हेनरी भोल्ट्सको ‘मोडेल सी प्रो’ विद्युतीय गाडी नाइमा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । नेपालको विद्युतीय सवारीसाधन (ईभी) बजारमा नयाँ क्रान्ति ल्याउने तयारीमा रहेको हेन्री भोल्ट्स ब्रान्डले आफ्नो नयाँ र उच्च प्रविधियुक्त सिटी ईभी ‘मोडेल सी प्रो’ को सार्वजनिक घोषणा गरेको छ । सन् २०२२ देखि नेपालमा हेन्री भोल्ट्स इलेक्ट्रिक भेहिकल्सको एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक एस क्युब इन्टरप्राइजेज प्रालिले यो नयाँ मोडेलको शुभारम्भ नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गर्नेछ । मोडेल एचको सफलतापछि ल्याइएको मोडेल सी प्रो ३०० किमी लामो रेञ्ज, ३० किलोवाट डीसी फास्ट चार्जिङ र २५ किलोवाट हावर्स लिथियम ब्याट्री जस्ता अत्याधुनिक फिचरहरूसहित बजारमा प्रवेश गर्न लागेको हो । यसले अब ४० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमता राख्दछ । यसमा ३५ किलोवाट मोटर, ११० एनएम टर्क र हिल होल्ड असिस्ट जस्ता विशेषताहरू छन् । काठमाडौंको साँघुरा गल्ली र ट्राफिकलाई ध्यानमा राखेर यसको ३.३ मिटर लम्बाइ र ४.८५ मिटर टर्निङ रेडियस राखिएको छ। यस मोडेलमा लेमन ग्रीन, चेरी रेड, रुबी ब्ल्याक, र कोकोनट ह्वाइट जस्ता आकर्षक रंग विकल्प, ९ इन्च टचस्क्रिन, ७ इन्च इन्स्ट्रुमेन्ट डिस्प्ले, र स्मार्ट सेफ्टी फिचरहरू जस्तै एबीएस,ईबीडी, आईएसओ‌ फिक्स र रिभर्स क्यामेरा उपलब्ध छन् । ‍धेरै अपग्रेड र फिचरका बाबजुद पनि कम्पनीले यसको प्रारम्भिक मूल्य २३ लाख रुपैयाँभन्दा कम हुने बताएको छ । हेनरी भोल्ट्सको विशेषता रहेको डोरस्टेप सर्भिसिङ यो मोडेलमा पनि उपलब्ध हुने एस क्युब इन्टरप्राइजेजले जनाएको छ ।  

राजस्व छलीजस्तो गम्भीर विषयमा निश्चित कम्पनीको स्वार्थमा नलाग्न नाडालाई विभागको आग्रह

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) को आयात सिफारिसमा ढिलाइ भएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गुनासो गरेपछि यातायात व्यवस्था विभागले कडा प्रतिक्रिया दिएको छ ।  विभागले नाडालाई पत्र लेख्दै राजस्व छलीजस्तो गम्भीर विषयमा निश्चित कम्पनीको स्वार्थमा नलाग्न र समस्या समाधानका लागि सिधै विभागसँग छलफल गर्न आग्रह गरेको हो । नाडाले हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्र लेखी आवश्यक कागजात बुझाउँदा पनि विभागबाट आयात सिफारिस नपाएको गुनासो गरेको थियो । सोही गुनासोको जवाफमा विभागले मिति २०८२/०४/०२ मा नाडालाई पत्र पठाएको हो ।  विभागले नाडालाई पठाएको पत्रमा सरकारलाई दबाब दिन चिनियाँ दूतावास गुहारेको विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।  ‘विभाग वा मन्त्रालयसँग छलफल नभई अन्यत्र पत्राचार गरिएको देखिन्छ,’ पत्रमा भनिएको छ । किन रोकियो सिफारिस ?  विभागले पछिल्लो समय विद्युतीय सवारीमा ‘पिक मोटर पावर’ (अधिकतम क्षमता) को आधारमा भन्सार महसुल लाग्ने तर नेपालमा उक्त पावर जाँच्ने प्रविधि नभएको बताएको छ ।  यसकारण भन्सार छल्ने उद्देश्यले सवारीको मोटर पावर परिमार्जन गर्न सक्ने वा कागजातमा मात्र कम क्षमता देखाउन सक्ने जोखिम रहेको विभागको तर्क छ । ‘कागजातको आधिकारिकता जाँच्ने क्रममा सम्बन्धित पक्षबाट पुष्टि हुने थप कागजातसमेत विभागले माग गर्ने गरेको छ,’ पत्रमा उल्लेख छ, ‘नियमानुसार कागजात प्राप्त भएका कुनै पनि कम्पनीको सवारी आयात प्रक्रियामा अवरोध गरिएको छैन ।’ विभागले नाडाको पत्रमा उल्लेखित केही तर्कलाई ‘आधारहीन’ भनेको छ । सिंगापुर र श्रीलंकामा जस्तै नेपालमा पनि निर्वाध आयात हुनुपर्ने तथा विद्युतीय सवारीको मोटर क्षमता चीनमा उपलब्ध सबैभन्दा उच्च मोडेलसँग मेल खानुपर्ने जस्ता नाडाका तर्कलाई विभागले अस्वीकार गरेको हो ।  साथै नाडाले आफ्नो गुनासोमा कुन कम्पनीको कुन मोडेललाई कागजात बुझाउँदा पनि आयातमा अवरोध गरियो भन्ने स्पष्ट नखुलाएको भन्दै विभागले असन्तुष्टि व्यक्त गरेको छ ।

आइएमई मोटर्सले पायो अशोक लेल्यान्डको ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’

काठमाडौं । आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा आयोजित उक्त सम्मेलनमा आइएमई मोटर्सले इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत उत्कृष्टता प्रदर्शन गर्दै यो अवार्ड हात पारेको हो । आइएमई मोटर्स र अशोक लेल्यान्डबीचको एक दशक लामो सफल साझेदारीको अवसरमा प्राप्त यस सम्मानले दुवै कम्पनीबीचको सम्बन्धलाई थप सशक्त बनाएको छ । अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास र सेवा उत्कृष्टताप्रतिको निरन्तर प्रतिबद्धतालाई पुष्टि गरेको आइएमई मोटर्सले जनाएको छ । यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय सेवा मापदण्डमा आइएमई मोटर्सले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरेको हो । आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले यो उपलब्धिलाई कम्पनीका प्रत्येक टेक्निसियन र सर्भिस टिमको निरन्तर समर्पणको प्रतिफल बताएका छन् । 'हामी भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं,' श्रेष्ठले भने । कम्पनीका कार्यकारी निर्देशक निशान ढकालले यस अवार्डले आइएमई मोटर्सको सेवा प्रतिबद्धतालाई थप सुदृढ बनाएको उल्लेख गर्दै सेवा सुधारमा निरन्तर प्रयत्न गर्ने बताए । 'यो सम्मानले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाहमा हामीलाई थप हौसला दिएको छ,' उनले भने । अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले सहकार्यको १० वर्षको सफल यात्रा मनाउँदै यो सम्मानले ग्राहक अनुभवलाई सशक्त बनाउने साझा प्रतिबद्धतालाई झल्काएको बताए । अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता र योगदानका आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ । यो अवार्ड आइएमई मोटर्स मात्र नभई सम्पूर्ण नेपाली अटोमोबाइल क्षेत्रकै लागि पनि गर्वको विषय भएको कम्पनीले जनाएको छ ।