मार्चमा जनाएको थियो । मस्कले मार्चमा एक्सएआईलाई आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्ससँग गाभेका थिए । उनले टेस्ला र एक्सएआईबीच गाभ्ने योजना हालका लागि नभए पनि त्यसलाई असम्भव भने नभएको बताए ।
नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ बन्द
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्स्पो २०२५ को पहिलो संस्करणको लागि बुकिङ बन्द भएको घोषणा गरेको छ । यो एक्स्पो २०८२ साउन २१ देखि २५ गते ९२०२५ अगस्ट ६ देखि १०० सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुनेछ । ४८ वटा स्टलको लागि आवेदन आएको नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले बताइन् । नाइमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको मोबिलिटी क्षेत्रको प्रतिनिधित्व, रणनीतिक सहयोग, विकास र सामूहिक आवाज उठाउन एकीकृत मञ्चको रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल मोबिलिटी एक्स्पो २०२५ ले अत्याधुनिक मोबिलिटी समाधानहरू र नेपालमा विकसित हुँदै गरेको मोबिलिटी संस्कृतिलाई प्रदर्शन गर्दै यसअघिका भन्दा धेरै अनुभव दिने एक नयाँ प्रकारको अटोमोबाइल प्रदर्शनीको रूपमा एक माइलस्टोन इभेन्ट रहेको वैद्यले जानकारी दिइन् । मोबिलिटी एक्स्पोमा सहभागी फोर ह्वीलर ब्रान्डमा बीवाईडी, सिट्रोन, फर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केई, किया, लीपमोटर, लेभ वान, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिसी, निसान, ओमोडा एन्ड जेको, पिजुट, प्रोटोन, रिनल्ट, टोयोटा, फक्सवागन र जिक्र रहेका छन् । एक्स्पोमा टु ह्वीलरमा एम्पेरे, एथर, बजाज, बेनेली, सीएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इन्फिल्ड, सेगवे-नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभाओलेटी, याडिया र जीहो रहेका छन् । सहभागी कमर्सियल वाहन ब्रान्डहरूमा चेरी वान्डा, डोनफेङ, फारिजोन, हुवाजी, कम, कारी, किङलङ र सनलङ रहेका छन् ।