अटो व्यवसायीसँग अर्थमन्त्रीको प्रश्न : काम गरौं कि भाषण ?

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीले आफूहरुलाई विभिन्न कार्यक्रममा अतिथिका लागि बोलाएर काम गर्न अवरोध गरेको संकेत देखाएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले आफू भाषण गर्दै हिड्ने कि काम गर्ने भन्ने प्रश्ने गरे । ‘पछिल्लो समय कार्यक्रममै गएर बितिरहेको छ, तपाईंहरू भन्नुहोस्, म काम गरौं कि भाषण ?’ यस्तै, उनले सरकार स्थिर नीतिमा अगाडि बढिरहेको बताए । अटो व्यवसायीले अटो क्षेत्रका लागि स्थिर नीतिका माग गरेपछि उनले उनले अटो क्षेत्रमा मात्रै होइन वर्तमान सरकार सबै क्षेत्रमा स्थिरता खोजिरहेको धारणा राखे । ‘यो स्थिर सरकार हो, यो सरकार सबै नेपालीको हो । अटो व्यवसायीका समस्या पनि समाधान गर्छ, आत्मविश्वास लिएर काम गर्नुस्, गाडी नेपालमै उत्पादनका लागि सरकार सहयोग गर्न तयार छ, विद्युतीय गाडीमा मात्रै होइन सबैमा स्थिर नीति अगाडि सार्छौं,’ उनले भने । यस्तै उनले भनेजस्तो नभए पनि सरकारले थुप्रै काम गरेको बताए । अर्थतन्त्र चलायमान बनाउनका लागि काम भइरहेको उनको भनाइ छ । ‘हामी आयोजना सुरु गर्छौं । तर, समयमै सकिँदैन, लागत बढ्छ, अब सबै काम समयमै सक्ने मोडालिटीम जानुपर्छ, राजस्वमा धेरै योगदान दिएको अटो क्षेत्रलाई सरकारले प्राथमिकतामा नै राखेको छ, तपाईंहरु इमानदार भएर काम गर्नुस्,’ उनले भने ।

नाडा अटो शो सुरु, सरकारले सहयोग नगरेको अध्यक्ष चौधरीको गुनासो

काठमाडौं । नाडा अटो शो भृकुटी मण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिनसम्म सञ्चालन हुने नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो अटो व्यवसायीहरुको दशैं भएको बताए । उनले १ खर्ब बढी लगानी रहेको अटो क्षेत्रलाई सरकारले सहयोग नगरेको गुनासो गरे । उनले अटो क्षेत्रका लागि स्थिर नीति ल्याएर सहयोग गर्न सरकार समक्ष आग्रह पनि गरे । प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । नाडामा १३० स्टलहरू रहेका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ६ दिनको अवधिमा ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको छ ।

चिनियाँ विद्युतीय सवारीमा शतप्रतिशत शुल्क लगाउने

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार चिनियाँ विद्युतीय कार आयातमा शतप्रशित कर लगाउने घोषणा गरेका छन् । यो उत्तरी अमेरिकामा चिनियाँ राज्य-अनुदानित कारहरूको बाढीलाई रोक्ने अमेरिकी उपायसँग मेल खान्छ । विद्युतीय सवारी साधन (इभी) को विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता चीनमाथि वातावरणीय श्रम मापदण्डजस्ता क्षेत्रहरूमा ‘अन्य मुलुकजस्तै समान नियम पालना नगरेको’ आरोप लगाउँदै उनले चीनबाट आयात हुने स्टिल र आलुमिनियम उत्पादनमा पनि २५ प्रतिशत अतिरिक्त कर लगाइने बताए । संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घ (इयु) ले हालैका महिनाहरूमा चिनियाँ इभीमाथि क्रमशः शतप्रतिशत र ३८ प्रतिशत कर लगाएका छन् । क्यानाडाको अटो निर्माण उद्योगले १ लाख २५ हजारभन्दा बढीलाई रोजगारी दिएको छ । ओटावाले इभीमा आफ्नो सङ्क्रमणलाई समर्थन गर्न तथा घरेलु विद्युतीय बेट्रीको आपूर्ति शृङ्खला बलियो बनाउन अर्बौं डलर लगानी गरेको छ । ओटावाले उसको महत्त्वपूर्ण खनिज उत्खनन क्षेत्रमा नयाँ चिनियाँ लगानीमाथि पनि रोक लगाएको छ । ‘चिनियाँ इभीको अत्यधिक उत्पादन र उसको अटो क्षेत्रका लागि राज्यको ठूलो अनुदानका कारण हामीले कारबाही गर्न आवश्यक छ, हामी दौडमा तल जान नचाहेसम्म हामी उभिनुपर्छ र हामीले यही गरिरहेका छौँ,’ प्रधानमन्त्री ट्रुडोले भने ।