पोखरामा यामाहा ब्लू फेस्ट सुरु
काठमाडौं । 'यामाहा ब्लू फेस्ट' आइतबार पोखराको सृजनाचोक (एनसेल सेन्टर अगाडि) एक भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ । असार १ गतेदेखि ६ गतेसम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइने यामाहा नेपालले जनाएको छ । ६ गतेसम्म चल्ने कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ । फेस्टमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने यामाहा नेपालले जनाएको छ । फेस्टमा यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार रुपैयाँको मूल्यांकन, अन्य ब्रान्डमा न्यूनतम २५ हजार को मूल्यांकन (कर चुक्ता अनिवार्य), एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, ६ हजारसम्मको नगद छुट, फ्री एक्सेसरिज, निःशुल्क आर्थिक वर्ष ०८२/८३को सडक कर भुक्तान र गारण्टरबिना सहज फाइनान्सिङ सुविधा रहेको छ । यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधतायुक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ । ७१.३३ किमी प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेजेडआर १२५ एफआई हाइब्रिडदेखि स्टाइलिश र स्पोर्टी लुकसहितको यामाहा आर वन फिफ्टिन भी ४ सम्म यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ । एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डमध्ये एक हो ।
टेस्लाले अमेरिकामा मोडल एस र एक्स कारको मूल्य बढायो
काठमाडौं । टेस्लाले अमेरिकामा आफ्नो मोडल एस र मोडल एक्स कारहरू अपग्रेड गरेको छ । कम्पनीले बिहीबार एक पोस्ट र आफ्नो वेबसाइटमार्फत कारहरू अपग्रेड गरेको जानकारी दिएको हो । अपडेटपश्चात टेस्लाले मूल्य ५ हजार डलरले बढाएको जनाएको छ । टेस्लाको वेबसाइटका अनुसार यी दुई मोडलका सबै भर्सनहरूको मूल्यमा ५ हजार डलर थपिएको हो । मोडल एक्सको अल-ह्वील ड्राइभ भर्सनको मूल्य अब ८९ हजार ९९० डलर पुगेको छ भने यसको प्लेड भर्सनको मूल्य १ लाख ४ हजार ९९० डलर छ । मोडल एसको अल-ह्वील ड्राइभ भर्सनको मूल्य ८४ हजार ९९० डलर र प्लेड भर्सनको मूल्य ९९ हजार ९९० डलर तोकिएको छ ।
सेकेन्ड ह्याण्ड ईभी बेच्न चुनौती, व्यवसायी भन्छन्- रिसेल मूल्य घटेको भ्रममात्रै हो
काठमाडौं । पछिल्लो समय विद्युतीय सवारीसाधन (ईभी) को सेकेन्ड ह्याण्ड मूल्य घटेको भन्ने चर्चा बजारमा व्यापक छ । तर अटो व्यवसायीहरूले भने यो हल्ला मात्र भएको दाबी गर्दै ईभी र इन्धन गाडी (आईसीई) दुवैको रिसेल भ्यालु उस्तै रहेको बताउँछन् । फोर्ड गाडीका आधिकारिक बिक्रेता जीओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार, कुनै पनि गाडी किनेपछि बेच्दा किनेको मूल्यभन्दा कम नै पाउने परम्परा छ । उनले भने, ‘रिसेल भ्यालु सबै गाडीमा उस्तै हो । जुन ईभीमा मात्रै मूल्य घट्छ भन्ने हल्ला छ, त्यसमा कुनै तथ्य छैन । एक महिनामै बेच्दा पनि २०/२५ प्रतिशतसम्म मूल्य घट्नु सामान्य हो । ईभी मात्र घट्छ भन्ने गलत हो ।’ हाल नेपाली बजारमा ईभीको उपस्थिति तीव्र गतिमा बढ्दै गएको छ । गोल्छाका अनुसार आईसीईभन्दा ईभीमा धेरै फिचर र सुविधाहरू हुन्छन् । ब्याट्री क्षमता, कम चार्जिङ खर्च, वातावरणमैत्री प्रविधि र आधुनिक डिजाइनका कारण उपभोक्ताको आकर्षण बढ्दै गएको उनले बताए । उनका अनुसार अहिले धेरै ग्राहकहरूले इन्धन र ईभी दुवै प्रकारका गाडी प्रयोग गरिरहेका छन् । बजारमा नयाँ प्रविधि आउँदा उपभोक्तामा स्वाभाविक रूपमा आकर्षण बढ्ने उनको तर्क छ । अहिले नेपालमा बिक्री हुने कुल सवारीसाधनमध्ये करिब ७० प्रतिशत विद्युतीय गाडी भएको गोल्छाले जानकारी दिए । बीवाईडीका लागि आधिकारिक बिक्रेता साइमेक्स इन्ककी महाप्रबन्धक यमुना श्रेष्ठले पनि रिसेल भ्यालुमा समस्या ब्याट्रीको मूल्य घटबढका कारण आउने बताइन् । उनका अनुसार इन्धन र ईभी दुवै गाडीको सेकेन्ड ह्याण्ड मूल्य कम नै पर्छ । उनले भनिन्, ‘ईभी नयाँ प्रविधि भएकाले सेकेन्ड ह्याण्ड कस्तो होला भन्ने बुझाउन नसक्दा मूल्य घटेको हो । जस्तो मोबाइल दुई महिनामै बेच्दा मूल्य झर्छ, गाडी पनि त्यस्तै हो ।’ श्रेष्ठले ४० मा किनेको गाडी एक वर्षपछि बेच्दा रिसेल भ्यालु ३५ लाख पाएपछि गाडी बेचेको सुनाइन् । उनले रिसेल भ्यालु राम्रो पाएको भन्दै खुसी भएको समेत बताइन् । अहिले बजारमा १०/१२ लाखदेखि ४/५ करोडसम्मका ईभी पाइने उनको भनाइ छ । मर्मतसम्भारको आवश्यकता समेत ईभीमा कम हुने उनी बताउँछिन् । महाप्रबन्धक श्रेष्ठले भनिन्, ‘अन्य सवारीसाधनहरुमा इन्धन हालिराख्नुपर्छ । मर्मत गरिराख्नुपर्छ । इन्जिन फेरिराख्नुपर्छ । ईभीमा न त तेल फेर्नुपर्ने झन्झट छ, न त इन्जिन बिग्रने चिन्ता । डर केवल सहज र कुशल यात्राको हुन्छ ।’ ‘हाल संसार प्रविधिमैत्री बन्दै गइरहेको छ । ईभीमा आकर्षित हुनु राम्रो पक्ष हो । ईभी वातावरणमैत्री हुनुले पनि सबैको रोजाइमा परिरहेको हो,’उनले थपिन् । श्रेष्ठले हाल नेपालमा ५० भन्दा बढी ब्राण्डका ईभी चलिरहेका बताइन् । उनका अनुसार राजधानीमा सबैभन्दा धेरै ईभी गुडिरहेका छन् । २०१७ मा ५० हजार डलर पर्ने ईभी अहिले उस्तै प्रविधियुक्त २५ हजार डलरमै उपलब्ध रहेको पनि उनले जानकारी दिइन् । लक्ष्मी ई मोबिलिटीका प्रबन्धक दीपक थपलिया पनि ईभी र आईसीई दुवैको रिसेल भ्यालु उस्तै रहेको बताउँछन् । बजारमा फैलिएको हल्लामा विश्वास नगर्न उनले आग्रह गरे । ‘बजारमा आएका हल्लामात्र हुन् । दुवैको रिसेल भ्यालु उस्तै हो । एकै दिनमा पनि रिसेल भ्यालु फरक हुन्छ,’ उनले भने । यता एचबी मोटर्सका प्रबन्ध निर्देशक दीपेश हुमागाईं सेकेन्ड ह्याण्ड ईभी बिक्री गर्न समस्या भइरहेको बताउँछन्। उनले भने, ‘सेकेन्ड ह्याण्डमा ईभी गाडी बेच्न गाह्रो छ । अधिकांश सेकेन्ड ह्याण्ड ईभी किन्न रुचाउँदैनन् । हामीले ५० लाखमा किनेको ईभीलाई छ महिनापछि बेच्दा ३०/३२ लाखसम्ममा बिक्री गर्नुपर्ने हुन्छ ।’ नेपालमा ईभी गाडीको आयात भर्खरै मात्र तीव्र रूपमा अघि बढेको हुनाले ईभी रिकन्डिसन बजारमा एकदमै कम आउने गरेको उनी बताउँछन् । उनका अनुसार नेपालको सेकेन्ड ह्याण्ड बजारमा ५ प्रतिशत मात्र ईभी बिक्रीका लागि आउने गरेका छन् ।ईभी गाडीको प्रयोग र आयात बर्सेनि तीव्र गतिमा बढ्दै गएको छ । नेपालका सडकमा विभिन्न ब्राण्डका विद्युतीय सवारीसाधनहरूको उपस्थिति दिनदिनै विस्तार भैरहेको छ । सरकारले पनि कर छुट, अनुदान र प्रोत्साहन नीति मार्फत ईभीलाई प्रोत्साहन गरिरहेको छ । तर यसरी नयाँ ईभीको माग उच्च हुँदै जाँदा समेत त्यसअनुसार सेकेन्ड ह्याण्ड बजार भने अपेक्षित रूपमा विकास हुन सकेको छैन । उपभोक्ता नयाँ प्रविधि, ब्याट्रीको दीर्घकालीन क्षमता र मर्मतसम्भारमा अनिश्चितता जस्ता कारणले पुराना ईभी किन्न अझै हिच्किचाइरहेका छन् । यसले गर्दा ईभीको रिसेल भ्यालु अझै कमजोर देखिएको विज्ञहरूको भनाइ छ। आगामी दिनमा प्रविधि अझ परिस्कृत हुँदै जाँदा र उपभोक्तामा विश्वास बढ्दै जाँदा मात्र सेकेन्ड ह्याण्ड बजार पनि क्रमशः सबल हुँदै जाने उनीहरूको अनुमान छ ।