हुन्डाईको नयाँ क्रेटामा बढ्दाे आकर्षण : ४ महिनामा ३५० युनिट बिक्री

काठमाडौं । नेपालमा हुन्डाईको नयाँ क्रेटामा ग्राहकको आकर्षण बढ्दै गएको देखिएको छ । नेपालका लागि हुन्डाईका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार चालु आर्थिक वर्षको ४ महिनामै ३५० युनिट नयाँ क्रेटा बिक्री भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालसम्म ६०० युनिट बढी नयाँ क्रेटा बुकिङ भएको छ । बढ्दो मागका कारण नयाँ क्रेटाको वेटिङ पिरियड २ महिना पुगिसकेको छ । नयाँ क्रेटाकाे आकर्षण  किन ? हुन्डाईले ल्याएको फेसलिफ्ट क्रेटा पछाडिको डिजाइन, अगाडिको लुक्स र इन्टेरियरमा आधुनिक ट्रेन्ड समातेर बनाइएको छ । स्टायन्डर्ड रूपमै ६ एयरब्यागको साथ आएको क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा व्यापक परिमार्जन गरिएको छ । अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ । नयाँ र पृथक रियर लाइटमा यसलाई आकर्षक देख्न सकिन्छ । क्रेटामा उपलब्ध एडास फिचरभित्र लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङजस्ता चालकलाई सहज बनाउने फिचर छन् । यसको ड्यासबोर्ड पूर्णतया नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ । यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन् ।

वीरगञ्जमा सार्वजनिक भयो नामी इभी, मधेस प्रदेशमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार

वीरगञ्ज । नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगञ्जमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ । मंगलबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरिया, राज्यसभा भारतको पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अदक्ष्य रवीबजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजतबजाज, वृद्धि ग्रुपका प्रबन्ध निर्देशक ओम सिकारिया लगायतले संयुक्त रूपमा नामीको अनावरण गरेका थिए । आफ्नो सेग्मेन्टको सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामी इभीले मधेस प्रदेशको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार भएको एमएडब्लू वृद्धि मोटर्सले जनाएको छ  । ह्याचब्याकको रूपमा वर्गीकृत भएतापनि यो गाडी प्रतिस्पर्धीहरूको तुलनामा ठूलो आकारको छ । यसमा उत्कृष्ट प्रविधिहरू समावेश छन् । कार्यक्रममा एमएडब्लू वृद्धिमोटर्सका डिलर प्रमुख गोविन्द भुसालले नामी ईभीले देशव्यापी रूपमा ग्राहकहरूबाट प्रशंसा पाइरहेको कुरा बताए । कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्युतीय गाडीको भविष्य नेपालमा उज्जवल रहेको बताए । पछिल्लो परिवेशमा वातावरणमैत्री सवारी साधनप्रतिको आकर्षण बढ्दै गएको स्वीकार गर्दै विद्युतीय सवारीसाधनको प्रयोगलाई बढावा दिनुपर्नेमा उनले जोड दिए । कार्यक्रमपछि उनले नै ग्राहकहरूलाई नामी ईभीको साँचो हस्तान्तरण गरेका थिए । नामीः सेग्मेन्टमा-पहिलो सुविधाहरूले भरिपूर्ण नामी ईभीमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डुअर, फ्लस डुअर ह्यान्डल, अटो पार्किङ र टेबलटपसहितको यात्रु ड्रएरजस्ता सेग्मेन्ट–फर्स्ट आविष्कारहरू समावेश छन् । यो तीन भेरियन्टहरू: नामी ई १, नामी ई २ र नामी ई ३ मा उपलब्ध छ । यसैगरी, नामी इभी सेतो, नीलो, हरियो र बैजनी एवम् सेतो र नीलो, सेतो र हरियो र सेतो र बैजनीजस्ता डुअल टोन रङहरूको विकल्पहरूको साथमा उपलब्ध छ । नामीले १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, १७ इन्चको टायर, १२ अल्ट्रासोनिक रडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल र स्वतःमधुरो हुने प्रणालीसहितको स्टार–लाइट क्रिस्टल एलईडी हेडल्याम्प्स जस्ता सुविधाहरू समेटेको छ । ग्राहकहरूलाई थप आकर्षित गर्न एमएडब्लू वृद्धिले मधेस प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरिरहेको छ । यही मंसिर १९ गते बुधबारदेखि २१ गतेसम्म ग्राहकहरूले विशेष अफरहरूसहित विद्युतीय सवारीसाधनहरूको अवलोकन गर्न सक्नेछन् ।

नेपाल-चीन अटोमोबाइल व्यापार प्रवर्द्धनका लागि नाडा र सीसीपीआईटी अटोबीच सम्झौता

काठमाडाैं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब-काउन्सिल (सीसीपीआईटी अटो) बीच सम्झौता भएको छ । अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन नाडा र सीसीपीआईटी अटोबीच सम्झौता भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते देखि २० गतेसम्मको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधि मण्डलमा नाडाको प्रतिनिधित्व गर्दे अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीसमेत चीन भ्रमणमा छन् । सोहि क्रममा सीसीपीआईटी अटोसँग उक्त सम्झौता भएको नाडाले जनाएको छ । यो सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाले उल्लेख गरेको छ । व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ । सम्झौताअनुसार नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ । यस्तै, सीसीपीआईटी अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ । साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिने सम्झौतामा उल्लेख छ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।