चीन र अमेरिकाबीच ईभीमा द्वन्द्व, चर्किँदै विवाद
जेनेभा । बेइजिङले वासिङ्टनमाथि अनुचित प्रतिस्पर्धा गरेको आरोप लगाएपछि विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले सोमबार विद्युतीय सवारी (इभी) का लागि दिइने अमेरिकी अनुदानबारे अनुसन्धान गर्न एउटा विज्ञ समूह गठन गर्न सहमति जनाएको छ । अमेरिकाले चीनको उजुरीलाई कडा भाषामा निन्दा गर्दै चीनले ‘निष्पक्ष, प्रतिस्पर्धी र पारस्परिक रूपमा लाभदायक व्यापार प्रणालीलाई कमजोर गर्ने आफ्ना गैर-बजार नीति र अभ्यासहरूबाट ध्यान मोड्न’ खोजेको दाबी गरेको छ । विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र चीनले सुरुमा मार्चमा यो मुद्दा डब्लुटिओमा ल्याएको थियो । मुद्दामा चीनले अमेरिकी मुद्रास्फीति कटौती कार्यक्रम (आइआरए) मा ‘नयाँ ऊर्जा सवारीका लागि भेदभावपूर्ण सहायता नीतिहरू’ जारी गरेको उल्लेख गरेको थियो र यसमा विद्युतीय कार र हाइब्रिड सामेल छन् । सन् २०२२ मा अमेरिकाले ऊर्जा परिवर्तन क्षेत्र र अमेरिकी भूमिमा निर्मित विद्युतीय कारहरूलाई सहयोग गर्न ठूलो राहत कार्यक्रमको घोषणा गरेको थियो । अमेरिकाले उक्त ऐन जलवायु सङ्कटसँग लड्न र ‘अमेरिकी आर्थिक प्रतिस्पर्धाको लगानी गर्ने’ उपकरण भएको दाबी गरेको छ । चीनले आफ्ना उद्योग नीतिहरू अनुचित नभएको बताएको छ र आफ्ना कम्पनीहरूको संरक्षणका लागि जवाफी कारवाही गर्ने बारम्बार धम्की दिएको छ । चीनका अनुसार आइआरएले ‘निष्पक्ष प्रतिस्पर्धालाई विकृत गर्दछ, विश्वव्यापी नयाँ ऊर्जा वाहन उद्योग र आपूर्ति शृङ्खलालाई गम्भीर रूपमा बाधा पुर्याउँछ र डब्लुटिओ नियमहरूको उल्लङ्घन गर्दछ ।’ जेनेभास्थित डब्लुटिओका एक अधिकारीका अनुसार वासिङ्टनले जुलाईमा मुद्दाका लागि डब्लुटिओ प्यानलको पहिलो अनुरोधलाई रोकेको थियो तर दोस्रो अनुरोधलाई सोमबार बैठकमा स्वीकार गरेको थियो । डब्लुटिओ नियमअन्तर्गत कुनै पनि विवादमा विवादका पक्षहरूले पहिलो अनुरोधलाई रोक्न सक्छन् तर पक्षहरूले दोस्रो अनुरोध गरे भने त्यो करिब निश्चित रूपमा स्वीकृत हुन्छ । “विश्वव्यापी प्रभुत्वका लागि चीनले स्वच्छ ऊर्जा क्षेत्रलाई लक्षित गर्छ भने त्यसबेला चीनको उजुरी विशेष रूपमा पाखण्डी हो”, एक अमेरिकी प्रतिनिधिले सोमबारको बैठकमा भने, “वर्तमान डुब्लुटिओ नियमहरूलाई हाम्रो समयको सबैभन्दा आवश्यक विश्वव्यापी मुद्दाहरू सम्बोधन गर्न सदस्यहरूलाई कारवाही गर्न रोक्ने रूपमा बुझ्न सकिँदैन ।” अमेरिकाले मे महिनामा चीनबाट आयात गरिएका विद्युतीय सवारीहरूमाथि भन्सार महसुल चार गुणा बढाएको घोषणा गरेको थियो । रासस
२ महिनामा ४ अर्बको ईभी गाडी आयात, चीनबाट मात्रै भित्रियो ३ अर्बको
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ)मा करिब ४ अर्ब रुपैयाँ बराबरको विद्युतीय गाडी (ईभी) आयात भएको छ । यो दुई महिनामा ३ अर्ब ९९ करोड ३९ लाख ६३ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको हो । जसमध्ये चीनबाट मात्रै ३ अर्ब ५ करोड ८८ लाख रुपैयाँको विद्युतिय गाडी आयात भएको भन्सार विभागले जनाएको छ । यो कुल आयातित विद्युतीय गाडीकाे ७६.५८ प्रतिशत हो । विभागका अनुसार ४ वटा देशबाट ३ हजार २७० वटा विद्युतीय गाडी आयात भएको छ । जसमध्ये २ हजार ४४१ वटा गाडी चीनबाट भित्रिएको हो । चीनबाट दुई महिनामा चीनबाट १ हजार ३१६ वटा तीन पांग्रे गाडी, ५० किलोवाटसम्मको कार, जिप र भ्यान गरेर ३६१ वटा सवारी, ५१ देखि १०० किलोवाटसम्मका कार, जिप र भ्यान ६६२ वटा सवारी, १०१ देखि २०० किलोवाटका कार, जिप र भ्यान ९८ वटा र २०१ देखि ३०० किलोवाटसम्मका कार, जिप र भ्यान २ वटा गरी कुल २ हजार ४४१ वटा विद्युतीय सवारी आयात भएको छ । यसैगरी, ३०१ किलोवाट भन्दा बढी क्षमताका कार, जिप र भ्यान २ वटा आयात भएको छ । भारतबाट भारतबाट तीन पांग्रे विद्युतीय सवारी ३५२ वटा आयात भएको छ । यसैगरी, ५० किलोवाटसम्मका कार, जिप र भ्यान १९९ वटा, ५१ देखि १०० किलोवाट सम्मका कार, जिप र भ्यान २७६ वटा सवारी आयात भएको छ । अमेरिका र जर्मनीबाट अमेरिकाबाट १०१ देखि २०० वाटसम्मका १ वटा विद्युतीय सवारी र जर्मनीबाट २०१ देखि ३०० किलोवाटसम्मको १ वटा सवारी आयात भएको छ । समग्रमा विद्युतीय गाडी आयातबाट २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
सिप्रदीले उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने
काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यकाबाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने भएको छ । यसले टाटा पेसेन्जर श्रेणीका (पीभी), आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी गाडीहरूलाई लक्षित गरेको छ । यो क्याम्प यही आश्विन ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौंडा, ढल्केबार र मेचीमा अवस्थित पीभीका सेवासम्बन्धि सञ्जालमा सञ्चालन हुने सिपद्रीले जनाएकाे छ । कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरूले विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । उनीहरूले ब्याट्री, सस्पेन्सन, ब्रेकलगायत कम्प्युटर परीक्षणजस्ता सुविधा नि:शुल्क पाउनेछन् । यसैगरी, ग्राहकहरूलाई पार्टपुर्जा र लुब्रीकेन्टमा २० प्रतिशत र लेबर चार्जमा ५० प्रतिशतको छुट दिइनेछ । यसैगरी, टप वाशिङ सित्तैमा गरिने कम्पनीले जनाएकाे छ ।