रुपन्देही १ मा सुनिल लम्साल र ५ मा तौफिक अहमद खान विजयी

काठमाडौं । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् ।  रुपन्देही-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल लम्साल विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले आज सार्वजनिक गरेको अन्तिम परिणामअनुसार लम्साल ५४ हजार ८४५ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गरेका छन् भने राप्रपाका प्रज्वल बोहराले ८ हजार ३०१ मत प्राप्त गरे । यस क्षेत्रमा १ लाख ४३ हजार ८२४ मतदाता रहेकामा ६६ हजार ३७७ ले मतदान गरेका थिए ।  यस्तै, रुपन्देही-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तौफिक अहमद खान विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार खानले ३८ हजार ८०६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का खीमलाल भट्टराईले १३ हजार १००, नेपाली कांग्रेसका भरत कुमार शाहले १२ हजार ६२४, नेपाल कम्युनिष्ट पार्टीका मोहम्मद वकिल मुसलमानले छ हजार १७६ मत प्राप्त गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा एक लाख ३४ हजार ४४२ मतदाता रहेकामा ८१ हजार ३५ मत खसेको थियो ।

झापा- ५ मा बालेन्द्रको ६६ हजार मत पुग्दा ओली १८ हजारमै सीमित, ३ हजार गणना बाँकी

झापा । झापा क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उम्मेदवार बालेन्द्र शाहले अत्यधिक मतका साथ आफ्नो अग्रता कायम राखेका छन् ।  कुल १ लाख ६ हजार ३ सय ७२ मत खसेको यस क्षेत्रमा हालसम्म १ लाख ३ हजार ३ सय ७५ मत गणना भइसकेको छ । ताजा मतपरिणाम अनुसार बालेन्द्र शाहले ६६ हजार २०० मत प्राप्त गर्दै विजयतर्फ पाइला अगाडि बढाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८ हजार ९५ मत प्राप्त गरेका छन् । शाह र ओलीबीचको मतान्तर निकै फराकिलो देखिएको छ । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ७५२ मत प्राप्त गरेकी छिन् भने नेकपाका रञ्जित तामाङ १ हजार ४३५ मतका साथ चौथो स्थानमा रहेका छन् । अब गणना गर्न करिब ३ हजार मत मात्र बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  गणना हुन बाँकी मतभन्दा बालेन्द्र शाहको अग्रता धेरै बढी रहेकाले यस क्षेत्रमा शाहको जित सुनिश्चित प्रायः देखिएको छ । 

दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी, एमालेको जित सङ्ख्या तीन पुग्यो

काठमाडौं । दैलेख क्षेत्र नम्बर- २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् ।  अन्तिम मतपरिणाम अनुसार पोखरेलले आफ्ना निकटतम प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।  पोखरेलले कुल १३ हजार ८८९ मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बखतबहादुर शाहीले ६ हजार ७९७ नेकपाका योगेन्द्रबहादुर शाहीले ३ हजार ८५१, नेपाल मजदुर किसान पार्टीका बखतबहादुर थापाले १ हजार ५१२ मत प्राप्त गरे । लक्ष्मीप्रसाद पोखरेलको यो जितसँगै प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको विजयी संङ्ख्या तीन पुगेको छ । यसअघि एमालेले बाँके-२ र बझाङ-१ मा जित हासिल गरिसकेको छ।