यस्तो छ सुशासन प्रतिवेदन (पूर्णपाठ)
काठमाडौं । सुशासन मार्गचित्र अध्ययन समितिले विभिन्न क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गरी सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ । जेनजी आन्दोलनको माग र भावना अनुसार, शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव गोविन्द बहहादुर कार्कीको संयोजकत्वको समितिले तयार गरेको सुशासन मार्गचित्र सार्वजनिक भएको हो । अध्ययन प्रतिवेदनमा सुधार गर्नुपर्ने क्षेत्रलाई पहिचान गरी एक हजार ७६५ वटा क्रियाकलाप समावेश गरेको छ । यस्तो छ पूर्णपाठ
७१ अंकले घट्यो सेयर बजार, १५ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७१ अंकले घटेर २८७९ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार १० कम्पनीको सेयर मूल्य बढ्दा २५५ कम्पनीको सेयर मूल्य घटेको छ । १ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३३ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी गुप्रको ५२ करोड, सोलु हाइड्रोको ४८ करोड, शिवम् सिमेन्टको ४७ करोड र नेसनल हाइड्रोको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
गंगासागर क्षेत्रमा डोजर, अतिक्रमित संरचना हटाइँदै
काठमाडौं । मधेस प्रदेश सरकारको सक्रियतासँगै जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागर पोखरी क्षेत्रबाट अतिक्रमण हटाउने अभियान तीव्र पारिएको छ । गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको पहलमा आइतबार पोखरी आसपासका अवैध संरचना हटाउन डोजर प्रयोग गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानले लामो समयदेखि विवादमा रहेको गंगासागर क्षेत्रलाई पुनः व्यवस्थित गर्ने लक्ष्य लिएको जनाइएको छ । स्थानीय प्रशासन, प्रहरी तथा नगरप्रहरीको उपस्थितिमा अतिक्रमित संरचना हटाइँदा केही स्थानमा सामान्य तनावसमेत देखिएको थियो । गृहमन्त्री महतोले गंगासागर पोखरीको संरक्षण धार्मिक आस्थासँग मात्र नभई ऐतिहासिक पहिचान र पर्यटन प्रवर्द्धनसँग समेत जोडिएको विषय भएको उल्लेख गरे । उनले प्रदेश सरकार सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर ढंगले प्रस्तुत हुने स्पष्ट पार्दै आवश्यक परे अन्य क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गरिने बताए । स्थानीयवासीले वर्षौंदेखि अतिक्रमणका कारण पोखरी क्षेत्र साँघुरिँदै गएको गुनासो गर्दै आएका थिए । पछिल्लो कदमलाई धेरैले सकारात्मक रूपमा लिएका छन् भने केही व्यवसायीले वैकल्पिक व्यवस्थाविनै हटाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।
यमनका विद्रोहीद्वारा इजरायलमा क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता
काठमाडौं । मध्यपूर्वमा जारी तनावका बीच यमनका विद्रोहीहरूले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि क्षेत्रीय द्वन्द्व अझै फैलिने चिन्ता बढेको छ । यमनमा आधारित यी विद्रोहीहरू इरान समर्थित समूह हुन् र उनीहरूले दक्षिणी इजरायलका सैन्य स्थानहरूलाई लक्षित गरी आक्रमण गरेको बताएका छन् । इजरायली सेनाले भने उक्त क्षेप्यास्त्रलाई आकाशमै अवरोध गरेको जनाएको छ । यस घटनासँगै अन्तर्राष्ट्रिय जल यातायात पुनः प्रभावित हुन सक्ने डर बढेको छ । यसअघि पनि यी विद्रोहीहरूले जहाजहरूमा आक्रमण गर्दै विश्व व्यापारमा ठूलो असर पारेका थिए । अहिले इरानले होर्मुजको जलसन्धि कडा बनाइरहेको अवस्थामा अर्को महत्वपूर्ण समुद्री मार्ग पनि जोखिममा पर्ने सम्भावना देखिएको छ । विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मार्गहरूबाट तेल, ग्यास, अन्न लगायत विभिन्न वस्तुहरू विश्वभर ढुवानी गरिन्छ । यदि यहाँ आक्रमणहरू बढे भने जहाजहरूलाई लामो वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने हुन्छ, जसले ढुवानी खर्च बढाउने र विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्नेछ । विशेषज्ञहरूका अनुसार यस्तो अवस्था जारी रहेमा ऊर्जा आपूर्ति प्रणालीमा समस्या आउन सक्छ र धेरै देशहरू प्रभावित हुनेछन् । युरोपेली देशहरू विशेष गरी आयातित ग्यासमा निर्भर भएकाले उनीहरूमा थप दबाब पर्ने सम्भावना रहेको छ । यसअघि पनि यी विद्रोहीहरूले सयौँ जहाजहरूमा आक्रमण गरेका थिए, केही डुबाएका थिए र नाविकहरूको ज्यान समेत गएको थियो । हालको नयाँ आक्रमणले फेरि त्यस्तै अवस्था दोहोरिन सक्ने सङ्केत दिएको छ, जसले विश्व व्यापार र सुरक्षामा गम्भीर असर पार्न सक्छ । रासस
नेकपाको संसदीय दलको नेता बने दाहाल
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल संसदीय दलको नेता चयन भएका छन् । आइतबार (आज) पार्टी कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो । उनी सर्वसम्मत रूपमा दलको नेतामा चयन भएका हुन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले १७ सिट जितेको थियो । पार्टीले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट पाएको हो ।
दि निलय होटल्सको साधारण सभा सम्पन्न, आईपीओ प्रक्रियामा जाने निर्णय
काठमाडौं । दि निलय होटल्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा आइतबार धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ स्थित कम्पनीको कार्यालयमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ । यसैगरी उक्त सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरेको छ । सभाले कम्पनीको भावी विस्तार तथा दीर्घकालीन विकासलाई लक्षित गर्दै शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन सम्बन्धी प्रक्रिया अघि बढाउने, आवश्यक पूँजी संकलन, ऋण व्यवस्थापन तथा रणनीतिक साझेदारी गर्ने, अन्य कम्पनीहरूसँग संयुक्त लगानी, सहकार्य वा आवश्यकता अनुसार मर्जर तथा अधिग्रहण गर्न सक्ने जस्ता महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ । सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले कम्पनीको स्थापना, हालसम्मको प्रगति, वित्तीय अवस्था तथा आगामी रणनीतिक योजनाबारे विस्तृत प्रस्तुति दिएका थिए । अध्यक्षले होटल्स निर्माणमा उल्लेखनीय प्रगति हासिल भएको जानकारी दिँदै छिट्टै सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताए । साथै, कम्पनीले चारतारे स्तरको वर्गीकरण प्राप्त गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार विकास गरिरहेको जानकारी पनि दिइएको छ । पर्यटन क्षेत्रप्रति प्रतिबद्ध दि निलय होटल्स लिमिटेडले उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउने, स्थानीय रोजगारी सिर्जना गर्ने तथा दिगो पर्यटन अभ्यासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता पुनः दोर्होयाएको छ ।
देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन सुरु हुँदा छुटे यी तीन पूर्वप्रधानमन्त्री
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अगाडि बढाएको छ । रास्वपाले आफ्नो चुनावी वाचापत्र र शनिबार सार्वजनिक गरेको शासकीय सुधारका एक सय काममा उल्लेख गरेको सार्वजनिक पदमा रहेकाहरुको सम्पत्ति छानबिन गर्नेअनुसार नै प्रक्रिया अगाडि बढाएको छ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढाएको छ । सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । गत भदौमा भएको जेनजी आन्दोलनमा शेरबहादुर देउवाको घरमा पैसा भेटिएको थियो । त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । देउवासँग प्रचण्डपुत्री गंगाको निवासमा पनि ठूलो परिमाणमा पैसा भेटिएको विषय बाहिरिएको थियो । त्यतिबेलै दाहालले नेताको घरमा त्यो पैसा हुनु स्वभाविक भएको प्रतिक्रिया दिएका थिए । जेनजी आन्दोलनमै प्रहरीले बालकोटस्थ्ति ओली निवासमा समेत पुगेर मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो । अहिले सोही अनुसन्धानलाई तीव्रता दिइएको हो । रास्वपा सरकारले शनिबार शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गर्दै देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । उक्त समितिलाई आवश्यक कागजात, विवरण तथा अभिलेख सङ्कलन, विश्लेषण तथा सिफारिस गर्ने लगायतका अधिकार प्रदान गर्ने, पहिलो चरणमा वि.सं. २०६२/६३ देखि हाल (२०८२/८३) सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन, प्रमाणीकरण तथा छानबिन गर्ने सरकारको योजना छ । दोस्रो चरणमा वि. सं. २०४८ सालदेखि २०६१/६२ सम्मको अवधिमा सार्वजनिक पद धारण गरेका सोही प्रकृतिका पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने योजना सरकारको छ । सरकारले तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अगाडि बढाउँदा तीन पूर्वप्रधानमन्त्री भने छुटेका छन् । पूर्वप्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, झलनाथ खनाल र माधव नेपालबारे अहिले अनुसन्धान आगाडि बढाइएको छैन । डा. भट्टराई २०६८ देखि २०६९ चैतसम्म प्रधानमन्त्री बनेका थिए भने खनाल २०६६ देखि ६७ सालसम्म प्रधानमन्त्री बनेका थिए । खनाल पनि २०६७ मै ६ महिना प्रधानमन्त्री बनेका थिए । देउवा, ओली र प्रचण्ड भने पटक प्रधानमन्त्री बनेका छन् ।
पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु, २ करोडभन्दा बढीको आर्थिक क्षति
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार नेपालका विभिन्न २० जिल्लामा २४ घण्टाको अवधिमा ३३ वटा विपद्का घटनाहरू भएका छन् । चैत १४ गते बिहान १० बजेदेखि चैत १५ गते बिहान १० बजेसम्मको अवधिमा भएका यी घटनाहरूमा परी २ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणकाअनुसार पछिल्लो २४ घण्टामा बाढी र जनावरको आक्रमणबाट १–१ गरी कुल २ जनाको मृत्यु भएको छ । यसै अवधिमा चट्याङबाट ३, सर्पदंशबाट २, आगलागीबाट १ र पहिरोबाट १ गरी कुल ७ जना घाइते भएका छन् । विपद्का घटनाहरूबाट अनुमानित २ करोड ३ लाख ७० हजार ६४१ रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । साथै २३ चौपायाको क्षति भएको विवरण प्राप्त भएको छ । उद्धार र राहत कार्यका लागि देशका विभिन्न स्थानमा ३ सय २१ जना प्रहरी परिचालन गरिएको थियो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी हावाहुरीका १२ वटा घटनाहरू भएका छन् । त्यसैगरी आगलागीका ९, चट्याङका ५, पहिरो र सर्पदंशका २–२ तथा बाढी, अविरल वर्षा र जनावर आक्रमणका १–१ वटा घटना दर्ता भएका छन्। आगलागीबाट मात्रै ६ जिल्ला प्रभावित भएका छन् भने हावाहुरीले २ जिल्लामा क्षति पु¥याएको छ । वर्षभरिको तथ्याङ्क (२०८२ वैशाख १ देखि हालसम्म) चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि चैत १५ गतेसम्मको समग्र तथ्याङ्क हेर्दा नेपालमा कुल ७ हजार ३ सय ३७ वटा विपद्का घटनाहरू भएका छन् । यी घटनाहरूमा परी हालसम्म ४ सय ८६ जनाको मृत्यु भएको छ भने ३८ जना अझै बेपत्ता छन् । विपद्का कारण १ हजार ९ सय २६ जना घाइते भएका छन् भने १३ हजार २ सय ६० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । यस अवधिमा आगलागीबाट सबैभन्दा बढी १०४ जनाको मृत्यु भएको छ । त्यसैगरी सर्पदंशबाट ९९, पहिरोबाट ७६, जनावर आक्रमणबाट ५६ र चट्याङबाट ४७ जनाको ज्यान गएको बुलेटिनमा उल्लेख छ । वर्षा र तापक्रमको अवस्था गत २४ घण्टामा देशभरका ३ सय ६६ वर्षा मापन केन्द्रहरूमध्ये १ सय १४ वटा केन्द्रहरूमा वर्षा मापन गरिएको छ । सबैभन्दा बढी वर्षा बारा जिल्लाको रतनपुरी केन्द्रमा २९.४ मि.मि. भएको छ । तापक्रमको विवरणअनुसार, पर्साको वीरगञ्जमा सबैभन्दा बढी ३३.४ डिग्री सेल्सियस अधिकतम तापक्रम रेकर्ड गरिएको छ । त्यस्तै, मुस्ताङको थाकमार्फामा सबैभन्दा कम –१.० डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको छ । सोलुखुम्बुको लुक्लामा भने अधिकतम तापक्रम १०.६ डिग्री सेल्सियस रहेको थियो ।