बैंगलोरमा सबैभन्दा धेरै ईभी दर्ता, मुम्बई र दिल्लीलाई उछिन्यो

काठमाडौं । भारतको बैंगलोर विद्युतीय सवारीसाधन (ईभी) दर्तामा शीर्ष स्थानमा पुगेको छ । यो दक्षिण भारतीय सहरले सन् २०२३ मा मुम्बई, नयाँदिल्ली र पुणेलाई उछिनेको छ । यसको प्राविधिक उन्मुख जनशक्ति, बढ्दो स्वीकार्यता, शून्य सडक कर, ईभी चार्ज गर्न सहुलियतपूर्ण बिजुली र चार्जिङ स्टेसनहरूको ठूलो नेटवर्कका कारण बैंगलोरमा ईभी प्रयोगकर्ता संख्या उल्लेख्य बढेको हो । जाटो डाइनामिक्सको तथ्यांकअनुसार कर्नाटकको राजधानी बैंगलोरमा विद्युतीय कार दर्ता २०२३ सम्ममा तीन गुणाले बढेर ८ हजार ६ सय ९० पुगेको छ । जुन देशका तीन प्रमुख महानगमा देखिएको वृद्धिभन्दा धेरै बढी हो । भारतीय सञ्चारमाध्यम बिजनेस स्ट्यान्डर्डका अनुसार यसबाहेक बैंगलोरका मानिसहरूले विद्युतीय कार मात्र होइन, विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनहरू पनि अपनाइरहेका छन् । तथ्यांकअनुसार चार वर्षदेखि विद्युतीय दुई पाङ्ग्रे सवारी दर्तामा कर्नाटकको राजधानी देशकै नम्बर एक सहर बनेको छ । टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी (टीपीईएम) का प्रमुख वाणिज्य अधिकृत विवेक श्रीवात्सवले विभिन्न कारण भारतको टेक्नोलोजी राजधानी भनेर चिनिने बैंगलोर सहर विद्युतीय कार दर्तामा शीर्ष स्थानमा रहेको बताए । उनले भने, ‘नीतिको दृष्टिकोणबाट कर्नाटकको विद्युतीय सवारी नीतिले यी सवारी साधनहरूलाई अपनाउनमा ठूलो भूमिका खेलेको छ, सडक कर शून्य, विद्युतीय सवारीसाधन चार्ज गर्नका लागि सहुलियत दर, सरकारी पब्लिक चार्जिङ स्टेसनको निरन्तर वृद्धि र विद्युतीय सवारी साधनलाई अवलम्बन गर्ने उद्योगको निरन्तर बढ्दो सहभागिताका कारण पनि सर्वसाधारणले ईभी खरिद गरिरहेका छन् ।’ सहरमा विभिन्न चार्जिङ पोइन्ट अपरेटर (सीपीओ) द्वारा सञ्चालित सार्वजनिक चार्जिङ पूर्वाधारका कारण मानिसहरूलाई ईभीबारे थप बुझ्न मद्दत गरिरहेको उनको भनाइ छ । जाटो डाइनामिक्सको तथ्यांकअनुसार २०२३ मा भारतमा ८७ हजार ९ सय २७ विद्युतीय कार बिक्री र दर्ता भएका छन् । टाटा मोटर्सको सहायक कम्पनी टीपीईएमले गत वर्ष बिक्रीमा ७१.७ प्रतिशत सेयरको साथ भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो प्रभुत्व कायम राखेको छ । हुन्डाई मोटर इन्डियाका प्रमुख अपरेटिङ अफिसर तरुण गर्गले कम्पनीको ईभी बिक्रीमा बैंगलोरले ११ प्रतिशतभन्दा बढी योगदान गरेको बताए । यो सहर इलेक्ट्रिक वाहन पोर्टफोलियोका लागि दोस्रो प्रमुख बजार हो । कोरियाली कार निर्माता कम्पनीले हाल भारतमा आफ्ना दुईवटा इलेक्ट्रिक कारहरू आयनिक ५ र कोना इलेक्ट्रिक बिक्री गरिरहेको छ । गर्गले भने, ‘धेरै टेक्नोलोजी कम्पनी, स्टार्टअप र युवा जनशक्तिको उपस्थितिले ईभीप्रति चेतना र स्वीकृति बढाएको छ। यो उल्लेखनीय छ कि बैंगलोरमा आयनिक ५ खरिददारमध्ये ७२ प्रतिशत व्यापारीहरू हुन्, जसले बहुराष्ट्रिय कम्पनीहरू र स्टार्टअपहरूका लागि हबको रूपमा सहरको स्थिति झल्काउँछ । यसबाहेक, बैंगलोरमा आयनिक ५ का खरिददारहरूमा २२ प्रतिशत महिलाहरू छन् ।’ एजेन्सी

२५ वटा विद्युतीय माइक्रोबस खरिद गर्न साझा यातायातले खुलायो टेण्डर

काठमाडौं । साझा यातायातले विद्युतीय माइक्रोबस सञ्चालन गर्ने भएको छ । विद्युतीय माइक्रोबस सञ्चालनका लागि साझाले सोमबार एक सूचना प्रकाशन गर्दै २५ वटा विद्युतीय माइक्रोबस किन्न टेण्डर खुलाएको छ । साझाले विद्युतीय माइक्रोबसका साथै ५ वटा विद्युतीय स्कुटर किन्न पनि टेण्डर खुलाएको छ । विद्युतीय माइक्रोबसको टेण्डरमा सहभागी हुने कम्पनीले ३० लाख रुपैयाँ बिड सेक्युरिटी रकम जम्मा गर्नुपर्ने छ । यस्तै स्कुटरको बिड सेक्युरिटी रकम ३० हजार रुपैयाँ तोकिएको छ । प्रि–बिड मिटिङ र टेण्डर खोलिने मिति विद्युतीय माइक्रोबसकै रहेको छ । यसका लगि समय भने छुट्टाछुट्टै निर्धारण गरिएकाे छ ।

डिपल एस०७ को नयाँ मूल्य ७४ लाख ९९ हजार, आइतबारदेखि बुकिङ खुला

काठमाडौं । नेपालका लागि चांगान र डिपल इभीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले प्रिमियम इलेक्ट्रिक एसयुभी दिपल एस०७ को ७४ लाख ९९ हजार रुपैयाँमा बुकिङ खुल्ला गरेको छ । इलेक्ट्रिक भेहिकलको करमा नेपाल सरकारले गरेको परिमार्जनपछि एमएडब्लु वृद्धिअटोकर्पले डिपल एस०७ को नयाँ मूल्य घोषणा गरेको हो । कम्पनीका अनुसार दुई महिनाअघि नेपालमा सार्वजनिक भएको डिपल एस०७ले छोटो समयमै नेपाली बजारबाट सुखद प्रतिक्रिया पाएको छ । यसको आकर्षक डिजाइन, बेजोड पर्फमेन्स र अत्याधुनिक फिचरमार्फत दिपल एस०७ ले इभी सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्न सफल भएको छ । बजारबाट पाएको सकारात्मक प्रतिक्रियाबाट चांगान नेपाल उत्साहित भएको बताएको छ । नेपाल बजारमा अत्याधुनिक प्रविधि र गुणस्तरीय गाडी ल्याउन कम्पनी प्रतिबद्ध छ । चांगान नेपालले नयाँ डिपल एस०७ असारको अन्तसम्ममा ग्राहकलाई डेलिभरी दिने तयारी गरिरहेको बताएको छ । ‘इटालीको टुरिनमा डिजाइन भएको डिपल एस०७ मा वेलकमिंग सिट, एआई पावर्ड सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, १२५ लिटरको फ्रंक, चार ड्राइभिंग मोड (इको, कम्फोर्ट, स्पोर्ट र कस्टमाइज), हेडरेस्ट र आउटडोर स्पिकरसहित १४ वटा सोनी स्पिकर लगायत १५ भन्दा बढी फस्र्ट टाइम इन नेपाल फिचर रहेका छन्’, कम्पनीले आइतबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यसमा रहेको फ्रेमलेस डोर, फ्लस हेन्डल, २० इन्चको टायर, डवल लेयर्ड ग्लासले डिपल एस०७ को सुन्दरतालाई मात्र बढाएको छैन कारको पर्फमेन्सलाई पनि राम्रो बनाउँछ । यसबाहेक ड्राइभिंगलाई नयाँ उचाइमा पुर्याउन यसमा रियर ह्विल ड्राइभ रहेको छ ।’ दिपल एस०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ जसले सिंगल चार्जमा ४१० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने कम्पनीको भनाई छ ।