सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा, सबै मतदानस्थलमा खटाइए
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सोमबारदेखि सबै मतदानस्थलमा खटाइएको बताए । उनका अनुसार मतदानस्थलमा पुगेका मतदान अधिकृतको टोलीले सोमबार निर्वाचनसम्बन्धी सूचना टाँस गरेको छ । प्रदेशका ९ जिल्लाका प्रतिनिधिसभाका १६ वटा निर्वाचन क्षेत्रमा १७ लाख १६ हजार ६६० मतदाता रहेका भट्टले जानकारी दिए । उनका अनुसार प्रदेश भरि १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । कञ्चनपुरमा निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मी सम्बन्धित मतदान केन्द्रमा पुगेका छन् । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा खटिएका कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र, मतपेटिका, छाप, मतदाता नामावलीलगायत आवश्यक सामग्री बुझेर आ-आफ्नो मतदान केन्द्रमा पुगेका हुन् । मतदान केन्द्रमा पुगेपछि कर्मचारीहरूले केन्द्र व्यवस्थापन, मतदान कक्ष तयारी, मतदाता सहायता डेस्क स्थापना तथा सुरक्षा समन्वयको कार्य अघि बढाएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरिश चन्द्र जोशीका अनुसार सबै मतदान केन्द्रमा आवश्यक सामग्री सुरक्षित रूपमा पुर्याइएको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित बनाउन आवश्यक तयारी पूरा भएको छ । निर्वाचन लक्षित सुरक्षा योजना अनुरूप नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी मतदान केन्द्रमा खटिएका छन् भने संयुक्त तथा एकल गस्तीसमेत सञ्चालनमा ल्याइएको छ ।
६ वर्षसम्म कुनै पनि चुनावमा भाग लिन नपाउने, मौन अवधिमा के-के गर्न पाइँदैन ?
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सृजना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयरहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्त्वपूर्ण रहन्छ । निर्वाचन प्रचारप्रसार अभियानका क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति ‘फ्रेस’ भएर जानसक्ने अवस्था सृजना गर्न मौन अवधिको परिकल्पना गरिएको हो । आ-आफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचारप्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ । मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण हुनेछ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ । यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्ति सुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ । विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ । भयरहित वातावरणमा प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सु-सूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्नका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिलाई लिइन्छ । उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचरण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ । सो अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
चुनावमा इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण गर्दा दुर्घटना हुन सक्छ : आयल निगम
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आम सर्वसाधारणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिम समेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनाव भरि नियमित हुने जानकारी दिए । उनले भने, ‘पेट्रोलियम पदार्थको आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा पेट्रोलियम पदार्थको आयात जारी रहनेछ ।’ उनले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुन सक्ने सम्भावित आगजन्य दुर्घटनाको जोखिमलाई मध्यनजर गरी जेरी क्यान, ड्रममा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको पनि जानकारी गराए । सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गर्न पनि नियमले सम्पूर्ण उपभोक्ता वर्गमा अनुरोध गरेको छ ।
तराईमा आज होली मनाइँदै, यी जिल्लामा सार्वजनिक बिदा
काठमाडौं । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लास पूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लास पूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदैछ । मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेदभावलाई भस्म गरी परस्परमा रङ हाल्दै सबैलाई रङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ । सबैलाई एउटै रङमा रङ्ग्याउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको पण्डित त्रिलोचन भुर्तेलले बताए । ‘असत्यमाथि सत्यको, छलमाथि निश्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ,’ उनले भने, ‘धार्मिक महत्त्वसँगसँगै सामाजिक सद्भाव र उमङ्ग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।’ प्राचीन कालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलीका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको भुर्तेलले बताए । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङ्गमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु , मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ । पहाडी जिल्लामा होलीको सोमबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूृर्व) मा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउनका लागि विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । ‘अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहारलगायत गतिविधि गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेछौँ,’ उनले भने । अपरिचित मानिससँग होली नखेल्न, आत्मीय र आफन्तसँग मात्र हाली खेल्न, कसैको पनि इच्छा विपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ एवं लागूपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र कुनै आपराधिक घटना हुन लागेको थाहा पाएमा तुरुन्त प्रहरीको हटलाइन १०० नम्बरमा सम्पर्क गर्न उनले अनुरोध गरे ।
रामेछाप दुर्घटना अपडेट: एकजना असईको मृत्यु
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि सामग्री र कर्मचारी बोकेर जाँदै गरेको गाडी रामेछापमा दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षक (असई) को दुःखद निधन भएको छ भने ८ जना घाइते भएका छन् । रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी सिरुवारी डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा घाइते भएका ८ जनालाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजन तिमल्सिनाका अनुसार घाइते ८ मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने तीन जनाको अवस्था सामान्य छ । दुर्घटनाका बेला गाडीमा निर्वाचन अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी तथा मतपेटिका र आवश्यक कागजातसहित कुल ११ जना सवार थिए । दुर्घटना हुनासाथ तीन जनाले ज्यान जोगाउन गाडीबाट हाम फालेको प्रहरीले जनाएको छ ।
हिमालय एयरलाइन्सले कतार, यूएई र साउदी अरबको टिकट प्रमाणीकरण निःशुल्क गर्ने
काठमाडौं । हिमालयन एयरलाइन्सले कतार, यूएई र साउदी अरबतर्फ यात्रा गर्ने यात्रुहरूलाई ठूलो राहत दिएको छ । हवाई क्षेत्र अस्थायी रूपमा बन्द भएपछि प्रभावित भएका यात्रुहरूका लागि एयरलाइन्सले टिकट एक पटक निःशुल्क पुनःप्रमाणीकरण गर्ने विशेष सुविधा घोषणा गरेको हो । एयरलाइन्सका अनुसार कतार, यूएई र साउदी अरबतर्फका सबै उडानहरू हालका लागि रद्द भएका छन्। यसबाट प्रभावित यात्रुहरूले अतिरिक्त शुल्क नतिरी आफ्नो टिकट नयाँ मितिमा सार्न सक्नेछन् । कम्पनीले पुनःप्रमाणीकरण गरिएको मितिबाट ३५ दिनभित्र उडान गरिसक्नुपर्ने स्पष्ट पारेको छ । यो सुविधा एक पटक मात्र प्रयोग गर्न पाइनेछ । यात्रुहरूले टिकट प्रमाणीकरणको सुविधा लिन एयरलाइन्सको आधिकारिक कार्यालय वा सम्बन्धित ट्राभल एजेन्सीसँग सम्पर्क गर्न आग्रह गरिएको छ । हवाई उडानमा आएको अवरोधका बीच हिमालयन एयरलाइन्सको यो निर्णयले सयौं यात्रुहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
डा.शेखर कोइरालालाई समर्थन गर्दै मोरङमा ६ जनाले फिर्ता लिए उम्मेदवारी
काठमाडौं । मोरङ क्षेत्र नं. ६ का नेपाली कांग्रेसका उमेदवार डा. शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् । उनीहरूले प्रत्यक्षमा कांग्रेसका उमेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन् । नागरिक उन्मुक्ती पार्टीका उमेदवार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले छुट्टाछुट्टै विज्ञप्ती निकालेर डा. शेखर कोइरालालाई सघाउने निर्णय गरेका हुन् । यस्तै, नेपाल मजदुर किसान पार्टीका उमेदवार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेन्जी समुहका उमेदवार राम खत्रीले शेखर कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै निर्वाचन आयोगबाटै यसअघि आफ्नो उमेदवारी फिर्ता लिएका छन् । अहिलेको अवस्थामा लोकतन्त्र र देशका आफुहरुको भन्दा डा. शेखर कोइरालाको जित आवश्यक रहेको निस्कर्षमा पुगेर आफुहरुले उमेदवारी फिर्ता लिएको जनाएका छन् ।
एकपटक अवसर दिनूहोस परिणाम देखाइदिन्छु : जगदिश्वर नरसिंह केसी {अन्तर्वार्ता}
काठमाडौं । जगदिश्वर नरसिंह केसी आत्मविश्वासी देखिन्छन् । उनी चुनावी प्रतिस्पर्धालाई स्वस्थ लोकतान्त्रिक अभ्यास मान्दै आफ्ना एजेण्डालाई व्यवहारिक बनाउने दाबी गर्छन् । नुवाकोट–२ का मतदाताले अब कसलाई विश्वास गर्ने भन्ने निर्णय गर्नेछन् । तर केसीको प्रतिबद्धता रोजगार, पूर्वाधार, सुशासन र पारदर्शिता रहेको छ । पछिल्लो समय उनका एजेण्डा चुनावी बहसको केन्द्रमा आएको देखिन्छ। केसी भन्छन्, ‘लोकतन्त्रमा अन्तिम निर्णायक जनता हुन् ।’ मतदाताको विवेकपूर्ण निर्णयले नै आगामी पाँच वर्षको दिशा तय गर्ने उनको विश्वास छ । नुवाकोट क्षेत्र नं २ मा यतिबेला चुनावी सरगर्मी बढेको छ । विकास, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारका सवालमा मतदाताका अपेक्षा बढिरहेका छन् । यही सन्दर्भमा नेपाली कांग्रेसका उम्मेदवार जगदिश्वर नरसिंह केसीसँग गरिएको कुराकानीको सम्पादित अंश : तपाईं सांसद बनेर देश र निर्वाचन क्षेत्रका लागि के–के गर्ने सोंच्दै हुनुहुन्छ ? म सांसद बनेपछि पहिलो प्राथमिकता संसदलाई प्रभावकारी बनाउने हुनेछ । संसद कानुन बनाउने थलो मात्र होइन, सरकारलाई उत्तरदायी बनाउने सर्वोच्च मञ्च पनि हो । देशका लागि म सुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने कानुन निर्माणमा सक्रिय भूमिका खेल्नेछु । नेपाल अहिले आर्थिक चुनौती, वैदेशिक रोजगारी, युवाको बढ्दो पलायन, कृषि उत्पादनमा गिरावट, उद्योग–व्यवसायको सुस्तता जस्ता समस्याबाट गुज्रिइरहेको छ । यी समस्याको समाधानका लागि उत्पादनमुखी अर्थतन्त्र, आन्तरिक रोजगारी सिर्जना, लघु तथा साना उद्योग प्रवर्द्धन, पर्यटन विकास र ऊर्जा क्षेत्रको विस्तारमा जोड दिनुपर्छ । निर्वाचन क्षेत्र नुवाकोट–२ का लागि मेरो प्राथमिकता सडकको स्तरोन्नति, खानेपानी आयोजना, कृषिको आधुनिकीकरण, विद्यालय तथा स्वास्थ्य चौकी सुदृढीकरण र विपद् व्यवस्थापन हुनेछ । नुवाकोट भूकम्पबाट प्रभावित जिल्ला हो । पुनर्निर्माण र दिगो पूर्वाधार निर्माण अझै पूर्ण रूपमा सम्पन्न भएको छैन । त्यसलाई छिटो पूरा गराउन पहल गर्नेछु । मतदाताको घरदैलोमा पुग्दा उनीहरूको अपेक्षा के–के छन् त ? जनताको पहिलो अपेक्षा रोजगारी देखियो । युवाहरूले हामीसँग विदेश जान चाहँदैनौं, आफ्नै देशमा काम पाउन चाहन्छौं भनिरहेका छन् । दोस्रो अपेक्षा पूर्वाधार विकासको छ । ग्रामीण सडक कालोपत्रे, पुल निर्माण, सिंचाइ विस्तार, स्थायी खानेपानी प्रणाली यी कुरा बारम्बार यहाँका मतदाताले उठाइरहेको हामीले पायौं । तेस्रो अपेक्षा स्वास्थ्य र शिक्षाको गुणस्तर सुधारको छ । नजिकै सुविधा सम्पन्न अस्पताल नहुँदा बिरामीलाई काठमाडौं धाउनुपर्छ भन्ने गुनासो मतदाताले गरिरहनु भएको छ । म आफै स्थानीय भएकोले मतदाताका यी समस्यासँग वाकिफ छु । विद्यालयमा शिक्षक दरबन्दी, प्राविधिक शिक्षा र डिजिटल सुविधा विस्तारको माग पनि रहेको छ । मतदाताले स्थिर, इमानदार र पहुँचयुक्त प्रतिनिधि चाहेका छन् । उनीहरू सांसदलाई चुनावपछि पनि उपलब्ध हुने व्यक्ति बनाउन चाहन्छन् । उनीहरूको अपेक्षा सम्बोधन गर्ने तपाईंका एजेण्डा के–के छन् ? मेरो घोषणापत्र चार मुख्य आधारमा केन्द्रित छ– रोजगार र उत्पादन, कृषि क्लस्टर विकास, दुग्ध र तरकारी उत्पादनमा सहकारी सशक्तीकरण, युवालाई उद्यमशीलता तालिम । पूर्वाधार र पहुँचसँगै रणनीतिक सडक स्तरोन्नति, सबै वडामा गुणस्तरीय खानेपानी, विद्युत लाइन विस्तारलाई मैले मेरो योजनामा राखेको छु । मैले शिक्षा र स्वास्थ्य सुधारलाई मैले मेरो योजनाको अग्रिम पङ्क्तिमा राखेको छु । प्राविधिक शिक्षा कलेज स्थापना, प्राथमिक स्वास्थ्य केन्द्रलाई २४ घण्टा सेवालाई सक्षम बनाउने मेरो योजना रहेको छ । सुशासन र पारदर्शिता, बजेट खर्चमा पारदर्शिता, सामाजिक लेखा परीक्षणको अनिवार्यतालाई पनि मैले घोषणापत्रमा समेटेको छु । म विकासलाई नारामा होइन, योजनाबद्ध ढंगले अघि बढाउने पक्षमा छु । मतदातासँग के भनेर मत मागिरहनुभएको छ ? मैले मतदातासँग एउटै कुरा भनिरहेको छु– एकपटक अवसर दिनूहोस परिणाम म देखाइदिन्छु । मैले राजनीतिमा बिताएको अनुभव र प्रशासनिक ज्ञानलाई विकासमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छु । म भोट माग्दा कुनै असम्भव सपना देखाउँदिनँ । व्यवहारिक, मापन गर्न सकिने र समयसीमाभित्र पूरा गर्न सकिने योजनामात्र अघि सारेको छु । तपाईंले आफ्नो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुभएको छ ? लोकतान्त्रिक प्रतिस्पर्धामा सबै उम्मेदवार सम्मानयोग्य हुन्छन् । यस क्षेत्रमा वामपन्थी उम्मेदवार र अन्य दलका उम्मेदवार पनि सशक्त छन् । तर मेरो विश्वास छ, जनताको विश्वास र कांग्रेसको संगठनात्मक शक्ति नै मेरो सबैभन्दा ठूलो बल हो । अन्य प्रतिस्पर्धी र तपाईंबीच के फरक छ ? फरक दृष्टिकोण र कार्यशैलीमा छ । म समन्वयकारी नेतृत्वमा विश्वास गर्छु । विकासमा सबै दल, स्थानीय तह र नागरिक समाजलाई साथ लिएर अघि बढ्नुपर्छ भन्ने मेरो धारणा छ । म विगतमा विभिन्न सामाजिक र विकास कार्यक्रमसँग प्रत्यक्ष रूपमा जोडिएको छु । मेरो अनुभव व्यवहारमा रूपान्तरण गर्न सक्छु भन्ने आत्मविश्वास छ । चुनावमा तपाईंको खर्च कति हुन्छ ? त्यसका स्रोत के–के हुन् ? निर्वाचन आयोगले तोकेको सीमा भित्रै खर्च गर्नेछु । खर्च पारदर्शीरूपमा अभिलेख राखेर सार्वजनिक गर्नेछु । स्रोत मुख्यतः पार्टीको सहयोग, वैधानिक चन्दा र व्यक्तिगत योगदान हुनेछ । अवैध वा अपारदर्शी स्रोत स्वीकार गर्ने कुनै योजना छैन । भोट पनि माग्ने, चन्दा पनि माग्ने राजनीतिक संस्कारबारे तपाईंको अनुभव कस्तो छ ? यो संस्कार स्वस्थ लोकतन्त्रका लागि उपयुक्त हो । चन्दा स्वेच्छिक हुनुपर्छ, दबाबपूर्ण होइन । उम्मेदवारले पारदर्शी वित्तीय विवरण सार्वजनिक गर्नुपर्छ । निर्वाचन प्रणाली सुधार गरेर खर्च घटाउने उपाय पनि खोजिनुपर्छ । चुनावमा हार्नेहरूले पनि आर्थिक फाइदा लिन्छन् भन्ने तर्कबारे तपाईंको धारणा के छ ? यो आरोप सबैमा लागू हुँदैन । केही अपवादका कारण सबै राजनीतिज्ञ बदनाम हुनु दुर्भाग्यपूर्ण हो । निर्वाचनले धेरैलाई ऋणमा पार्छ । राजनीतिक सुधार र पारदर्शिता बढाउन कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन हुनुपर्छ । राजनीति व्यापार बनेको गुनासोबारे तपाईंको धारणा र सांसद बनेपछि तपाईंको जीवनशैली कस्तो हुनेछ ? राजनीति सेवा हो, व्यापार होइन । सांसद बनेपछि पनि मेरो जीवनशैली सादा र जिम्मेवार रहनेछ । जनताको पैसाबाट सुविधा लिने व्यक्ति जनताप्रति उत्तरदायी हुनुपर्छ । म जनतासँग नजिक, सरल र उपलब्ध प्रतिनिधि बन्नेछु । आगामी चुनावमा बहुमत ल्याएर सरकार बनाउने र देश बनाउने योजना के छ ? नेपाली कांग्रेसले स्थिर सरकार र आर्थिक पुनरुत्थानको एजेण्डा अघि सारेको छ । उत्पादन र रोजगारी केन्द्रित अर्थतन्त्र, सुशासन र भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यको गुणस्तरमा सुधार र संघीयताको प्रभावकारी कार्यान्वयन नेपाली कांग्रेसका योजना हुन् । देश बनाउने काम दीर्घकालीन हुन्छ । तर सही नीति, इमानदार नेतृत्व र जनताको साथ भए परिवर्तन सम्भव छ ।