विद्युतीय सवारी साधन सञ्चालनसँगै सस्तियो भाडादर

काठमाडौं । धवलागिरि–गण्डकी यातायात सेवा प्रालिले पोखरा-बागलुङ र पेखरा म्याग्दी चल्ने विद्युतीय माइक्रो बसको भाडादर समायोजन गरेको छ । कम्पनीले विद्युतीय गाडी सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा भाडादर घटाएको हो । पोखरा-बागलुङ यसअघि ४५० रुपैयाँ लिने गरिएकामा शुक्रबारदेखि ५० रुपैयाँ घटाएर ४ सय रुपैयाँ कायम गरिएको प्रालिका अध्यक्ष उमेश केसीले जानकारी दिए । म्याग्दी-पोखराको भाडा ५५० रुपैयाँबाट घटाएर ५ सय रुपैयाँ कायम गरिएको उनले बताए । बागलुङदेखि पोखराका लागि गत वर्ष फागु पूर्णिमाका दिन विद्युतीय माइक्रो बस सेवा सञ्चालन गरिएको थियो । सुरुवाती चरणमा २ वटा बसबाट सेवा सञ्चालन गरेको बागलुङ-पोखराका लागि हाल २० वटा माइक्रो बस सञ्चालनमा छन् । कम्पनीले म्याग्दीको बेनीबाट पोखराका लागि पनि ५ वटा बस सञ्चालन गरेको छ । बागलुङ-नारायणगढका लागि ५ वटा बस सञ्चालनमा ल्याइएको छ । विद्युतीय सवारी साधनको माग बढेपछि कम्पनीले सेवालाई थप व्यवस्थित गराउन भाडादर घटाएको हो । विद्युतीय गाडीले वातावरण प्रदूषणमा कमी आउने, इन्धनमा लाग्ने खर्च नहुने र नेपालमै उत्पादित विद्युत्को प्रयोग हुने हुँदा यो यात्राका लागि सहज र सस्तो हुने गरेको छ । पछिल्लो समय प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्रुयाउन थालेका छन् । प्रदूषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । विद्युतीय गाड़ी सुविधायुक्त र वातावरणमैत्री छन् । बिजुलीको नियमित उपलब्धता, चार्जिङ स्टेशन विस्तार आदिमा सरकारले ध्यान दिनुपर्ने यातायात व्यवसायीको माग छ । प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार मझौला र साना विद्युतीय सवारीसधान बढी प्रयोगमा आइरहेका छन् । गण्डकी प्रदेशमा ठूला विद्युतीय बस भने सञ्चालनमा आइसकेका छैनन् । माइक्रो बस, कार, भ्यान र स्कुटरको सङ्ख्या बढ्दो छ । कास्की, बागलुङ, तनहुँ र नवलपुरमा रहेका यातायात कार्यालयमा विद्युतीय सवारीसाधन दर्ता गर्न सकिने मन्त्रालयले जनाइएको छ । चार्जिङ स्टेनसन भएका ठाउँमा मात्र सवारीसाधनको दर्ता र सञ्चालनमा अनुमति दिने गरिएको छ ।

एथर स्कूटरले बौद्धमा टेस्ट राइड जोन ल्याउँदै

काठमाडौं । एथर स्कूटरले बौद्धमा पहिलो टेस्ट राइड जोन सुरुवात गर्ने भएकाे छ । प्रिमियम ईभी प्रविधिलाई अझ सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता अनुरूप यो विशेष टेस्ट राइड स्पेस चैत्र ५ गते किबु अपार्टमेन्ट, फूलबारी, बौद्धमा सञ्चालनमा आउन लागेको हाे । एथरले उ‌द्घाटन परम्परागत बौद्ध पूजासहित गर्ने जनाइएकाे छ । टेस्ट राइड जोनको सुरुवातसँगै एथरले २० हजार रुपैयाँसम्मकाे क्यासब्याक र शून्य ब्याजदरमा ईएमआई अफर पनि दिने भएकाे छ । याे अफर सीमित अवधिको लागि मात्र हुनेछ । नेपालमा आफ्नो सुरुवातदेखि नै एथरले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहकहरूको विश्वासका साथ ईभी बजारलाई पुनः परिभाषित गर्दै आएको छ । हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, र बुटवलमा गरी ६ वटा एक्सपेरियन्स सेन्टर सञ्चालनमा छन् । साथै एथरले काठमाडौं, भक्तपुर र चितवनमा तीनवटा सर्भिस सेन्टर सञ्चालन गरिसकेको छ भने चाँडै नै पोखरामा चौथो सर्भिस सेन्टर खुला गराउन लागेकाे छ। यसैगरी, एथरले नेपालभरका प्रमुख स्थानहरूमा २० वटा फास्ट चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ ।

शाओमीको इलेक्ट्रिक क्रसओभर गाडी वाईयू सेभेनले ७७० किमीसम्मको रेन्ज दिने

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी शाओमीको नयाँ इलेक्ट्रिक क्रसओभर एसयूभी वाईयू सेभेनले ७७० किलोमिटर (४७८ माइल) सम्मको ड्राइभिङ रेन्ज दिने बिहीबार सार्वजनिक भएको एक सरकारी दस्तावेजले देखाएको छ । यो गाडी शाओमीको पहिलो एसयूभी हो र यसलाई यो समरमा बजारमा ल्याइने अपेक्षा गरिएको छ । जसले टेस्लाको मोडल वाईलाई टक्कर दिनेछ । यो गाडीले परम्परागत क्रसओभर एसयूभीका विशेषताहरूलाई ब्याट्रीबाट चल्ने ड्राइभट्रेनसँग जोड्छ । साथै यसमा ६७५ किलोमिटर र ७६० किलोमिटर रेन्ज भएका संस्करणहरू पनि उपलब्ध छन् । उद्योग मन्त्रालयको सूचना अनुसार यो गाडीलाई खरिद कर छुट पाउने नवसमाविष्ट मोडेलहरूमा राखिएको छ । टेस्लाले भने फेब्रुअरीको अन्त्यमा आफ्नो नयाँ मोडल वितरण गर्न सुरु गरिसकेको छ । नयाँ डिजाइन गरिएको लङ रेन्ज भेरियन्टले पहिलेको ६८८ किमिबाट बढेर ७१९ किलोमिटर रेन्ज दिनेछ, जबकि रियर-ड्राइभ भेरियन्टले पहिलेको ५५४ किमिबाट बढेर ५९३ किलोमिटर रेन्ज दिनेछ । शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक गाडी एसयू सेभेन २०२३ डिसेम्बरमा सार्वजनिक गरेको थियो । साओमीले २०२५ मा ३ लाख कार डेलिभर गर्ने लक्ष्य राखेको छ । यसले २०२४ मा १ लाख ३५ हजारभन्दा बढी कार डेलिभर गरेको थियो । कारन्यूजचाइना पत्रिकाका अनुसार साओमीको प्रारम्भिक डेलिभरी लक्ष्य २०२४ का लागि १ लाख इकाइ थियो, तर बेइजिङ कारखानामा उत्पादन अपेक्षाभन्दा बढी भएपछि कम्पनीले यो संख्या बढाएको हो । साओमीको ईभी प्लान्टको पहिलो चरणमा वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार इकाइ रहेको छ । दोस्रो चरणको विस्तारपछि थप १ लाख ५० हजार इकाइ उत्पादन क्षमता थपिँदैछ, जसले कुल क्षमता ३ लाख इकाइ प्रति वर्ष पुर्‍याउनेछ ।