ट्रक पार्किङ स्थल निर्माणका लागि २ करोड बजेट
काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माण लाभ साझेदारीका लागि २ करोड रुपैयाँ विनियोजन गरेको हो । बिराटनगरमा आफ्नै जग्गामा पार्किकस्थल निर्माणका लागि ट्रक व्यवसायी समितिले आवश्यक बजेट छुट्याइदिन प्रदेश सरकारलाई आग्रह गरेको थियो । सोही आग्रह बमोजिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट पार्किङ स्थल संरचना निर्माणका लागि बजेट विनियोजन भएको छ । लाभ साझेदारीमा पार्किङस्थल बनेसँगै पार्किङ गरिएवापत् प्रति ट्रक एक सय रुपैयाँ उठाइने ट्रक व्यवसायी समिति बिराटनगरका पूर्व अध्यक्ष मेघराज सिग्देलले जानकारी दिए । त्यसमध्ये ४० रुपैयाँ प्रदेश सरकारलाई दिनुपर्ने र ६० रुपैयाँले पार्किङ स्थलको व्यवस्थापन गरिने उनले बताए । पार्किङस्थल बुढीगंगा गाउँपालिकामा बन्ने भएको छ । पूर्व अध्यक्ष सिग्देलले ट्रक पार्किङमा समस्या भइरहेको अवस्थामा यसरी प्रदेश सरकारले बजेट विनियोजन गरेर पार्किङस्थल निर्माण गरिदिनु स्वागतयोग्य भएको बताए । उनले अन्य प्रदेश सरकारहरुले पनि ट्रक पार्किङस्थल निर्माणका लागि बजेट छट्याउनुपनेमा जोड दिए ।
हुण्डाई भेन्यू किन्दा ६.९९ प्रतिशत ब्याजदरमा कर्जा पाइने
काठमाडौं । नेपालमै हुण्डाई कम्पनीका गाडी उत्पादन थालेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मूल्य निर्धारण गरी बिक्री गर्न थालेको छ । कम्पनीका अनुसार ‘हुण्डाई नेपालः मेड फर योर जर्नी’ नाम दिएर ल्याएको स्कीममा नेपालमा एसेम्बल भएको भेन्यू किन्ने ग्राहकले ६.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् । कम्पनीले स्कीममा भेन्यू किन्ने ग्राहकलाई १० वर्षको निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ । पहिलो पटक नेपालमा हुण्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू कोरिया र भारतमा बन्ने सोही मोडलका गाडिहरू सरह रहेको कम्पनीको दाबी छ । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, शीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गार्हस्थ्य उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ । हाल बिक्री वितरण सुरु भएको मेड इन नेपाल हुन्डाए भेन्यु १.२ एसको मूल्य ४४ लाख ९६ हजार र भेन्यु १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ |
अपग्रेडेड नयाँ सेरेस ३ इलेक्ट्रिक एसयुभी बुधबार सार्वजनिक हुँदै
काठमाडौं । नेपालका लागि सेरेसको आधिकारिक विक्रेता एमएडब्लु वृद्धी अटोकर्पले सेरेस ३को अपग्रेडेड भर्सन यसै साता सार्वजनिक गर्ने भएको छ । बलियो बिल्ड क्वालिटी, एस्थेटिक्स, प्रभावशाली रेन्ज, ग्राउन्ड क्लेरेन्स र स्लिक डिजाइजनका कारण नेपालमा छोटो समयमै लोकप्रियता हासिल गरेको सेरेस ३ को अपग्रेडेड भर्सन बुधबार सार्वजनिक हुन लागेको कम्पनीले जानकारी दिएको छ । सेरेस ३ को पहिलो भर्सन गत वर्षको नाडा अटो सोमा सार्वजनिक भएको हो जहाँ इभीप्रेमीबाट प्रशंसा बटुलेको कम्पनीले बताएको छ । ‘अहिले नेपाली सडकमा तीन सयभन्दा बढी सेरेस ३ गुडिरहेका छन् । यसको अफरोड क्षमताका कारण यो समुद्री सतहबाट चार हजार ६ सय ६० मिटर उचाईमा रहेको कोरला पस पुग्ने पहिलो इलेक्ट्रिक एसयुभी बनेको थियो । यसबाट सेरेस ३ नेपालको चुनौतीपूर्ण भूबनोटका लागि सुहाउँदो छ भन्ने पुष्टि हुन्छ’, कम्पनीले आइतबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कम्पनीका अनुसार ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राखेर नयाँ सेरेस ३ कम्फोर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । आफ्नो विश्व उपस्थितिलाई बलियो बनाउँदै सेरेस ३ भर्खरै बेलायत, दुबई, पाकिस्तान र फिलिपिन्समा पनि सार्वजनिक गरिएको थियो । यसबाट यो एसयुभीलाई विश्वबजारले रुचाएको र विश्वास गरिएको कम्पनीको भनाई छ ।