१० लाखसम्म बढ्यो बीवाईडीको मूल्य, बजेटको ठूलो धक्का

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ । सरकारले केही समय पहिले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत सरकारी कर नीतिमा गरेको परिवर्तनका कारण सो मूल्य समायोजन गरिएको हो । सरकारले इलेक्ट्रिक गाडीमा हुने मोटर क्षमताको आधारमा भन्सार तथा अन्तःशुल्क वृद्धि गरेको छ । नयाँ नीतिअनुसार अन्य इलेक्ट्रिक गाडी जस्तै बीवाईडीका विभिन्न मोडलको समेत मूल्यमा प्रभाव परेको हो । नयाँ मूल्यसूची अनुसार बीवाईडी एट्टो ३ एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार र एट्टो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ । यी गाडीको मूल्यमा क्रमशः ९१ हजार र १ लाख ९२ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ । कम्पनीका अनुसार  बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार बाट ४१ लाख १५ हजार रुपैयाँ पुगेको छ । यसमा १ लाख ३५ हजार रुपैयाँ मूल्यवृद्धि भएको छ । बीवाईडी सिलका तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड १० लाख, १ करोड ४५ लाख ५० हजार र १ करोड ९५ लाख पुगेको छ । यी तीन भेरिएन्टमा क्रमशः ५ लाख, ६ लाख ५० हजार र १० लाख रुपैयाँ मूल्य बढेको छ । साइमेक्स इंकले आगामी दिनमा समेत नेपाली ग्राहकलाई उच्च प्रविधियुक्त र वातावरणमैत्री इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

टियागो ईभी मनसुन मेला : पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभी मनसुन एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । २१ असारदेखि २३ असारसम्म सञ्चालन हुने मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने कम्पनीले जनाएको छ । ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुची र चाहनालाई मध्यनजर गरी थापाथली लगायत देशैभरिका शोरुममा मेला सञ्चालन हुने कम्पनीको भनाइ छ । मेलाबाट ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ सेवा पाउने छन् । बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने मेलामा टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्ट पनि प्राप्त गर्न सक्न कम्पनीले जनाएको छ ।

हुुन्डाई कोना इलेक्ट्रिक अब शून्य प्रतिशत ब्याजदरमा पाइने

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार प्रेस विज्ञप्तिमार्फत नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मीले कोनामा ‘जिरो इमिसन, जिरो इन्टरेस्ट’ योजना ग्राहक माझ सार्वजनिक गरेको बताएको छ । दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता थप मजबूत गर्न यो योजना ल्याएको कम्पनीले जनाएको छ । जसअनुसार ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन् । उत्कृष्ट डिजाइन, पर्फमेन्स र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीका दाबी छ । हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ । कोना जीएलको मूल्य ५९ लाख ९६ हजार र जीएलएसको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिन्छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्छ । नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेको छ। विद्युतीय गाडीलाई लक्षितगर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको हाइ भोल्टेज ब्याट्री चेकअप क्याम्पमा ५०० भन्दा बढी विद्युतीय सवारीसाधनमा परीक्षणको नतिजा अनुसार ५ वर्षसम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ९८ प्रतिशत भन्दा बढी पाइएको थियो । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४४ भन्दा बढी स्थानमा चार्जिङ प्वाइन्ट स्थापना गरी सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।