गाडी बिग्रेपछि उपभोक्ता र बिक्रेताबीच लडाइँ, ९ वर्षपछि अदालतमा मुद्दा
काठमाडौं । दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिका महासचिव देवान राईसँग विसं २०७० सालतिर ३ वटा टाटा सुमो थिए । उनी काठमाडौंका यात्रुलाई खोटाङको दिक्तेल, हलेसी, रुपाकोट लगायत विभिन्न क्षेत्रमा पुर्याउँथे, खोटाङका यात्रुलाई काठमाडौं ल्याउँथे । सुमो ९ सिटको क्षमताको थियो । उनले आयाम इन्टरकन्टिनेन्टल प्रालिको गज्जबको अफर सुने । ‘जर्मनी मर्सिडिज ब्राण्डको इन्जिन, गियर बक्स, क्राउन मेसिन बलियो, तीन वर्ष वा तीन लाख किलोमिटरको वारेन्टी भएको व्यावसायिक रुपमा सबैभन्दा उपयुक्त गाडी, नेपालमा यो भन्दा धेरै वारेन्टी कुनै पनि कम्पनीले दिँदैन । १४ सिटको क्षमता ।’ अफर सुनेपछि राई आकर्षित भए । साथै मूल्यमा पनि छुट पाउने भएपछि राईले विसं २०७३ जेठ ११ गते ४० लाख ५० हजार रुपैयाँमा फोर्स फोर ह्विल गाडी (फोर्स ट्रयाक्स क्रुजर ४ डब्लुडी) खरिद गरे । ४१ लाख ५० हजार रुपैयाँ पर्ने गाडीमा १ लाख रुपैयाँ छुट पाएका राईको गाडी एक महिनापछि (विसं २०७३ असार २५ गते) गुड्दागुड्दै इन्जिन बन्द भयो । ‘तपाईंले भनेको जस्तो पर्फमेन्स गाडीले दिएन । सबैभन्दा बलियो इन्जिन, मर्सिडिज ब्राण्डको इन्जिन भनेर दाबी गर्नुभयो । तर, एक महिनामै गयो । यो गाडीको प्रडक्सन फेल हो या अन्य कुनै कारण हो ? एक महिनामै इन्जिन बिग्रेपछि कम्पनीलाई गाडी फिर्ता लैजानूस् भने,’ राईले घटनाको बेलीविस्तार सुनाउँदै भने, ‘तर, कम्पनीले तपाईंकाे गाडीको वारेन्टी छ, हामी गाडी बनाई दिन्छौं भन्यो ।’ कम्पनीले गाडी बनाइदिए पनि एक महिनामै फेरि इन्जिन गएपछि उक्त गाडी कम्पनीलाई नै जिम्मा लगाएको राईको भनाइ छ । बढी सिट क्षमताको गाडीमा धेरै यात्रु ओसारपसार गरेर राम्रो आम्दानी गर्ने योजना बनाएका उनले एक वर्षपछि (२०७४ सालमा) २ वर्ष वारेन्टी र सबै मर्मत गर्ने सहमतिमा गाडी लगेर गए । तर, गाडी फेरि बिग्रिन थालेपछि २०७५ मा कम्पनीलाई जिम्मा लगाएर आफ्नो रकम फिर्ता मागे । हाल उक्त गाडी कम्पनीसँगै रहेको उनले बताए । ‘त्यसबीचमा धेरैपटक समस्या समाधान गर्नुहोस्, म खरानी भएँ, बैंकको कर्जा तिर्न नसकेर कालोसूचीमा परे भनेर अनुरोध गरें । तर, केही पनि गर्नु भएन,’ उनले भने, ‘कुनै सुनुवाइ नभएपछि विसं २०८१ माघ २४ गते मैले लिखित निवेदन दिए । तर, उल्टै मलाई धम्की दिएर जे गर्नुहुन्छ गर्नुहोस् भन्नु भयो ।’ आयाम इन्टरकन्टिनेन्टल कम्पनीका सञ्चालक ध्रुव थापासँग भेटेर गुनासो राख्ने प्रयास गरेको भए पनि समय नदिएको उनको आरोप छ । साथै हालै सञ्चालनमा आएको उपभोक्ता अदालतमा कम्पनीले ठगी गरेको भन्दै मुद्दा दर्ता गराएको उनले जानकारी दिए । ‘कुरा सुन्दा राम्रो लागेर गाडी किनेको हो । तर, फोर्सको जस्तो खत्तम गाडी कुनै पनि छैन । यो गाडी कामै नलाग्ने रहेछ,’ उनले भने, ‘काठमाडौंबाट गन्तव्यमा हिँड्यौँ भने बाटोमा ३/४ ठाउँमा बिग्रिन्छ । साथै गाडी गुड्दागुड्दै चक्का निस्केर दुर्घटनामा पर्छ । सुनकोशीमा फोर्सका गाडी गुल्टेका धेरै घटना छन् । कहिले डिलमुनि, कहिले भित्तामा ठोक्किन्छन् ।’ राईका अनुसार गाडी मर्मत गर्दा पाटपुर्जा समेत असाध्यै महँगो छन् । मेन्टेनेन्स लागत उच्च भएका कारण व्यवसायीहरू सबै थला परेका छन् । दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात, रुपाकोट हलेसी यातायात व्यवसायी संघ र त्रिवेग यातायात प्रालिका १८/२० वटा गाडी व्यवसायी पीडित रहेको उनको दावी छ । आयाम इन्टरकन्टिनेन्टलका सञ्चालक ध्रुव थापाका अनुसार राईले ९ वर्षअघि ४० लाख ५० हजार रुपैयाँमा फोर्स ट्रयाक्स क्रुजर ४डब्लुडी किनेको थिए । त्यसमा ८ लाख १० हजार रुपैयाँ नगद भुक्तानी गरेका थिए भने बाँकी ३२ लाख ४० हजार रुपैयाँ क्रेडिट (कर्जा) मा राई लिएका थिए । तर, चालकको लापरबाहीका कारण इन्जिन जाम (सिज्ड) भएको र चालकले वेवास्ता गरी चलाइरहेका कारण पुरै इन्जिन बिग्रेको आरोप उनको छ । ‘चालकको लापरवाहीका कारण गाडीको इन्जिन जाम भयो । टर्बोचार्जरमा समस्या चालकले थाहा पाए पनि वेवास्ता गरी गाडी चलाउन जारी राख्दा इन्जिन पूरै बिग्रियो । फोर्स मोटर्सले इन्जिनका बिग्रिएका पार्ट्सहरूको परीक्षण गरी रिपोर्ट दिँदा यो वारेन्टी अन्तर्गत नपर्ने जानकारी दिएको थियो,’ उनले भने, ‘तर, देवान राईले तत्काल गाडी मर्मत गरेर पछि कुरा गरौंला भन्नुभयो । त्यसपछि गाडी मर्मत गरेर उहाँलाई गाडी दिइयो ।’ तत्कालीन समयमा खोटाङमा पुल थिएन । राईले उक्त गाडी निरन्तर चलाएर सर्भिस मापदण्डअनुसार मर्मत नगर्दा गाडीको अवस्था झनै बिग्रियो । पछि कम्पनी आफैले गाडी शोरुममा ल्याएर जाँच गर्दा अत्यन्तै नाजुक रहेको पाइएको थापाले बताए । ‘त्यसपछि बाँकी रहेको साढे ३२ लाख रुपैयाँमध्ये ५ लाख रुपैयाँ उधारो रहने गरी १ लाख रुपैयाँ दुर्घटना सहायता (च्यारेटी) बापत कट्टा भई बाँकी रहेको २६ लाख ४० हजार रुपैयाँ असुल गरी विसं २०७४ साउन ८ गते उक्त गाडी राईलाई हस्तान्तरण गरेका थियौं,’ उनले भने, ‘त्यसपछि पनि गाडीले नियमित सर्भिस गरिरहेको थिएन । केवल ठूलो समस्या आएमा मात्र गाडी वर्कसपमा पठाइन्थ्यो ।’ यसबीचमा कम्पनीले राईकै सिफारिसमा उनको समितिलाई थप ३ वटा गाडी बिक्री गरेको थियो । साथै सो गाडी बिक्रीमा सहयोग गरेवापत उनलाई कम्पनीले कमिसन पनि दिएको थापा बताउँछन् । यदि फोर्सका गाडीहरू खराब थिए भने अरूलाई गाडी खरिदका लागि किन प्रोत्साहित गरेर कमिसन खाएको भन्दै थापाले प्रश्न गरे । ‘यदि उहाँको गाडी बिग्रेको थियो भने किन उहाँले आफन्त वा साथीहरूलाई फोर्सका गाडी किन्न लगाउनु भयो ? उहाँ आफै आएर हस्ताक्षर गरेर गाडी लग्नु भएको हो । त्यसबापत उहाँलाई कम्पनीले कमिसन पनि दिएको छ,’ उनले भने । थापाका अनुसार केही समयपछि उनी (राई)को गाडी चालकसँग कमाइ थोरै बुझाएको भनी आर्थिक विवाद भयो । लिखित सम्झौता भएको करिब २ वर्षपछि अर्थात् विसं २०७६ मंसिर ७ गते राईका गाडी चालकले गाडी सर्भिस सेन्टरमा छोडेर गएको र त्यसपछि चालक र राई सम्पर्कविहीन भएको उनले बताए । तर, केही समयपछि सम्पर्कमा आएका राईले गाडी बिक्री गर्न अनुरोध गरे । गाडी बिक्रीको प्रयास पनि भयो । जब किन्नका लागि ग्राहक तयार हुन्छन्, तब राईले गाडीको अधिक मूल्य राख्ने गरे । मूल्य नमिलेकाले गाडी बिक्री हुन नसकेको थापाको भनाइ छ । ‘कम्पनीले बिक्री गर्ने कोसिस गर्यो । तर, २० लाख रुपैयाँ दिन्छु भन्दा २५ लाख रुपैयाँ, २५ लाख रुपैयाँ दिन्छु भन्दा ३० लाख रुपैयाँ मूल्य तोक्नु भयो । त्यसरी धेरै समयसम्म राख्दा अहिले गाडी कवाडी भएको छ,’ उनले भने, ‘चाहे त्यो टोयोटा होस् त्यो मर्सिडिज, बीएमडब्लु नै किन नहोस् । तर, उहाँले म मुद्दा हाल्छु भनेर विगत ५/६ महिनादेखि बार्गेनिङ र ब्ल्याकमेलिङ गर्नु भयो ।’ थापाका अनुसार संसारको जुनसुकै कम्पनीले बिग्रेपछि गाडी बनाइदिने हो तर गाडी रिप्लेस गर्दैनन् । तर, राईले विभिन्न बहनामा कम्पनीसँग बार्गेनिङ र ब्ल्याकमेलिङ गरेको थापाले आरोप लगाए । राईले गाडी किन्दाको उधारो ५ लाख रुपैयाँ अझै तिर्न नसकेको थापाले बताए ।
क्यारीका दुई ईभी भ्यान नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक
काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चीनको प्रख्यात व्यावसायिक विद्युतीय सवारी ब्रान्ड ‘क्यारी’ लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्सपोमा केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रिक भ्यान लन्च गरिएको हो । यी भ्यान व्यावसायिक तथा शैक्षिक दुबै क्षेत्रका लागि उपयोगी हुने कम्पनीले विश्वास लिएको छ । भ्यानको मूल्य क्रमशः ५८ लाख ५६ हजार र ६३ लाख ६ हजार रुपैयाँ निर्धारण गरिएको छ । नेपालकै लागि भनेर विशेष रुपमा डिजाइन गरिएका यी भ्यान १५ र १६ सिट क्षमतामा उपलब्ध हुनेछन् । साथै व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ‘कमर्सियल भेरियन्ट’ र स्कुल/कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेंलो रङमा ‘स्कुल भेरियन्ट’ उपलब्ध गराइएको छ । स्कुल भेरिएन्टमा बालिबालिकाको सुरक्षालाई सुनिश्चित गर्न उच्चतम सुरक्षा मापदण्ड र विशेष सुबिधाहरु समावेश गरिएका छन् । यी इलेक्ट्रिक भ्यानमा ५३ किलोवाट आवरको एलएफपी सिएटिएल ब्याट्री जडान गरिएको छ, जसले एक पटकको फुल चार्जमा ३०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्दछ । दुवै मोडलमा स्थायी पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर ९पीएमएसएम० जडान गरिएको छ, जसले १३०/२७० एनएमको रेटेडरपीक टर्क र ५०/८० किलोवाटको रेटेड/पीक पावर उत्पादन गर्दछ । क्यारीको यी विद्युतीय भ्यानमा नेपाली सडकका लागि उपयुक्त हुनेगरी १८० एमएमको उच्चतम ग्राउन्ड क्लिरियन्स दिइएको छ । अगाडि डिस्क र पछाडि ड्रम ब्रेक जडान गरिएको यी भ्यानमा एबीएस, ईबीडी र फायर एक्सटिन्गुइसर लगायत सेफ्टी फिचर पाउन सकिन्छ । क्यारी ईभी भ्यानका बारेमा थप जानकारी लिन नाइमा मोबिलिटी एक्सपोको हल डी, स्टल डी–१२ मा आई अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ । एलएक्सजी मोटर्स प्रालि नेपालको अग्रणी व्यावसायिक समूह लक्ष्मी ग्रुपको एक सहायक कम्पनी हो । कम्पनीले नेपाली बजारमा उत्कृष्ट र वातावरणमैत्री विद्युतीय सवारी साधनहरू भित्र्याएर दिगो यातायातमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा नयाँ गाडीको आकर्षण र विशेष अफरको होडबाजी
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२५ मा विद्युतीय सवारीसाधन (ईभी) लाई लिएर विशेष रौनक छाएको छ । एक्स्पोमा विश्व प्रसिद्ध अटोमोबाइल कम्पनीहरूका नयाँ मोडल, अत्याधुनिक प्रविधि र आकर्षक छुटका साथ ग्राहकहरूलाई आकर्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् । यही भीडमा बीवाईडी, हुन्डाई, महिन्द्रा, प्रोटोन र ओमोडा जस्ता ब्रान्डहरूले पनि नयाँ गाडी सार्वजनिक गर्नुका साथै विशेष अफरहरू पनि रहेका छन् । बीवाईडीः विश्वकै उत्कृष्ट ह्याचब्याक नेपालमा पहिलो पटक साईमेक्सकी शोरुम म्यानेजर सन्ध्या श्रेष्ठका अनुसार बीवाईडीले यो एक्स्पोलाई लक्षित गरी विश्वकै उत्कृष्ट ह्याचब्याक मध्येको एक मानिने ‘एटो वान’ नेपालमा पहिलो पटक सार्वजनिक गरेको छ । ‘यो गाडी नेपालमा पहिलो पटक आएको हो । ग्राहकहरूको अत्यधिक माग र अनुरोधपछि हामीले नाइमालाई नै सही समय मानेर यो गाडी लन्च गरेका हौं,’ श्रेष्ठले भनिन् । एटो वान दुई भेरियन्टमा उपलब्ध छ जसको मूल्य २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बीवाईडीको सबैभन्दा ठूलो विशेषता यसको ‘ब्लेड ब्याट्री टेक्नोलोजी’ र ‘ई–प्लेटफर्म ३.०’ हो । यी दुवै विशेषता एटो वानमा उपलब्ध छ । एटो वानको खरिदमा डेढ लाख बराबरको बेनिफिट प्याकेज दिइएको छ । जसमा बीमा, सडक कर, एसेसरिज र पोर्टेबल चार्जर समावेश छन् । त्यस्तै, ७५ लाख पर्ने बीवाईडी सिलमा ‘अर्ली बर्ड बुकिङ’ अफर अन्तर्गत ७२ लाखमा गाडी पाउनुका साथै बीमा, कर र अन्य एसेसरिजहरू पनि उपलब्ध छन् । हुन्डाईः नेपाली सडक सुहाउँदो ‘क्रेटा ईभी’ हुन्डाईका सेल्स इन्चार्ज सुरेश श्रेष्ठले एक्स्पोमा ‘क्रेटा ईभी’ मुख्य आकर्षण बनेको जानकारी दिए । ‘हामीले क्रेटा ईभी, क्रेटा पेट्रोल, भेन्यू, ग्रान्ड आईटेन र आयोनिक फाइभ जस्ता पाँचवटा गाडी राखेका छौं । तर सबैभन्दा बढी माग क्रेटा ईभीको छ,’ उनले भने । क्रेटा ईभी ५१ लाख ९६ हजारबाट सुरु भई ७७ लाख रुपैयाँसम्मको पाँच भेरियन्टमा उपलब्ध छ । यसको सुरुवाती तीन भेरियन्टले एक पटकको चार्जमा ३५० किलोमिटर रेन्ज दिन्छ भने टप दुई भेरियन्टले ४७० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । श्रेष्ठका अनुसार गाडीमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।’ ब्याट्रीको आयु लगभग १४–१५ वर्षसम्म रहने दावी उनले गरे । एक्स्पोमा गाडी बुक गर्ने ग्राहकका लागि आकर्षक नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ बीमा, सडक कर र लक्की ड्र मार्फत भियतनाम टुरको अवसर जस्ता विभिन्न सुविधा छन् । महिन्द्राः अत्याधुनिक प्रविधिसहितको नयाँ ईभी अग्नि महिन्द्रा ग्रुपका ईभी सेल्स म्यानेजर सागर भट्टराईले एक्स्पोमा तीनवटा नयाँ गाडी लन्च गरेको जानकारी दिए । बीई ६, एक्सईभी नाइन ई र पेट्रोल गाडी एक्सयूभी थ्री एक्स ओ । बीई ६ को मूल्य ५७ देखि ६८ लाखसम्म छ भने एक्सयूभी नाइन ईको मूल्य ६९ देखि ९५ लाखसम्म रहेको छ । यी गाडीहरूमा ‘इन्टेलिजेन्ट एड्याप्टिभ सस्पेन्सन’ जडान गरिएको छ जुन नेपालको खाल्डाखुल्डी बाटोका लागि निकै उपयोगी छ । साथै क्वालकमको स्न्यापड्र्यागन प्रोसेसर, १ हजार ४०० वाटको हार्मन कार्डन स्पिकर, ३६० डिग्री क्यामेरा र गाडी आफै पार्क हुने ‘अटो पार्क’ जस्ता अत्याधुनिक फिचरहरू छन् । टप मोडलले एक पटकको चार्जमा ४५० किलोमिटरको रेन्ज दिने भट्टराईले दावी गरे। नाईमा एक्स्पोमा गाडी बुक गर्नेहरूका लागि भेरियन्टअनुसार २ लाखसम्मको नगद छुटको व्यवस्था गरिएको छ । प्रोटोनः शून्य प्रतिशत ब्याजदरको अनौठो अफर जगदम्बा मोटर्सका सेल्सका सुजन श्रेष्ठले मलेसियन ब्रान्ड प्रोटोनले ‘ई–मास सेभेन’ का दुई भेरियन्ट रहेको जानकारी दिए– प्राइम र प्रिमियम । प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ भने प्रिमियमको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्राइमले ३४५ किलोमिटर प्रिमियमले ४१० किलोमिटर रेन्ज दिन्छ । गाडी घरको सामान्य चार्जरबाट ६-७ घण्टामा फुल चार्ज हुन्छ भने डीसी फास्ट चार्जरबाट मात्र २० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । प्रोटोनले एक्स्पोका लागि सबैभन्दा फरक अफर ल्याएको छ । गाडीको कुल मूल्यको ६० प्रतिशत रकममा चार वर्षका लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराइएको छ । साथै ब्याट्रीमा आठ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी दिइएको छ । जुन पहिले १ लाख ६० हजार किलोमिटरमा सीमित थियो । ओमोडाको जेको जे- ५ नाइमा एक्स्पोमा ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे–५’ राखेको छ । यो प्रिमियम एसयुभी भेरियन्ट हो । कम्पनीका अनुसार जे–५ लाई एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको छ । यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध छन् । यो एसयुभीमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । कम्पनीले एक पटकको फुल चार्जमा यसले ४०२ किलोमिटरको डब्लुएलटीपी प्रमाणित रेन्ज दिने दाबी गरेको छ। सुरक्षाका लागि जेको जे-५ मा लेभल २ एडास अन्तर्गतका विभिन्न फिचरहरू छन् । यसमा फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल र स्वचालित आपतकालीन ब्रेकिङ सहित १९ भन्दा बढी सुरक्षा प्रविधि रहेको जनाइएको छ । एक्स्पोको अवसरमा यो गाडी ग्राहकले ५६ लाख ९९ हजार रुपैयाँमै पाउनेछन् । यो गाडी ६० लाख ९९ हजार रुपैयाँको मूल्यमा सार्वजनिक भएको थियो । नाडा मोबिलिटी एक्स्पो नयाँ गाडीहरूको प्रदर्शनी मात्र नभएर ग्राहकका लागि उत्कृष्ट डिल र अफर प्राप्त गर्ने अवसर पनि बनेको छ । कम्पनीहरूबीचको यो प्रतिस्पर्धाले नेपाली अटोमोबाइल बजारलाई थप प्रतिस्पर्धी र ग्राहकमुखी बनाएको छ ।