क्रेटा ईभी नेपाल प्रवेशसँगै ५ स्थानमा हुण्डाई ‘चार्ज शप’ खुल्ने

काठमाडौं । हुण्डाईको क्रेटा ईभी आउँदो फेब्रुअरी महिनामा नेपाल भित्रिँदै छ । नेपालका लागि हुण्डाई ब्राण्डको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेब्रुअरी महिनामा क्रेटाको ईभी भर्जन नेपालमा भित्राउन लागेको जनाएको छ । कम्पनीले हालसम्म प्री- बुकिङ भने खुलाएको छैन । तर, ग्राहकहरूमा उक्त गाडीप्रति आकर्षण देखिएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले बताए । उनका अनुसार ग्राहकहरूले उक्त क्रेटा ईभीको खरिदका लागि अहिले नै रकम कम्पनीलाई भुक्तानी दिन थालेका छन् । ग्राहकहरूले यसबारेमा धेरै सोधपुछ गरिरहेको उनले जानकारी दिए । उनका अनुसार भारतमा यो गाडी लन्च भएसँगै नेपाली ग्राहकमा पनि आकर्षण बढेको हो । कम्पनीले यो गाडी नेपाल भित्र्याउने भएसँगै पूर्वाधार निर्माणमा पनि आक्रामक ढंगले अगाडि बढेको छ । ग्राहकलाई चार्जिङ स्टेसनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिन कम्पनीले ‘चार्ज सप’ निर्माण गर्न लागेको थपलियाले जानकारी दिए । चार्ज सफ भनेको चार्जिङ स्टेसनसँगै सर्भिसको पनि सुविधा भएको कम्बो प्याकेज हो । जहाँ गाडी चार्ज गर्ने स्थानमा सर्भिसको पनि सुविधा पाइन्छ । यो नेपालमा नौलो प्रयास हो । देशभर ५ स्थानमा चार्ज सप’ बनाउन  पूर्वाधार निर्माणको काम सकिएको महाप्रबन्धक थपलियाले बताए । उनका अनुसार महेन्द्र हाइवेमा तीनवटा, एउटा बीपी हाइवेमा र एउटा सिद्धार्थ हाइवेमा  स्थापना गरिनेछ । यस्तै, कम्पनीले एसी र डीसी चार्जिङ स्टेसनहरू पनि बिस्तार गर्न लागेको छ । हुण्डाईको एसी चार्जिङ स्टेसन हालसम्म ४५ वटा स्थानमा रहेका छन् । अब थप ५ स्थानमा एसी चार्जिङ स्टेसन स्थापना गर्न लागिएको पनि उनले जानकारी दिए । यसँगै हुण्डाईको एसी चार्जिङ स्टेसनको संख्या ५० पुग्नेछ । यसका साथै कम्पनीले देशभर विभिन्न विभिन्न स्थानमा २५ वटा डीसी चार्ज स्टेसन स्थापना गर्ने जनाएको छ । यस्तै, कम्पनीले एउटा गाडीबाट अर्काे गाडीमा चार्ज गर्न मिल्ने (भेहिकल टु भेहिकल चार्जिङ सिस्टम) प्रविधि पनि नेपाल भित्र्याई सकेको छ । यसले विशेषगरी पावर बैंकको रूपमा काम गर्दछ । भेहिकल टु भेहिकल चार्जिङ सिस्टम जडित २ वटा गाडी नेपाल आइसकेको र त्यसमा जडान गर्ने प्रविधि आउने क्रममा रहेको महाप्रबन्धक थपलियाले जानकारी दिए । यो विशेषगरी उद्दार गर्नका लागि प्रयोग गरिने उनले बताए । कुनै पनि हाइवेको बीचमा चार्ज सकिएको अवस्थामा चार्जिङ स्टेसनसम्म पुग्ने सकिँदैन । यस अवस्थामा उक्त भेहिकल टु भेहिकल चार्जिङ सिस्टम जडित गाडी गएर सो गाडीमा चार्ज गराउनेछ । यस प्रकारको भेहिकल टु भेहिकल चार्जिङ सिस्टम जडित एउटा गाडी काठमाडौं उपत्यका र एउटा उपत्यका बाहिर रहने थपलियाको भनाइ छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको ईभीमा कोना र आयोनिक फाइभ बिक्री वितरण गरिरहेको छ ।

चीनको विद्युतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि

काठमाडौं । विश्वमा नवीकरणीय उर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गत वर्ष विद्युतीय र हाइब्रिड सवारी साधनको बिक्री ४० प्रतिशतभन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराएअनुसार ‘सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विद्युतीय गाडीको खुद्रा बिक्री भएको छ । हालैका वर्षहरूमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विद्युतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ । सीपीसीएका अनुसार गत वर्ष कूल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो । सीपीसीएको तथ्याङ्कअनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री सङ्ख्या १३ लाख भन्दा बढी पुगेको छ । यो वर्षभरीको तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो । विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ । चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो ।

विश्वव्यापी मुख्यालय विस्तार गर्दै रोल्स-रोयस, लगानी ३७० मिलियन डलर

काठमाडौं । ब्रिटिश लक्जरी कार निर्माता रोल्स-रोयस मोटरकारले आफ्नो विश्वव्यापी मुख्यालय विस्तार गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जसका लागि रोल्स रोयसले ३६९.९ मिलियन डलरभन्दा बढी लगानी गरिरहेको जनाइएको छ । आफ्ना अति-धनी ग्राहकहरूबाट अत्यधिक व्यक्तिगत मोडलहरूको बढ्दो मागलाई सम्बोधन गर्दै रोल्स रोयसले मुख्यालय विस्तार गरिरहेको हो । बीएमडब्ल्यू स्वामित्वमा रहेको रोल्स-रोयस मोटरकार अन्य लक्जरी कार ब्रान्डहरू जस्तै हालका महिनामा बेस्पोक र जटिल कार मोडलहरूको मागमा वृद्धि भएको देखिएको छ । कम्पनीले दक्षिणी इङ्गल्याण्डमा रहेको यसको गुडवुड निर्माण सुविधामा करिब ३६९.९ मिलियन डलरभन्दा बढीको लगानीले बेस्पोक र कोचबिल्ड परियोजनाहरूको लागि ठाउँ सिर्जना गर्न मद्दत गर्ने बताएको छ । कोचबिल्ड कार्यक्रम एक निमन्त्रणा-आधारित सेवा हो, जहाँ ग्राहकहरूले पूर्ण रूपमा मौलिक मोटर कार सिर्जना गर्न सक्छन् । रोल्स-रोयस मोटरकार्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिस ब्राउनरिजले भनेका छन्, ‘यो हाम्रो सबैभन्दा ठूलो वित्तीय प्रतिबद्धता हो, जसले यूकेमा हाम्रो भविष्यलाई सुरक्षित गर्दछ ।’ ‘रोल्स-रोयस एक विश्वव्यापी व्यवसाय हो,’ सीईओ ब्राउनरिजले थपे । उनले आफ्ना ग्राहकहरू विश्वका हरेक ठाउँमा भएका र उनीहरूलाई सन्तुष्ट पार्न आवश्यक रहेको बताए । सीईओ ब्राउनरिजले भने, ‘हामीसँग विश्वको हरेक कुनामा ग्राहकहरू छन् र हाम्रा ग्राहकहरूबाट थप जटिल कमिसनको मागमा भएको यो वृद्धिले हामीले सन्तुष्ट पार्न आवश्यक छ । र त्यसैले गुडवुडमा लगानी भनेको संस्थाको स्वास्थ्य देखाउने कुरा हो । तर हामी हाम्रो विकास योजनाहरूप्रति कति विश्वस्त छौं भनेर पनि देखाउँछ ।’ ‘हामीले थप उल्लेखनीय मोटर कारहरू बनाउने छाैं,’ उनले थपे । २०२४ मा रोल्स-रोयसले ५ हजार ७१२ कार बेचेको थियो, जुन २०२३ को ६ हजार ३२ को तुलनामा ५ प्रतिशत कम हो । कम्पनीले यो गिरावटलाई नयाँ मोडलहरूको स्विचओभरको कारणले भएको बताएको छ । २०२४ मा रोल्स-रोयसले चार नयाँ मोडल, जस्तै कलिनन सिरिज टू र घोस्ट सिरिज टू प्रस्तुत गरेको थियो । ग्राहकहरूलाई डेलिभर गरिएको मोटरकारहरूको संख्याको आधारमा मापन गर्दा २०२४ मा उत्तर अमेरिका सबैभन्दा ठूलो बिक्री क्षेत्र थियो । रोल्स-रोयसको सबैभन्दा लोकप्रिय मोडलहरूमा कलिनन, स्पेक्टर र घोस्ट रहेका छन् । कम्पनीले आफ्नो उत्पादन सुविधामा २ हजार ५०० भन्दा बढी कर्मचारीहरूलाई रोजगारी दिएको छ भने दैनिक रूपमा २८ कारहरू उत्पादन गर्दछ।