शुल्क नतिर्ने मेडिकल तथा डेन्टल कलेजको दर्ता रोक्ने काउन्सिलको चेतावनी
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विद्यार्थी भर्ना शुल्कलगायतका शीर्षकमा आफूलाई बुझाउनुपर्ने बाँकी रकम नतिर्ने मेडिकल तथा डेन्टल कलेजका विद्यार्थीको प्रोभिजनल दर्ता तथा विदेशी नागरिक चिकित्सक शिक्षकको दर्ता प्रक्रिया रोक्ने चेतावनी दिएको छ । काउन्सिलले जारी गरेको सूचनामा नेपालमा चिकित्सा शिक्षा सञ्चालन गरिरहेका विभिन्न प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरूले विद्यार्थी भर्ना शुल्क तथा अन्य विभिन्न शीर्षकमा काउन्सिललाई बुझाउनुपर्ने शुल्क लामो समयदेखि भुक्तानी नगरेको जनाएको छ। यसअघि काउन्सिलले २०८२ चैत २७ गते र २०८३ वैशाख २४ गते बक्यौता रकम तिर्न सूचना जारी गरेको थियो। काउन्सिलका अनुसार सूचना जारीपछि केही प्रतिष्ठानले आफ्नो बक्यौता रकम बुझाए पनि पटक–पटक ताकेता गर्दा समेत केही मेडिकल तथा डेन्टल कलेजले हालसम्म बक्यौता रकम भुक्तानी गरेका छैनन् । काउन्सिलले जारी गरेको सूचनामा यसपटकको सूचना र पत्राचारलाई समेत बेवास्ता गरी तोकिएको समयभित्र बक्यौता रकम नतिर्ने प्रतिष्ठान तथा मेडिकल र डेन्टल कलेजका विद्यार्थीको प्रोभिजनल दर्ता र विदेशी नागरिक चिकित्सक शिक्षकको दर्ता प्रक्रिया रोकिने स्पष्ट गरिएको छ । त्यस्तै, दर्ता प्रक्रिया रोकिँदा विद्यार्थी, चिकित्सक वा संस्थालाई पर्न जाने असुविधा तथा क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित प्रतिष्ठान तथा मेडिकल–डेन्टल कलेज स्वयंले वहन गर्नुपर्ने पनि काउन्सिलले जनाएको छ ।
विश्वकप फुटबल : अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा
काठमाडौं । अल्जेरियालाई पराजित गर्दै स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबल–२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा स्विट्जरल्याण्डले अल्जेरियालाई २–० गोलअन्तरले पराजित गरेको हो । स्विट्जरल्याण्डका लागि ब्रिल एम्बोलो र डान एनडोएले एक/एक गोल गरे । ब्रिलले खेलको १०औँ मिनेटमा गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाए । खेलको पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको स्विट्जरल्याण्डले दोस्रो हाफ सुरु भएको एक मिनेटमै गोल थप्यो । खेलको ४६औँ मिनेटमा डानले गोल गर्दै स्विट्जरल्याण्डलाई २–० गोलको अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन ।
एनआईसी एशिया बैंकद्वारा चार सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रोजेक्टर सहयोग
काठमाडौं । एनआईसी एशिया बैंकले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका चार सामुदायिक विद्यालयलाई सूचना प्रविधिसम्बन्धी शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले डडेलधुरा, रुकुम पश्चिम र अछाम जिल्लाका चार विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर तथा प्रोजेक्टर उपलब्ध गराएको जनाएको छ । सहयोग प्राप्त गर्ने विद्यालयमा डडेलधुराको श्री भुवनेश्वरी माध्यमिक विद्यालय, रुकुम पश्चिमको श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय, अछामको श्री मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र श्री अन्नपूर्ण माध्यमिक विद्यालय रहेका छन् । बैंकका अनुसार विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै सूचना प्रविधिमा पहुँच विस्तार गर्ने उद्देश्यले विद्यालयहरूको आवश्यकताअनुसार प्रोजेक्टर, प्रिन्टर, ल्यापटप तथा डेस्कटप कम्प्युटर हस्तान्तरण गरिएको हो । सामग्री सम्बन्धित शाखा प्रमुखहरूले विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकलाई औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरेका थिए । बैंकले उपलब्ध गराएको सामग्रीबाट विद्यालयको पठनपाठन, प्रशासनिक कार्य तथा सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
मौसमले रोक्यो रेसुङ्गा विमानस्थलको उडान, तीन सातादेखि यात्रु समस्यामा
काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने नियमित हवाई सेवा विगत तीन सातादेखि प्रभावित बनेको छ । वर्षायामसँगै बिहानको समयमा बाक्लो बादल र प्रतिकूल मौसमका कारण नेपाल एयरलाइन्सले निर्धारित उडान सञ्चालन गर्न नसकेको हो । नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेदेखि लगातार खराब मौसमका कारण अधिकांश निर्धारित उडान स्थगित हुँदै आएका छन् । रेसुङ्गा विमानस्थलमा बिहानै उडान हुने तालिका रहेकाले मौसम प्रतिकूल हुँदा जहाज सञ्चालन गर्न कठिनाइ भइरहेको उनले बताए । यात्रुको मागलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले रेसुङ्गा–काठमाडौं रुटमा साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार नियमित उडान गर्दै आएको छ । तर वर्षायाम सुरु भएपछि मौसम अनुकूल नहुँदा उडान सेवा प्रभावित बनेको हो, जसका कारण टिकट लिएका यात्रुले पटक–पटक यात्रा योजना परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । हाल गुल्मीबाट काठमाडौंका लागि प्रतियात्री हवाई भाडा १० हजार ७०२ रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि १० हजार ९०२ रुपैयाँ कायम गरिएको छ । निर्धारित तालिकाअनुसार नेपाल एयरलाइन्सको विमान बिहान ६:३० बजे काठमाडौंबाट रेसुङ्गाका लागि उड्ने र रेसुङ्गाबाट बिहान ७:४५ बजे काठमाडौं फर्किने व्यवस्था छ । तर मौसममा सुधार नआएसम्म नियमित उडान सञ्चालन हुने सम्भावना कम रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।
खामेनीको अन्त्येष्टि अघि वाहिदी सार्वजनिक
इरान । इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीको शुक्रबारदेखि सुरु हुने दिनभरको अन्त्येष्टि कार्यक्रमको तयारी भइरहेका बेला लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका इरानको अर्धसैनिक क्रान्तिकारी गार्डका प्रमुख जनरल अहमद वाहिदी अचानक सार्वजनिक रूपमा देखिएका छन् । इरानी राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिर र भिडियोमा उनी अन्त्येष्टिसम्बन्धी बैठकमा सहभागी भएको तथा तेहरानस्थित खामेनीको पूर्व निवास नजिक आयोजना गरिएको श्रद्धाञ्जलि कार्यक्रममा उनको कास्केट छेउमा बसेको देखिएको छ । राज्य सञ्चारमाध्यमका अनुसार ८६ वर्षीय खामेनीको सम्मानमा बिहीबार राति तेहरानको केन्द्र क्षेत्रमा सानो शोकसभा आयोजना गरिएको थियो । उक्त समारोहमा कालो पोशाकमा उपस्थित शोकाकुल परिवारजनले कफिनतर्फ स्कार्फ र अन्य सामग्री फ्याँकेका थिए । यसलाई इरानमा श्रद्धा व्यक्त गर्ने परम्परागत अभ्यास मानिन्छ । विश्लेषकहरूका अनुसार अमेरिकासँगको युद्धको सम्भावित स्थायी अन्त्यका लागि हुन सक्ने वार्तामा इरानको कडा अडान तय गर्न वाहिदी प्रभावशाली भूमिकामा रहेका छन् । उनलाई नयाँ सर्वोच्च नेता अयातुल्ला मोजताबा खामेनीसँग प्रत्यक्ष सम्पर्कमा रहेको सीमित समूहका सदस्यमध्ये एक भएको विश्वास गरिएको छ । मोजताबा खामेनी फेब्रुअरी २८ मा इजरायली आक्रमणमा घाइते ुभएको थियो भने सोही आक्रमणमा उनका पिता अली खामेनीको मृत्यु भएको बताइएको छ । युद्ध सुरु हुनुभन्दा केही साताअघि फेब्रुअरी ८ पछि वाहिदी सार्वजनिक रूपमा नदेखिएकाले उनको उपस्थितिलाई विशेष महत्त्वका साथ हेरिएको छ । राज्य सञ्चारमाध्यमले प्रसारण गरेको भिडियोमा तेहरानस्थित हुसिनियाह परिसरमा राखिएको खामेनीको कफिन रातो ट्युलिपले सजाइएको देखिन्छ । कफिनमाथि शिया समुदायमा विशेष महत्त्व राख्ने ‘या हुसेन’ लेखिएको सेतो सुलेखनसहितको रातो झण्डा ओढाइएको थियो । उक्त झण्डालाई अन्यायपूर्ण रूपमा मारिएका व्यक्तिको रगत तथा प्रतिशोधको प्रतीकका रूपमा समेत लिइन्छ र इराकको कर्बलास्थित इमाम हुसेनको पवित्र मजारमाथि पनि फहराइने गरिन्छ । इरानले शनिबारदेखि खामेनीको दिनभर चल्ने अन्त्येष्टि कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । उनको पार्थिव शरीर इरान र छिमेकी इराकका विभिन्न सहरमा लगिने कार्यक्रम तय गरिएको छ । अन्त्येष्टि तेहरानको ग्रान्ड मोसल्लाबाट सुरु हुनेछ । त्यहाँ शोक समारोहका कारण सडक तथा दैनिक जनजीवन प्रभावित हुने अपेक्षा गरिएको छ । दशकमै पश्चिमसँग टकरावपूर्ण नीति अपनाउँदै इरानको नेतृत्व गर्नुभएका खामेनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न ठूलो सङ्ख्यामा शोकाकुल नागरिक सहभागी हुने सरकारी अधिकारीहरूले जनाएका छन् । –एजेन्सी
नेपाल बैंकका ग्राहकले अब ‘नेपालपे’ कार्ड प्रयोग गर्न पाउने
काठमाडौं । नेपाल बैंक लिमिटेड राष्ट्रिय कार्ड नेटवर्क ‘नेपालपे’ मा आबद्ध भएको छ । यसका लागि नेपाल बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि नेपाल बैंकले आफ्नो प्रणालीलाई राष्ट्रिय पेमेन्ट स्विच (एनपीएस–एनसीएस) मा एकीकृत गरी ग्राहकलाई ‘नेपालपे’ कार्ड जारी गर्नेछ । साथै, उक्त कार्डमार्फत कारोबार स्वीकार गर्ने व्यवस्था पनि मिलाइनेछ । एनसीएचएलले हालै ‘नेपालपे’ कार्डको व्यावसायिक सञ्चालन सुरु गरिसकेको छ । अन्तर्राष्ट्रिय कार्ड नेटवर्क ‘डिस्कभर’सँगको सहकार्यमा नेपालपे कार्ड नेपालभित्र मात्र नभई विदेशमा रहेका एटीएम तथा पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । साथै, ‘रुपे’ लगायतका अन्तर्राष्ट्रिय कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने जनाइएको छ । एनसीएचएलका अनुसार एनपीएस–एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै स्वदेशी कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि केन्द्रीय कार्ड स्विचको भूमिका निर्वाह गर्नेछ । यसबाट कार्ड कारोबारको लागत घट्नुका साथै डाटा स्थानीयकरण र डिजिटल भुक्तानी प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ । हालसम्म ३५ बैंक तथा वित्तीय संस्था एनपीएस–एनसीएसमा आबद्ध भइसकेका छन् । तीमध्ये सात बैंकले ‘नेपालपे’ कार्ड जारी गरिसकेका छन् भने १० बैंकले कार्ड स्वीकार गर्ने (एक्वायरिङ) सेवा सञ्चालन गरिरहेका छन् । आगामी दिनमा यो संख्या थप बढ्ने एनसीएचएलले जनाएको छ । नेपाल बैंकले पछिल्ला वर्षहरूमा डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै आन्तरिक प्रणाली तथा ग्राहक सेवामा सुधार गर्दै आएको जनाएको छ । ‘नेपालपे’ कार्डमार्फत ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक भुक्तानी सेवा उपलब्ध हुने बैंकको विश्वास छ ।
सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढ्यो
काठमाडौं । स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुन तोलामा सात हजार २०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६१५ रुपैयाँ कायम भएको छ । हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४५० रुपैयाँ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र एक हजार ५८३ जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन् । कूल भित्रिएका विदेशी पर्यटकमध्ये ९८ दशलमव ०२ प्रतिशत सार्क राष्ट्र तथा एक दशमलव ९७ प्रतिशत अन्य राष्ट्रका पर्यटक रहेका एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । जुन महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेको उनले बताए । सन् २०२६ को मे महिनामा ६५ हजार ९९४ विदेशी पर्यटक मुस्ताङको भ्रमणमा आएका थिए । यसरी भित्रिएका पर्यटकमध्ये सार्क राष्ट्रका ६१ हजार ७९८ तथा अन्य राष्ट्रका चार हजार १९६ जना रहेका छन् । एक्याप जोमसोम कार्यालयका अनुसार सन् २०२५ को जुन महिनामा कुल २० हजार ८६८ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सो महिनामा सार्क राष्ट्रबाट १९ हजार ६४९ र अन्य मुलुकबाट एक हजार २०९ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । एक्याप प्रमुख गुप्तका अनुसार सन् २०२५ को जुन महिनाको तुलनामा सन् २०२६ को जुन महिनामा मात्रै मुस्ताङ जिल्लामा ५९ हजार ३९५ विदेशी पर्यटकको यहाँ आगमनमा वृद्धि भएको थियो । सन् २०२६ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा दुई लाख २२ हजार ९९२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । जसमध्ये सार्कतर्फ दुई लाख आठ हजार ११ जना र अन्य राष्ट्रतर्फ १४ हजार ९८१ जना रहेका एक्याप प्रमुख गुप्तले जानकारी दिऐ । यसअघि सन् २०२५ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा ९८ हजार ४८१ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । एक्याप कार्यालयको तथ्याङ्कअनुसार सन् २०२५ को तुलनामा सन् २०२६ जुनसम्मको ६ महिना अवधिमा एक लाख २४ हजार ५११ जनाले मुस्ताङको भ्रमण गरेका थिए । एक्याप जोमसोम कार्यालयको तथ्याङ्कअनुसार सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्म कूल एक लाख ६१ हजार १४२ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । सन् २०२६ मा भारतीय पर्यटकको मुस्ताङ आगमन अत्यधिक रुपमा वृद्धि भएको छ । मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ९५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका एक्यापको तथ्याङ्कमा उल्लेख छ । छिमेकी देश भारतबाट उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न आउने गरेका एक्याप प्रमुख गुप्तले बताए । मुस्ताङ भित्रिएका भारतीय पर्यटकमध्ये ५० प्रतिशतले आफ्नै देशबाट निजी सवारीसाधन लिएर मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन् । मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएका भारतीय पर्यटकको उपस्थितले मुस्ताङसहित म्याग्दी, बाग्लुङ र पोखराका होटल पर्यटकले भरिभराउ छन् । मुस्ताङ आएका अधिकांश भारतीय पर्यटक मुक्तिनाथ दर्शन गरी फर्किने गरेका पाइएको छ । यसैगरी अन्य राष्ट्रका पर्यटक भने राउण्ड अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत मनाङ हुँदै मुस्ताङ भित्रिने गरेका छन भने कतिपय अन्य राष्ट्रका विदेशी पर्यटक पोखरा–जोमसोम हवाईमार्ग र बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ भित्रिने गर्छन । एक्याप लोमान्थाङका अनुसार मुस्ताङ भित्रिएका पर्यटकमध्ये तीन प्रतिशतले मात्रै उपल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन् ।