विकासन्युज

निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भीरबाट खस्यो

काठमाडौं ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि मतदान अधिकृत र नेपाल प्रहरीको असई सहितको टोली बोकेको गाडी रामेछापमा दुर्घटना भएको छ । सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन कर्मचारीको टोली चढेको गाडी दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजन तिमल्सिनाका अनुसार ना ७ ख ६७६८ नम्बरको गाडी भीरबाट खसेका हो । उक्त गाडीमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए ।  रामेछाप नगरपालिका-२ सिरुबारी भन्ने ठाउँबाट करिब १०० मिटर तल गाडी खसेको हो । अहिले उद्दारका काम भइरहेको छ । अहिलेसम्म ८ जनाको उद्वार भइसकेको बताइएको छ । 

निर्वाचनका लागि ७ लाख मतदाताले छोडे काठमाडौं, उपत्यकामा २०० ट्राफिक प्रहरी मात्रै

काठमाडौं । आसन्न निर्वाचन र होली पर्वलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई अत्यन्तै प्रभावकारी र चुस्त बनाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता सुनिलजंग शाहका अनुसार निर्वाचनको सुरक्षा र सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीहरू अहिले १८ घण्टासम्म ड्युटीमा खटिन थालेका छन् ।  प्रवक्ता शाहले हाल उपत्यकामा करिब २३० जना ट्राफिक प्रहरी जनशक्ति खटिएको र बिरामी बिदा लगायतका कारणले फिल्डमा करिब २०० जनाको सक्रिय उपस्थिति रहेको जानकारी दिए । उपत्यकाका विभिन्न चोकहरू जस्तै सातदोबाटो, कोटेश्वर, माइतीघर, कालीमाटी सुन्धारालगायतका ठाउँहरुमा हुने सवारी चापलाई समन्वय गरेर सडक सुचारु राख्ने काम भइरहेको उनले बताए ।  ८ लाखले उपत्यका छाड्ने प्रक्षेपण निर्वाचनका लागि काठमाडौंबाट बाहिरिने मानिसहरूको संख्या उल्लेख्य रहेको छ । शाहका अनुसार हालसम्म करिब ७ लाख मानिसले उपत्यका छोडिसकेका छन् । ‘हिजो मात्रै कलङ्की क्षेत्रमा निकै ठुलो चाप थियो, हामीले राति ९ बजेसम्म बसेर सवारी साधनको व्यवस्थापन गर्यौं,’ उनले भने । निर्वाचनसम्म करिब ८ लाख मानिसले काठमाडौं छाड्ने ट्राफिक प्रहरीको अनुमान छ । अब करिब १ लाख मानिस बाहिरिन बाँकी रहेको र २० गते राति १२ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइने उनले बताए ।  सोमबार होली पर्वको अवसरमा सडकमा सवारी साधनको उपस्थिति अन्य दिनको तुलनामा कम भए पनि सम्भावित दुर्घटना कम गर्न ट्राफिक प्रहरीले चेकपोइन्टहरू खडा गरी विशेष निगरानी गरिरहेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सिभिल प्रहरीसँगको समन्वयमा विभिन्न ठाउँमा जाँच गरिरहेको छ । विशेष गरी तीव्र गतिमा सवारी चलाउने, ओभरटेक गर्ने, हेल्मेट नलगाई चलाउने र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेहरूलाई रोकेर सम्झाइबुझाई गर्ने र कारबाही गर्ने प्रक्रियालाई तीव्र बनाइएको प्रवक्ता शाहले जानकारी दिए । ‘हामीले चालकहरूलाई बिस्तारै चलाउन, नियम पालना गर्न र सुरक्षित रहन आग्रह गरिरहेका छौं,’ उनले थपे ।  उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सामान्य राख्न र निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न ट्राफिक प्रहरी अहोरात्र खटिएको कार्यालयले जनाएको छ ।

४५ प्रतिशत उम्मेदवारले व्यक्तिगत बैंक खाताबाट निर्वाचन खर्च गर्दै, आयोगले कारवाही गर्ने

काठमाडौं । निर्वाचन प्रयोजनका लागि १ हजार ८६५ उम्मेदवारहरूले मात्र बैंक खाता खोलेका छन् । निर्वाचन आयोगकी सहायक प्रवक्ता सिता पुन श्रीसले कुल उम्मेदवारको आधा भन्दा बढीले खाता खोलेको जानकारी दिइन् ।  फागनु २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ३ हजार ४०६ जना उम्मेदवारले सहभागी जनाएका छन् । विभिन्न राजनीतिक दलका तथा स्वतन्त्र उम्मेदवारले निर्वाचनमा भाग लिएका छन् । जुन ५४ बढी प्रतिशत हो ।  एघार वटा विभिन्न राजनीतिक दल तथा उम्मेदवारले बैंक खाता खोलेको उनले जानकारी दिइन् । १ हजार ५४१ उम्मेदवारले भने खाता नखोलेको उनले जानकारी दिइन । बैंक खाता नखोलेका उम्मेदवारलाई आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले सम्झाउने श्रीसले बताइन् । बैंक खाता खोल्नका लागि आयोगले धेरै ताकेता गरेको उनको भनाइ छ । ‘कुल संख्याको आधाभन्दा धेरै उम्मेदवारले बैंक खाता खोलेका छन्,’ उनले भनिन्,’ पहिलोपटक भएकाले यतिका उम्मेदवार खाता खोल्नुलाई सकरात्मक मान्न सकिन्छ ।’ आयोगमा सुरुवाती चरणमा उम्मेदवारहरू बैंकमा खाता खोल्न झन्झट भएको भन्दै गुनासो गर्दै आएको उनले बताइन् ।  ‘बैंकमा खाता खोल्न जिल्ला निर्वाचन कार्यालयको सिफारिस लिनु पर्ने हुँदा उम्मेदवारले टाढा परेको भनेर गुनासो गरेका थिए,’ उनले सुनाइन्,’ निर्वाचनमा सहभागिता जनाउने उम्मेदवारले बैंक खाता खोल्न मानेनन् । निर्वाचन आयोगले उम्मेदवारको बैंकमा खाता खोल्न सहजीकरण गरिदिन राष्ट्र बैंकसँग अनुरोध पनि गरेका थियौं ।’ धेरै पार्टीका उम्मेदवार आफ्नो व्यक्तिगत खाताबाट निर्वाचन खर्च गरिरहेको पनि उनले जानकारी दिइन् । 

आयल निगम भन्छ- बजारमा ग्यास र पेट्रोल पर्याप्त छ, भण्डारण नगर्नू

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अनावश्यक स्टोर नगर्न आग्रह गरेको छ । निगमले पेट्रोलियम पदार्थको नियमित आयात भइरहेको हुँदा अनावश्यक स्टोर गरेर जोखिम नबढाउन आग्रह गरेको हो ।  ‘पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत नियमित रूपमा भइरहेको छ, आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ, यो समयमा भण्डार नगर्नूहोला, यसले अनावश्यक जोखिम निम्त्याउँछ,’ निगमले भनेको छ ।  निगमले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जर्किन, ड्रममा स्टोर गर्दा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्न पनि आग्रह गरेको छ । पेट्रोलियम पदार्थ स्टोर गर्न निषेधित रहेको पनि निगमको भनाइ छ । 

कांग्रेसमा खुले मिराज ढुङ्गाना, गगनलाई समर्थन गर्न पुगे सर्लाही*

काठमाडौं । जेनजी आन्दोलनमा चर्चामा आएका मिराज ढुङ्गानाले नेपाली कांग्रेसलाई समर्थन गरेका छन् ।  उनी कांग्रेस सभापति गगनकुमार थापालाई समर्थन गर्न  उनीसहितका युवाहरू सर्लाही ४ मा पुगिसकेका छन् ।  मिराज त्यस्ता जेनजी अगुवा हुन् जसले गत भदौ २३ गतेको जेनजी आन्दोलनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति पाएको थियो ।  माइतीघरबाट सुरु भएको उक्त जुलुस नयाँ बानेश्वर पुग्ने र सभामा परिणत गर्ने कार्यक्रम गर्ने तयारी थियो । उक्त आन्दोलनमा घुसपैठ हुनासाथ मिराजले सबै जेनजीहरूलाई आन्दोलन आफूहरूको नियन्त्रणबाट बाहिर गएकाले सबैलाई घर फर्कन आह्वान गरेका थिए । (*शीर्षक सच्याइएकाे)

काठमाडौंको सडक सुनसान

काठमाडौं । निर्वाचनको मौन अवधि शुरु हुनै लाग्दा काठमाडौंको सडक सुनसान देखिएको छ । मतदाताहरू आ–आफ्नै जिल्ला मतदान गर्ने प्रयोजनका लागि मतदान केन्द्रतर्फ जाने थालेपछि सोमबार होली पर्वका दिन पनि काठमाडौंको मुख्यमुख्य सडकमा केही ठाउँमा होलि खेल्दै गरेका केही समूहबाहेक सुनसान देखिएका हुन् ।  अब फागुन २१ गते अर्थात मतदानका लागि ३ दिन मात्रै बाँकि छ । राजनीतिक दल र त्यसका उम्मेदवारहरु आज बेलुका राति १२ बजेबाट मौन अवधि शुरु हुने भएपछि उनीहरुले यतिखेर आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित चुनावी प्रचार अभियानको विट मार्ने तयारीमा छन् ।  त्यसैगरी मतदाताहरु पनि मतदानका लागि आ-आफ्नो निर्वाचन क्षेत्रमा जाने कामलाई तीब्रता दिएका छन् । काठमाडौंको सडकमा यहाँका उम्मेदवार र उनीहरुको प्रचारका लागि हिँडेका केही गाडीहरुले उम्मेदवारको प्रचारका लागि माइकिङ गर्दै हिँडेको देखिन्छ ।  यस पटकको निर्वाचनमा राजनीतिक दलहरुले घरदैलो अभियानलाई अघि बढी जोड दिएका छन् । मतदातासँग प्रत्यक्ष भेटेर मत माग्ने कुरालाई उनीहरुले प्राथमिकता दिएकाले आमसभा लगायतका कार्यक्रमहरु पनि कम देखिएका छन् । निर्वाचन आयोगले पनि निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी हुलहुज्जत नगर्न पनि राजनीतिक दल र तिनको उम्मेदवारहरु सचेत गराउँदै आएको छ । निर्वाचन केन्द्रित अभियानका कारण यस वर्षको होलि पर्वमा पनि धेरै जमघट हुन नसकेको विश्लेषण गरिएको छ । 

कपिलवस्तुको तीनवटै क्षेत्रमा प्रहरीको मोटरसाइकल गस्ती सुरु

काठमाडौं । कपिलवस्तुमा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरेर प्रहरीले मोटरसाइकल गस्ती सुरु गरेको छ । सोमबार मध्यान्ह जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रहरी मोटरसाइकल गस्ती निस्केका हुन् । तीनवटा क्षेत्रमा प्रहरीले सुरक्षा दिन सुरु गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रिपेन्द्रकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार १४ मोटरसाइकलमा आवश्यक हातहतियारसहित २८ जना प्रहरी परिचालन छन् । उनका अनुसार १ नम्बर क्षेत्रमा प्रहरी नायब निरीक्षक किरण तामाङको कमाण्डमा १४ गस्ती गर्नेछन् । आवश्यक हातहतियार तथा असभावका सामग्रीसहित प्रहरीले सुरक्षा दिनेछ । क्षेत्र नम्बर २ मा प्रहरी हवल्दार अर्जुन रिजालको कमाण्डमा १४ वटा मोटरसाइकल २८ जना प्रहरी हातहतियारमा गस्तीमा निस्केका छन् । क्षेत्र नम्बर ३ मा भने प्रबनानि लील बहादुर कुँवरको कमाण्डमा १४ वटा मोटरसाइकलमा २८ जना प्रहरी गस्ती परिचालन रहेका छन् ।

सक्रिय जीवन बीमालेखको संख्या १४.५७ प्रतिशतले वृद्धि, सबैभन्दा धेरै हिस्सा लघु जीवन बीमाको

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को माघसम्ममा जीवन बीमा कम्पनीहरूमा सक्रिय बीमालेखको संख्या १ करोड ६२ लाख ५३ हजार वटा रहेका छन् । गत आवको यही अवधिमा सक्रिय जीवन बीमालेखको संख्या  १ करोड ४१ लाख ५३ हजार वटा थियो । चालु आवको ७ महिनासम्ममा सक्रिय जीवन बीमालेखको संख्या १४.५७ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो समय बीमा कम्पनीहरूले विगतको तुलनामा समयमै नवीकरण गर्ने प्रवृत्तिमा केही सुधार भएसँगै सक्रिय बीमालेखेको संख्या बढ्न थालेको बीमा कम्पनीहरू बताउँछन् । कम्पनीहरूका अनुसार बीमासम्बन्धी ज्ञान विस्तारै बीमितमा बढ्दै गएको छ । जसको कारण पनि समयमै बीमा नवीकरण गर्ने बीमितको संख्या बढ्दै गएको हो । जीवन बीमा कम्पनीहरूले विभिन्न प्रकारका बीमालेख जारी गर्दै आइरहेका छन् । माघ मसान्तसम्ममा सक्रिय जीवन बीमालेखहरूको संख्याको आधारमा सबैभन्दा बढी हिस्सा लघु जीवन बीमा बीमालेखको रहेको छ । लघु जीवन बीमालेखको हिस्सा ३५.१६ प्रतिशत रहेको छ । गत आवको तुलनामा लघु जीवन बीमालेखको संख्या ४१.४२ प्रतिशतले वृद्धि भएको छ । गत आवको माघसम्ममा लघु जीवन बीमालेखको संख्या ४० लाख ३१ हजार रहेकोमा चालु आवको सोही अवधिमा सो संख्या वृद्धि भएर ५७ लाख पुगेको छ । लघु जीवन बीमापछि दोस्रो धेरै हिस्सा म्यादी जीवन बीमाको रहेको छ । म्यादी जीवन बीमालेखको हिस्सा २१.१४ प्रतिशत रहेको छ । सात महिनाको अवधिमा कम्पनीले ३४ लाख २७ हजार ७६२ वटा बीमालेख रहेको छ । गत आवको सोही अवधिमा म्यादी जीवन बीमालेखको संख्या २४ लाख ४ हजार वटा थियो । गत आवको तुलनामा म्यादी जीवन बीमालेखको संख्या ४.३४ प्रतिशतले वृद्धि भएको देखिन्छ । वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको संख्या गत आवको तुलनामा २.४३ प्रतिशतले बढेको छ । बीमा प्राधिकरणको अनुसार गत आवमा वैदेशिक रोजगार म्यादी जीवन बीमालेखको संख्या २३ लाख ४६ हजार रहेकोमा चालु आवमा २४ लाख ४ हजार रहेको छ । सात महिनाको अवधिमा उक्त बीमालेखको हिस्सा १४.४७ प्रतिशत छ । सावधिक जीवन बीमालेखको संख्या २१ लाख ८९ हजार, बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेखको संख्या १० लाख ८९ हजार, रूपान्तारिक सावधिक जीवन बीमालेखको संख्या ६ लाख, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको संख्या ४ लाख ५७ हजार, आजीवन जीवन बीमालेखको संख्या १ लाख ७० हजार, अन्य जीवन बीमालेखको संख्या १ लाख २३ हजार र एकल बीमा शुल्क बीमालेखको संख्या १ लाख ११ हजार रहेको छ ।  गत आवको तुलनामा सावधिक जीवन बीमालेखको संख्या ६.६७, बालबच्चासम्बन्धी सावधिक जीवन बीमालेखको संख्या ७.२५, रूपान्तारिक सावधिक जीवन बीमालेखको संख्या १२.१४, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको संख्या २.९५ प्रतिशले वृद्धि भएको छ । त्यस्तै, आजीवन जीवन बीमालेखको संख्या ३.८८ र अन्य जीवन बीमालेखको संख्या ०.२२ प्रतिशतले घटेको छ ।