नेपालको बाटोमा ५०० प्लस सेरेसका गाडी, ३ नयाँ मोडेल छिट्टै सार्वजनिक हुने

काठमाडौं । नेपालमा सेरेस सवारीसाधनको अधिकृत वितरक एमएडब्ल्यू अटोमोबाइलले छिट्टै तीनवटा नयाँ मोडेल सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ । हालसम्म नेपालभरि ५०० भन्दा बढी सेरेस गाडीहरू बिक्री भइसकेका छन् । ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै देशभर फैलिएको सेवा केन्द्रहरूको सञ्जालमार्फत सेरेसले गाडीधनीहरूलाई सहज र समयमै सेवा उपलब्ध गराएको छ । देशभर सर्भिस लोकेसनहरूको संख्या बढेसँगै ग्राहकहरूले मर्मत तथा सर्भिसको पहुँच झनै सजिलो रूपमा पाउन थालेका छन् ।  अहिले देशका विभिन्न स्थानमा १२२ वटा चार्जिङ स्टेसन बनिसकेको एमएडब्लू अटोमोबाइल्सले जनाएको छ । हालै सेरेस ब्रान्डबारे बजारमा केही अफबाह फैलिएको भन्दै अटोमोबाइल्सले सेरेसको सेवा र कारोबार नियमित रूपमा चलिरहेको उल्लेख गरेको छ । ग्राहकको विश्वास र सेरेसप्रतिको सन्तुष्टि नै बजारमा सेरेसको मजबुत उपस्थिति पुष्टि गर्ने आधार बनेको कम्पनीको दाबी छ । एमएडब्लू अटोमोबाइल्सले आगामी दिनमा समेत ग्राहकसँगको आफ्नो साथ केवल खरिदको समयसम्म सीमित नरहने वाचासमेत गरेको छ । 

जेभियर इन्टरनेशनल स्कुललाई १३ वटा फोटोन माउन्टेन इभी भ्यान हस्तान्तरण

काठमाडौं । एमएडब्लु वृद्धि कमर्सियल भेइकलले जेभियर इन्टरनेशनल स्कुललाई १३ वटा नयाँ फोटोन माउन्टेन इलेक्ट्रिक स्कुल भ्यानहरू हस्तान्तरण गरेको छ । साँचो हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धि र जेभियर स्कूलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । हस्तान्तरण कार्यक्रममा एमएडब्लु वृद्धिका सीईओ तुषार गुप्ताले विद्यालयलाई ईभी राखेकोमा धन्यवाद दिए । सेल्स डेड नवीन आचार्यले फोटोन माउन्टेन इभीमा सुरक्षा, दिगोपन, स्पेस र दक्षता सबै संयोजन रहेको जानकारी दिए । यससँगै जेभियर इन्टरनेशनल स्कुल नेपालमै ठूलो संख्यामा ईभी प्रयोग गर्ने पहिलो शैक्षिक संस्था बन्न पुगेको छ । फोटोन माउन्टेन इभी एक आधुनिक, प्रदूषणमुक्त भ्यान हो । यो विशेषगरी विद्यालयका विद्यार्थीहरूको सुरक्षित र भरपर्दो यातायातका लागि उपयुक्त छ । यसमा ५३।५८ किलोवाटको सीएटीएल ब्याट्री र १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले ३३० एनएमसम्मको टर्क दिन्छ । एमएडब्लु वृद्धि नेपालमा फोटोन मोटर्सको आधिकारिक आयातकर्ता कम्पनी हो । 

टेस्लाको सेयर मूल्यमा भारी गिरावट, १५० अर्ब डलर बजारबाट गायब

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका अरबपति सीईओ एलन मस्कबीच सार्वजनिक विवाद भएपछि बिहीबार टेस्लाका सेयरमा भारी गिरावट आएको छ । मस्कले आफूलाई ट्रम्पको 'पहिलो साथी' भनेर घोषणा गरे पनि अब उनीहरूबीचको विवादले बजारमा ठूलो असर पारेको हो । लगानीकर्ताहरू मस्कको व्यापारिक साम्राज्यमाथि यस विवादले पार्न सक्ने असरप्रति चिन्तित देखिएका छन् । टेस्लाको सेयर बिहीबार १४ प्रतिशतले घट्यो जसले गर्दा कम्पनीको बजार मूल्यबाट १५० अर्ब डलर गायब भयो जबकि टेस्लासम्बन्धी अन्य कुनै ठूलो समाचार आएको थिएन । टेस्लाको सेयर मूल्य मस्कले जुलाई २०२४ मा ट्रम्पलाई समर्थन गरेपछि माथि चढेको थियो- मिड-डिसेम्बरसम्म १६९ प्रतिशतले उकालो लागेको थियो ।  त्यसपछि टेस्लाविरोध बढेसँगै अप्रिलसम्म ५४ प्रतिशतले घट्यो । डजको नेतृत्व र ट्रम्पसँगको सम्बन्धले केही ग्राहकहरूलाई टाढा बनाएको छ, जसको असर यूरोप, चीन र अमेरिका-विशेष गरी क्यालिफोर्नियाको बिक्रीमा देखिएको छ । ट्रम्पको आलोचनालाई मस्कले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिँदै कर विधेयकप्रति कडा आलोचना गरेपछि टेस्लाको सेयर उच्च व्यापारिक गतिविधिमा बेचिएको हो । ट्रम्पले पनि प्रतिकार गर्दै भने, 'मस्क रिसाएका छन् किनभने नयाँ विधेयकले इलेक्ट्रिक गाडीका लागि दिइने कर छुट हटाउने प्रस्ताव गरेको छ ।' ट्रम्पसँग खुला विवादमा जानु टेस्ला र मस्कको सम्पूर्ण व्यापार साम्राज्यका लागि अनेक अवरोध सिर्जना गर्न सक्छ । अमेरिकी यातायात मन्त्रालयले गाडीको डिजाइन मापदण्ड नियमन गर्छ र टेस्लाले ब्रेक तथा स्टेयरिङबिनाको रोबोट्याक्सी उत्पादन गर्न पाउने नपाउने विषयमा उसकै ठुलो भूमिका हुनेछ । मन्त्रालयले टेस्लाको ड्राइभर सहायता सफ्टवेयर 'फुल सेल्फ–ड्राइभिङ' सम्बन्धमा एक घातक दुर्घटनापछि अनुसन्धान गरिरहेको छ। 'एलनको राजनीति सेयर मूल्यका लागि हानिकारक हुँदै आएको छ । पहिले उनी ट्रम्पसँग नजिकिए, जसले सम्भावित डेमोक्र्याटिक ग्राहकहरूलाई नकारात्मक असर पार्‍यो । अब उनी ट्रम्प प्रशासनविरुद्ध उभिएका छन्,' टेस्ला सेयरधनी डेनिस डिकले भने । पछिल्लो वर्ष इलेक्ट्रिक गाडीको बिक्री घटेपछि मस्कले टेस्लाको भविष्य स्वचालित रोबोट्याक्सीमा केन्द्रित गर्दै आएका छन् । गत वर्ष एक आम्दानी रिपोर्टमा मस्कले भनेका थिए, 'यदि तपाईंहरू विश्वास गर्नुहुन्न कि टेस्लाले ड्राइभरविहीन प्रविधि समाधान गर्छ भने तपाईंहरूले टेस्लाको सेयर बेच्नुपर्छ ।' विश्लेषक समूह वेडबशका अनुसार एआई र स्वचालित प्रविधिमा टेस्लाको अवसर मात्रले कम्पनीलाई १ ट्रिलियन डलर बराबरको बजार मूल्य दिलाउन सक्छ । मस्कले स्वचालित गाडीहरूका लागि एकीकृत संघीय अनुमोदन प्रक्रिया हुनुपर्ने माग गर्दै आएका छन्, जुन अहिले विभिन्न राज्यहरूको फरक-फरक नियमले जटिल बनाएको छ । लगानीकर्ता कम्पनी गेरबर कावासाकी वेल्थ एन्ड इन्भेस्टमेन्ट म्यानेजमेन्टका सीईओ रोस गेरबरका अनुसार ट्रम्पसँगको कलह 'टेस्लाका लागि नकारात्मक शक्ति' बनेको छ, जसले नियमनमा असर र थप सरकारी अनुसन्धानको खतरा निम्त्याउन सक्छ । विश्वकै धनी व्यक्ति मस्क हाल संघीय सरकारले सञ्चालन गरिरहेको खर्च कटौती योजना डजका प्रमुख पात्रमध्येका हुन् । उनले यसै हप्ता ट्रम्पको विधेयकको आलोचना गर्दै आफू अब ह्वाइट हाउसमा कम समय दिइ व्यवसायमा केन्द्रित हुने बताएका थिए । बिहीबारको सेयर गिरावटपछि फोब्र्सअनुसार मस्कको नेटवर्थ करिब २७ अर्ब डलरले घटेर ३८८ अर्ब डलरमा झरेको छ । ट्रम्पले बिहीबार आफ्नो ट्रूथ सोसल प्लेटफर्ममा लेखे, 'हाम्रो बजेटमा अर्बौं डलर जोगाउने सबैभन्दा सजिलो उपाय भनेको एलनलाई दिइएका सरकारी अनुदान र ठेक्का समाप्त गर्नु हो ।' जेपी मोर्गनका अनुसार टेस्लाले वार्षिक मुनाफामा १.२ अर्ब डलरको झट्का खान सक्छ, साथै क्यालिफोर्नियाको ईभी नियमविरुद्ध प्रस्तावित सिनेट विधेयकका कारण टेस्लाको नियामक क्रेडिट बिक्रीमा थप २ अर्ब डलरको घाटा हुन सक्छ । यद्यपि टेस्ला अझै पनि विश्वकै सबैभन्दा मूल्यवान कार निर्माता हो । बुधबारसम्म टेस्लाको बजार मूल्य झण्डै १ ट्रिलियन डलर थियो, जुन टोयोटाको २९० अर्ब डलरको तुलनामा धेरै माथि छ । टेस्ला अहिले नाफाको अनुमानको १५० गुणा मूल्यमा कारोबार भइरहेको छ, जुन अन्य ठूला प्रविधि कम्पनीहरू-जस्तै एनभिडियाभन्दा धेरै महँगो हो । किया इण्डियाबाट तीन वर्षमा १ हजार ८ इञ्जिन गायब, पूर्वकर्मचारी र स्क्र्याप डिलर अनुसन्धानको घेरामा टोयोटाको ३३ अर्ब डलरको ‘गेम चेन्जर’ सम्झौता