सानिमा बैंकका ग्राहकलाई बस टिकट खरिदमा क्यासब्याक सुविधा

काठमाडौं । सानिमा बैंकले ग्राहकलाई डिजिटल भुक्तानी प्रयोगमा उत्साहित गर्न बससेवासँग सहकार्य गर्दै आकर्षक क्यासब्याक योजना ल्याएको छ । यस अन्तर्गत सानिमा भिसा डेबिट वा क्रेडिट कार्डमार्फत अनलाइन भुक्तानी गरी बससेवाबाट टिकट खरिद गर्दा ग्राहकले नेपालभित्रको टिकटमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म र भारतको टिकटमा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना २०८२ भदौ १५ देखि २०८२ फागुन १४ गतेसम्म लागू रहने बैंकले जनाएको छ । सानिमा बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्दै आएको छ । हाल बैंकका सातै प्रदेशमा १३४ वटा शाखा र १२७ वटा एटीएम सञ्चालित छन् ।

'जिकर फेस्टिभ थ्रिल' अभियान सुरु, जीकर एक्समा १५ लाख छुट

काठमाडौं । नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले  चाडपर्वको अवसरमा 'जिकर फेस्टिभ थ्रिल' अभियान सार्वजनिक गरेको छ । यो अभियान जिकर एक्सका लागि लागू हुने छ । दशैं, तिहार र छठको चाडपर्वलाई लक्षित गर्दै जिकर एक्समा विशेष अफर सार्वजनिक गरिएको हो । यो चाडपर्व अफरअन्तर्गत अब ग्राहकहरूले ८४ लाख ९९ हजार मूल्य रहेको जिकर एक्स गाडी मात्र ६९‍ लाख ९९ हजारमा खरिद गर्न सक्नेछन् ।  यस अफरसँगै ग्राहकहरूले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी, १ वर्षको अटो प्लस इन्स्योरेन्स, १ वर्षको सडक कर र ७ किलोवाट वाल चार्जर समावेश रहेको थप सुविधाहरू पनि प्राप्त गर्नेछन् ।  जिकर एक्समा २०० किलोवाट मोटर पावर, लेभल २ एडीएएस प्रणाली, १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, ७ वटा एयरब्याग छन् र यो गाडीले यूरो एनक्याप, चाइना एनक्याप र ग्लोबल एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ । पायोनियर मोटोकर्पले सबै ग्राहकलाई नजिकैको जिकर सोरूम भ्रमण गरी यस अफरको लाभ लिन आग्रहसमेत गरेको छ । कम्पनीले नेपालमा जिकर गाडीका बिक्री, सेवा, स्पेयर पार्ट्स तथा अन्य सुविधाहरू उपलब्ध गराउँदै आएको छ।  

पोखरामा सार्वजनिक यातायात सुधार गर्न ४० मिलियन अमेरिकी डलरको प्रोजेक्ट

काठमाडौं । पर्यटकीय राजधानी पोखराको सार्वजनिक यातायातमा सुधार गर्न एशियाली विकास बैंक (एडिबी)ले सहयोग गर्ने भएको छ । पोखराको दिगो सहरी यातायात व्यवस्थापन गर्न विद्युतीय सवारी साधन (इमोबिलिटी) परियोजना सञ्चालनका लागि सो सहयोग प्राप्त हुन लागेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए ।  प्रमुख आचार्यका अनुसार एसियाली विकास बैंक र ग्रिन क्लाइमेट फन्डको साझेदारीमा १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियत ऋण सहायतामा नेपालमा यो परियोजना सञ्चालन गर्न लागिएको हो । यसमध्ये पोखरामा ४० मिलियन अमेरिकी डलर बराबरको परियोजना सञ्चालन हुनेछ ।  महानगर प्रमुख आचार्यले भने, ‘परियोजना सञ्चालन गर्न आवश्यक समन्वय तथा स्थानीय व्यवस्थापनको कार्य पोखरा महानगरपालिकाले गर्नेछ । यस परियोजनाले पोखराको सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउनुका साथै वातावरण तथा पर्यावरणको संरक्षणमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएका छौँ ।’ पोखरा नेपालको पर्यटन राजधानी घोषणा भएसँगै विकास साझेदार एसियाली विकास बैंकले प्राथमिकताका साथ यस क्षेत्रको यातायात व्यवस्थापनका लागि ‘इमोबिलिटी’परियोजना सञ्चालनमा चासो दिएको बताइन्छ । महानगर प्रमुख आचार्यले पनि आफ्नो मनिला भ्रमणका क्रममा एडिबीको मुख्यालय पुगेर पोखरामा इमोबिलिटी परियोजना सञ्चालनका विषयमा छलफल गरेका थिए । पोखरामा इमोबिलिटी परियोजना सञ्चालन गर्न आवश्यक नीतिगत व्यवस्थाका सम्बन्धमा आज छलफल भएको छ । गण्डकी प्रदेश सरकार, नीति योजना आयोग, विकास साझेदार, यातायात व्यवसायीसमेत सरोकारवालाको सहभागितामा भएको उक्त कार्यशालामा पोखराको सार्वजनिक यातायात सुधारसँगै दिगो व्यवस्थापनका लागि विद्युतीय सवारीमा जोड दिनुपर्ने सुझाव दिइएको थियो ।  यसका साथै चार्जिङ स्टेसन निर्माण, सार्वजनिक यातायात सेवासम्बन्धी डिजिटल जानकारी, व्यवस्थित बसस्टपको पूर्वाधार तयार गर्ने लगायत विषयमा छलफल भएको हो । नगर प्रमुख आचार्यले यातायात व्यवसायीलाई सेवाको गुणस्तर सुधार गर्न र जनस्वास्थ्य तथा पर्यावरणप्रति सचेत बन्न आग्रह गरे । पोखरालगायत समग्र गण्डकी प्रदेशको सार्वजनिक यातायात व्यवस्थापन गर्ने गरी प्राधिकरण गठनका लागि कानुनी संरचना निर्माण गर्न लागिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए । एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण रामामूर्ति नेतृत्वको प्रतिनिधिमण्डल परियोजनाका विषयमा भइरहेको छलफलमा सहभागी भएको हो ।