खड्काले बोलाए इतर समूहको बैठक, राष्ट्रिय भेला गर्नेबारे निर्णय हुन सक्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकट नेताहरूको बैठक बोलाएका छन् । पूर्व सभापति शेरबहादुर देउवाको नाममा संगठित भएको यस समूहको बैठक शुक्रबार दिउँसो २ बजे गोल्फुटारस्थित आफ्नै निवासमा बस्ने नेताहरूले बताएका छन् । बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित इतर समूहका पदाधिकारी तथा शीर्ष नेताहरू सहभागी हुने जनाइएको छ ।

बैठकमा पार्टीभित्र पछिल्ला दिनमा विकसित राजनीतिक घटनाक्रम, इतर समूहको आगामी रणनीति तथा संगठनात्मक गतिविधिबारे विस्तृत छलफल हुने बताइएको छ । विशेषगरी काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने विषयमा बैठकले औपचारिक निर्णय गर्न सक्ने स्रोतको भनाइ छ ।

खड्काले केही दिनअघि संस्थापन पक्षले उठाएका विषयमा सातबुँदे लिखित जवाफ बुझाएका थिए । त्यसको राजनीतिक सन्देश, पार्टीभित्र परेको प्रभाव र अब इतर समूहले अपनाउने रणनीतिबारे पनि बैठकमा समीक्षा हुने जनाइएको छ ।

विशेष महाधिवेशनपछि इतर समूहले आफ्नो संगठनात्मक सक्रियता बढाउँदै सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ । अब त्यसैको निरन्तरतास्वरूप राष्ट्रियस्तरको भेला आयोजना गरेर आगामी राजनीतिक दिशा तय गर्ने तयारीमा समूह रहेको नेताहरूले बताएका छन् ।

कांग्रेसभित्र विभिन्न समूहबीच राजनीतिक परामर्श पनि तीव्र बनेको छ । बिहीबार मात्रै पूर्व पदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच छुट्टै छलफल भएको थियो । त्यसलगत्तै खड्काले इतर समूहको बैठक बोलाएकाले कांग्रेसभित्र आगामी रणनीतिक तयारीसँग यसलाई जोडेर हेरिएको छ।

Share News