नाइमा मोबिलिटी एक्स्पोमा सीएफमोटोको अफरै अफर
काठमाडौं । सीएफमोटो/जीहोको नेपालका लागि आधिकारीक वितरक ऋषि ट्रेड सेन्टरले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा आफ्नो २ मोडल ३०० के तथा ४५० एसआरएस लन्चको साथ विशेष अफर सार्वजनिक गरेको छ । साउन २१ देखि २५ गते सम्म काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी भई सीएफमोटो तथा जिहोको मोटरसाइकल तथा स्कुटर बुकिङ तथा खरिद गर्दा कम्पनीले 'सीएफमोटो-जिहो अफरको वर्षा' अन्तर्गत आकर्षक छुट तथा सुविधाहरू उपलब्ध गराउने भएको छ । एक्स्पोमा सीएफमोटो तथा जीहोका लोकप्रिय मोडलहरू २५० के, ४५० एमटी तथा जीहो एई ८ मोडल प्रदर्शनमा राखिनेछ । एक्स्पोलाई लक्षीत गर्दै कम्पनीले आधिकारीक रुपले आफ्नो नेकेड सिरिजअन्तर्गत पर्ने ३०० के तथा प्रिमियम स्पोट्र्स सिरिजअन्तर्गत ४५० एसआरएस मोडेलहरू सार्वजनिक गर्ने भएको छ । एक्स्पो अवधीभर यस ब्राण्डका मोटरसाइकल तथा स्कुटर बुक तथा खरीद गर्ने ग्राहकले ५० हजार सम्मको भारी छुट, सीएफमोटोरजीहोका केही मोडलमा ५ वर्ष वारेन्टी जस्ता सुविधाहरू प्राप्त गर्न सक्नेछन् । यसका साथै कम्पनीले यो एक्सपो अवधिभर ग्राहकले सीएफ मोटोको ४५० एमटी खरीद तथा बुक गर्दा आकर्षक एमटी हेलमेटको साथै २५ हजार रुपैयाँ बराबरको तीन विशेष एसेसोरिजहरू छुटको स्वरुप पाउन सक्नेछन् । त्यसैगरी सीएफमोटोको स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् ।
तस्बिरमा नाइमा मोबिलिटी एक्स्पोको तयारी (फोटोफिचर)
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गर्न लागेको मोबिलिटी एक्स्पोको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको हो । भृकुटीमण्डपमा बुधबारदेखि नाइमा मोबिलिटी एक्स्पो सुरु हुन लागेको हो । एक्स्पोमा सहभागी हुने सवारीसाधन बिक्रेता कम्पनीहरूले धमाधम स्टलहरू निर्माण गरिरहेका छन् । नाइमाले एक्स्पो सुरु हुनुअघि रातिसम्ममा सबै काम सक्नुपर्ने बताएको छ । आज रातिसम्म स्टलको काम सम्पन्न हुने बताइएको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज
नाडा अटो शोमा उड्ने ट्याक्सी राखिँदै, नीति सुधार्न सरकारमाथि दवाव
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले यस वर्षको ‘नाडा अटो शो २०२५’ लाई प्रविधि र नवीनतामा केन्द्रित गर्ने घोषणा गरेको छ । बुधबार आयोजित एक पत्रकार सम्मेलनमा आयोजकले नेपालमा पहिलो पटक ‘फ्लाइङ ट्याक्सी’ (ईभीटीओएल) र अत्याधुनिक रोबोटहरू प्रदर्शन गरिने जानकारी दिएको हो । शोमा ५० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुनेछन् । ‘गो फर मोर’ नाराका साथ आयोजना हुन लागेको यस पटकको प्रदर्शनीको औपचारिक उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको छ । नाडाका अध्यक्ष करण चौधरीले यस वर्षको नाडा अटो शो प्रदर्शनी नभएर भविष्यको अटोमोबाइल क्षेत्रको झलक दिने महोत्सव हुने बताए । ‘नाडा आफ्नो स्वर्ण जयन्तीको संघारमा छ। यो केवल एउटा प्रदर्शनी होइन, सम्पूर्ण अटोमोबाइल क्षेत्रको चाड हो । यसपटक हामीले ‘इनोभेसन र टेक्नोलोजी’ लाई केन्द्रमा राखेका छौं, जहाँ आगन्तुकले भविष्यको सवारी अनुभव गर्न पाउनेछन्,’ अध्यक्ष चौधरीले भने । उनका अनुसार ३ लाख स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा आयोजना हुने यो शोले नयाँ मानक स्थापना गर्नेछ । शोको मुख्य आकर्षणको रूपमा मुख्य प्रायोजक एमएडब्ल्यू वृद्धिले चाङ्गानको (चार खुट्टे) रोबोट 'युनिट्री रोबोट' र भविष्यको सहरी हवाई यातायातको नमूनाको रूपमा 'दीपल ईभीटीओएल युएभी’ (उड्ने गाडी) को प्रदर्शन गर्नेछ । नाडाका अध्यक्ष चौधरीले नेपालमा फ्लाइङ ट्याक्सीसम्बन्धी नीति नभए पनि यस प्रदर्शनीले नीति निर्माणका लागि बहस सिर्जना गर्ने विश्वास व्यक्त गरे । एमएडब्ल्यूका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘हामी नाडा अटो शोको मुख्य प्रायोजक हुन पाउँदा उत्साहित छौं । यस शोमा ५० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक हुँदैछन्, जसमा एमएडब्ल्यूले मात्र ७ वटा नयाँ उत्पादन लन्च गर्नेछ ।’ नाडा अटो शो २०२५ मा ९० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शकहरू र १२२ भन्दा बढी स्टलहरू रहने जनाइएको छ । जसमा १९ वटा चार पाङ्ग्रे ब्रान्ड, १४ वटा हल्का व्यावसायिक गाडी ब्रान्ड २४ वटा दुई पाङ्ग्रे ब्रान्ड, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण तथा वित्तीय संस्था गरी ३५ कम्पनीहरू कूल ३ लाख वर्ग फिट क्षेत्रफलमा फैलिने यो प्रदर्शनी नेपालमा आजसम्मकै सबैभन्दा ठूलो अटोमोटिभ प्रदर्शनी हुने नाडाले दाबी गरेको छ । कार्यक्रममा सह-प्रायोजक शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डेले विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै नयाँ बीमा योजनाको आवश्यकता रहेको बताउँदै नाडासँग सहकार्य गर्न तयार रहेको जानकारी दिए । टिकटिङ पार्टनर खल्तीकी प्रतिनिधि पूजा धामीले आगन्तुकहरूको सहजताका लागि डिजिटल टिकटिङको व्यवस्था गरिएको र ‘अर्ली बर्ड’ टिकटमा २० प्रतिशत छुट दिइने घोषणा गरिन् । यस वर्षको शोको संरचनामा पनि नवीनता ल्याइएको छ । शोको सुरुवातमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्न मेड इन नेपाल पेभिलियन राखिनेछ । साथै भिन्टेज कार प्रदर्शनी, अन्तर्राष्ट्रिय व्यापार पेभिलियन र मिडियाकर्मीका लागि विशेष सुविधासहितको मिडिया डेस्कको व्यवस्था गरिएको छ । शोमा फोर-ह्विलरका १९, लाइट कमर्सियल भेइकलका १४, र टु-ह्विलरका १० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ । दृष्टिविहीन पत्रकारको सुझावलाई सम्बोधन गर्दै उनले विद्युतीय गाडीको आवाज बढाएर सबैका लागि सुरक्षित बनाउने विषयलाई नाडाको अटो डायलगमा प्रमुखताका साथ उठाइने प्रतिबद्धता जनाए । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा प्रतिष्ठित र प्रतीक्षित मेला ’नाडा अटो शो’ को १७ औं संस्करण आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुँदैछ।