हरि र नारायणकाजीबीच ‘नेक टु नेक’ प्रतिस्पर्धा, के नारायणकाजीले खोल्लान् जनमतको ढोका ?
काठमाडौं । नेपालको संसदीय राजनीतिमा लामो समयदेखि सक्रिय तर प्रत्यक्ष जनमतबाट प्रतिनिधिसभा छिर्न नसकेको एउटा नाम हो–नारायणकाजी श्रेष्ठ । चार दशकभन्दा लामो राजनीतिक यात्रामा भूमिगत राजनीति, पार्टी नेतृत्व, मन्त्री पद र राष्ट्रियसभा सदस्य हुँदै उपप्रधानमन्त्रीसम्मको उचाइ चुमेका श्रेष्ठको एउटा चाहना छ–प्रत्यक्ष निर्वाचित भएर प्रतिनिधिसभा पुग्ने । यही अधुरो चाहनालाई पूरा गर्ने प्रयासका रूपमा उनले रोजेका छन् सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ । पार्टीभित्र सुरक्षित मानिएको क्षेत्र र मधेसमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को प्रभाव भएका कारणले श्रेष्ठको उम्मेदवारीलाई अर्थपूर्ण बनाएको छ । तर, यो यात्रा सहज भने छैन । यसको एउटै कारण हुन् उनका सामु उभिएका नेकपा एमालेका सशक्त उम्मेदवार तथा निवर्तमान सांसद हरिप्रसाद उप्रेती । श्रेष्ठको चुनावी इतिहास हेर्दा राजनीतिक उचाइ र चुनावी परिणामबीच गहिरो विरोधाभास देखिन्छ । २०६४ मा पहिलो संविधानसभामा मनोनयन प्रक्रियाबाट संसद पुगेका उनी त्यसपछि मन्त्री बने, प्रभावशाली नेता बने तर जनमतको कसीमा भने बारम्बार असफल भए । श्रेष्ठ २०७० को आम चुनावमा मकवानपुर–३ मा नेकपा एमालेका उम्मेदवार सुवाषचन्द्र ठकुरीसँग पराजित भएका थिए । एमाले माओवादी गठबन्धनका बाबजुद पनि माओवादी गढ मानिएको आफ्नै गृहजिल्ला गोरखा–२ बाट २०७४ मा पनि श्रेष्ठ पराजित हुन पुगे । हरेक राजनीतिक कार्यकर्ता जनमतबाट अनुमोदित हुन चाहन्छ । यो चाहनाले नै श्रेष्ठलाई कहिले मकवानपुर पुर्यायो त कहिले गोरखा । यसपटक उनी सर्लाही पुगेका छन् । तर स्थानीय गुरु भट्टराई भने श्रेष्ठलाई पर्यटक उम्मेदवार मान्छन् । उनी भन्छन्, ‘श्रेष्ठले हारेपनि भाग्छन् जिते पनि फर्किँदैनन् ।’ २०७६ मा राष्ट्रियसभा सदस्य बनेपछि श्रेष्ठले उपप्रधानमन्त्रीसहित गृह, ऊर्जा, सहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालय सम्हाले । तर, यी सबै उपलब्धिमाथि एउटा प्रश्न सधैं झुण्डिरह्यो–जनताले प्रत्यक्ष रूपमा किन जिताएनन् ? श्रेष्ठ त्यही प्रश्नको उत्तर खोज्दै अहिले सर्लाही–३ मा पुगेका हुन् । नेकपाका लागि लागि सर्लाही नयाँ जिल्ला होइन । मधेसका अन्य जिल्लाभन्दा सर्लाही–३ लाई पार्टीभित्र सम्भावनायुक्त क्षेत्र मानिन्छ । त्यसैले श्रेष्ठले सर्लाही रोजेको चर्चा राजनीतिक वृत्तमा छ । तर यही क्षेत्र २०७९ मा पाँच दलीय गठबन्धनका वावजुद पनि एमालेका हरिप्रसाद उप्रेतीले जितेको यथार्थ पनि छ । त्यसैले श्रेष्ठको आगमनमा सर्लाही–३ सुरक्षितभन्दा बढी रणनीतिक जुवाखेल जस्तो देखिन्छ । श्रेष्ठको बाटोमा सबैभन्दा ठूलो पहाड बनेर उभिएका छन् एमालेका उप्रेती । २०७९ मा पाँच दलीय गठबन्धनका उम्मेदवार नरेन्द्र साह कलवारलाई ७७० मतको अन्तरले पराजित गरेका उप्रेती यस क्षेत्रमै सक्रिय, संगठनमा पकड भएका र स्थानीय मतदातासँग प्रत्यक्ष सम्बन्ध बनाएका नेता हुन् । उप्रेतीको पक्षमा रहेका मुख्य आधारहरूमा निवर्तमान सांसदको हैसियत र एमालेको संगठित भोट बैंक रहेको स्थानीय नारायणप्रसाद गौतम बताउँछन् । उनका अनुसार स्थानीय विकास र पहुँचको दाबी सँगै स्थानीय हुनुको फाइदा उप्रेतीलाई रहेको छ । रास्वपालगायत अन्य दलहरू यो निर्वाचन क्षेत्रमा उप्रेती र श्रेष्ठबाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्र साह कलवार र नेपाली कांग्रेसका विनोदप्रसाद खनाल मैदानमा उत्रिएका छन् । श्रेष्ठ, उप्रेती, कलवार र खनालसहित ३७ जना यहाँ उम्मेदवार रहेका छन् । ढोलराम बारकोटी राप्रपा, जयप्रकाश राय जनता समाजवादी पार्टी, नेपाल, सुनिलप्रसाद गुप्ता जनमत पार्टी, सबिउल शेष प्रगतिशील लोकतान्त्रिक पार्टी, वीर बहादुर रुम्बा मंगोल नेशनल अर्गनाइजेसन, पवन कुमार महतो नेपाल कम्युनिस्ट पार्टी माओवादी, त्रिभुवन कुमार सिंह उज्यालो नेपाल पार्टी, राम बहादुर महतो कोइरी प्रजातान्त्रिक पार्टी नेपाल, शिवदयाल महरा बहुजन एकता पार्टी नेपाल, महेश राज दाहाल राष्ट्रिय मुक्ति पार्टी नेपाल उम्मेदवार रहेका छन् । त्यसैगरी, सन्दिप थापा, उमेश कुमार राय, रामपृत महरा, कृष्ण नन्दन राय, चन्दन राजवंशी, युवराज पाख्रिन, अनिल कुमार यादव, मुकेश कुमार राय, कृष्ण कुमार शाह, प्रमोद कुमार साह, कुमारी अधिकारी, लोक बहादुर दर्लामी, डम्वर बहादुर खड्का, युवराज लुईंटेल र राम चन्द्र चमार स्वतन्त्र उम्मेदवारको रूपमा मैदानमा रहेका छन् । २०७९ को मत हेर्दा गत निर्वाचन २०७९ मा यस निर्वाचन क्षेत्रमा नेकपा एमाले र पाँच दलीय गठबन्धनका उम्मेदवारबीच नेक टु नेक प्रतिस्पर्धा देखिएको थियो । प्रत्यक्षमा एमालेका उम्मेदवार उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा पाँच दलीय गठबन्धनका उम्मेदवार तत्कालीन नेकपा माओवादी केन्द्रका नरेन्द्र कलवारले ३२ हजार १६८ मत ल्याएका थिए । उप्रेतीले कलवारलाई ७७० मतको झिनो अन्तरले पराजित गरेका थिए । समानुपातिक तर्फपनि एमाले र तत्कालीन माओवादी केन्द्रको मतान्तर सानो रहेको छ । समानुपातिक तर्फ माओवादी केन्द्रले १५ हजार ४७१ मत प्राप्त गर्दा एमालेले १५ हजार ५ मत प्राप्त गरेको थियो । समानुपातिकतर्फ जसपाले १२ हजार ७९ लोकप्रिय मत ल्याएर तेस्रो हुँदा नेपाली कांग्रेसले ९ हजार ९७९ मत ल्याएर चौथो लोकप्रिय पार्टी बनेको थियो । रास्वपाले ६ हजार ९६२ लोकप्रिय मत ल्याएर छैटौं स्थान प्राप्त गरेको थियो । सर्लाही–३ उत्तरी भूभागमा फैलिएको मिश्रित क्षेत्र हो । यस निर्वाचन क्षेत्रमा हरिवन, बागमती, चक्रघट्टा, हरिपुर, बरहथवा, कबिलासी र बसबरीयाका ५१ ओटा वडा समेटिएका छन् । यो क्षेत्रमा पहाडी मूलका मतदाताको बाहुल्यता छ । स्थानीय मतदाता समेत रहेका गौतमका अनुसार पहाडी मतदातामा पुगेर मत बदल गर्न सक्ने अवस्था श्रेष्ठको छैन। उनी भन्छन्, ‘पहाडी मत सुरक्षित राखेर मधेसी समुदायमा आफ्नो रवाफ देखाउन सक्ने उम्मेदवारले जित निकाल्न सक्छ ।’ गौतमका अनुसार श्रेष्ठ राष्ट्रिय स्तरको नेता भएपनि यहाँका मतदाताहरूका लागि भने आफ्नो नेता होइन भन्ने भाव रहेको छ । श्रेष्ठले जित्नका लागि रास्वपाको प्रभाव न्यूनीकरण गर्नुपर्ने र आफूलाई केन्द्रको होइन, सर्लाहीकै उम्मेदवारका रूपमा स्थापित गर्नुपर्ने गौतमको सुझाव छ ।
सुनसरी ४ मा पूर्वमन्त्रीको भीडन्त : ह्याट्रिक दौडमा कार्की र बदला लिने दाउमा जगदीश
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । हाल उनीहरू मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन् । सुनसरीको क्षेत्र नम्बर ४ मा पनि चुनावी चहलपहल बढ्दै गइरहेको छ । यहाँ नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन् । २०७९ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कार्की सोही क्षेत्रबाट विजयी भएका थिए । दुई पटक निर्वाचित भइसकेका कार्की फागुन २१ गते हुने निर्वाचनमा ह्याट्रिक बनाउने तामझामसहित चुनावी मैदानमा कार्की कस्सेर लागिपरेका छन् । गत निर्वाचनमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गरी विजयी भएका थिए । उनी तत्कालीन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनको उम्मेदवार थिए । पार्टी र सत्तामा पहुँच राख्दै आइरहेका खोज्ने कार्की लाई गत निर्वाचनमा जस्तो सहज छैन । गठबन्धन हुँदा पनि उनी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतसँग झिनो मतान्तरले मात्र विजयी भएका थिए । ४ नम्बर क्षेत्रका स्थानीयहरू उनलाई पर्यटक उम्मेदवार भन्ने गर्दछन् । भोजपुरमा पटक–पटक पराजित भएपछि कार्की सुनसरीतिर झरेका थिए । २०५१, २०५६ र २०६४ सालका तीनपटक चुनाव लडे पनि उनी पराजित भए । पहाडबाट तराई झरेसँगै उनी दुईपटक निर्वाचित भइसकेका छन् । स्थानीयहरू कार्कीसँग असन्तुष्ट छन् । दुई–दुई पटक सांसद भइसक्दा पनि केही गर्न नसकेको गुनासो उनीहरूको छ । घरदैलो अभियान व्यस्त कार्कीले हाल मतदाताहरूको प्रश्नको सामना गरिरहेका छन् । ४ नम्बर क्षेत्रबाट जितेर गएका व्यक्ति देशको प्रधानमन्त्री र मन्त्री बनिसके पनि यस क्षेत्रको विकास र समृद्धिमा नेताले ध्यान नदिएको मतदाताहरूले आरोप लगाउने गरेका छन् । अहिलेको चुनावी घरदैलो कार्यक्रममा पहिलाजस्तो छैन । मतदाताहरूले उम्मेदवारहरूलाई विभिन्न प्रश्न गर्न थालेका छन् । धेरैले ‘पुरानाले केही गर्न सकेनन्’ भनी परिवर्तनलाई आत्मसाथ गर्नुपर्छ भन्दै आएको सुनिन्छ । सुनसरी ४ मा यसपटक कार्कीले पाइरहेको मत अन्यत्र जान सक्ने सम्भावना धेरै छ । किनभने स्थानीय स्तरका नेताहरूले टिकट नपाएकाले धेरैजना उनीप्रति रुष्ट बनेका छन् । नेपाली कांग्रेसमा नेतृत्त्व परिवर्तन भएको छ । गगन थापा सभापति भएका छन् । प्रतिनिधि सभाको निर्वाचन दिने टिकटमा उनै थापाले हस्ताक्षर गरेका छन् । यद्यपि कार्की विशेष महाधिवेशनको विपक्षमा थिए । उनी देउवा समूहमा भए पनि टिकट पाएका छन् । कार्यकर्ता र मतदाताले साथ दिएमा ४ नम्बर क्षेत्रमा पुनः ह्याट्रिक गर्ने प्रयासमा उनी छन् । यसैगरी, एमालेले पनि पुनः गत प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेदवारलाई दोहोर्याएको छ । कोशी प्रदेशका पूर्व वन वातावरण तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियैत चुनावी मैदानमा छन् । एमालेले उनलाई अन्तिम समयमा आएर टिकट प्रदान गरेको थियो । उनको ठाउँमा कांग्रेसबाट एमालेमा प्रवेश गरेका आब्बुल हुसेन अन्सारीलाई उम्मेदवारीको टिकट दिएको थियो । हुसेन कांग्रेसबाट टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए । जगदीशको क्षेत्र र जिल्लाबाट एकल नाम सिफारिस भएको थियो । एकल नाम सिफारिस हुँदा पनि पार्टी फेरेर आएकालाई उम्मेदवार बनाइएको भन्दै उनी आक्रोशित बनेका थिए । पार्टीले सुरुमा कुसियैतलाई नै टिकट दिएको थियो । पछि एमालेमा प्रवेश गरेका हुसेनलाई टिकट दिएपछि सुनसरी एमालेमा तरंग फैलियो । चौतर्फी विरोधस्वरूप भएपछि कुसियैतले टिकट पाएका छन् । पार्टीले पनि यसवर्ष नेपाली कांग्रेसको उम्मेदवार कार्र्कीलाई टक्कर दिनसक्ने उम्मेदवारको रूपमा ठानेर उनैलाई टिकट दियो । २०७९ को निर्वाचनमा मात्र ११२ मतले कुसियैत पराजित भएका थिए । उनले ३० हजार ३७१ मत प्राप्त गरेका थिए । सुनसरी– ४ कुसियैतको स्थानीय क्षेत्र भएकाले पनि उनलाई यस पटकको निर्वाचनमा मत प्राप्त गर्न कुनै कठिनाइ नहुने बुझिएको छ । उक्त निर्वाचन क्षेत्रमा कुसियैत समुदायका मानिसहरूको बाहुल्याता रहेको छ । गत निर्वाचनमा भन्दा एमालेको मत बढ्ने अपेक्षा पनि गरिएको छ । भर्खरै पार्टी परिवर्तन गरेका अब्दुल हुसेनका कारण कांग्रेसको मत कुसियैततर्फ जानसक्ने आंकलन स्थानीयस्तरमा हुन थालेको छ । प्रदेश सभामा निर्वाचित भएर गइसकेका कारण पाउने मत नहराउनेमा उनी विश्वस्त छन् । हेभीवेटको उम्मेदवार भएकाले कांग्रेसको जित पक्का नेपाली कांग्रेसका ४ नम्बरको क्षेत्रीय सभापति ऐयुब अन्सारीले यस पटकको निर्वाचनमा सहजै जित हासिल गर्ने बताए । ‘नेपाली कांग्रेसका उम्मदेवार मत माग्न घरदैलोमा लागिसक्नु भएको छ,’ उनले भने, ‘पटक–पटक जितेको उम्मेदवार हुनु भएकाले हाम्रो उम्मेदवारको विजयी हुने विश्वास छ ।’ धेरै उम्मेदवार उठेकाले मत विभाजन हुने भएकाले कांग्रेसको उम्मेदवारलाई फाइदा हुने देखिएको उनले बताए । ‘कांग्रेसले उठाएको उम्मेदवार हेभीवेटको हुनुहुन्छ र मन्त्रीसमेत भइसकेकाले यसपटक पनि यहाँको मतदाताले उहाँलाई विजयी गराउनु हुने कुरामा म ढुक्क छु,’ अन्सारीले भने । कांग्रेसको नेतृत्व फेरिएकाले हाम्रो उम्मेदवारले मत बढाउने उनको भनाइ छ । कांग्रेसको उम्मेदवारप्रति बाहिर कहीँ कतै नकरात्मक टिप्पणी नआएको उनको दावी छ । यसपटकको जित एमालेकै हो एमाले रामधुनी नगरपालिका नगर कमिटी सचिवालय सदस्य कमल कार्कीले गत निर्वाचनमा एमालेको उम्मेदवार झिनो मतले पराजित भएकाले यसपटक विजयी हुने विश्वास व्यक्त गरे । अहिले एमालेका संगठित कार्यकर्ताहरू टोल–टोलमा आफ्नो उम्मेदवारलाई कसरी विजयी गराउने भनेर गृहकार्य गरिरहेको उनले बताए । ‘गत निर्वाचनमा कसरी एमालेका उम्मेदवार पराजित भए त्यसको समीक्षा गरेर अगाडि बढ्नेछौ,’ उनले भने, ‘हाम्रा कमजोरी कहाँ–कहाँ भए त्यसको पहिचान गरेर उम्मेदवारलाई विजयी बनाउने छौं ।’ कांग्रेसका उम्मेदवारप्रति यस क्षेत्रका मतदाता सन्तुष्ट नभएकाले एमालेको उम्मेदवारको विजयी सुनिश्चित भएको उनले दाबी गरे । ४ नम्बर क्षेत्रमा नयाँ दलले पुराना दलका उम्मेदवारलाई चुनौती दिन नसक्ने उनको ठहर छ । ‘एमालेको उम्मेदवारले पाउने मत यसपालि बढ्नेछ,’ नगर कमिटी सचिवालय सदस्य कार्की भन्छन्, ‘मत बढ्नु भनेको हाम्रो जित सुनिश्चित हो । एमालेबाट निर्वाचित स्थानीय तहका उम्मेदवारले कहाँ-कहाँ के-के विकास त्यसको समीक्षा भइरहेको छ ।’ स्थानीय तहमा एमालेका जनप्रतिनिधिले विकासका मुद्दालाई लिएर उठाएकाले यस क्षेत्रमा एमालेको उम्मेदवारले जित्ने विश्वास व्यक्त गरे । अन्य को–को छन् उम्मेदवार ? महमद महफुज अन्सारी नेपाल कम्युनिष्ट पार्टी, दीपक कुमार साह रास्वपा, प्रेमप्रसाद भट्टराई राप्रपा, सबिता यादव जनता समाजवादी पार्टी, नेपाल, कपलेश्वर यादव जनमत पार्टी, चन्चला न्हिसुतु नेपाल मजदुर किसान पार्टी, मनकुमार राई मंगोल नेशनल अर्गनाइजेशन, रमेश कुमार शाह नेपाल जनता पार्टी, सत्य नारायण लहुटिया नेपाल कम्युनिष्ट पार्टी संयुक्त, एयुव अंसारी समावेशी समाजवादी पार्टी नेपाल, मो सदिक मिया संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, विष्णुर राना श्रम संस्कृति पार्टी, भेषराज बजगाई नेपाल कम्युनिष्ट पार्टी माओवादी, समिद खान राष्ट्र निर्माण दल नेपाल, तवरेज आलम अंसारी आम जनता पार्टी, शर्मानन्द खतिवडा स्वतन्त्र, तेजनारायण गोईत स्वतन्त्र, बुधेश्वर यादव स्वतन्त्र, मो गुलाब अंसारी स्वतन्त्र, पार्वती मुखिया स्वतन्त्र, मो तजमुल मिया स्वतन्त्र, अंकित कार्की स्वतन्त्र, हरि पराजुली स्वतन्त्र, महेन्द्र सुनचौरी स्वतन्त्र, रोजन विश्वकर्मा स्वतन्त्र, देवनारायण महत्तो स्वतन्त्र, कुन्दन कौसिक स्वतन्त्र, जलाल मिया स्वतन्त्र, फुल कुमारी खान स्वतन्त्र, उपेन्द्र कुमार साह स्वतन्त्र र स्वतन्त्र यमुना केसी लगायतका उम्मेदवार छन् । सुनसरी निर्वाचन कार्यालयका अनुसार ४ नम्बर क्षेत्रमा ४२ वटा मतदानस्थल छन् । १५० वटा मतदान केन्द्र रहेका छन् । उक्त क्षेत्रमा कोशी गाउँपालिकाको १ देखि ७ नम्बर वडा, बराहक्षेत्र नगरपालिकाको ६ देखि ११ नम्बर वडा, रामधुनी नगरपालिका ४, इनरूवा नगरपालिकाको ३,४ र ८ नम्बर वडा, भोक्राहा नरसिंह गाउँपालिकाको १ देखि ८ नम्बर वडा र हरिनगर गाउँपालिकाको १, २, ४, ५,६ र ७ नम्बर वडा पर्छन् ।
नयाँ सुधांशु र पुराना इस्तियाकबीच काँटेका टक्कर !
निर्वाचनलाई नेपालगञ्जको स्थानीय लवजमा ‘चुनाउ’ भनिन्छ । २ वर्षअघि नै अकस्मात आइलागेको फाल्गुन २१ गतेको चुनाउमा यसपाली पश्चिम नेपालको ऐतिहासिक सहर नेपालगञ्जले कसलाई चुनेर पठाउला ? राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । नेपालगञ्ज बाँकेको २ नम्बर क्षेत्रमा पर्छ । बाँकेका डुडुवा गाउँपालिका र २३ वटा वडा रहेको नेपालगञ्ज उपमहानगरपालिकाका १६ र १७ नम्बर वडा बाहेकका २१ वटा वडा क्षेत्र नम्बर २ मा पर्छन् । ५७ हजार ११७ जना पुरुष, ५१ हजार १६७ जना महिला र ६ जना अन्यसहित कुल एक लाख ८ हजार २९० मतदाता यस क्षेत्रमा रहेका छन् । नेपालगञ्जको चुनाउ राष्ट्रिय राजनीतिको चासोमा पनि छ । यो मुलुकको ठूलो र सबैभन्दा पुरानो दल नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको चुनाउ क्षेत्र हो । पश्चिम नेपालको प्रमुख हव नेपालगञ्जले समग्र पश्चिम क्षेत्रमा एउटा सन्देश दिन सक्छ । बहुभाषा, बहुसंस्कृति र बहुसमुदाय भएको नेपालगञ्जको मतपरिणामले आफैमा एकभन्दा बढी निर्वाचन क्षेत्रको प्रतिनिधित्वको सन्देश दिने ओज राख्छ । यद्यपि नेपालगञ्जले सुशील कोइराला जत्तिको उचाइ छुने नेता पाउने सम्भावना तत्काल देखिन्न । कुनै पनि पार्टीको मैदानमा यति लामो रेसका घोडा देखिएका छैनन्, जसले त्यो उचाइ लिनसक्ने विश्वास जगाउन सकून् । त्यो तहको राजनीतिक छवि, सुझबुझ र नेटवर्क भएको व्यक्ति कुनै पार्टीमा देखिएको छैन । नेपालगञ्जमा व्यापार, शिक्षा, स्वास्थ्य र रोजगारी लगायतका सवाल छन् । भारतसँगको खुलासीमा क्षेत्रका बासिन्दाहरूले सुरक्षा, चोरी, तस्करी, सडक, बिजुली, सिँचाइ र पूर्वाधार जस्ता विषयमा नेताहरूसँग सुधारको अपेक्षा गर्छन् । उपमहानगर भनिए पनि अधिकांश वडामा न्युनतम सुविधा पुगेको छैन । युवा वर्गका मतदाताहरूले रोजगारी, उद्यम तथा व्यापारमा नीतिगत सुधारको प्राथमिकता खोजेका छन् । हरेक चुनाउ पछि बदलावको आशा राखे पनि ती एजेण्डा नफेरिएको उनीहरूको गुनासो छ । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि यो क्षेत्रबाट २० जना उम्मेदवार छन् । यसमा मुख्य दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवार र साना दलका प्रतिनिधिहरूसमेत मैदानमा छन् । यसपालि मैदानमा रहेका प्रमुख पार्टीका उम्मेदवारहरूमा गजबको समानता छ । त्यो भनेको अधिकांश युवा अनि नयाँ छन् । यो क्षेत्रबाट राष्ट्रिय उचाइमा आफूलाई उभ्याएकामध्ये एक नेताले यसपालीको चुनावी मैदान छाडिसकेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा निवर्तमान सांसद धवलशमशेर राणा चुनावमा उठेनन् । सुशील कोइरालाको निधनपछि यो क्षेत्रमा हेभीवेट नेता छैनन् । भएकामध्ये अलि माथि पुगेका धवल र इस्तियाक राई हुन् । धवलले यसपाली चुनावी मैदान छाडेपछि जिल्ला बाहिरसम्म उचाइ र अनुभव भएका इस्तियाक बाँकी छन् । उनी २ पटक सांसद र २ पटक मन्त्री भैसकेका छन् । २०४६ को परिवर्तनपछि भएका आम चुनावमा बाँकेको निर्वाचन क्षेत्र नम्बर २ को चुनावी नतिजा विगतका चुनावको समीक्षा गर्ने हो भने सुरुमा जिल्लाभर एउटै पार्टीले झण्डा गाडेको देखिन्छ । २०४८ सालको आमचुनावमा बाँकेका तीनै सिटमा नेपाली कांग्रेसले जित्यो । २०५१ मा जिल्लाका तीनै सिटमा राप्रपाले जित्यो । फेरि २०५६ मा कांग्रेसले तीनै सिटमा जित निकाल्यो । लोकतन्त्रपछि भने बाँकेमा मिश्रित परिणाम आइरहेको छ । एक क्षेत्र थपिएको २०६४ सालको पहिलो संविधान सभाको चुनावमा २ सिटमा माओवादी र २ सिटमा मधेसी जनअधिकार फोरमले जित्यो । २०७० को दोस्रो संविधान सभा चुनावमा १ ठाउँमा कांग्रेस र ३ ठाउँमा नेकपा एमालेले जित्यो । फेरि तीन क्षेत्रमा सीमित गरिएको २०७४ को संघीय संसदको चुनावमा एमाले, माओवादी र संघीय समाजवादी फोरमले १/१ सिटमा जित निकाले । पछिल्लो २०७९ को चुनावमा कांग्रेस, एमाले र राप्रपाले १/१ सिट बाँडे । यी पुराना ट्रेन्डले पुष्टि गर्छन् कि बाँकेको २ नम्बर क्षेत्रका मतदाता परम्परागत दल मात्र होइन, व्यक्तिकेन्द्रित नेतृत्व र स्थानीय प्रभावलाई समेत निर्णायक मान्ने गर्दछन् । सुशील कोइरालाजत्तिका इमान र सादगी नेताको इतिहासले कांग्रेसलाई सुरुवाती समर्थन दिएको भए पनि त्यसले हरपल सुनिश्चित विजय दिन सकेन । २ पटक मेयर हाँकेका धवललाई एक पटक केन्द्र सांसदमा पठाए । मुस्लिम समुदायका इस्तियाकलाई २ पटक सांसद जिताए । अघिल्लो पटकसमेत २ पटक हराइ पनि दिए । यसपालीको चुनावमा उठेका २० जनामध्ये आधा दर्जनसम्मले समानजनक भोट पाउन सक्छन् । २÷२ पटक सांसद र मन्त्री भएका इस्तियाक अघिल्लो पुस्ताको प्रतिनिधिका रूपमा मैदानमा छन् । उनीसँग प्रतिप्रस्र्धामा उत्रेका प्रमुख पार्टीका उम्मेदवारहरू पहिलो पल्ट संसदीय चुनावमा आएका युवा छन् । कांग्रेसबाट सुधांशु कोइराला, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट दिपेन्द्र विष्ट, राप्रपाबाट ऋषिराज देवकोटा र राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) बाट विवेककुमार श्रेष्ठ उठेका छन् । इस्तियाकले एक हातमा चुनावको टिकट अनि अर्को हातमा एमालेको सदस्यता समाएर मैदान टेके । उनी नेपालगञ्जका बलिया राजनीतिक खेलाडी भए पनि उनको राजनीतिक यात्रा अस्थिर छ । राप्रपाबाट राजनीति सुरु गरेका उनले मधेसी जनअधिकार फोरम हुँदै जनता समाजवादी पार्टी (जसपा)को यात्रा तय गरे । हालै टिकट पक्का गरेर एमालेमा छिरे । स्थानीय एमाले कार्यकर्ताहरू उनी एमाले प्रवेश गरेको आफूहरूलाई विश्वास नै नभएको बताउँछन् । यसले उनको राजनीतिक र वैचारिक धरातल अस्थिर र अविश्वसनीय बनाएको छ । अघिल्लो निर्वाचनमा जितेका धवलका निकटतम प्रतिद्वन्द्वी इस्तियाक नै थिए । स्थानीय रूपमा धवल राजाका नामले चिनिने राणा मैदानमा नरहे पछि यसपालीको चुनावी चेस खेलमा मन्त्री (इस्तियाक)को सामना नयाँ खेलाडीहरूसँग हुनेछ । अनुभवले पाकेका इस्तियाक पनि उमेरले कांग्रेस, नेकपा, राप्रपा र स्वतन्त्रजस्ता पार्टीले उतारेका युवा छावँलकै हुन् । जेनजी आन्दोलन पछिको माहोल नयाँ अनुहारको खोजीमा रहेकाले उनलाई नयाँ युवाहरू भारी पर्ने अवस्था देखिन्छ । प्रतिनिधिमूलक मतदाताहरूसँगको अनौपचारिक संवादका आधारमा यस्तै छनक देखिन्छ । इस्तियाकले छोडेको पार्टी जसपाका कमरुद्दिन राई पनि चुनावमा उठेका छन् । उनी छँदाखाँदाको नेपालगञ्ज उमहानगरको उपप्रमुख पद छाडेर मैदानमा आएका हुन् । एउटै समुदायको भएकाले कमरुद्दिनले काट्न सक्ने भोटको संख्याले पनि इस्तियाकलाई धर्मराउन सक्छ । कमरुद्दिन तल्लो तहका मुस्लिम समुदायमा पकड भएका मानिन्छन् । विकासका कतिपय योजना भित्र्याउन इस्तियाकले भूमिका खेलेको मतदाताहरू सम्झन्छन् । तर, उनको स्वाद नेपालगञ्जबासीले चाखिसकेका छन् । सकभर नयाँ स्वाद खोज्ने मतदाताको स्वभाव हो । यस मानेमा इस्तियाकका लागि यो चुनाव सजिलो छैन । अघिल्लो पल्ट पनि आफ्नो पार्टीको चुनाउ चिन्हमा भोट हाल्न नपाएको एमाले भित्रको एउटा पङ्ति यसपाली मनोनयनको समयमा पाहुना आएका नेताले टिकट बोकेर ल्याएपछि झन् निराश र आक्रोशित छ । गोप्य मतदानमा यो पङ्तिको सुर कता चल्छ भन्न सकिने अवस्था छैन । नेपालगञ्जका राजनीतिक विश्लेषक डा. जनार्दन आचार्य पनि इस्तियाक पुरानो दल छोडेको र नयाँ दलमा पनि मज्जाले नजोडिए जस्तो अवस्थामा देखिएको बताउँछन् । फेरिएको समय र बदलिएको मतदाताको सोच समेट्ने लय समाउनु उनका लागि सहज छैन । नेपाली कांग्रेसबाट युवा अनुहारका सुधांशु कोइराला उठेका छन् । उनी नेपाली कांग्रेसका बाँके जिल्ला सचिव हुन् । उनी कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भतिज पनि हुन् । सुधांशु नेपाली कांग्रेसबाट उम्मेदवार भएकाले कोइराला परिवारको विरासत र नामले उनलाई परम्परागत मतदाता आकर्षित गर्न मद्दत पुर्याउन सक्छ । यसै पनि यो क्षेत्रमा कांग्रेसको संगठन बलियो नै छ । सुधांशु सरल र मिलनसार मानिन्छन् । आफ्नो पार्टी र इतर पार्टीमा पनि मित्रवत सम्बन्ध बनाएको मानिन्छ । कोइराला परिवारको लिगेसी र बलियो ग्रासरुट सम्बन्ध अनि माथिसम्मको पहुँच बलियो पक्ष हो । माओवादी उम्मेदवार दिपेन्द्र विष्ट व्यवसायी हुन् । उनी खेल क्षेत्रका अगुवा पनि हुन् । उनको मुख्य भर पार्टी संगठन हो । यस क्षेत्रमा तत्कालीन माओवादी र हालको नेकपाको पार्टी संगठन ठीकै छ । सम्भवतः विष्ट कान्छा उम्मेदवार पनि हुन् । कोर सिटी एरियाका व्यवसायी भएकाले सहरमा उनी परिचित छन् । ग्रामीण बस्तीसम्म उनको पहुँच कम रहेकोले तल्लो तहका मतदाताका लागि उनी नचिनिएको अनुहार लाग्न सक्छन् । नेपालगञ्जमा ठीकठाक संगठन भएको राप्रपाले सहमहामन्त्री ऋषिराज देवकोटालाई उम्मेदवार तोकेको छ । महामन्त्री तथा निवर्तमान सांसद धवलशमशेरले हात उठाए पछि ऋषिराजले मौका पाए । उनी निरन्तर राप्रपामा सक्रिय छन् । सहर र तल्लो तहसम्म पनि उनी भिजेका पनि छन् । राजा फर्काउने अभियानका ऋषिराजका लागि पार्टीका अघिल्ला उम्मेदवारको विरासत जोगाउने चुनौती छ । निवर्तमान सांसद धवलको व्यक्तित्वको बल र संगठनको बल यसपाली आँकलन हुनेछ । यद्यपि धवलले एमालेसँग चुनावी तालमेल गरेका थिए । ऋषि अहिले संगठन र आफ्नो व्यक्तिगत सम्बन्धका बलमा मात्र मैदानमा छन् । यस्तै, व्यवसायी विवेककुमार श्रेष्ठलाई रास्वपाले अघि सारेको छ । जेनजी आन्दोलनपछि यो पार्टीको पक्षमा देशभर लहरजस्तो देखिएको छ । त्यो लहरले उनलाई पार लगाए त हो नत्र उनको व्यक्तिगत प्रभाव र मतदातासम्म पहुँच खास छैन । नयाँ पार्टी संगठन भएकाले चुस्त भए पनि ग्रामीण मतदातासम्म यो पार्टीको भरपर्दो सम्बन्ध विकास हुन अझै बाँकी छ । मानिसहरूको मुखमा लहरको घण्टी सुनिएको त छ तर मतपत्रको ब्यालेटसम्म पुग्दा त्यसको झंकार कति बाँकी रहन्छ भन्न अहिले नै हतार हुनेछ । व्यक्तिगत प्रभावले संगठन बाहिरको मत तान्न विवेकलाई गाह्रो देखिन्छ । इस्तियाक र सुधांशुले स्नातकोत्तरसम्मको पढाइ पूरा गरेको र दिपेन्द्र, ऋषि र विवेकले स्नातकसम्म पढेको उनीहरूको उम्मेदवार फर्ममा उल्लेख छ । यी उम्मेदवारहरूले हालसम्म चुनावी घोषणापत्र जारी गरिसकेका छैनन् । त्यसैले उनीहरूको मिसन, भिजन र गोल थाहा छैन । नेपालगञ्जको चुनाव जित्न विकासका एजेण्डा वा सुशासन र भ्रष्टाचारको विरोध गरेर मात्र पुग्ने छैन । मधेसी र पहाडी समुदायबीचको सन्तुलन अनि हिन्दु र मुसलमान धर्मावलम्बीहरूको भाइचारा र अन्य विभिन्न समुदायबीचको सेतु जोड्न सक्नु पर्नेछ । अनि स्वाभाविक रूपमा परिवर्तनको पक्षमा देखिएको आमचाहना सम्बोधन गर्न मतदातासमक्ष विश्वसनीय र परिपक्व प्रतिबद्धता जनाउनु पर्नेछ । इस्तियाकले आफ्नो मुसलमान समुदायको भोट कति होल्ड गर्न सक्छन् अनि एमालेको मत शतप्रशित पाउन सक्छन् कि सक्दैनन् त्यसैमा उनको भाग्य तय हुनेछ । विष्ट र श्रेष्ठ नयाँ मात्र होइन, तल्लो तहका मतदातासम्म परिचित छैनन् । उनीहरूसँग संगठनको बलमात्र छ । विष्टको व्यवसायिक र खेल साइनोले थोरबहुत फाइदा गर्ला । श्रेष्ठको व्यवसायिक सम्पर्क पनि छ । यी दुई नयाँका तुलनामा सुधांशु राजनीतिक पृष्ठभूमिका र तल्लो तहसम्म पहुँच बनाएका उम्मेदवार हुन् । सुशील कोइरालाको भतिज मात्रै होइनन् उनका वुवा डा. अरुण र आमा किरण दुवै कांग्रेस बाँकेका पार्टी सभापति भैसकेका छन् । लामो समय नेपालगञ्जमा चिकित्सा सेवा गरेका डा. अरुणको छविले पनि छोरा सुधांशुलाई ठूलै बल मिल्ने आँकलन छ । उनी आफै पनि कांग्रेसका जिल्ला सचिव छन् । कोइराला परिवारका अन्य सदस्यको तुलनामा सुधांसुको जनसम्पर्क बलियो छ । आफ्नो पार्टीभित्र मात्र होइन, अन्य पार्टीमा पनि उनको पहुँच मित्रवत भएकाले बाहिरको भोट पनि उनले तान्न सक्ने विश्लेषण गरिएको छ । पार्टी, व्यक्तित्व र विरासत बलियो भएका उम्मेदवारका रूपमा सुधांसु देखिएका छन् । नेपालगञ्ज उपमहानगरको स्थानीय तहको चुनावमा ५ वटा वडाअध्यक्षसहित नेपाली कांग्रेसले नगरप्रमुख जितेको थियो । अनि डुडुवामा पनि प्रमुख र उपप्रमुख कांग्रेसले नै जितेको थियो । यसपाली युवा पहलमा कांग्रेसको मत कांग्रेससँगै रोकिने देखिएको छ । अघिल्लो पटक कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणा आफ्नो मत जोगाउन पनि असफल भएका थिए । यस क्षेत्रमा पछिल्लो समय धार्मिक मत एकीकृत हुने गरेको उदाहरण पनि छ । हिन्दु महासंघका नाममा होस् वा मुस्लिम संगठनका नाममा होस्, धार्मिक मत एकठाउँ केन्द्रित हुने क्रम बढेको छ । कतिपय मतदाताहरू त्यसैअनुसार आ–आफ्नो आस्थाको समूहको पक्षमा उभिन सक्ने राजनीतिक विश्लेषण डा. जनार्दन आचार्यको छ । अलग–अलग चुनाव उठेकाले सबैको शक्ति यसपाली देखिनेवाला छ । किनभने पछिल्ला चुनावहरू गठबन्धनका नाममा भैरहेका थिए । कांग्रेस भित्रको गगन विश्वको विद्रोहले सबै पार्टीलाई आफ्नै खुट्टामा उभिन सिकाउने अवसर बन्दैछ यो चुनाउ । मधेसमा दुई प्रतिस्पर्धी बीच कुनै विषयमा कडा टक्कर हुने भयो भने त्यसलाई ‘काँटेका टक्कर’ भन्ने चलन छ । यसपाली बाँकेको २ नम्बर क्षेत्रमा तराईं लवज जस्तै ‘काँटेका टक्कर’ भयो भने सुधांशु र इस्तियाक वीच हुने धेरैको अनुमान छ । पहिलो पटक उम्मेदवार बनेका कांग्रेसका सुधांशुले नयाँ पुृस्ता र पाचौं पटक उम्मेदवार बनेका एमालेको सुर्यबाट उठेका इस्तियाकले अघिल्लो पुस्ताको प्रतिनिधित्व गर्छन् । यी दुइबीच सुधांशुलाई सहज अवस्था बन्न सक्ने डा. आचार्यको विश्लेषण छ । सुधांशुमा पार्टीको मत एक बनाउनु पर्ने चुनौती मात्र छ भने इस्तियाकलाई आफ्नो मुसलमान समुदायको मत जोगाउनु पर्ने र एमालेको मत एकढिक्का पार्नु पर्ने दोहोरो चुनौती छ । जबकि इस्तियाकसमेत ६ जना उम्मेदवार मुसलमान समुदायबाट उठेकाले उनीहरूको भोट बाँडिने सम्भावना बलियो छ । यता कांग्रेसीहरू भने यसपाली नजिते कहिल्यै जितिदँैन भन्दै लागेका छन् । कोइराला परिवारको विरासत र मतदातासम्म आफ्नै सम्बन्ध सुधांशुको बल हो भने राजनीतिक दाउपेच र छक्कापन्जाको ज्ञान इस्तियाकसँग छ । बाजी यी दुईमध्ये एकले मार्छ कि तेस्रो कोही फुत्त आउँछ, त्यो थाहा पाउन फाल्गुन २१ पर्खनै पर्छ ।