मौसमले रोक्यो रेसुङ्गा विमानस्थलको उडान, तीन सातादेखि यात्रु समस्यामा

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हुने नियमित हवाई सेवा विगत तीन सातादेखि प्रभावित बनेको छ । वर्षायामसँगै बिहानको समयमा बाक्लो बादल र प्रतिकूल मौसमका कारण नेपाल एयरलाइन्सले निर्धारित उडान सञ्चालन गर्न नसकेको हो ।

नेपाल एयरलाइन्सका रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ २४ गतेदेखि लगातार खराब मौसमका कारण अधिकांश निर्धारित उडान स्थगित हुँदै आएका छन् । रेसुङ्गा विमानस्थलमा बिहानै उडान हुने तालिका रहेकाले मौसम प्रतिकूल हुँदा जहाज सञ्चालन गर्न कठिनाइ भइरहेको उनले बताए ।

यात्रुको मागलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले रेसुङ्गा–काठमाडौं रुटमा साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार नियमित उडान गर्दै आएको छ । तर वर्षायाम सुरु भएपछि मौसम अनुकूल नहुँदा उडान सेवा प्रभावित बनेको हो, जसका कारण टिकट लिएका यात्रुले पटक–पटक यात्रा योजना परिवर्तन गर्नुपर्ने अवस्था आएको छ ।

हाल गुल्मीबाट काठमाडौंका लागि प्रतियात्री हवाई भाडा १० हजार ७०२ रुपैयाँ र काठमाडौंबाट गुल्मीका लागि १० हजार ९०२ रुपैयाँ कायम गरिएको छ ।

निर्धारित तालिकाअनुसार नेपाल एयरलाइन्सको विमान बिहान ६:३० बजे काठमाडौंबाट रेसुङ्गाका लागि उड्ने र रेसुङ्गाबाट बिहान ७:४५ बजे काठमाडौं फर्किने व्यवस्था छ । तर मौसममा सुधार नआएसम्म नियमित उडान सञ्चालन हुने सम्भावना कम रहेको नेपाल एयरलाइन्सले जनाएको छ ।

Share News