सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ७ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चार क्षेत्रको विकास तथा प्रविधिको स्तरोन्नतिको उद्देश्यसहित मन्त्रालयका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिएका हुन्।
चीनको अटो बजार : मूल्य प्रतिस्पर्धाले उद्योगमा ठूलो परिवर्तनको डर उत्पन्न
काठमाडौं । चीनको अटो उद्योगमा तीव्र बन्दै गएको मूल्ययुद्धले विश्वकै सबैभन्दा ठूलो गाडी बजारमा लामो समयदेखि अनुमान गरिएको ठूलो परिवर्तन (सेक-आउट) को डर बढाएको छ । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता बीवाईडीले एक दर्जनभन्दा बढी मोडेलमा नयाँ छुटहरूको घोषणा गरेपछि ठूला गाडी निर्माता कम्पनीहरूका सेयर सोमबार घटे । बीवाईडीको मूल्य कटौतीले यसको सबैभन्दा सस्तो मोडेल सीगल ह्याचब्याक(ब्याट्रीबाट चल्ने) को सुरुवाती मूल्य करिब १० हजार डलरबाट घटाएर ५५ हजार ८०० युआन (७ हजार ७६५ डलर) बनायो । सीनो अटो इनसाइज्ट्सका प्रबन्ध निर्देशक टु लीका अनुसार बीवाईडीको मूल्य कटौती र अन्य घटनाक्रमहरूले कमजोर कम्पनीहरूले मूल्यमा लगातार भइरहेको गिरावट र घाटा धान्न नसक्ने अवस्था आउन सक्ने औंल्याए । उनले नेटा, पोलेस्टरजस्ता पहिले नै संघर्षरत स्टार्टअपहरूलाई दबाबमा पार्न सक्ने बताउँछन् । शुक्रबार ग्रेट वाल मोटर्सका अध्यक्ष वेई जिआनजुनले चेतावनी दिएका थिए कि चीनको अटो उद्योग अस्वस्थ अवस्थामा पुगेको छ, जहाँ मूल्य प्रतिस्पर्धाले कार निर्माता र आपूर्तिकर्ताहरूको नाफामा गहिरो असर पारेको छ । उनले चिनियाँ रियल स्टेट कम्पनी इभरग्रान्डसँग तुलना पनि गरे, जुन ठूलो ऋण संकटपछि गत वर्ष बन्द भयो । 'अहिले अटोमोबाइल उद्योगमा ‘एभरग्रान्ड’ पहिले नै छ तर अझै पतन भएको छैन,' उनले सीना फाइनान्ससँगको अन्तर्वार्ताका क्रममा भने । बजारमा तनावको अर्को संकेतस्वरूप रोयटर्सले रिपोर्ट गरेको छ कि चिनियाँ नियामकहरू 'प्रयोगशाला गाडी' बिक्रीबारे अनुसन्धान गरिरहेका छन्, जुन वास्तवमा नयाँ गाडीहरू हुन् तर ‘जीरो माइल्स’ मा बिक्री गरिन्छन् । एक स्रोतका अनुसार कम्पनीहरू आक्रामक बिक्री लक्ष्य पुरा गर्न यस्तो तरिका अपनाइरहेका छन् । पछिल्लो दशकमा धेरै स्टार्टअप कम्पनीहरू चीनको अटो बजारमा प्रवेश गरेका छन्, मुख्य रूपमा विद्युतीय गाडी (ईभी) क्षेत्रको तीव्र विकासको कारण । तर अहिले बजार अत्यधिक प्रतिस्पर्धी भएको छ र धेरै कम्पनीहरू ठूलो घाटामा चलिरहेका छन् । जाटो डाइनामिक्सको तथ्याङ्कअनुसार चीनमा हाल सक्रिय १६९ गाडी कम्पनीहरूमध्ये आधाभन्दा बढीको बजार हिस्सा ०.१ प्रतिशतभन्दा कम छ । यो अवस्था २०औं शताब्दीको सुरुमा अमेरिकाको अटो उद्योग जस्तै हो, जहाँ फर्डजस्ता ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै सयौं कम्पनीहरू बजारमा आएका थिए, अन्ततः केही उद्योग बन्द भए त केही मर्जरमा गए । लीले भनेअनुसार मूल्ययुद्ध करिब तीन वर्षदेखि चलिरहेको छ । सुरुमा ड्राइभर असिस्टेन्ट प्रणालीहरू (जसले केही अवस्थामा स्टेयरिङ र ब्रेकिङ नियन्त्रण गर्छ) जस्ता विशेषताहरूका लागि ग्राहकहरूले बढी मूल्य तिर्थे तर अहिले यी सुविधा बहुसंख्यक कम्पनीहरूले सामान्य मूल्यमै दिन थालेका छन् । गत हप्ता, चीनको राज्य योजना आयोगले चेतावनी दिएको थियो कि केही उद्योगहरूमा प्रतिस्पर्धा अत्यधिक भइसकेको छ, केही कम्पनीहरूले लागतभन्दा सस्तो मूल्यमा गाडी बिक्री गरिरहेका छन्, जसले निष्पक्ष प्रतिस्पर्धा विथोलिरहेको छ । शुक्रबार ग्रेट वालका अध्यक्ष वेई ले भने, 'यो दीर्घकालीन मूल्य युद्धले गाडी आपूर्ति शृंखलालाई असर गरिरहेको छ । कार कम्पनीहरूबाट मूल्य घटाउन दबाब आएपछि केही आपूर्तिकर्ता कम्पनीहरू बन्द हुने खतरा छ ।' 'केही उत्पादनहरू २ लाख २० हजार युआनबाट १ लाख २० हजार युआनसम्म घटाइएको छ । एक लाख युआन घटाएर अझै गुणस्तर कायम राख्न सकिने कुन औद्योगिक उत्पादन हुन्छ ?,’ उनले थपे । चीनको अटो उद्योगमा लामो समयदेखि एकीकरण हुने अनुमान हुँदै आएको भए पनि कम्पनीहरूको संख्या अझै बढिरहेको माइकल जे डुने नामक विश्लेषकले बताए। 'बीवाईडीको मूल्य कटौतीले केही कमजोर कम्पनीहरूलाई बजारबाट हटाउनेछ,’ उनले भने, 'तर यहाँ हरेक पतनसँगै साओमी वा हुवावेजस्ता नयाँ खेलाडीहरू मैदानमा छिर्दै छन् ।’
महिन्द्र, बीवाइडी र एमजीका नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा, मोबिलिटी एक्स्पोमा टेस्ट ड्राइभको मौका
काठमाडौं । महिन्द्र, बीवाइडी र एमजीले नयाँ ब्राण्डका गाडी नेपाल ल्याएका छन् । यी तीन ब्राण्डका ४ वटा नयाँ मोडेलका गाडीहरू केही दिन अगाडी नेपाली बजारमा आएका हुन् । नयाँ मोडेलका गाडी साउनको २१ देखि सुरु हुने एक्स्पोमा राखिने बताइएको छ । चिनियाँ ब्राण्ड बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ गाडी सिलायोन ७ नेपाली बजारमा ल्याएको छ । उक्त मोडेल नाइमा मोबिलिटी एक्स्पोमा राखिनेछ । यसैगरी मोबिलिटी एक्स्पोमा महिन्द्राको आधिकारिक बिक्रेता अग्रि इन्कर्पोरेटले महिन्द्राको बीई ६ र एक्सयुभी ९ई एसयुभी गाडी यही साता नेपाल ल्याइएको कम्पनीले जनाएको छ । यी गाडीहरू टेस्ट ड्राइभका लागि ल्याइएको समेत कम्पनीको भनाइ छ । दुवै गाडीमा ९९ किलोवाटको मोटर रहेको छ भने एक्स एभी ९ इको एउटा भेरियन्टमा १९९ किलोवाटको मोटर छ । कम्पनीले दुवै एसयुभीमा ५९ किलोवाट तथा ७९ ब्याट्री व्याक उपलब्ध गराएको छ । यसैगरी एमजीको विन्डसर विद्युतीय कार (इभी) पनि नेपाली बजारमा आएको छ । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले यही साता नेपाल भित्रिएको र सरकारले बजेट ल्याएपछि बिक्री थाल्ने जनाएको छ । भारतमा उत्पादन भएको उक्त लग्जरी मोडलको इभी एक्साइट, एक्सक्युलुसिभ र एसेन्स भेरियन्टमा उपलब्ध छ । यी नयाँ विद्युतीय कार इभी मा ३८ किलोवाट आवर युनिटको ब्याट्री प्याक जडान गरिएको छ । जसले एक पटको फुल चार्जमा ३३२ किलोमिटर रेन्ज दिन्छ । एक सय किलोवाट मोटर जडान गरिएको गाडीले १३४ बीएचपी र २ सय एनएम टर्कजनेरेट गर्ने कम्पनीले जनाएको छ ।