भैरहवाका बिनोद यादवले जिते विकली लक्की ड्रमा यामाहा बाइक

काठमाडौं । यामाहा नेपालले देशभरका ग्राहकलाई लक्षित गरी ल्याएको दशैं–तिहार विशेष अफर 'राइड द ब्लू विद रोडिज' अन्तर्गत पहिलो विकली लक्की ड्र सम्पन्न भएको छ । ड्र २ असोज, २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो । सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए । २८ वर्षीय श्रीहरि पौडेल ‘रकेट’ उपनामले परिचित व्यावसायिक मोटरसाइकल रेसर हुन् । उनी नेपाल मोटरस्पोर्ट्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका पाँच पटकका लगातार विजेता र सन् २०२४ का नेशनल च्याम्पियन समेत हुन् । उनी यामाहा नेपालका आधिकारिक रेसर पनि हुन् । यसपटकको ग्राण्ड उपहारका विजेता भैरहवाका बिनोद यादव बनेका छन् । यादवले नयाँ यामाहा बाइक जितेका छन्। दशैं अभियानमार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुशी दिँदै आएको यामाहाका लागि यो अर्को महत्वपूर्ण क्षण भएको कम्पनीले जनाएको छ।  एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले विजेतालाई बधाई दिंदै भने, 'यामाहाले सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिँदै आएको छ । ‘राइड द ब्लू विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं । अझ धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ ।' 'यामाहा राइड द ब्लू विद रोडिज' अभियानमा विभिन्न अफरहरू समावेश छन् । यस अन्तर्गत बाइक खरिदअघि अधिकतम १ लाख रुपैयाँसम्म नगद उपहार, खरिदपछि अधिकतम १० लाख रुपैयाँसम्म नगद उपहार, हरेक सातामा लक्की ड्रमार्फत १ यामाहा बाइक जित्ने अवसर, फ्री हेलमेट, चार वटा निःशुल्क एडिसनल सर्विस कुपन, स्पेयर पार्ट्स र ल्युबमा ५ प्रतिशत छुट लगायतका सुविधा रहेका छन् । साथै, स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडलमा ० प्रतिशत ब्याजसहितको ईएमआई सुविधा पनि उपलब्ध छ ।

डोंगफेंग मोटर ग्रुपद्वारा प्राइभेटाइजेसन घोषणा, प्रिमियम ईभी ब्रान्ड ‘भोया’ अलग लिस्टिंगमा

काठमाडौं । डोंगफेंग मोटर ग्रुपलाई प्राइभेटाइज गर्ने योजना सार्वजनिक भएलगत्तै कम्पनीका सेयर मूल्य शुक्रबार हङकङ बजारमा तीव्रगतिमा बढ्दै करिब आठ वर्षयताको उच्च विन्दुमा पुगेका छन् । रिपोर्ट अनुसार, प्रस्तावित प्राइभेटाइजेसन सम्झौता करिब ७ अर्ब अमेरिकी डलरबराबर हुनेछ । यसलाई लगानीकर्ताले कम्पनीको भविष्यप्रति बढ्दो विश्वास र चीनको अटो उद्योगमा यसको प्रभावकारी भूमिकाको संकेतका रूपमा लिएका छन् । बजारमा घोषणापछि डोंगफेंगका सेयरहरू झण्डै ६९५ अंकले बढेर ५७५ अंकभन्दा माथि बन्द भएका छन् । चीनको अग्रणी अटो कम्पनीका रूपमा सस्तो, भरपर्दो र 'भ्याल्यु फर मनी' गाडीका लागि चिनिने डोंगफेंगले प्राइभेटाइजेसनमार्फत दीर्घकालीन रणनीति लचिलो बनाउन, छिटो निर्णय लिन र सञ्चालन क्षमतामा मजबुती ल्याउने तयारी गरेको जनाएको छ । यसैबीच, कम्पनीले आफ्नो प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्ड ‘भोया’लाई हङकङ स्टक एक्सचेन्जमा अलग लिस्टिंग गर्ने तयारीसमेत गरिरहेको छ । इलेक्ट्रिक गाडी बजारमा तीव्रगतिमा बढ्दो प्रतिस्पर्धाबीच भोया कम्पनीको प्रविधि, डिजाइन र दिगोपनको प्रतिनिधि ब्रान्डका रूपमा अघि सारिएको छ । लिस्टिङपछि उत्पादन दायरा विस्तार र विश्वबजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउने लक्ष्य लिइएको छ । डोंगफेंग मोटर ग्रुपले आगामी दिनमा पनि किफायतीपन, नयाँपन र प्रविधिमैत्री समाधानमार्फत ग्राहकलाई भरपर्दो सवारीसाधन उपलब्ध गराइरहने प्रतिबद्धता जनाएको छ ।

रसुवा र तातोपानी नाका ठप्प भएपछि कोरला नाकाबाट गाडी आयात गर्दै व्यवसायी

काठमाडौं । दशैं नजिकिएसँगै अटोमोबाइल व्यवसायीहरूले सवारीसाधन आयातमा नयाँ नाकाको प्रयोग गर्न थालेका छन् । चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका रसुवा र तातोपानी नाका ठप्प भएपछि मुस्ताङको कोरला नाकाबाट गाडी भित्र्याइरहेका हुन् । नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा हजारौं गाडी बुकिङ भएपनि डेलिभरीमा भने नाका ठप्प हुँदा व्यवसायीहरूलाई चुनौती थपिएको छ ।  तातोपानी नाकामा पहिरोका कारण पुल भत्किएपछि हाल सो नाकाबाट गाडी आयात हुन सकेको छैन । यसको विकल्पमा मुस्ताङस्थित कोरला नाकाबाट गाडी ल्याउने प्रयास भइरहेको बीवाईडीकी सेल्स म्यानेजर सन्ध्या श्रेष्ठले बताइन् ।  उनले भनिन्, ‘हामीले तातोपानी नाकाबाट गाडी ल्याउन प्रयास गरिरहेका छौं । नाइमा र नाडा अटो शोमा बुकिङ भएका गाडीहरू दशैंसम्म ग्राहकहरूलाई दिन सकिन्छ भन्ने हिसाबले हामी लागिरहेका छौं ।’  श्रेष्ठले दशैंसम्म बुकिङ भएका सबै गाडी डेलिभरी गर्न सतप्रतिशत ग्यारेन्टी गर्न नसके पनि अधिकतम प्रयास भइरहेको बताइन् । बीवाईडीका एटो वान र एटो टु मोडल नाइमा र नाडा अटो शोमा एक हजारभन्दा बढी बुकिङ भएका छन् ।  यस्तै, ओमोडाका मार्केटिङ हेड रुपेश श्रेष्ठले पनि नाकाबाट गाडी छुटाउन लजिस्टिक्स टिम खटाइएको र हाल बिदा धेरै भएकाले काममा ढिलाइ भएको जानकारी दिए ।  ओमोडाको नाइमा एक्स्पोमा मात्रै ३६७ भन्दा बढी बुकिङ भएको श्रेष्ठले बताए । उनले पनि दशैंभित्र डेलिभरीका लागि काम भइरहेको जानकारी दिए । नाडा र नाइमा अटो शोमा मात्रै नभई देशभरबाट गाडीको बुकिङ भइरहेको व्यवसायीहरू बताउँछन् । यस्तै, लिपमोटर गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक जय गोल्छाले पनि अहिले गाडीहरू कोरला नाकाबाट भित्राइरहेको जानकारी दिए ।  नाइमा एक्स्पोमा बुकिङ भएका गाडीहरू दशैंसम्ममा ग्राहकसम्म पुर्याउने उनले जानकारी दिए । नाइमा एक्स्पोमा लिपमोटरका १ सय ८४ वटा गाडी बुकिङ भएका छन् ।  यस्तै, नाडाका सदस्य तथा गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ–फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार दशैंका लागि बुकिङ भएका धेरैजसो गाडीहरू स्टकमै छन् भने केही गाडीहरू डेलिभरी पनि भइरहेका छन् । नयाँ लन्च भएका गाडीहरू तथा तत्काल स्टकमा नभएका गाडीहरू मात्रै आयात भइरहेको उनको भनाइ छ ।  ‘सतप्रतिशत बुकिङ छ भने त्यसमध्येमा १०/२० प्रतिशत गाडी मात्र स्टकमा छैनन् । ७०÷८० प्रतिशत छन्,’ उनले भने, ‘ती गाडीहरू हाल बिक्री भइरहेका छन् । ’ मुस्ताङको कोेरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि भदौ ३० गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार भन्सार पूर्ण रूपमा सञ्चालनमा आएयता कन्टेनर तथा विद्युतीय सवारीसाधनको आयात बढेको छ ।  उनले भने, ‘नाका खुलेयता नेपाल भित्रिने कन्टेनरको संख्या निरन्तर बढिरहेको छ । आज साँझसम्म ६० भन्दा बढी कन्टेनर नेपाल भित्रिसकेका छन् भने हिजोमात्रै ४५ कन्टेनर आएका छन् ।’ बाटोको अवस्था सन्तोषजनक रहेको उनको भनाइ छ । करिब १०० किलोमिटरभन्दा बढी कच्ची सडकले भने केही समस्या सिर्जना गरेको उनको भनाइ छ । यद्यपि, कर्मचारी व्यवस्थापन राम्रो रहेको र कुनै पनि प्रकारको अभाव नरहेको प्रमुख जिल्ला अधिकारी भुसालले विकासन्युजसँग बताए ।  भन्सार कार्यालयका अनुसार नाकामा आयात भएका सामग्रीमध्ये विद्युतीय सवारीसाधन (ईभी) को संख्या बढी छ । हालसम्म १ सय ६० वटा ईभी आयात भइसकेको छ । तर, यी ईभीहरूलाई चार्ज गर्नका लागि नाकामा आवश्यक पूर्वाधार, विशेषगरी चार्जिङ स्टेशनको अभाव छ ।  कार्यालयले यस अभावलाई स्वीकार गर्दै आगामी दिनमा यसको व्यवस्थापनका लागि पहल गरिने बताएको छ । विसं २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका बासिन्दाका लागि मात्र सञ्चालन आएको यो नाका दुई वर्षपछि व्यापारिक रूपमा सञ्चालनमा आएको हो । हाल नाकामा करिब तीन सय कन्टेनर पुगेका र थप एक हजार पाँच सय कन्टेनर दशैंको सामान लिन कोराला जाने क्रममा रहेको बताइएको छ । कोराला नाका सञ्चालन हुन थालेपछि मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र कास्कीका व्यवसायीमा उत्साह छाएको छ ।  समुन्द्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको कोराला नाकामा प्रदेश सरकारले गतवर्ष बनाएको भवनमा पूर्वाधार निर्माण, इन्टरनेट र विद्युत् जडान गरेर भन्सार सञ्चालन गरिएको छ । नेपालबाट मूर्ति, कपडा र बाँसका मुढा चीनतर्फ निकासी भएका छन् । दसैंका लागि कपडाजन्य सामान बोकेका ६० वटा चिनियाँ कन्टेनर कोरला नाकामा आएका छन् । थप कन्टेनर आउने क्रम जारी छ ।  सीडीओका अनुसार मुस्ताङतको अवस्था हेर्दा कृषि उत्पादन तथा पशुपालनमा चहलपहल बढेको छ । स्याउ पाक्न थालेका छन् र तल्लो भेगमा ल्याउने कार्य भइरहेको छ । त्यसैगरी, दसैंका लागि खसीबोका र भेडाहरू पनि बिक्रीका लागि तल्लो क्षेत्रमा झारिँदैछ ।