होण्डाको ‘दशैंमा दश लाख’ योजना छठ पर्वसम्म चल्ने
काठमाडौं । होण्डाको मोटरसाइकल तथा स्कुटरले ल्याएको ‘दशैंमा दश लाख’ योजना अब छठ पर्व सम्म उपलब्ध हुने भएको छ । ग्राहकहरूको उत्साहजनक सहभागिता रहेकोले कम्पनीले छठ पर्व सम्मको लागि योजनाको अवधि थप गरेको जनाएको छ । कम्पनीका अनुसार यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी र१० लाख नगद जित्न सक्ने छन् । यसका साथै ‘चुज योर स्किम’ अन्तर्गत ग्राहकहरुले १०,००० रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउन सक्ने वा १२,५०० रूपैयाँ बराबरको ५ वर्षै एएमसी प्याकेज पाउन सक्ने कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले ‘१ फाइनान्स योजना’ मा पनि यो ‘दशैंमा दश लाख’ योजना उपलब्ध गराइरहेको छ । यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रूपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ । कम्पनीका अनुसार यस उपहार योजना अन्तर्गत स्क्र्याच कुपन मार्फत जितिने भनिएको अधिकतम उपहार दस लाख भने हाल सम्म पनि जितिएको छैन । हाल सम्मका सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई दिँदै कम्पनीले, ‘होण्डा दशैँमा दस लाख’ योजना मार्फत अझै पनि जित्ने सम्भावना रहेको प्रथम पुरस्कार दस लाखको भाग्यशाली विजेता चाँडै नै प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
भाडा २० प्रतिशत सस्तो हुने गरी १० करोड लगानीमा आयो ‘ई-ड्राइभ नेपाल’
काठमाडौं । ई-ड्राइभ कम्पनीले फर्ट इलेक्ट्रिक राइड सेयरिङ एप ‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा ल्याएको छ । बिहीबार कम्पनीले एक कार्यक्रम आयोजना गरी एप लन्च गरेसँगै ‘‘ई-ड्राइभ नेपाल’ सञ्चालनमा आएको हो । उक्त एप सञ्चालनमा आएसँगै इभी ट्याक्सी बोलाएर सहज तरिकाले एक ठाउँबाट अर्को ठाउँ पुग्न सकिने बताइएको छ । सर्वसाधारणलाई डिजिटल माध्यमबाट इभीका ट्याक्सीमार्फत सेवा दिने उद्देश्यसहित उक्त एप प्रयोगमा ल्याएको कम्पनीका अध्यक्ष राजेश मास्कले बताए । कुनै ठाउँमा सहज तरिकाले जानुपर्ने भयो भने यसबाट इभी ट्याक्सी बोलाउन सकिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सविन भट्टराईले नेपालमै बनेको यो एपले आवतजावत सहजतामा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘सरकाले पनि इभीको प्रयोगलाई जोड दिएको छ, अहिले बजारमा इभीका गाडी प्रयोग पनि बढ्दो छ, पेट्रोल तथा डिजेलमा अर्बौं रुपैयाँ बाहिरिएको छ, ‘उनले भने, ‘अब यसलाई रोकेर इभीको प्रयोगलाई जोड दिनुपर्छ । इभीका चालक र प्यासेन्जर भेट हुने माध्यमका रूपमा यो एप सञ्चालनमा ल्याएका हौं ।’ उनका अनुसार अन्य राइड सेयरिङ एपमा भन्दा यस एपको फिचर भिन्न छ । यस एपमार्फत चालकलाई बोलाउँदा अन्य राइड सेयरिङ एपभन्दा भाडा १५/२० प्रतिशत सस्तो पर्ने भट्टराईले बताए । कम्पनी आफैंले एप लन्च अगावै नै दुई चार्जिङ स्टेशन आफ्नै लगानीमा सञ्चालनमा ल्याएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एपको उद्घाटनमा बोल्दै विद्युतीय सवारीको प्रयोग बढ्दै जाँदा सर्वसाधारणका लागि यो एप उपयोगी हुने बताए । ‘नेपाली सडकमा इभीको बाहुल्यता बढ्दै गएको छ,’ उनले भने, ‘इभीको प्रयोगले विद्युत खपतमा पनि मदत पुर्याउँछ भने कम लागतमै इभीका गाडीमा यात्रा गर्न सकिन्छ ।’ इभी ट्याक्सीबाट सेवा दिने उद्देश्यले कम्पनी आफैले पनि १४ वटा इभीका ट्याक्सी खरिद गरेको छ । कम्पनी आफैंले ५० भन्दा बढी ट्याक्सी खरिद गरी सञ्चालनमा ल्याउने योजना बनाएको नायव प्रमुख कार्यकारी अधिकृत प्रज्वल खत्रीले बताए । ‘हामीले तयार गरेको यो एपमा खर्च पनि धेरै भएको छ, सञ्चालक टिमको लगानी र बैंकबाट लोन लिएर यसमा लगानी गरेका छौं, यसको सबै काम सकिँदा करिब १० करोड रुपैयाँ लगानी भएको छ,’ उनले भने । कसरी प्रयोग गर्ने एप ? आधुनिक फिचरसहित आएको ‘ई-ड्राइभ नेपाल एप प्रयोग गर्ने तरिका सहज छ । उक्त एपलाई प्लेस्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपश्चात् आफ्नो फोन नम्बर तथा इमलको प्रयोग गरी लगइन गर्नुपर्ने हुन्छ । लगइन गरेपछि होम पेज खुल्छ । उक्त पेजबाट आफू पुग्ने लोकेसन सेट गरी ट्याक्सी चालकलाई बोलाउन सकिन्छ । प्यासेन्जरले ट्याक्सी बोलाउँदा इभी ट्याक्सीमात्रै आउँछन् । यस्तै, एप लन्चको समय क्रममा कम्पनीले इभी ट्याक्सीको चालकलाई लोगोसहितको ज्याकेट पनि वितरण गरेको छ । कम्पनीले चालकका लागि पुष १ गतेसम्मलाई रजिस्ट्रेसन निःशुल्क गरेको पनि कम्पनीले बताएको छ ।
अल्फा अटोमोटिभद्वारा‘हन्टर टिकटक च्यालेन्ज २०२३’ का विजेतालाई पुरस्कार हस्तान्तरण
काठमाडौं । रोयल इन्फिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले रोयल इन्फिल्डको नयाँ मोडेल हन्टर ३५० सीसीलाई बजार प्रवद्र्धन गर्न तथा युवापुस्तालाई सोसल मिडियालाई आकर्षित गर्न असोज ६ गतेदेखि कात्तिक ६ गतेसम्म सञ्चालन गरेको ‘हन्टर टिकटक च्यालेन्ज २०२३’ का विजेतालाई पुरस्कार वितरण गरेको छ । असोज १९ गते टिकटक र फेसबुक लाइभमार्फत नतिजा सार्वजनिक गरेर विजयीहरूलाई घोषित नगद पुरस्कार वितरण गरिएको हो । नियमअनुसार तीन जना विजेताले पुरस्कार पाएका छन् । पोखराका पदम लामाले प्रथम पुरस्कारवापत १ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । पोखराकै स्मिता घिमिरेले द्वितीय पुरस्कारस्वरूप ६० हजार रुपयाँ नगद पुरस्कार प्राप्त गरिन् । त्यसैगरी तेस्रो भएका हेटौंडाका रजक शाहीले ४० हजार रुपैयाँ नगद जित्न सफल भए । सम्पूर्ण विजेताहरूलाई आज नक्शालस्थित रोयल इन्फिल्डको शोरुममा कम्पनीका निर्देशक मेघराज पौडेलले चेक हस्तान्तरण गरेका थिए ।