नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : शिक्षामन्त्री पोखरेल
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को शुक्रबार आयोजित ३१औँ दीक्षान्त समारोहमा उनले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे । मन्त्री पोखरेलले भने, 'सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको छ, यसका लागि शिक्षित युवाको सक्रिय भूमिका आवश्यक छ ।' नयाँपिँढीले सोचेजस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै उनले भने, 'यहाँहरुले सोच्नु भएको समाज कस्तो बनाउने भन्ने विषयमा हामी प्रयासरत छौँ, धेरै कोसिस गर्छौं, त्यसमा युवाको भूमिका सक्रिय रहनुपर्यो ।' मन्त्री पोखरेलले काठमाडौं विश्वविद्यालयबाट हालसम्म विविध विधामा ५१ हजारभन्दा बढी जनशक्ति उत्पादन भइसकेको हुँदा उनीहरुले पनि सरकारलाई सहयोग गरेर समुन्नत समाजका लागि देखेको सपना पूरा गर्नुपर्छ भन्ने आफ्नो अपेक्षा गरेको स्पष्ट पारे । मन्त्री पोखरेलले केयुबाट हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालमै सदुपयोग गर्दै राष्ट्र निर्माणमा योगदान दिन दीक्षित विद्यार्थीलाई आग्रहसमेत गरे । उनले भने, 'तपाईंहरु नआत्तिनुस् नेपालमै अवसर पाइन्छ र हामी आफैँ पनि अवसर सिर्जना गर्नेछौँ ।' त्यस अवसरमा उनले विभिन्न विधामा उपाधि प्राप्त विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्रदान गरेका थिए । उपकुलपति प्रा. डा. ऋषिकेश वाग्लेले कृत्रिम बुद्धिमत्ता र ‘अटोमेशन’को तीव्र विकाससँगै प्राविधिक दक्षता मात्र होइन, विवेक, नैतिकता, सांस्कृतिक चेतना र राष्ट्रप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । समारोहमा आमन्त्रित भारतस्थित डेक्कन कलेज पोस्ट–ग्राजुएट एण्ड रिसर्च इन्स्टिच्युटका कुलपति प्रा. डा. भूपेन्द्र पाटद्र्र्धनले नेपाल–भारतबीच शिक्षा, अनुसन्धान र परम्परागत ज्ञानको आदानप्रदानलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले विश्वविद्यालयमा प्राप्त शिक्षालाई आत्मविश्वास, नैतिकता र जिम्मेवारी तथा चुनौतीलाई अवसरमा बदल्नेगरी समाजको हितमा प्रयोग गर्न आग्रह गरे ।
गोल्डेन बुटका दाबेदार
काठमाडौं । अनौपचारिक रूपमा फिफा विश्वकप २०२६ लाई ‘सुपरस्टारहरूको विश्वकप’ समेत भनिएको छ । प्रतियोगिताका धेरै ठूला स्टार खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै लगातार गोल गरिरहेका छन् । यसै कारण यसपटकको विश्वकपमा गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) को दौड इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक र रोमाञ्चकमध्ये एक बनेको छ । यी हुन् प्रमुख दाबेदार ६ गोल लियोनेल मेसी विश्वकप २०२२ अघि विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा लियोनेल मेसीको गोल गर्ने रेकर्ड त्यति प्रभावशाली थिएन । तर कतार विश्वकपदेखि सुरु भएको उनको उत्कृष्ट लय उत्तर अमेरिकामा जारी छ । समूह चरणका पहिलो दुई खेलमा मेसीका गोलकै बलमा अर्जेन्टिनाले जित निकाल्यो । अल्जेरियाविरुद्ध उनले विश्वकप करिअरकै पहिलो ह्याट्रिक पूरा गर्दै प्रतियोगिताको इतिहासमा एकै खेलमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी बने । त्यसपछि अस्ट्रियाविरुद्ध दुई गोल गर्दै उनले लगातार छवटा विश्वकप सहभागितामा गोल गर्ने इतिहासका तेस्रो खेलाडी बन्न सफल भए । ती दुई गोलसँगै उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १७ पुर्याउँदै जर्मनीका मिरोस्लाभ क्लोजे (१६ गोल) लाई पछि पारेर विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने । जोर्डनविरुद्ध सुरुआती टोलीमा नराखिए पनि दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले फेरि गोल गरे । यससँगै यस संस्करणमा उनको गोल संख्या ६ पुगेको छ । केलियन एम्बाप्पे मेसीलाई सबैभन्दा नजिकबाट पछ्याइरहेका खेलाडी हुन् फ्रान्सका कप्तान केलियन एम्बाप्पे, जो विश्वकपमा सधैं चम्किने खेलाडीका रूपमा चिनिन्छन् । सेनेगलविरुद्ध उनले माइकल ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै पहिलो गोल गरे भने खेलको अन्त्यतिर लामो दूरीबाट अर्को आकर्षक गोल थपे । इराकविरुद्ध पनि उनले लामो दूरीबाट शानदार गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि विपक्षी रक्षकको ठूलो गल्तीको फाइदा उठाउँदै दोस्रो गोल गरे । नर्वेविरुद्ध गोल गर्न नसके पनि उनले दुई असिस्ट दिएका थिए । अन्तिम ३२ को चरणमा स्विडेनविरुद्ध भने उनी पुनः चम्किए । पहिलो गोल व्यक्तिगत कौशलको उत्कृष्ट नमुना थियो भने दोस्रो गोल गर्दै उनले फ्रान्सको जित सुनिश्चित गरे, जसमा ओलिसेको योगदान पनि उल्लेखनीय रह्यो । ५ गोल अर्लिङ हालान्ड सर्वाधिक गोलकर्ताको सूचीमा अर्लिङ हालान्डको नाम हुनु कुनै आश्चर्यको विषय होइन । यद्यपि यसपटक उनी शीर्ष स्थानमा नभई पछ्याइरहेका खेलाडीमध्ये छन्, तर विश्वकप २०२६ मा उनको प्रदर्शन निकै प्रभावशाली रहेको छ । विश्वकप डेब्यूमै उनले डेभिड मोलर वुल्फेको क्रसलाई गोलमा परिणत गर्दै पहिलो गोल गरे । त्यसपछि इराकका गोलरक्षकको क्लियरेन्स रोक्दा बल उनकै शरीरमा लागेर गोलमा प्रवेश गर्दै दोस्रो गोल सम्भव भयो । सेनेगलविरुद्ध उनले दुई गोल थपे । पहिलो गोल तीव्र गतिमा गरिएको काउन्टर अट्याकपछि आएको थियो भने दोस्रो गोल पेनाल्टी क्षेत्रभित्रको भिडन्तपछि हावामै आएको बललाईल सिधै प्रहार गर्दै गरेका थिए । फ्रान्सविरुद्ध उनी खेलेनन् । यदि त्यो खेल खेलेका भए सम्भवतः उनी नै गोल्डेन बुट दौडमा शीर्षस्थानमा हुन सक्थे । तर अन्तिम ३२ को चरणमा आइभरी कोस्टविरुद्ध फर्किएर उनले विजयी गोल गर्दै टोलीलाई अन्तिम १६ मा पुर्याए । ह्यारी केन के यस विश्वकपका सबैभन्दा कम चर्चा गरिएका उत्कृष्ट खेलाडी ह्यारी केन हुन् ? चार खेलमा पाँच गोल गरेका उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १३ पुर्याएका छन् । यससँगै उनी फ्रान्सका जस्ट फन्टेनसँग संयुक्त रूपमा विश्वकप इतिहासका छैटौं सर्वाधिक गोलकर्ता बनेका छन् । साथै गोल्डेन बुटको दौडमा रहेका मेसी र एम्बाप्पेभन्दा उनी केवल एक गोलले पछाडि छन् । क्रोएसियाविरुद्ध सुरुमा उनले पेनाल्टी मिस गरेका थिए । तर पुनः प्रहार गर्ने अवसर पाएपछि गोल गर्न सफल भए । त्यसपछि डेक्लन राइसको कर्नरमा हेडमार्फत अर्को गोल थपे । घानाविरुद्ध गोल गर्न नसके पनि पानामाविरुद्ध जुड बेलिङ्घमको पासमा हेडमार्फत गोल गर्दै इंग्ल्यान्डलाई २–० को जित दिलाउन योगदान दिए । डीआर कङ्गोविरुद्ध भने उनी टोलीका वास्तविक उद्धारकर्ता बने । टोली पछि परेको अवस्थामा उनले लियोनेल एम्पासीलाई स्तब्ध पार्ने उत्कृष्ट हेडमार्फत बराबरी गोल गरे । त्यसको केही मिनेटपछि उनले ८६औं मिनेटमा गोलको माथिल्लो कुनामा शक्तिशाली प्रहार गर्दै विजयी गोल गरे र इंग्ल्यान्डलाई २–१ को रोमाञ्चक जित दिलाए । ४ गोल उस्मान डेम्बेले हालका बालोन डीओर विजेता उस्मान डेम्बेलेले पनि उत्तर अमेरिकामा उत्कृष्ट विश्वकप बिताइरहेका छन्, यद्यपि उनी आफ्नै टोलीका अन्य स्टार खेलाडीहरूको छायामा परेका छन् । इराकविरुद्ध उनले ठूलो प्रतियोगितामा पहिलो गोल गरे । त्यसपछि समूह चरणको तेस्रो खेलमा नर्वेविरुद्ध फ्रान्सको ४–१ को जितमा निर्णायक भूमिका निभाए । उनले पहिलो हाफमै विपक्षी फुलब्याकलाई निरन्तर दबाबमा राख्दै ३२ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए । भिनिसियस जुनियर रोड्रिगो र राफिन्हा चोटका कारण अनुपस्थित भएपछि ब्राजिलको आक्रमणको जिम्मेवारी भिनिसियस जुनियरले सफलतापूर्वक सम्हालेका छन् । मोरक्कोविरुद्ध उनले बायाँ फ्ल्याङ्कबाट उत्कृष्ट व्यक्तिगत प्रयास गर्दै महत्त्वपूर्ण बराबरी गोल गरे । हाइटीविरुद्ध आफ्नो तीव्र गतिका बलमा रक्षापङ्क्ति पार गर्दै गोल गरे भने स्कटल्यान्डविरुद्ध विपक्षीको गल्तीबाट सहज गोल र कुनै चुनौतीबिनाको हेडमार्फत अर्को गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या ४ पुर्याएका छन् ।
स्वास्थ्य बीमा बोर्डले भन्यो : अनावश्यक स्वास्थ्य परीक्षण नगराउनू
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित अनावश्यक स्वास्थ्य परीक्षण नगर्न आग्रह गरेको छ । बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । बोर्डले बीमित नागरिकलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन पनि अनुरोध गरेको हो । । बोर्डले सीमित स्रोतसाधन तथा संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक हजारौं बीमित नागरिकले स्वास्थ्य सेवा प्राप्त गरिरहेको जनाएको छ । साथै, उपचारका क्रममा नागरिकले आफ्नै खल्तीबाट व्यहोर्नुपर्ने खर्च न्यूनीकरण गर्दै वित्तीय जोखिमबाट संरक्षण गर्न स्वास्थ्य बीमा कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरेको छ । बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमको दिगो वित्तीय स्रोत तथा संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी समयमै गर्न कठिनाइ भएको छ । यसबाट सेवा प्रदायक संस्था र बीमित सेवाग्राही दुवै प्रभावित भएको विषयमा बोर्ड जानकार रहेको जनाएको छ । विज्ञप्तिअनुसार चालु आर्थिक वर्षका विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४८ करोड २१ लाख ८८ हजार १६ रुपैयाँ भुक्तानी गरिसकिएको छ । साथै, २०८२ साल मंसिर मसान्तसम्म स्वास्थ्य बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी भुक्तानी फछ्र्योट भइसकेको बोर्डले जनाएको छ । बोर्डले २०८२ मंसिरपछि परेको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको पनि जनाएको छ । यसैबीच, बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित सेवाग्राहीको उपचारमा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन र प्रभावकारिता कायम राख्न सेवा प्रदायक स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा बीमित नागरिक सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको उल्लेख गरेको छ ।
महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित
काठमाडौं । विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना सुरु गरेका छन् । सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका हुन् । काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार कर्मचारीहरूले लामो समयदेखि व्यवस्थापनसमक्ष भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । बोर्ड सदस्यहरूको कार्यकाल समाप्त भई बोर्ड रिक्त रहेको अवस्थामा कर्मचारीहरूको जायज मागलाई बेवास्ता गरिएको उनको गुनासो छ । ‘आज सबै स्थायी कर्मचारी साथीहरू दबाब सिर्जना गर्ने उद्देश्यले हिजोदेखि काउन्सिल सचिवालयको बाहिरी प्राङ्गणमा बसेका छौं । यो हाम्रो शान्तिपूर्ण दबाबमूलक कार्यक्रम हो, कुनै उग्र आन्दोलन होइन । असार महिनाको अन्तिमतिर आइपुगेका छौं । आज असार १९ गते भइसक्यो । ६ महिनादेखि पाउनुपर्ने महँगी भत्ता नपाएको कारण हामीले व्यवस्थापनसँग उक्त भत्ता उपलब्ध गराउन आग्रह गर्दै दबाब सिर्जना गरिरहेका छौं,’ उनले भने । कर्मचारीहरूले बिहीबारबाट काउन्सिलको कामकाज रोकेर धर्ना दिइरहेका छन् । भत्ता पाउने ठोस सुनिश्चितता नभएसम्म आन्दोलन र कामकाज बहिष्कारको कार्यक्रम निरन्तर जारी रहने सूचना अधिकारी बोहराको चेतावनी छ । ‘काउन्सिल सचिवालयका स्थायी कर्मचारीहरूले माघ महिनादेखि सरकारको अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता हालसम्म पनि पाएका छैनौँ । यस विषयमा हामीले पटकपटक व्यवस्थापनसँग अनुरोध गर्दै आएका छौँ । बोर्ड रहेको अवस्थादेखि नै हामीले महँगी भत्ता रोकिएको विषय उठाउँदै आएका थियौँ । तर हाल बोर्डसमेत नभएको अवस्था छ र हाम्रो माग अझै सम्बोधन भएको छैन,’ उनले भने । सूचना अधिकारी बोहराले विरोध कार्यक्रम अधिकार प्राप्तिका लागि गरिएको मर्यादित दबाबमूलक रहेको उनले बताए ।
निफ्राको सञ्चालक समितिमा महेश आचार्य नियुक्त
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिमा महेश आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले आचार्यलाई सञ्चालक समितिमा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा रहेका अमृत लम्सालको स्थानमा नियुक्त गरेका हुन् । आचार्य अर्थ मन्त्रालयका प्रतिनिधिका रूपमा सञ्चालक समितिमा रहनेछन् ।
हिमालयन बैंकको सञ्चालक सदस्य समितिमा पौडेल नियुक्त
काठमाडौं । हिमालयन बैंककको सञ्चालक समितिसदस्यमा सञ्चयकोषको तर्फबाट विरेन्द्र पौडेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले असार २३ गतेदेखि लागू हुने गरेर पौडेललाई सञ्चालक समितिमा नियुक्त गरेको हो । पौडेल कोषका मूख्य प्रबन्धक हुन् ।
बिपी कोइराला अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह
काठमाडौं । सरकारले चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ । नियुक्तिपछि उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष पदका लागि प्राप्त आवेदनमध्येबाट छनोट समितिले डा. योगेन्द्रप्रसाद सिंह, डा. अजयकुमार झा र डा. विजयचन्द्र आचार्यको नाम सिफारिस गरेको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४६ वर्ष लामो सेवा गरी अवकाश प्राप्त डा. सिंह स्वास्थ्य क्षेत्रका वरिष्ठ चिकित्सक हुन् ।
राष्ट्रिय बीमा कम्पनीमा रोजगारीको अवसर, विभिन्न पदमा १७ कर्मचारी माग
काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । कम्पनीले विभिन्न पदमा १७ कर्मचारी माग गरेको हो । कम्पनीले प्रशासन, सह व्यवस्थापक १ जना, प्रशासन चार्टड एकाउन्टेन्ट १ जना, प्रशासन नायव व्यवस्थापक १ जना, प्रशासन कानून अधिकृत १ जना, प्रशासन, सहायक व्यवस्थापक ३ जना माग गरेको छ । त्यस्तै प्रशासन, सहायक ‘क’ पदमा १ जना, स्वास्थ्य सहायक १ जना, सूचना प्रविधि सहायक १ जना, प्रशासन, सहायक ‘ख’ ६ जना र कृषि प्राविधिक पदमा १ जना माग गरेको छ । विभिन्न पदका लागि सम्बन्धित विषयमा स्नातकोत्तर, स्नातक, प्रवीणता प्रमाणपत्र तह (१०+२) वा एसएलसी÷एसईई उत्तीर्ण गरेका नागरिकहरूले आवेदन दिन सक्नेछन् । उमेरको हकमा अधिकृत स्तरका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र सहायक स्तरका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिला तथा अपाङ्गता भएका उम्मेदवारहरूको हकमा माथिल्लो उमेरको हद ४० वर्ष सम्म तोकिएको छ । सम्बन्धित पदहरुमा योग्यता पुगेका नेपाली इच्छुक नागरिकले साउन ७ गतेसम्म र दोब्बर दस्तुर तिरी साउन १४ गतेसम्म अनलाइन माध्यमबाट आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ । परीक्षा दस्तुर र छनोट प्रक्रिया परीक्षा दस्तुर तह ६ देखि ९ का लागि १ हजार २ सय रुपैयाँ र तह ४ तथा ५ का लागि ८०० रुपैयाँ तोकिएको छ ।