सकियो नाइमा मोबिलिटी एक्स्पो (फोटोफिचर)
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ साउन २६ गते सोमबार सफलतापूर्वक सम्पन्न भएको छ । साउन २१ गते सुरु भएको एक्स्पो प्रारम्भिक तालिकाअनुसार साउन २५ गतेसम्म सञ्चालन हुने भनिएको थियो । तर, अवलोकनकर्ताको अत्यधिक उत्साहका कारण एक दिन थप गरिएको नाइमाले जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले साउन २१ गते एक्स्पोको उद्घाटन गरेका थिए । ५० अटोमोबाइल ब्राण्डको सहभागिता रहेको एक्स्पोलाई १ लाख १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । गाडी अवलोकन, नयाँ मोडलबारे जानकारी, सोधपुछ, बुकिङ र खरिदमा सहभागीहरूको उल्लेख्य उपस्थिति देखिएको नाइमाले जनाएको छ । एक्स्पोसम्बन्धी विस्तृत विवरण आगामी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने नाइमाले जानकारी दिएको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज
नाइमा अटो एक्स्पो सम्पन्न, नीतिगत स्थिरतामा व्यवसायीको जोड
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा मोबिलिटी एक्स्पो एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ । भृकुटीमण्डपमा ६ दिनसम्म चलेको एक्स्पोमा अवलोकनकर्ताको बाक्लो उपस्थिति रहेको थियो । एक्स्पोको सफलताले आयोजक तथा व्यवसायीहरू उत्साहित भएका छन् । नाइमाकी अध्यक्ष रितु वैद्यले एक्स्पोले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएको र यसले समग्र अटोमोबाइल क्षेत्रमा नयाँ ऊर्जा थपेको बताइन् । एक्स्पोको सफलतासँगै व्यवसायीहरूले सरकारसँग अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन र स्थिर नीतिको माग गरेका छन् । अध्यक्ष वैद्यले हरेक बजेटमा करका दरहरू परिवर्तन हुँदा उद्योगमा अनिश्चितता छाउने र लगानीको वातावरण बिग्रने गरेको बताइन् । ‘हाम्रो चाहना भनेको अटोमोबाइल क्षेत्रमा नीतिको स्थिरता हो । कम्तिमा ५ देखि १० वर्षसम्म स्थिर नीति भएमा मात्र उद्योगले सही योजना बनाएर अघि बढ्न सक्छ,’ उनले भनिन् । उनले सरकारले अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तु र कर उठाउने माध्यमको रूपमा मात्र नहेरी अर्थतन्त्र चलायमान बनाउने एक आवश्यक क्षेत्रको रूपमा बुझ्नुपर्नेमा जोड दिइन् । एक्स्पोमा सहभागी ५० भन्दा बढी ब्रान्डका व्यवसायीहरूले राम्रो व्यापार र ग्राहकहरूको चासोबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन् । छुट र अफरका कारण पनि ग्राहकहरूको आकर्षण बढेको थियो । अवलोकनकर्ताहरूले पनि एकै छानामुनि विभिन्न ब्रान्डका गाडीहरू हेर्न, तुलना गर्न र खरिद गर्न पाउँदा खुसी व्यक्त गरे । नाइमाले भविष्यमा यस्ता एक्स्पोलाई अझ व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन भृकुटीमण्डपमा एउटा स्थायी र आधुनिक प्रदर्शनी हल आवश्यक रहेको बताएको छ । ‘यो विषयमा हामीले अर्थमन्त्रीज्यूसँग पनि कुरा राखेका छौं र उहाँबाट सकारात्मक आश्वासन पाएका छौं,’ अध्यक्ष वैद्यले भनिन्, ‘राम्रो पूर्वाधार भएमा हामीले अझ उत्कृष्ट कार्यक्रम गर्न सक्छौं ।’ बीवाईडी र लिपमोटरको उत्साहजनक बुकिङ पहिलो पटक आयोजना गरिएको नाइमा मोबिलिटी एक्स्पो २०२५ मा विभिन्न कम्पनीहरूले प्रदर्शन गरेका विद्युतीय सवारी साधनहरूमा उल्लेखनीय बुकिङ भएका छन् । साइमेक्स इंकले एक्स्पोमा बीवाईडीका मोडेलहरू एट्टो-१ र सिलायन-७ प्रदर्शनीमा राखेको थियो । कम्पनीका अनुसार बीवाईडीका ६ सय भन्दा युनिट गाडी बुकिङ भएका छन् । लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले टी०३, बी-१० र सिट्रोन लगायतका मोडेल प्रदर्शनमा राखेको थियो । कम्पनीले २२५ भन्दा बढी युनिट गाडी बुकिङ भएको जानकारी दिएको छ । टोयोटाका लागि नेपालमा आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले २६ युनिट गाडी बुकिङ भएको जनाएको छ भने हुन्डाईका लागि अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई ब्रान्डको २०० युनिट र फरथिङ फ्राइडेको ३८ युनिट बुकिङ भएको जनाएको छ । त्यस्तै, एलएस अटोले प्रदर्शनमा राखेको एलइभी गाडीको ३७ युनिट, फक्सवागनले २८ युनिट, ओमोडा जेकोका साढे ३ सय, एमजी १ सय ५०, महेन्द्रा १ सय, केई ५०, म्याक्सस १२, एलएस अटो ३५, जीएम डब्लुका ३० वटा गाडीहरु बुकिङ भएको व्यवसायीहरुले जानकारी दिएका छन् । दुईपांग्रे सवारीमा पनि आकर्षक बुकिङ भएको छ । वैद्य एनर्जीले प्रदर्शनमा राखेको एथर स्कुटर १५० युनिटभन्दा बढी बुकिङ भएको छ । यस्तै हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज चेतक, केटीएम र ट्रायम्फ ब्रान्डका प्रत्येकमा २०० युनिट बुकिङ भएको जनाएको छ भने मोर्बिडेलि र बेनेली गरी ८० युनिट बुकिङ भएको बताइएको छ ।
नाइमा एक्स्पोमा बीवाईडी एट्टो वान करिब ६ सय युनिट बुकिङ
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडी एट्टो वान करिब ६ सय युनिट बुकिङ भइसकेको बीवाईडीकी सेल्स म्यानेजर सन्ध्या श्रेष्ठले बताएकी छन् । उनले हिजाे (आइतबार) मात्रै २ सय ५० गाडी बुकिङ भइसकेको बताइन् । बीवाईडीको स्टलमा मानिसहरूको भीड व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परिरहेको छ । भर्खरै सार्वजनिक भएको बजेट ईभी ‘एट्टो वान’ हेर्न, बुझ्न र तुरुन्तै बुकिङ गर्नेहरूले स्टलमा भीड भएको हो । श्रेष्ठले एक्स्पोको अन्तिम दिनमा पनि उस्तै भीड भएको बताइन् । उनले यतिधेरै बुकिङ हुनु आफैमा रेकर्ड भएको बताइन् । कम्पनीका अनुसार यो सफलता रातारात मिलेको होइन । यो वर्षौंदेखिको उपभोक्ताको माग र कम्पनीको सही समयको रणनीतिको परिणाम हो । ‘साढे दुई/तीन वर्षदेखि नै उपभोक्ताहरूले एउटा सानो, गुणस्तरीय र बजेटमा अटाउने विद्युतीय कारको माग गरिरहेका थिए,’ बीवाईडीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘एट्टो(वानले त्यही माग पूरा गरेकाले यति धेरै माया पाएका छौं ।’ सेल्स म्यानेजर श्रेष्ठका अनुसार एट्टो–वानको सफलताको पछाडि यसको कम्प्याक्ट साइज, आधुनिक फिचर र सबैभन्दा महत्त्वपूर्ण– आकर्षक मूल्य र फाइनान्सिङ सुविधाको व्यवस्था छ । यसको स्ट्यान्डर्ड रेन्ज (डाइनामिक भेरियन्ट) को मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यो कार किन्न चाहनेले सुरुमा ११ लाख ५८ हजार रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार बाँकी १७ लाख ३७ हजार रुपैयाँ बैंकबाट ७ वर्षको लागि कर्जा लिन सकिन्छ। अहिलेको औसत ७.५ प्रतिशत ब्याजदरमा हिसाब गर्दा यसको मासिक किस्ता करिब २६ हजार ६५० रुपैयाँ मात्र पर्न आउँछ । यो रकमले मध्यमवर्गीय परिवारलाई पनि विद्युतीय कारको मालिक बन्ने सपना पूरा गर्न सहज बनाएको छ । एट्टो–वान एउटा अर्वान ह्याचब्याक हो, जसलाई विशेषगरी सहरको घुम्ती र चापयुक्त सडकका लागि डिजाइन गरिएको छ । यसमा ३०.०८ किलोवाट आवरको सुरक्षित र टिकाउ (लिथियम आइरन फस्फेट) ब्लेड ब्याट्री छ । यसले एक पटकको फुल चार्जमा २३० किलोमिटरको रेन्ज दिन्छ, जुन दैनिक सहर यात्राका लागि पर्याप्तभन्दा बढी हो । यसमा ४५ किलोवाटको मोटर छ, जसले सहरभित्र आवश्यक पर्ने शक्ति र गति सजिलै प्रदान गर्छ । ३९२० एमएम लम्बाइ र २५०० एमएमको ह्वीलबेसले यसलाई साँघुरो ठाउँमा पनि चलाउन र पार्किङ गर्न सजिलो बनाउँछ । बजेट कार भए पनि एट्टो(वानले फिचरमा कुनै सम्झौता गरेको छैन । यसको क्याबिन आधुनिक र प्रविधिमैत्री छ । कारभित्र पस्नासाथ तपाईंलाई हाइटेक स्मार्ट ककपिट ले स्वागत गर्छ । ड्यासबोर्डको बीचमा १०।१ इन्चको ठूलो टचस्क्रिन छ । जसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो दुवै सपोर्ट गर्छ । यसले नेभिगेसन, संगीत र अन्य स्मार्ट फिचरहरूलाई सहज बनाउँछ । चालकको अगाडि ७ इन्चको डिजिटल डिस्प्ले छ, जसले गति, ब्याट्री लेभल र रेन्ज जस्ता महत्त्वपूर्ण फिचरले ग्राहकलाई आकर्षित गरिरहेको छ।