क्रेटा ईभी फागुनको अन्तिमतिर नेपाल आउँदै, यस्ता छन् विशेषता
काठमाडौं । हुन्डाईकाे नयाँ क्रेटा इभी फागुनको अन्तिम साता नेपाल आइपुग्ने भएको छ । नेपालका लागि हुण्डाई ब्राण्डको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेब्रुअरी महिनाको अन्तिम साता क्रेटाको ईभी भर्जन नेपालमा भित्राउन लागेको जनाएको हो । ग्राहकहरूमा क्रेटा ईभी प्रति आकर्षण देखिएको लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले जानकारी दिए । उनका अनुसार भारतमा यो गाडी लन्च भएसँगै नेपाली ग्राहकमा पनि आकर्षण बढेको हो । क्रेटा ईभीमा ८ किलोमिटर/किलोवाट घण्टा उत्कृष्ट कार्यक्षमता छ जसले दिगो ड्राइभिङ अनुभव सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ । के-के छन् विशेषता ? विविध आवश्यकताका लागि दुई ब्याट्री विकल्प- ४२ किलोवाट आवर्स ब्याट्री प्याक (प्रारम्भिक संस्करण) अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) का अनुसार यसको प्रमाणित रेन्ज ३९० किलोमिटर रहेको छ । नेपालको लागि वास्तविक रेन्ज भूभाग र ड्राइभिङ अवस्थाअनुसार करिब ३००-३३० किमी रहेको छ । ५२ किलोवाट आवर्स ब्याट्री प्याक (लङ रेन्ज संस्करण)- एआरएआईका अनुसार यसको प्रमाणित रेन्ज ४७३ किलोमिटर रहेको छ । नेपालको लागि वास्तविक रेन्ज भूभाग र ड्राइभिङ अवस्थाअनुसार करिब ३९०–४२० किमि रहेको कम्पनीले जनाएकाे छ । नेपालको अनौठो भूभागका लागि डिजाइन- २०० एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स जसले दुर्गम र विविध सडकहरूमा सजिलो यात्रा सुनिश्चित गर्ने कम्पनीले जनाएकाे छ । उच्च टर्क डेलिभरीले सहरी सडक, पहाडी क्षेत्र, र अफ-रोड अवस्थाहरूमा उत्कृष्ट प्रदर्शन प्रदान गर्दछ । उन्नत सुरक्षाका साथै ऊर्जा कार्यक्षमता रिजेनेरेटिभ ब्रेकिङ प्रणालीले बारम्बार ओरालो ड्राइभिङको बेला ऊर्जाको अधिकतम पुन:प्राप्ति सुनिश्चित गर्दछ । एडीएएस प्रणालीले सुरक्षालाई थप सुदृढ बनाउने कम्पनीले जनाएकाे छ । चिसो मौसममा उत्कृष्ट प्रदर्शन- यसमा उन्नत थर्मल व्यवस्थापन र ब्याट्री हिटिङ प्रणाली रहेको छ, जुन हिमाली क्षेत्रका लागि उपयुक्त छ । छिटो र सजिलो चार्जिङ- ११ किलोवाट एसी होम चार्जिङ क्षमताले गाडीलाई केवल ४ घण्टामा पूर्ण चार्ज गर्न सक्ने कम्पनीले जनाएकाे छ । क्रेटा ईभीमा भेन्टिलेटेड सिट, प्यानोरामिक सनरूफ र उन्नत इन्फोटेनमेन्ट प्रणाली रहेको छ । कम्पनीले यो गाडी नेपाल भित्र्याउने भएसँगै पूर्वाधार निर्माणमा पनि आक्रामक ढंगले अगाडि बढेको छ । ग्राहकलाई चार्जिङ स्टेसनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिन कम्पनीले ‘चार्ज सप’ निर्माण गर्न लागेको थपलियाले जानकारी दिए । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको ईभीमा कोना र आयोनिक फाइभ बिक्री वितरण गरिरहेको छ ।
बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने
काठमाडौं । चीनको प्रमुख विद्युतीय गाडी निर्माता बीवाईडीले सन् २०२५ को अन्त्यसम्ममा इन्डोनेसियामा आफ्नो १ अर्ब डलरको प्लान्ट निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । इन्डोनेसियाको स्थानीय युनिटका प्रमुख ईगल झाओले सोमबार यसबारे जानकारी दिएका हुन् । जापानी अटोमेकरहरूको वर्चस्व रहेको बजारमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यलाई बीवाईडीले अझ बलियो बनाउँदैछ । इन्डोनेसियाका लागि प्लान्टको दीर्घकालीन योजना निर्यात बजारलाई लक्षित गरेको झाओले बताए । ‘हाम्रो स्थानीय उत्पादन प्रक्रियाको प्रत्येक चरण सुचारु र योजनाअनुसार अघि बढिरहेको छ । हामी हाम्रो प्रतिबद्धतामा कायम छौं र २०२५ को अन्त्यसम्ममा निर्माण कार्य पूरा गर्नेछौं,’ झाओले रोयटर्स र सीएनबीसी इन्डोनेसियासँगको संयुक्त अन्तर्वार्तामा भने । पश्चिम जाभाको सुबाङस्थित औद्योगिक क्षेत्रमा निर्माणाधीन उक्त प्लान्टले वार्षिक रूपमा १ लाख ५० हजार विद्युतीय गाडी उत्पादन क्षमता राख्नेछ । स्थानीय युनिटका प्रमुख ईगल झाओ । यस लगानीसँगै बीवाईडीलाई अस्थायी रूपमा आयात शुल्कबिना इन्डोनेसियामा गाडी पठाउन अनुमति दिइएको छ । यो नीतिले विद्युतीय गाडीहरूको माग बढाउन र अटोमेकरहरूलाई आकर्षित गर्न लक्ष्य राखेको छ । सरकारले २०३० सम्ममा ६ लाख विद्युतीय गाडी घरेलु रूपमा उत्पादन गर्ने लक्ष्य राखेको छ । २०२४ मा इन्डोनेसियामा पहिलो वर्षको बिक्रीमा बीवाईडीले १५ हजार ४२९ गाडी बेचेको थियो । जनवरीदेखि नोभेम्बरसम्मको तथ्यांकअनुसार बीवाईडी विद्युतीय गाडी बजारमा करिब ३६ प्रतिशत बजार हिस्सा लिएर अग्रणी रहेको छ । झाओले प्लान्ट निर्माण सम्पन्न भएपछि चाँडै नै पहिलो गाडी उत्पादन सुरु हुने अपेक्षा गरे । हालसम्म बीवाईडीले इन्डोनेसियामा चार मोडेलहरू प्रस्तुत गरेको छ, जसमध्ये सील सेडान, एटो थ्री एसयूभी, डल्फिन ह्याचब्याक र एम सिक्स रहेका छन् । तीमध्ये एम सिक्स सबैभन्दा धेरै बिक्री भएको मोडेल थियो । झाओले यस वर्ष थप मोडेलहरू प्रस्तुत गर्ने योजना रहेको तर कति मोडेल हुने स्पष्ट नगरेको बताए । २०२५ मा बिक्रीमा ‘तीव्र वृद्धि’ गर्न थप मोडेल ल्याइने उनले बताए । बीवाईडीले यसै साता आफ्नो प्रिमियम ब्रान्ड डेन्जा पनि इन्डोनेसियामा सुरु गर्दैछ । बीवाईडीले गत वर्ष विश्वभर ४० लाखभन्दा धेरै गाडी बिक्री गर्दै आफ्नो लक्ष्य पार गरेको थियो । कम्पनीले दक्षिणपूर्व एशियामा आफ्नो उपस्थिति बलियो बनाउँदै जापानी र कोरियाली अटोमेकरहरूको वर्चस्वलाई चुनौती दिइरहेको छ । गत वर्ष बीवाईडीले थाइल्याण्डमा आफ्नो पहिलो विद्युतीय गाडी प्लान्ट खोलेको थियो । ४९० मिलियनको लागतमा निर्माण गरिएको यो प्लान्टले वार्षिक रूपमा १ लाख ५० हजार गाडी उत्पादन गर्न सक्छ, जसमा प्लग-इन हाइब्रिड पनि समावेश छन् । सिंगापुरमा २०२४ को पहिलो छ महिनामा बीवाईडीले टेस्लालाई बिक्रीमा पछि पारेको थियो । सान्दर्भिक सामग्री : भारतीय कार निर्माताले २०२५ मा ईभी बजार बिस्तार गर्ने, मागको भने कमी अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस गरिब किसानको छोराले बनाएको ‘हुन्डाई’, विश्वको तेस्रो ठूलो कार कम्पनी
६ महिनामा १३ अर्ब बढीको ईभी आयात, ७६ प्रतिशत गाडी चीनबाट भित्रियो
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब बढीको विद्युतीय चार पांग्रे सवारी (ईभी) आयात भएको छ । चालु आवको पौष मसान्तसम्म १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बढीको ५ हजार ४८० वटा ईभी जिप, भ्यान र कार आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार उक्त ईभी आयात हुँदा सरकारलाई ८ अर्ब १६ करोड ३३ लाख राजस्व प्राप्ति भएको छ । ५१ देखि १०० किलोवाट गाडी धेरै आयात विभागका अनुसार ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका ईभी गाडीहरू नेपाल आयात भएका छन् । ५१ देखि १०० किलोवाट क्षमता भएका ३ हजार १९१ वटा ईभी नेपाल भित्रिएका हुन् । जुन कुल ईभी आयातको ५८.२२ प्रतिशत हो । यसैगरी, ५० किलोवाटभन्दा कम क्षमता भएका गाडीहरुको आयात पनि उल्लेख्य रहेको छ । पछिल्लो ६ महिनामा ५० किलोवाटभन्दा कम क्षमता भएका ईभी १ हजार ७२५ वटा ईभी आयात भएको छ । जुन कुल आयातको ३१.४७ प्रतिशत हो । यसैगरी, १०१ देखि २०० किलोवाटसम्मका ५५३ वटा, २०१ देखि ३०० किलोवाट क्षमता भएका ९ वटा र ३०० किलोवाट भन्दा धेरै क्षमता भएको २ वटा गाडी आयात भएको छ । कुन देशबाट कति आयात ? नेपालमा ५ वटा देशबाट ईभी गाडी आयात भएको देखिन्छ । चीन, भारत, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट ईभीको आयात भएको छ । जसमध्ये सबैभन्दो धेरै चीनबाट आयात भएको छ । पछिल्लो ६ महिनामा मात्रै चीनबाट १० अर्ब ६४ करोड ७८ लाख रुपैयाँ बढीको ४ हजार २०५ वटा ईभी आयात भएको छ । यो कूल ईभी आयातको ७६.७३ प्रतिशत हो । यसैगरी भारतबाट २ अर्ब २९ करोड ८१ लाख रुपैयाँ बढीको १ हजार २५० वटा ईभी आयात भएको छ । जुन कुल आयातको २२.८१ प्रतिशत हो । अमेरिकाबाट १ करोड ६६ लाख रुपैयाँको ४ वटा, कोरियाबाट १ करोड २५ लाख रुपैयाँको २ वटा र जर्मनीबाट १३ करोड २८ लाख रुपैयाँको १९ वाटा ईभी आयात भएको छ ।