प्रविधिको खराबीपछि रोकिएको फक्सवागनको उत्पादन पुनः सुरु
बर्लिन । सूचना प्रविधिमा आएको खराबीका कारण जर्मनीका विभिन्न कारखानामा उत्पादन ठप्प भएको तर समस्या तत्काल समाधान गरी पुनः उत्पादन शुरू गरिएको जर्मनीको कार कम्पनी फक्सवागनले जनाएको छ । बुधबारबाट सुरु भएको आइटी समस्याका कारण फक्सवागनको वुल्फ्सबर्गस्थित मुख्यालयसहित जर्मनीभरका आफ्नै ब्रान्डका प्लान्टमा असर परेको थियो । भीडब्लू समूहका अन्य ब्रान्डहरू पनि प्रभावित भएका छन् । ‘फक्सवागन नेटवर्कमा आईटी पूर्वाधारको समस्या रातको समयमा समाधान गरिएको थियो,’ भोक्सवागनले एक बयानमा भनेको छ- ‘विश्वव्यापी उत्पादन सञ्जाल चलिरहेको छ, र उत्पादन योजनाबद्ध रूपमा अगाडि बढ्ने अपेक्षा गरिएको छ ।’ प्रविधिमा देखिएको गढबढी ‘बाह्य प्रभावका कारण’ भएको भन्ने कुनै सङ्केतहरू फेला नपरेको भोक्सवागनको बयान छ । गत महिना जापानी प्रतिद्वन्द्वी टोयोटाले पनि कम्प्युटर प्रणालीमा खराबी आएको भन्दै जापानमा रहेका आफ्ना सबै कारखानामा उत्पादन रोक्न बाध्य भएको थियो । अगष्ट २९ मा टोयोटाका १४ वटा घरेलु प्लान्टमा पार्टपुर्जाको उत्पादन केन्द्रहरू बिग्रिएपछि एक दिनका लागि मर्मत सम्भारका लागि कारखाना बन्द गरिएको थियो । टोयोटाका अनुसार यो घटना पनि साइबर आक्रमणका कारण भएको कुनै आधार फेला परेको थिएन । रासस/एएफपी
२ लाख घटेर आयो नयाँ कोना जीएल, यस्तो छ विशेषता
काठमाडौं । हुन्डाइको लोकप्रिय इलेक्ट्रिक कार कोना जीएल २ लाख रुपैयाँ सस्तो भएको छ । यसअघि ६१ लाख ९६ हजारमा बिक्री हुँदै आएको यसको नयाँ फेसलिफ्टमा मूल्य घटेर आएसंगै नेपालमा पनि मूल्य समायोजन गरिएको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । कम्पनीले नयाँ कोना जिएलको मूल्य ५९ लाख ९६ हजार निर्धारण गरेको हो । कोनाको अर्को भेरिएन्ट जीएल–एसको भने पुरानै मूल्य ६४ लाख ९६ हजार कायम गरिएको छ । नेपालमा निकै सफल कोना इलेक्ट्रीक एउटा सफल क्रसओभर ईभी हो । नयाँ इलेक्ट्रीक कोना फेसलिफ्टमा धेरै परिमार्जन भएको छ भने ड्राइभिङ रेन्ज पनि बढेको छ । नयाँ सुरक्षा फिचर र एड्भान्स कनेक्टिभीटी यसमा भएको मुख्य परिमार्जन हो । हुन्डाई कोनामा स्मार्ट सेन्स सेफ्टी सुइट, रिजेनेरेटीभ ब्रेकिङ, प्याडल सिफ्टर, ड्राइभ वाइ वायर सिस्टम तथा क्लाइमेट प्रि–सेटिङ जस्ता आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ । हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाई इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्दछ । व्याट्रीको ले–आउट तथा प्याकेजिङ सिस्टमले सेन्टर अफ ग्राभिटीलाई कम गरी कोनाको ह्याण्डलीङ उत्कृष्ट बनाएको छ । जसले चालक र यात्रुलाई आरामदायी यात्रा प्रदान गर्दछ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने दावी गरिएको छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्न सकिन्छ । यसमा रहेको ८ इन्चको टच स्क्रिनयुक्त भिजुअल न्याभिगेसन सिस्टमले ड्राइभिङ अनुभवलाई उच्च स्तरीय बनाउने दाबी कम्पनीको छ । नेपाली बजारमा कोना इलेक्ट्रिक एट्लास ह्वाइट, साइबर ग्रे, ग्यालाटिक ग्रे, पल्स रेड, सर्फी ब्लु तथा डार्क नाइटजस्ता कलर अप्सनमा उपलब्ध हुनेछन् ।
मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई ५ हजार रुपैयाँ जरिवाना
काठमाडौं । पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले मिटरमा नचल्ने ट्याक्सीलाई २ हजार १ सय रुपैयाँका दरले जरिवाना तिराउने गरिएकोमा अबदेखि न्यूनतम जरिवाना ५ हजार रुपैयाँ पुर्याउने निर्णय भएको जानकारी दिए । गत भदौ १ गतदेखि पोखरा उपत्यकामा चल्ने ट्याक्सीमा लागू भएको मिटर प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने निर्णय भएको उनले बताए । मन्त्री जुग्जालीले ट्याक्सीको मिटर प्रणालीमा थप कडाइ गरिने बताए । “ट्याक्सी मिटरमा सञ्चालन भए÷नभएकाबारे मन्त्रालयबाट नियमित अनुगमन भइरहेको छ, कुनै ट्याक्सीले मिटरमा चल्न नमानेमा तुरुन्तै ट्राफिक प्रहरी, यातायात कार्यालय र मन्त्रालयमा उजुरी गर्न सकिन्छ,” उनले भने । हालसम्म मिटरमा सञ्चालन हुन नमान्ने ११७ वटा ट्याक्सीलाई कारबाही गरिएको र केही ट्याक्सी कारबाहीको प्रक्रियामा रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । मिटर प्रणालीमा नचल्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले बताए । ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो बढेपछि मन्त्रालयले मिटर प्रणाली लागू गर्न पहल लिएको थियो । ट्याक्सी व्यवसायीसँग विभिन्न चरणमा छलफल गरी मिटर प्रणालीमा ट्याक्सी सञ्चालन गर्ने निर्णय भएको थियो । विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । २ वर्षअघि समायोजन गरिएको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) ८० रुपैयाँ र त्यसपछि प्रति २ सय मिटरको १० रुपैयाँ तोकिएको छ । पन्ध्र किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रूपैयाँ ५० पैसा कायम गरिएको थियो । केही ट्याक्सी चालकले पछिल्लो समय इन्धन र सवारीसाधनका उपकरणमा भएको मूल्यवृद्धिअनुसार भाडा समायोजन नभएको भन्दै मिटरमा चल्न आनाकानी गर्न थालेको यात्रुले गुनासो गरेका छन् । भाडादर समायोजनको विषयमा पनि मन्त्रालय गृहकार्यमा जुटिरहेको जनाउँदै प्रवक्ता पौडेलले यातायात व्यवसायीले विगतमा गरेको प्रतिबद्धता कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने बताए । उनले ट्याक्सीले मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य गरिने उल्लेख गरे ।