युएई आक्रमणमा एक नेपालीको मृत्यु, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा भएको पछिल्लो आक्रमणमा परी एक नेपाली श्रमिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सोमबार शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । सभापति थापाले उक्त क्षेत्रमा रहेका सम्पूर्ण नेपालीलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेका छन् । सभापति थापाले द्वन्द्वग्रस्त र असुरक्षित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि आवश्यक सतर्कता र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनले कूटनीतिक पहललाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै विदेशमा रहेका नेपालीको सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल पहल गर्न सरकारसँग माग गरेका छन् । सभापति थापाले जनसम्पर्क समिति, गैरआवासीय नेपाली सङ्घ तथा समग्र नेपाली समुदायलाई अप्ठ्यारोमा परेका नेपाली नागरिकको पहिचान, सहयोग र आवश्यक समन्वयका लागि सक्रिय भूमिका निर्वाह गर्न अनुरोधसमेत गरेका छन् ।
अबुधाबीमा ड्रोन निष्क्रिय पार्दा अस्ताए गोरखाका दिवस श्रेष्ठ
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । अबुधावीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा उनको ज्यान गएको हो । श्रेष्ठ मिडलइस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत थिए । उनको निधनप्रति नेपाली राजदूतावास अबुधाबीले गहिरो दुःख व्यक्त गरेको छ। परिस्थिति सहज भएपछि मृतक श्रेष्ठको शव यथाशीघ्र नेपाल पठाउने पनि दूतावासले जनाएको छ। युएईमा इरानको आक्रमणमा परी तीन जनाको मृत्यु भएको थियो । एक(एक बंगलादेशी र पाकिस्तानी नागरिकको पनि मृत्यु भएको हो । युएईमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन समेत दूतावासले आग्रह गरेको छ । इरानले युएईमा १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो ।
पोखरा र समृद्धि मर्जपछि पोखरा फाइनान्स बन्ने, मिश्र अध्यक्ष र गुरुङलाई सीईओको जिम्मेवारी
काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सले चैतभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य राखेका छन् । समान हैसियतमा गाभिन लागेका यी दुई वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट छिटो अन्तिम स्वीकृति पाए चैत मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने योजना बनाएका हुन् । दुवै संस्थाबीच १ः१ सेयर अनुपातमा मर्ज हुने सहमति भएको छ । अर्थात् गाभिएपछि दुवै कम्पनीका सेयरधनीले समान अनुपातमा सेयर प्राप्त गर्नेछन् । मर्जरपछि कम्पनीको नाम पोखरा फाइनान्स नै रहनेछ । कम्पनीको दर्ता कार्यालय पोखरामा र कर्पोरेट कार्यालय काठमाडौंमा रहने जनाइएको छ । यस्तो बन्नेछ मर्जरपछि सञ्चालक समिति मर्जरपछि बन्ने पोखरा फाइनान्सको सञ्चालक समितिको टुंगो लागिसकेको छ । मर्जपछि बन्ने सञ्चालक समिति सात सदस्यीय हुनेछ । समृद्धि फाइनान्सबाट चार जना र पोखरा फाइनान्सबाट तीन जना सञ्चालक रहने सहमति भएको छ । समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे सञ्चालक बन्नेछन् । हालका अध्यक्ष अजय मिश्र गाभिएपछि पनि अध्यक्ष बन्ने स्रोतले जनाएको छ । विनोद कुमार सुवेदी र रोशन पन्त भने बाहिरिने छन् । पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ सञ्चालक बन्नेछन् । हालका अध्यक्ष राजकुमार गुरुङ र गंगा घले भने बाहिरिनेछन् । मर्जरपछि कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश गुरुङ बन्ने सहमति भएको छ । स्रोतका अनुसार समृद्धि फाइनान्सका हालका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार घिमिरे नायव प्रमुख कार्यकारी अधिकृत रहने वा नरहने विषय भने टुंगो लागेको छैन । कर्मचारी व्यवस्थापन आन्तरिक रूपमा भइरहेको कम्पनी स्रोतले जनाएको छ । कर्मचारीहरू हाल जुन पदमा छन्, सोही पदमा रहने र सेवा-सुविधामा कुनै कटौती नहुने स्पष्ट पारिएको छ । मर्जरपश्चात यस्तो बन्नेछ फाइनान्स मर्जरपछि चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ र समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार मर्जरपछि कम्पनीको निक्षेप १० अर्ब ३७ करोड ९९ लाख ९४ हजार रुपैयाँ र कर्जा लगानी ६ अर्ब ३० करोड ७४ लाख ३४ हजार रुपैयाँ पुग्नेछ । हाल पोखरा फाइनान्सको निक्षेप ७ अर्ब ३८ करोड ९० लाख ७१ हजार रुपैयाँ र समृद्धि फाइनान्सको २ अर्ब ९९ करोड ९ लाख २३ हजार रुपैयाँ रहेको छ । कर्जातर्फ पोखराको ४ अर्ब ३३ करोड ७५ लाख ४१ हजार रुपैयाँ र समृद्धिको १ अर्ब ९६ करोड ९८ लाख ९३ हजार रुपैयाँ रहेको छ । पोखरा फाइनान्सको खराब कर्जा अनुपात २५.१० प्रतिशत र समृद्धि फाइनान्सको ८.१७ प्रतिशत रहेको छ । मर्जरपछि कम्पनीको खराब कर्जा दर उच्च रहने देखिए पनि त्यसलाई क्रमशः नियन्त्रणमा ल्याउने योजना रहेको कम्पनी स्रोतले जनाएको छ । मर्जरपछि शाखा सञ्जाल ३६ वटा पुग्नेछ । एउटै स्थानमा रहेका शाखा आवश्यक परे गाभिने जनाएको छ । कर्मचारी संख्या करिब ३ सय पुग्नेछ, जसमा पोखरा फाइनान्सका करिब २ सय र समृद्धिका करिब १ सय कर्मचारी समाहित हुनेछन् । कम्पनी स्रोतका अनुसार शाखा संख्याको हिसाबले नम्बर वान हुनेछ । यसमा कतिपय शाखा गाभ्नुपर्ने हुन सक्छ । जस्तो पोखरामा पोखरा फाइनान्स र समृद्धि फाइनान्सको शाखा छ । व्यवसायको हिसाबमा दुइटा कम्पनीको जोड्दा अन्य फाइनान्सको प्रतिस्पर्धीको रुपमा आउन सकिन्छ । दुवै संस्थाबीच गरिएको विस्तृत मूल्यांकन (ड्यु डिलिजेन्स अडिट) प्रतिवेदनअनुसार करिब ७ प्रतिशत अन्तर देखिएको छ । प्रारम्भिक सहमति अनुसार १० प्रतिशतभित्र रहने समझदारी भएको र प्रतिवेदन पनि सोही सीमाभित्र आएको कम्पनी स्रोतले जनाएको छ ।
मौन अवधिमा एआई र सामाजिक सञ्जालमा प्रहरीको कडाइ
काठमाडौं । नेपाल प्रहरीले मौन अवधिमा कृत्रिम बौद्धिकता (एआई) र सामाजिक सञ्जालमा कडाइ गर्ने भएको छ । मौन अवधिमा सामाजिक सञ्जाल तथा एआई प्रयोग गरेर झुटा तथा भ्रामक सन्देश फैलाउनेलाई हिरासतमा राखेर मुद्दासमेत चलाउने तयारी गरेको हो । निर्वाचन आयोगका अनुसार मतदान हुने अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मलाई मौन अवधि हो । सोमबार (आज) राति १२ बजेपछि मौनअवधि सुरु हुँदैछ । मौन अवधिभर सामाजिक सञ्जाल निगरानी गर्न २ सय बढी प्रहरी परिचालन गरिएको नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिए । मौन अवधिभर निर्वाचनलाई प्रभाव पार्ने खालको सूचना, भ्रम फैलाउने तथा समाजलाई खलल गर्ने पोष्ट सार्वजनिक गरेमा प्रहरी हिरासतमा राखेर कारबाही गरिने उनको भनाइ छ । प्रदेशको साइबर युनिटमा ५, केन्द्रमा एआई युनिटमा ६ जना, विशेषज्ञ साइबर टिम राखिएको, उपत्यका साइबर ब्यूरोमा ५ र ७७ जिल्लामा २ जना प्रहरीले सामाजिक सञ्जालको निगरानी गरिरहेको उनले जानकारी दिए । प्रदेश र जिल्ला प्रहरी कार्यालयमा निर्वाचन साइबर सेल गठन गरिएको काफ्लेको भनाइ छ । निर्वाचन आयोगमा डिएसपीसहितको टोलीले साइबर सेल गठन गरेर अनुगमन भइरहेको उनले बताए । साइबर ब्यूरोको पुरै टिमले निर्वाचन अवधिभर सामाजिक सञ्जालको निगरानी गरिरहेको काफ्लेले बताए । भ्रामक र गलत सूचनाले समाजलाई दिग्भ्रमित बनाउने खालको सूचना सामाजिक सञ्जालमा देखिएमा तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । कतिपय अवस्थामा सामाजिक सञ्जालमा अफवाह फैलाउने पोस्ट गर्ने व्यक्तिलाई सम्झाएर डिलेट गर्न समेत लगाइने काफ्लेले बताए । निर्वाचनको विषयलाई लिएर प्रहरी गम्भीर रहेको उनको भनाइ छ । कानुन विपरीत कार्य गर्ने जोसुकैलाई कारबाही गरिने उनले उल्लेख गरे । जिल्ला र प्रदेश प्रहरी कार्यालयमा रहेका निर्वाचन सेलले विशेष गरेर यस्ता गतिविधिलाई फोकस गरेर हेरिरहेको काफ्लेले बताए । निर्वाचन आयोगले एआई प्रयोग गरेर तथा सामाजिक सञ्जालको सामग्री प्रयोग गरेर उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार गर्न नपाइने जनाएको छ । त्यस्तै, अनलाइन, छापा, अन्य कुनै माध्यमबाट राजनीतिक दल,उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश दिन पाइँदैन । त्यसैगरी, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट तथा सेयर गर्नसमेत नपाइने भएको छ । मौन अवधि सुरु भएपछि प्रचारप्रसारको सामग्री र मतदान हुने स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनु पर्ने आयोगले जनाएको छ । त्यस्तै, निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला र गोष्ठी गर्न पाइँदैन । कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने आयोगले उल्लेख गरेको छ । फागुन २१ गते देशभर प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।
हुम्लामा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ को चाला र वडा नं–६ लिमीका तीन मदतान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी तथा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकप्टरमा ढुवानी भइरहेको छ । चार मतदान केन्द्रमा खटिएका १०२ कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई हेलिकप्टरमा त्यसतर्फ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए । कर्मचारी र सुरक्षाकर्मीलाई पैदल भएर जाँदा असहज हुने भएपछि निर्वाचन आयोगले हिमाली जिल्लाका मतदान केन्द्रमा हेलिकप्टरको व्यवस्था गरेको हो । निर्वाचनका लागि खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत लिमिका तीन मतदान केन्द्र लगिएको छ ।
पुँँजीगत बजेट ४ खर्ब बढी छुट्याइएकोमा १ खर्ब पनि खर्च भएन
काठमाडौं । चालु आर्थिक वर्ष (आ.व.) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत पनि खर्च हुन सकेको छैन । जेठ १५ मा सरकारले चालू आर्थिक वर्षका लागि ४ खर्ब ७ अर्ब बराबर विकासका लागि बजेट छुट्टाएको थियो । महालेखा नियन्त्रक कार्यालयकाअनुसार पुँजिगत शीर्षकमा छुट्टाइएको बजेटमध्येबाट फागुन १७ सम्ममा ७५ अर्ब ८३ करोड ४३ लाख मात्रै खर्च भएको छ । यो खर्च उक्त शिर्षकमा १८.५९ प्रतिशत मात्रै हो । सरकारले चालु आ.व.को आठ महिना बित्न लाग्दा समेत १ खर्ब पनि विकास बजेट खर्च गर्न नसकेको यो तथ्यांकले देखाएको छ । निर्माणको गति अघि नबढेका कारण अहिले पुँजीगत खर्च हुन नसकेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए । उनकाअनुसार काम गर्ने समयमा सरकारले ठेक्का तोडेका कारण कामहरु प्रभावित भए भने अहिले मुख्यगरी काम नहुनुको कारण आर्थिकदेखि मजदुर अभाव रहेको बताए । अध्यक्ष सिंहले भने –‘विकास बजेट खर्च नहुनुको कारण एउटा कारण श्रमिक अभाव हो । अहिले काम गर्ने माहोल पनि छैन । जेनजी आन्दोलनपछि अस्थिरताका कारण पनि काम भएको छैन । अहिले अर्थमन्त्रालयले पनि विकास बजेटलाई खुम्चाउने प्रयास गरिरहेको छ ।’ अध्यक्ष सिंहले अहिले नेपालमा मजदुर अभाव पनि चर्किदै गएको बताएका छन् । अर्थतन्त्र चलायमान नहुँदा निर्माणसँगै धेरै क्षेत्रहरु प्रभावित भइरहेको उनको भनाइ छ । उनकाअनुसार निर्माण क्षेत्र मात्रै पनि चलायमान हुने हो भने अरु धेरै क्षेत्रहरुमा गतिविधिहरु बढ्नसक्ने भएकाले सरकारले यसलाई ध्यानमा राख्न जरुरी छ ।
प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन, निर्वाचनमा सहभागी हुन आग्रह (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशबासीका नाममा सम्बोधन गर्दै आसन्न निर्वाचनका लागि सहयाेग गर्ने विभिन्न निकाय तथा मित्र राष्ट्रलाई धन्यवाद व्यक्त गरेकी छन् । सोमबार मध्यान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचन गराउनका लागि भूमिका खेलेका निर्वाचन आयोग, चारै वटा सुरक्षा संयन्त्र लगायतलाई धन्यवाद दिएकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन राज्यका संयन्त्रहरू सक्रिय रूपमा परिचालित भएको उल्लेख गर्दै त्यसका लागि सबै निकायप्रति आभार व्यक्त गरिन् । सम्बोधनका क्रममा उनले निर्वाचन व्यवस्थापनमा सहयोग पुर्याएको भन्दै मित्र राष्ट्रहरूप्रति पनि धन्यवादसमेत व्यक्त गरेकी छन् । सरकारले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन आवश्यक समन्वय र तयारीलाई निरन्तरता दिएको उनले बताइन् । पूर्णपाठ आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नमस्कार ! आज म एउटा विशेष घडीमा तपाईँहरूसँग मनका केही कुरा राख्न चाहन्छु । हाम्रो देश फेरि इतिहासको महत्त्वपूर्ण मोडमा आइपुगेको छ। आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ । तर, त्योभन्दा अगाडि हाम्रो सांस्कृतिक पर्व होली अर्थात् फागु पूर्णिमा परेको छ। रङ्गहरूको यो उत्सव र निर्वाचनको यो तयारी दुवै हाम्रा लागि उत्तिकै अर्थपूर्ण छन् । मैले यो जिम्मेवारी सम्हाल्दाको समय तपाईंहरू सबैलाई सम्झना नै छ । जेनजी आन्दोलनपछिको त्यो परिस्थिति जटिल, संवेदनशील र चुनौतीपूर्ण थियो । सडकमा युवाहरूको आक्रोश थियो, सबैको मनमा डर थियो र देशकै भविष्य अन्योलमा थियो । त्यो कठिन संक्रमणलाई व्यवस्थापन गर्दै, हिंसात्मक मोडबाट शान्तिपूर्ण निकासतर्फ देशलाई डोर्याउनु र संविधानको बाटोमा फर्काउनु हाम्रो पहिलो कर्तव्य थियो। आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन संक्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ । विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएका छौँ । यो उपलब्धि तपाईँ-हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो । अब मेरो पहिलो आग्रह तपाईँ मतदाताहरूसँग छ : देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस् । भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन । यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो । तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु । दोस्रो कुरा- निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो । चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन । म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु । तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो । साथै मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक-अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार-प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई आग्रह गर्दछु । यस महान् कार्यमा खटिनुभएका निर्वाचन आयोग, सुरक्षा निकायका साथीहरू र सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई म विशेष धन्यवाद दिन चाहन्छु । तपाईँहरूको निष्पक्षता र मेहनतले नै यो निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउनेछ । निर्वाचन आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको छ । निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध छन् । प्रदेश र स्थानीय सरकारले आफ्नो सीमाभित्र रही निर्वाचन तयारीमा महत्वपूर्ण सहयोग पुर्याएका छन् । नेपाल सरकारका चारवटै सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षामा कुनै कमी हुन नदिन आफ्ना सबै स्रोत-साधन परिचालन गरेका छन् । सम्माननीय राष्ट्रपतिज्यूले गर्नुभएको अभिभावकीय सहयोगप्रति व्यक्तिगत रूपमा म र वर्तमान सरकार हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । छोटो समयमा नेपालले निर्वाचन व्यवस्थापन गर्न सकेकोमा मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट पनि उत्साहजनक साथ र प्रतिक्रिया प्राप्त गरेका छौँ । निर्वाचन व्यवस्थापनमा वस्तुगत, नगद तथा प्राविधिक सहयोग प्रदान गर्ने मित्रराष्ट्रहरूलाई म धन्यवाद दिन चाहन्छु। साथै, संयुक्त राष्ट्र संघीय निकायहरूबाट प्राप्त सहयोगका लागि पनि आभारी छौँ । सामाजिक सञ्जाल र आमसञ्चारका केही माध्यमबाट तथ्यहीन र कृत्रिम सामग्री तथा भ्रामक भविष्यवाणी फैलाएर वातावरण धमिल्याउन खोज्ने तत्वहरूलाई सरकारले निगरानीमा राखी कानुनको दायरामा ल्याइरहेको पनि तपाईँहरुलाई जानकारी गराउँदछु । साथै त्यस्ता भ्रममा नपर्न, त्यस्ता तत्वको पछि नलाग्न र मुलुकसामु आएको ऐतिहासिक दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्न म सबै देशवासीलाई विनम्र आग्रह गर्दछु । आज सम्पूर्ण देशवासीलाई अर्को के कुरामा आश्वस्त पार्न चाहन्छु भने, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन । कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन । तेस्रो, हाम्रो उत्सवको कुरा । निर्वाचनकै मुखमा हामी होली अर्थात् फागु पूर्णिमा मनाउँदैछौँ । यस पावन अवसरमा म देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई हार्दिक शुभकामना दिन चाहन्छु । यो रङ्गहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ। हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ । निर्वाचनको रङ्ग र होलीको रङ्ग मिलेर देशमा नयाँ उत्साह छाओस् । तर, म आग्रह गर्छु- होली मनाउँदा संयम अपनाऔँ, कसैको इच्छाविपरीत रङ नलगाइदिऊँ । चौथो- एक गम्भीर विषय । आज संसारको अर्को कुनामा, मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको छ । इरान र वरपरको तनावले हामीलाई चिन्तित बनाएको छ । विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ । त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो । त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ । हामी हरदम तपाईँहरूको साथमा छौँ । नेपाली जहाँ रहे पनि प्रत्येक नागरिकको व्यक्तिगत सुरक्षा र हितको रक्षामा यो सरकार कटिबद्ध छ । अन्त्यमा, इतिहासकै यो कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका रूपमा लिएकी छु । मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ। अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्नेछ । आउनुहोस्, होलीको खुसी साटौँ । फागुन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाऔँ । धन्यवाद ।
सुनको मूल्य तोलामा ३ लाख २६ हजार १०० रुपैयाँ पुग्यो
काठमाडौं । स्थानीय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो । आइतबार सुन प्रतितोला तीन लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएकोमा सोमबार बढेर तीन लाख २६ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, चाँदी आइतबार प्रतितोला पाँच हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएकोमा सोमबार प्रतितोला छ हजार २० मा खरिदबिक्री हुनेछ । अन्तरराष्ट्रिय बजारमा सोमबार सुनको मूल्य प्रतिऔंस पाँच हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।