सेलिब्रेटी हुनुको मजा नै बेग्लै, पारसले पाए ७५ लाख पर्ने दीपल सित्तैमा
काठमाडौं । सेलिब्रेटी बन्न गाह्रो । सेलिब्रेटी बनिसकेपछि विभिन्न अवसरले घेर्छन् । नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काको हकमा पनि यो लागू भएको छ । ‘म विगत ६/८ महिनादेखि नयाँ कार किन्ने सोचमा थिए । अबको समय विद्युतीय कारको हो भन्ने लागेको थियो । मैले विभिन्न कारहरू हेरें । मलाई दीपल मन पर्याे, ’ पारस खड्काकै शब्द थिए । राजधानीको मेरियट होटलमा आयोजित पत्रकार सम्मेलनमा खड्का आफ्ना विचार राख्दै थिए । ‘गाडीको लुक्स गज्जब छ । कार स्मूथ र कम्फर्टेबल पनि छ । कारमा हुनुपर्ने तर नभएको सुविधा केही पनि छैन, ’ उनले भने । दुई हप्तादेखि यो कार नियमित चढ्न थालेको पनि खड्काले सुनाए । ‘म अग्लो मान्छे, ६.२ फिट अग्लो छु । कारको अगाडि सिटमा बस्दा पनि, पछाडिको सिटमा बस्दा पनि आरामदायी लाग्यो । पावर पनि राम्रो छ । फ्यामली कार हो । पाँचजनाले आरामसँग यात्रा गर्न मिल्छ, ’ उनले भने । ‘कारको मूल्य पनि सस्तो लाग्यो । कम्पनीले ३० प्रतिशत बढी मूल्य राखेको भए पनि ग्राहकको रोजाइमा यो कार पर्दथ्यो होला । राम्रो पनि, सस्तो पनि भएर होला, नेपालको अटो बजारमा दीपल धेरैको रोजाइमा छ, ’ उनले थपे । रोचक विषय यो हो कि खड्काले दीपल कारको मूल्य कम भएको टिप्पणी गरेका थिए । त्योभन्दा रोचक कुरा उनले दीपल एस ०७ कार लिँदा मूल्य नै हाल्नु परेको रहेनछ । दीपलको ब्राण्ड एम्बेस्डर घोषणा कार्यक्रम थियो । ब्राण्ड एम्बेस्डर बन्ने बनाउने विषयमा दीपल कारको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि र पारस खड्काबीच सम्झौता कार्यक्रमपछि खड्का बोल्दै थिए । सेलिब्रेटी खेलाडी वा कलाकारलाई ब्राण्ड एम्बेस्डर बनाउँदा कर्पोरेट हाउसहरूले उनीहरूलाई राम्रो मूल्य तिर्छन् । तर त्यो मूल्य सार्वजनिक गर्न ब्राण्ड एम्बेस्डर बन्नेले पनि मान्दैनन्, कर्पोरेट हाउसले पनि मान्दैनन् । कम्पनीको क्षमता र कलाकारको ख्यातिका आधारमा ब्राण्ड एम्बेस्डरको शुल्क तोकिन्छ । ब्राण्ड एम्बेस्डर कति अवधिका लागि पनि भनेर तोकिन्छ । सामान्यत: कम्पनीहरूले ब्राण्ड एम्बेस्डरसँग १/२ वर्ष अवधिका लागि करार गरेका हुन्छन् । त्यस अवधिका लागि ५ लाखदेखि ५० लाख रुपैयाँसम्म शुल्क कलाकारले लिने गरेको पाइन्छ । कुनै कम्पनी र कलाकारबीच लामो समय ब्राण्ड एम्बेस्डरमा सहकार्य पनि भएको पाइन्छ । खड्काले एमएबडब्लु वृद्धिसँग लामो समय सहकार्य गर्न चाहेको बताए । ब्राण्ड एम्बेस्डर बनेबापत कम्पनीले खड्कालाई कुनै रकम नदिई दीपल एस ०७ दिएको हो । कम्पनीले कारको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । एमएबडब्लु वृद्धिकी बजार प्रमुख पुनम सिंहका अनुसार खड्का दीपलको ब्राण्ड एम्बेस्डर भएर दीपलसँग सहकार्य गरेवापत उक्त कार हस्तान्तरण गरिएको बताइन् । त्यसवापत खड्काबाट कम्पनीले कुनै भुक्तानी लियो कि लिएन भन्ने प्रश्नमा उनले भनिन्, ‘कुनै भुक्तानी लिएको छैन । हामीले खड्कालाई ग्राहक बनाएका होइनौं, ब्राण्ड एम्बेस्डर बनाएका हौ ।’ उनले यसलाई भुक्तानी लिएको वा उपहार दिएको भन्नेभन्दा पनि दुई पक्षबीचको सहकार्य भएको रूपमा बुझ्नु पर्ने बताइन्। ‘कुनै कम्पनीले ब्राण्ड एम्बेस्डरसँग ५०/६० प्रतिशत छुट दिने र बाँकी पैसा लिने गरेको पनि हामीले सुनेका छौं । तर पैसा लिएपछि ग्राहक हुन्छ, ब्राण्ड एम्बेस्डर हुँदैन । हामीले ब्राण्ड एम्बेस्डरसँग पैसा लिएका छैनौं, ‘ कम्पनीका उच्च अधिकारीले भने । कम्पनीका प्रबन्ध निर्देशक विवेक शिकारियाले खड्कालाई ब्राण्ड एम्बेस्डरमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।
दीपालको ब्रान्ड एम्बेस्डरमा पूर्वकप्तान पारश खड्का
काठमाडौं । विद्युतीय गाडी दीपालकाे ब्रान्ड एम्बेस्डरमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारश खड्का अनुबन्धित भएका छन् । चांगान नेपालले नेपाली क्रिकेटका परिचित खड्कालाई दिपाल इभीको आधिकारिक ब्रान्ड एम्बेस्डर घोषणा गरेको हाे । काठमाडौंको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएसनका सचिवसमेत रहेका खड्कालाई दीपाल इभीको ब्रान्ड एम्बेस्डरमा नियुक्त गरिएकाे हाे । खड्काले दीपाल परिवारमा जाेडिन पाउँदा खुसी लागेकाे बताए । साथै उनले आफू अहिले पनि दीपाल गाडी नै चढिरहेको बताए । ‘यति धेरै फिचरले भरिएको इभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’ उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत इभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दीपलसँग आबद्ध हुन पाउँदा खुसी छु ।’ त्यसैगरी, पारसलाई दीपाल एस ०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल इभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए । केही महिनाअघि सार्वजनिक भएको दीपल एस ०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ । नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस ०७ डेलिभर गरिसकेको छ ।
डिलर नेटवर्क बिस्तार गर्दै जीडब्ल्यूएम
काठमाडौं । जीडब्ल्यूएम नेपालले आफ्नो डिलर नेटवर्कलाई तीव्र गतिमा बिस्तार गरिरहेकाे छ । जीडब्लुएम नेपालले विराटनगर, भरतपुर (नारायणघाट) र बुटवल जस्ता सहरहरूमा आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ । आफ्नो डिलर नेटवर्क विस्तारको क्रममा चितवनमा पनि आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ । यसका साथै यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर र बिर्तामोडमा पनि डिलरशिप बिस्तार गर्ने योजना बनाएको छ । ब्रान्डको लोकप्रिय गाडीहरू हवाल एच ६ एसयूभी, हवाल जाेलिसन एसयूभी, पीओइआर डबल क्याब पिकअप, विङ्गल ५ पिकअप, र रेट्रो-आधुनिक ओरा ०३ इलेक्ट्रिक क्रसओभर डिलरहरूमा उपलब्ध हुनेछन् । यसैगरी, जीडब्ल्यूएमले पोखरामा पनि नयाँ डिलरशिप खोल्ने योजना बनाएको छ । यो वर्षको अन्त्यसम्म अन्य प्रमुख सहरहरूमा थप दुईवटा डिलरशिपहरू थपिने कम्पनीले जनाएकाे छ । कम्पनीले भविष्यमा नेपालमा ट्याङ्क ब्रान्डअन्तर्गत लक्जरी अफ-रोड मोडलहरू प्रस्तुत गर्ने योजना पनि बनाएको छ । जीडब्ल्यूएमले लगातार ६ वर्षसम्म वार्षिक रूपमा १ मिलियनभन्दा बढी गाडीहरू बिक्री गरेको छ ।