बैंकले सहजै ऋण दिन थालेपछि गाडी व्यापार बढ्यो, भव्य बन्यो व्यवसायीको दशैं/तिहार

काठमाडौं । यस वर्षको दशैं/तिहारमा ठूला सवारी साधनको व्यापार उल्लेख्य रूपमा वृद्धि भएको छ । लामो समयसम्म कोरोना महामारी, अर्थतन्त्रसको सुस्तता र आयातमा गरिएको कडाइले मारमा परेको अटोमोबाइल्स क्षेत्रलाई थोरै भए पनि चाडपर्वले राहत मिलेको हो । अटो व्यवसायीहरू  दशैं/तिहारमा गाडीकाे व्यापार वृद्धि हुँदा केही राहत महसुस भएको बताएका छन् । नाडा अटोमोबाइल्स एशोसिएसन नेपालका अध्यक्ष ध्रुब थापाले चाडपर्वको समयमा चार पाङग्रे सवारीको व्यापार सन्तोषजनक भएको बताएका छन् । उनका अनुसार विगतका वर्षहरूको तुलनामा यस वर्षको दशैं/तिहारमा ठूला सवारी साधनको व्यापार बढेको हो । ‘विगतको तुलनामा यसपटकको दशैं/तिहारमा ‘प्यासेन्जर सेग्मेन्ट’का गाडीहरूको बिक्रीमा वृद्धि भएको छ, गाडी बिक्री हुँदा अटो व्यवसायीहरू पनि खुसी हुनु भएका छन्,’ उनले भने । उनका अनुसार यसपटकको चाडपर्वमा दोब्बरले व्यवसाय बढेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीको तुलनामा विद्युतीय सवारी साधनहरू बढी बिक्री भएको उनको भनाइ छ । ‘नेपालमा ईभीको व्यापार राम्रो छ, यसपटकको चाडपर्वमा ईभीकै सवारी बढी बिक्री भएका छन्,’ उनले विकासन्युजसँग भने, ‘चाडपर्वले गर्दा इन्धनबाट चल्ने सवारीको बिक्री पनि बढेको छ, गाडीका शोरुममा गाडी बुक गर्ने तथा बुकिङको गाडी डेलिभरी गर्ने कार्य कम्पनीहरूबाट भइरहेको छ ।’ अटो बजारलाई नाडा अटो शोले चलायमान गर्न मद्दत पुर्याएको थापाको भनाइ छ । दशैं तिहारमा चार पाङग्रे सवारीको बिक्री बढ्दै गर्दा कमर्सियल भेहिकल तथा दुई पाङग्रे सवारीको बिक्री भने गिरावट आएको उनको भनाइ छ । उनका अनुसार दुई पाङग्रे सवारीको बिक्री दर ५० प्रतिशतले घटेको छ । नेपालबाट बढ्दो संख्यामा युवा विदेसिएकोले मोटरसाइकल चढ्ने मान्छे घट्दै गएको र व्यापार पनि घटेको हुन सक्ने उनको विश्लेषण छ । उनका अनुसार विगतको तुलनामा अहिले ईभीका दुई पाङग्रे सवारीको व्यापार केही मात्रामा कम छ । यसअघि गाडी व्यापारले सुस्त बनेका व्यवसायीहरू चाडपर्वमा भएको गाडी खरिदबिक्रीले हौसिएका हुन् । अहिले गाडीको विभिन्न सोरूमहरूमा नयाँ सवारी साधन खरिद गर्नेहरूको संख्या बढ्दा व्यवसायीहरू खुसी भएका हुन् । सुजुकी गाडीको बिक्रेता कम्पनी नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप कुमार बरालले दशैं/तिहारमा गाडीको व्यापार राम्रो भएको सुनाउँछन् । ‘गाडीको व्यापार हुँदै नभएको अवस्थाबाट अहिले राम्रो देखिन्छ, यसले हामीलाई सकारात्मक सन्देश प्रवाह गरेको छ, विगत २ वर्ष देखिको शून्य सेल्सलाई दशैं/तिहारले खुसी प्रदान गरेको छ,’ उनले भने । दशैं/तिहारमा सुजुकी गाडीको व्यापार पनि सन्तोषजनक भएको बरालको भनाइ छ । उनका अनुसार बैंक तथा वित्तीय संस्थाले सहजै ऋण प्रदान गरेकोले पनि गाडीको व्यापार बढेको हुन सक्ने उनको तर्क छ । यस्तै, नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटका सेल्स म्यानेजर महेन्द्र श्रेष्ठले दशैं/तिहारमा टोयोटा गाडीको बिक्री सामान्य नै रहेको सुनाए । ‘अहिले बजारमा ईभी गाडीको बाहुल्यता बढी छ, इन्धनबाट चल्ने गाडीको भन्दा कम मूल्यमा ईभी पाइन थालेको छ जसले इन्धनबाट चल्ने गाडीको व्यापारमा धक्का दिएको छ, तथापि, दशैं/तिहारमा टोयोटाको गाडीको बिक्री अवस्था राम्रो नै रह्यो,’ उनले भने । श्रेष्ठले दशैं/तिहारमा आफ्नो कम्पनीको करिब ४०/४५ वटा गाडी बिक्री भएको बताए । ‘गाडीको मूल्य फरक-फरक हुन्छ, एउटै गाडी करोडौं रुपैयाँ पर्छ, त्यसले गर्दा दशैं–तिहारमा ८०/८५ करोड रुपैयाँको कारोबार भयो,’ उनले भने । नेपालका लागि टाटा माटर्सको बिक्रेता कम्पनी सिप्रदी ट्रेडिंगले पनि राम्रै व्यापार भएको बताएको छ । कम्पनीका अनुसार दशैं/तिहारमा टियागो ईभी गाडीको बिक्री राम्रै भएको छ । कम्पनीले दशैं/तिहारमा नेक्सन ईभी एक्स जेड प्लस तथा अन्य मोडलका गाडीको बिक्री उल्लेखनीय भएको बताएको छ ।

सिप्रदीले भूकम्प पीडितलाई गर्‍यो ५५ लाखको राहत वितरण

काठमाडौं । सिप्रदीले जाजरकोट र रूकुमपश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ । सिप्रदीयन सहायता संस्था, टाटाट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त पहलमा यही कार्तिक २६ गते प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रू ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको हो । तिहारमालक्ष्मीपुजाको दिन संस्थाको प्रतिनिधित्वगर्दै सिप्रदीका७जनाकर्मचारीहरुले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरु त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपीलगायतकाअन्य सामाग्रीहरुको प्याकेज बनाएर सम्बन्धितकार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाका अनुसार हस्तान्तरण गरेको सामाग्रीहरुबाटझन्डै १,२०० घर परिवारका ४,८०० जनाभूकम्पपिडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् । सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालका अनुसार भूकम्पका कारणआफ्नो घर गुमाएका र बासको बैकल्पिक व्यवस्थापन भएका पीडितहरुलाई सिप्रदीयन सहायता संस्था,टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्तप्रयासमा स्थानीय प्रशासनसंग समन्वय गर्दै राहत वितरण गरिएको हो । अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाध्यान्न र न्यानो कपडाहरु हस्तान्तरण गरिएको र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग गर्ने उपाध्यक्ष दाहालले प्रतिबद्धता जनाए । रुकुम आठविसकोटका नगर प्रमुख रबि केसीले जाजरकोट केन्द्रबिन्दु भएर विनासकारी भुकम्पप्रभावित यस नगरपालिकाजनताको लागिसिप्रदी सहायता संस्थाले गरेको खाधान्न, जिन्सी र औषधिलगायतका सामग्रीको सहयोग प्रति आभार व्यक्त गरेका छन् । उनले यो सहयोगले यस प्रकोपले दुखमा परेका नगरबासीलाई राहत मिलेको बताए । विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्टसँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को शुरूवात गरेको थियो । सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु पछि सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्यचौकीको पुनःर्निमार्ण  गरी हस्तान्तरण गरेको थियो ।

अब अमेजनबाट हुन्डाईको गाडी पनि किन्न पाइने

एजेन्सी । हुन्डाईका गाडीहरु अनलाइन प्लेटफर्म अमेजनबाट किन्न पाइने भएको छ । हुन्डाई र अमेजन कम्पनीबीच सम्झौता भएपछि अनलाईनबाटै गाडी किन्न पाइने भएको हो । कम्पनीका अनुसार सन् २०२४ बाट अनलाइन प्लेटफर्म अमेजन मार्फत गाडी किन्न सकिने छ । अमेजनले पहिलो पटक हुन्डाईबाट सुरु गरी अनलाइन कार बिक्री गर्ने भएको छ । कम्पनीले हुन्डाईसँग एक सम्झौता गरे पश्चात् डीलरशिपहरूलाई साइट मार्फत कारहरू बेच्न अनुमति दिइने बताइएको छ । हुन्डाईका गाडीहरु  अमेजनको प्लेटफर्ममा अहिले नै देखिएता पनि कारको बिक्री भने नयाँ वर्षदेखि हुने कम्पनीले बताएको छ । ग्राहकहरूले साइटमा कारहरू ब्राउज गर्न र विभिन्न माध्यमबाट भुक्तानी गरी गाडी गरेर खरिद गर्न सक्छन् । कम्पनीका अनुसार गाडीको खरिद मूल्य भुक्तानी भएपछि ग्राहकको घर नजिकैको डिलरशिपले गाडीलाई घरमा डेलिभरि गर्ने बताइएको छ । ‘हुन्डाई नवीन कम्पनी हो जसले ग्राहकहरूको जीवनलाई दिनहुँ राम्रो र सहज बनाउन प्रयास गर्दै आएको छ, ‘अमेजनका सीईओ एन्डी जस्सीले भने, ‘हुण्डाईलाई मनोरञ्जन, किनमेल, स्मार्ट घर समायोजन, र क्यालेन्डर जाँचका लागि हुण्डाईका सवारी साधनहरूमा एलेक्सा प्रयोग गर्न सजिलो बनाउनको लागि अनलाइनबाट गाडीहरू किन्नुहोस् ।’ अमेजनमा कारमात्र नभई कार पार्ट्स र सामानहरू पनि किन्न सकिने कम्पनीले बताएको छ । यो नयाँ डिजिटल प्लायटफर्मले ग्राहकहरूलाई नयाँ कार अनलाइन खरिद गर्न सजिलो बनाउने पनि सिईओ जस्सीले बताए ।