फर्डले २० हजार ४८४ हाइब्रिड एसयूभी गाडी फिर्ता गर्ने
काठमाडौं । फर्डले ब्याट्रीसँग सम्बन्धित चिन्ताका कारण २० हजार ४८४ हाइब्रिड एसयूभी गाडी फिर्ता गर्ने भएको छ । राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासन (एनएचटीएसए) ले मंगलबार घोषणा गरेअनुसार २०२० देखि २०२४ मोडल वर्षका फर्ड इस्केप र लिंकन कोरसेयर हाइब्रिड गाडी समावेश छन् । उच्च भोल्टेज ब्याट्री सेलहरूमा निर्माण त्रुटिका कारण आन्तरिक सर्ट सर्किट र ब्याट्री फेल हुने सम्भावना रहेको पाइएको छ। डिलरहरूले ब्याट्री ऊर्जा नियन्त्रण मोड्युलको सफ्टवेयर अद्यावधिक गर्ने जनाइएकाे छ। आवश्यकताअनुसार उच्च भोल्टेज ब्याट्री प्याक पनि निःशुल्क बदलिनेछ । ग्राहकको सुरक्षाका लागि कार फिर्ता गर्न लागिएको हो । फोर्ड मोटर कम्पनी एक अमेरिकी बहुराष्ट्रिय वाहन निर्माता कम्पनी हो । हेनरी फोर्डले सन् १९०३ मा यो कम्पनी स्थापना गरेका थिए ।
शून्य ब्याजदरमै सीएफमोटोको ‘टु हन्ड्रेड फिफ्टी एनके’, २ वर्ष किस्तावन्दीको सुविधा
काठमाडौं । सीएफमोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘न्यू इयर, न्यू राइड’ सार्वजनिक गरेको छ । यस योजनाले ग्राहकहरुलाई ० प्रतिशत ब्याजदरमै २४ महिने सरल किस्ताबन्दीमा आफ्नो ‘टु हन्ड्रेड फिफ्टी एनके’ कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्न उत्कृष्ट अवसर प्रदान गरेको छ । सीमित अवधिका लागि लागू गरिएको यस योजना पौष १६ गते देखि माघ १८ गते सम्म लागु हुने कम्पनीले जनाएकाे छ । न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दी योजनाका सीएफमोटोको टु हन्ड्रेड फिफ्टी एनके खरिद गर्न सकिने कम्पनीको भनाइ छ । साथै यस योजनाले सरल कागजी प्रकृया रुचिअनुसारको किस्ताबन्दी योजना रोज्ने सुविधासमेत प्रदान गर्दछ । कम्पनीको भनाइअनुसार यस सेग्मेन्टका आफ्ना ग्राहक युवा अवस्थाका रहेका र यस योजना अन्तर्गत ० प्रतिशत ब्याजदर बाट लाभ लिन सक्ने भएकोले यसले आफ्नो ब्राण्डलाई अझ पहुँचयोग्य वनाउने कुरामा विश्वास लिएको जनाएको छ । बिक्रीको साथ साथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको जानकारी दिएको छ । कम्पनीले हालसालै उपत्यका लगायत बाहिरी जिल्लाका ग्यारेजवालाहरूलाई समेत २ दिने आफ्ना २५० सीसी तथा ४५० सीसीका बाइकहरूको तालिम सीएफमोटो चाइनाका ट्रेनरहरूमार्फत सन्चालन गरेको थियो । यसका साथै टु हन्ड्रेड फिफ्टी एनके नगदमा खरीद गर्ने ग्राहकहरूलाई २५ हजार रुपैयाँसम्म छुट, एक्सचेन्जमा ३० हजार र थप मूल्यांकनको साथै फ्री गिफ्ट, हेल्मेट, १ वर्षको लागि सीएफमोटोको पार्ट्स खरीदमा १० प्रतिशत छुटसमेत दिएको छ । सीएफमोटोको टु हन्ड्रेड फिफ्टी एनकेमा २४९.५ सीसीको सिंगल साइलाइनर इन्जिन दिइएको छ, जसले २०.५ किलोवाटको म्याक्सिमम पावर र २२ एनएमको टर्क उत्पादन गर्ने र यसमा डुअल च्यानल एबीएस, १२.५ लिटरको ट्यांक, आकर्षक डिजाइन तथा प्रविधि अपनाएको छ । जसले उक्त वाईकमा सवार भएका सवारीले सुरक्षित यात्राको साथ साथ अपग्रेडेड राइडको मज्जा लिन सक्ने छन् ।
ओमोडाको ब्रान्ड एम्बेस्डर बने दीपेन्द्रसिंह ऐरी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्रसिंह ऐरी ओमोडाको ब्रान्ड एम्बेस्डर बनेका छन् । शारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले सुदुरपश्चिम रोयल्सका कप्तान रहेका ऐरीलाई ओमोड एन्ड जेइकोको ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो । सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा शारडा ग्रुपका निर्देशकहरूलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा हस्ताक्षर कार्यक्रमसँगै दीपेन्द्रसिंह ऐरी आधिकारिक रूपमा ब्रान्ड एम्बेस्डर नियुक्त भएका हुन् । यस साझेदारीले नेपालको दिगो भविष्यका लागि विद्युतीय यातायातका समाधानहरूको प्रवर्द्धनमा जोड दिइएको छ । एसपीजी अटोमोबाइल्स ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक हो । कार्यक्रममा सम्बोधन गर्दै ऐरीले आफ्नो ओमोडा एन्ड जेइकोसँगको आबद्ध हुँदा खुसी व्यक्त गरे । उनले भने, ‘किफायती मूल्यमा अत्याधुनिक सुविधाहरू भएको फ्यूचरिस्टिक इभी यो सेगमेन्टमा नै उत्कृष्ट र बेजोड छ । इनोभेसन (नवप्रवर्तन) र फ्यूचरिस्टिक टेक्नोलोजिमा अग्र रहँदै इभी बजारमा उल्लेखनीय सफलता हासिल गरेको ब्रान्ड ओमोडा एन्ड जेइकोसँग आबद्ध हुन पाउँदा म अत्यन्त उत्साहित छु ।’ समारोहमा शारडा ग्रुपका अध्यक्ष शिवरतन शारडा, प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा, एसपीजी अटोमोबाइल्सका अन्य सदस्यहरू लगायतको उपस्थिति रहेको थियो । ऐरी हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सका कप्तान हुन् । उनको नेतृत्वमै सुदूरपश्चिम फाइनल पुगेको थियो । आजै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरण गरिएको छ । एनपीएलको ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’को पुरस्कार स्वरूप ओमोडा इ-फाइभको साँचो हस्तान्तरण गर्दै एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको पुरुष टी- ट्वान्टी अलराउन्डरमा दोस्रो वरीयतामा रहेका ऐरी नेपाली तथा विश्व क्रिकेटका उदाउँदो ताराहरूमध्ये एक हुन् । आफ्नो कुशलता र पर्फमेन्समा सदैव उच्चतस्तरको लगाव राख्ने ऐरीजस्ता उदाउँदा युवा खेलाडीलाई ओमोडा एन्ड जेइकोको ब्रान्ड एम्बेसेडर नियुक्त गर्न पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं ।’ उक्त कार पाएवापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोरेको छ । ९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ । ऐरीले एनपीएलको नेपाली खेलाडीतर्फ ‘प्लेयर अफ दी सिरिज’ बन्दै ओमोडा ई ५ कार पुरस्कार प्राप्त गरेका हुन् । प्रतियोगिताभरि ऐरीले ९ खेलमा २२७ रन बनाउनुका साथै ९ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।