नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् । पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ र नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम डा. आचार्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । उनको नियुक्ति २०८३ साउन १ गतेदेखि लागू हुने पार्टीले जनाएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार डा. आचार्य भक्तपुर निवासी हुन् । उनी यसअघि नेपाली कांग्रेसको प्रचार विभागका पूर्व उपप्रमुख, राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल पत्रकार महासंघका पूर्व सभापति रहिसकेका छन् । कांग्रेसले नीति, अनुसन्धान र प्रशिक्षणसम्बन्धी गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ डा. आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको जनाएको छ ।
राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले 'आर्थिक विधेयक, २०८३' र 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३' सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्ने कार्यसूची छ । त्यसपछि विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ । यसैगरी, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
खड्काले बोलाए इतर समूहको बैठक, राष्ट्रिय भेला गर्नेबारे निर्णय हुन सक्ने
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकट नेताहरूको बैठक बोलाएका छन् । पूर्व सभापति शेरबहादुर देउवाको नाममा संगठित भएको यस समूहको बैठक शुक्रबार दिउँसो २ बजे गोल्फुटारस्थित आफ्नै निवासमा बस्ने नेताहरूले बताएका छन् । बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारी तथा शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ । बैठकमा पार्टीभित्र पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रम, इतर समूहको आगामी रणनीति तथा संगठनात्मक गतिविधिबारे विस्तृत छलफल हुने बताइएको छ । विशेषगरी काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा बैठकले औपचारिक निर्णय गर्न सक्ने स्रोतको भनाइ छ । खड्काले केही दिनअघि संस्थापन पक्षले उठाएका विषयमा सातबुँदे लिखित जवाफ बुझाएका थिए । त्यसको राजनीतिक सन्देश, पार्टीभित्र परेको प्रभाव र अब इतर समूहले अपनाउने रणनीतिबारे पनि बैठकमा समीक्षा हुने जनाइएको छ । विशेष महाधिवेशनपछि इतर समूहले आफ्नो संगठनात्मक सक्रियता बढाउँदै सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ । अब त्यसैको निरन्तरतास्वरूप राष्ट्रियस्तरको भेला आयोजना गरेर आगामी राजनीतिक दिशा तय गर्ने तयारीमा समूह रहेको नेताहरूले बताएका छन् । कांग्रेसभित्र विभिन्न समूहबीच राजनीतिक परामर्श पनि तीव्र बनेको छ । बिहीबार मात्रै पूर्व पदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच छुट्टै छलफल भएको थियो । त्यसलगत्तै खड्काले इतर समूहको बैठक बोलाएकाले कांग्रेसभित्र आगामी रणनीतिक तयारीसँग यसलाई जोडेर हेरिएको छ।
बजारमा सिताके च्याउ प्रतिकिलो १ हजार, लोकल गोलभेँडा २० रुपैयाँ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४१, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ७०, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ४०, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ (कन्य) प्रतिकिलो रु २६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु ११०, आँप (दशहरी) प्रतिकिलो रु १२०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु २३०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु २५०, भेडेखुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १७०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३५० निर्धारण भएको छ ।
मेलम्चीको पानी आपूर्ति बन्द
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी पसेपछि काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको पानी आजदेखि अस्थायी रूपमा बन्द भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहानमा पानी धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल हुँदा मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा प्रवाह हुने पानीको आपूर्ति अस्थायी रूपमा रोकिएको हो । उनले भने, 'वर्षाले मुहानमा पानी अत्यधिक धमिलो भएको छ, गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सञ्चालन गरिनेछ ।' निरन्तर वर्षा भएमा काठमाडौंमा जल आपूर्ति गर्न केही समय लाग्नेछ ।
राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो १४२ जनाका लागि जागिर, कुन पदका लागि कति ?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तहका १४२ कर्मचारी माग गरेको छ । बैंकले वरिष्ठ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको हो । बैंकका अनुसार नवौं तहको वरिष्ठ प्रबन्धक पदमा १ जना, आठौं तहको प्रबन्धक पदमा २ जना, सातौं तहको उपप्रबन्धक पदमा ३ जना, छैटौं तहको सहायक प्रबन्धक पदमा ६८ जना र पाँचौं तहको वरिष्ठ सहायक पदमा ६८ जना माग गरिएको छ । छैटौं तहको सहायक प्रबन्धक पदअन्तर्गत प्रशासन, कानुन, सूचना प्रविधि, लेखा, कृषि, इन्जिनियरिङ र नगद समूहका लागि भर्ना खुलाइएको छ । त्यसैगरी, पाँचौं तहको वरिष्ठ सहायक पदअन्तर्गत प्रशासन, कानुन, नगद तथा सूचना प्रविधि समूहमा कर्मचारी माग गरिएको बैंकले जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार १९ गतेदेखि साउन ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्न लागेको जनाएको छ । आवेदन दिने उम्मेदवारले तोकिएको न्यूनतम शैक्षिक योग्यता पूरा गरेको हुनुपर्नेछ । साथै, नेपाली नागरिकताको प्रमाणपत्र, अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ । यदि शैक्षिक योग्यता नेपालबाहिरको संस्थाबाट हासिल गरेको भए त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरिएको प्रमाणपत्रसमेत पेश गर्नुपर्ने बैंकले जनाएको छ । नेपाल सरकार वा सरकारी स्वामित्वका संस्थामा कार्यरत उम्मेदवारले विभागीय स्वीकृति पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
रास्वपाका सांसद डिजिटल निगरानीमा, हरेक गतिविधि ‘पल्सआरएसपी’मा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई ‘पल्सआरएसपी’ नामक डिजिटल प्रणालीबारे अभिमुखीकरण गराउने भएको छ । पार्टीलाई डिजिटल रूपमा व्यवस्थित बनाउने उद्देश्यले निर्माण गरिएको उक्त प्रणालीबारे जानकारी दिनुका साथै साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गर्न आज बैठक राखिएको हो । रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा आज बिहान १०:३० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । बैठकलगत्तै प्रत्येक सांसदले आफ्ना गतिविधि अनिवार्य रूपमा उक्त प्रणालीमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । सांसदहरूबीच भेटघाटका लागि अनलाइनमार्फत समय माग गर्न सकिने, संसद्मा उठाइने विषयवस्तु प्रणालीमा राख्नुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाट र अन्य कार्यक्रमको विवरणसमेत पोर्टलमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ । यस प्रणालीमार्फत नागरिकले सम्बन्धित निर्वाचन क्षेत्रका सांसदसँग गुनासा राख्न सक्ने, त्यसको अनुगमन हुने तथा सोही आधारमा सांसदको कार्यसम्पादन मूल्याङ्कनसमेत गरिने सुविधा समावेश गरिएको रास्वपाले जनाएको छ । पार्टीले उक्त अभिमुखीकरण कार्यक्रममा सबै सांसदको अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिएको छ ।
प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो
काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । असार १६ गतेदेखि बिक्री खुला गरेको बैंकको ऋणपत्रमा मागभन्दा कम आवेदन परेपछि असार ३० गतेसम्म आवेदन दिने समय लम्बिएको हो । बैंकका अनुसार यदि मागभन्दा बढी आवेदन परेपछि असरा ३० गते अगाडि पनि बिक्री बन्द गरिनेछ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘प्राइम बैंक डिबेञ्चर २०९३’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिएको बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।