खामेनेईको अवसान र तेहरानको हुँकार : मध्यपूर्वमा ‘महायुद्ध’को संकेत !
काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वले वासिङ्टनले इरानमा शासन परिवर्तनको लक्ष्य पछ्याइरहेको र त्यसको प्रतिकारमा तेहरानले कदम चालिरहेको सन्दर्भमा खाडी क्षेत्रदेखि युरोपसम्म अस्थिरता फैलिन सक्ने डर बढाएको छ । सम्भावित प्रभावको आंकलन गर्न विश्व नेताहरू हतारिँदै छलफलमा जुटेका छन् । सप्ताहन्तमा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि इस्लामिक गणतन्त्रका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको अवसान भएको बताइएको छ । त्यसपछि तेहरानले क्षेत्रभरि आक्रमणका लहरहरू सुरु गरेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भिडियो सन्देशमार्फत आक्रमणको उद्देश्य ‘इरानी शासनबाट उत्पन्न तत्कालीन खतरा हटाउनु’ रहेको स्पष्ट पारे । उनले इरानी शासनलाई ‘क्रूर र अत्यन्तै खतरनाक समूह’ भनेका थिए । भूराजनीतिक विश्लेषकहरूले शनिबारको आक्रमणलाई इरानी शासन कमजोर पार्ने दीर्घकालीन सैन्य अभियानको सुरुआत हुन सक्ने चेतावनी दिएका छन् । उनीहरूका अनुसार विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल उत्पादन क्षेत्रमाथि प्रभुत्व जमाउने उद्देश्य पनि यसमा जोडिएको हुन सक्छ । द एशिया ग्रुपका अध्यक्ष रेक्सन र्युले भने, ‘अमेरिका र इजरायलको आक्रमणको व्यापकता र इरानमा शासन परिवर्तनको स्पष्ट लक्ष्यले द्वन्द्व तीव्र र अनिश्चित रूपमा चर्किन सक्ने संकेत गर्छ ।’ उनका अनुसार इरानले अब उपलब्ध जुनसुकै विकल्प प्रयोग गरेर प्रतिकार गर्न सक्छ, जसले क्षेत्रीय मात्रै होइन, विश्वव्यापी तनाव पनि निम्त्याउन सक्छ । कर्नेल विश्वविद्यालयका सैन्य इतिहासका प्राध्यापक डेभिड सिल्बीका अनुसार अघिल्ला आक्रमणहरू इरानको आणविक कार्यक्रमलाई लक्षित थिए । उनले गत वर्ष जुनमा १२ दिन चलेको युद्धतर्फ संकेत गर्दै त्यसक्रममा तीन प्रमुख आणविक स्थलमा क्षति पुर्यााइएको बताए । तर यसपटकको आक्रमण धेरै व्यापक हुन सक्ने उनको भनाइ छ । ‘यसपटक कमाण्ड तथा नियन्त्रण संरचना, मुख्यालय, नेतृत्व तह, सेना र गोप्य सुरक्षा संयन्त्रलाई लक्षित गरिनेछ,’ उनले भने । अमेरिकाले स्थलीय अभियान सुरु नगरेको अवस्थामा उद्देश्य आन्तरिक विद्रोह वा दरबारभित्रको ‘कू’ मार्फत शासन ढाल्नु हुन सक्ने उनले टिप्पणी गरे । सिल्बीले इरानले प्रतिकारस्वरूप इजरायल र फारस खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा जहाजहरूमा क्षेप्यास्त्र आक्रमण गर्न सक्ने चेतावनी दिए । साथै मध्यपूर्व, युरोप र अमेरिकामा समेत सम्भावित आतंकवादी गतिविधि हुन सक्ने उनको आकलन छ । ‘यदि शासनले आफूलाई अस्तित्वगत खतरा महसुस गर्यो भने उसले अझ कडा प्रतिक्रिया दिन सक्छ,’ उनले भने । नयाँ द्वन्द्व खाडी क्षेत्रका अन्य देशहरूमा समेत फैलिएको छ । इरानी क्षेप्यास्त्रहरूले इजरायलसँगै संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, साउदी अरब, कुवेत र जोर्डनलाई लक्षित गरेको जनाइएको छ, जहाँ अमेरिकी सैन्य सम्पत्ति रहेको हवाई अड्डाहरू छन् । द एशिया ग्रुपकी आयशा चौध्रीका अनुसार इरानले खाडी मुलुकहरूसँग विगत वर्षहरूमा बनाएको सम्बन्ध अब समाप्त हुन सक्ने संकेत देखिएको छ । रूस र चीनको भूमिकाबारे विश्लेषकहरू भन्छन्—दुवैले अमेरिकाको कदमको आलोचना गरे पनि प्रत्यक्ष र ठोस सहयोग दिन सक्ने अवस्थामा छैनन् । पश्चिमी प्रतिबन्धबीच चीन इरानका लागि महत्त्वपूर्ण आर्थिक सहारा रहँदै आएको छ । सन् २०२५ मा चीनले इरानबाट निर्यात भएको ८० प्रतिशतभन्दा बढी तेल खरिद गरेको थियो । उता इरानले युक्रेन युद्धमा रुसलाई ड्रोन र क्षेप्यास्त्र आपूर्ति गर्दै आएको छ । तर युक्रेनमा लामो समयदेखि जारी युद्धका कारण रुसको बाह्य शक्ति प्रक्षेपण क्षमता कमजोर भएको विश्लेषण गरिएको छ । पश्चिमी प्रतिबन्धका कारण दबाबमा रहेको मस्कोको मध्यपूर्वमा प्रभाव झन् घट्न सक्ने बताइएको छ। आक्रमणअघि खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाउँदै जाँदा बेइजिङले भने इरानको खुला समर्थन नगरी कूटनीतिक संवाद र क्षेत्रीय सुरक्षामा जोड दिएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शनिबार राति अमेरिका र इजरायललाई ‘सैन्य कारबाही तुरुन्त रोक्न’ र संवाद पुनःस्थापित गर्न आग्रह गरे । उनले ‘इरानको सार्वभौमिकता, सुरक्षा र भौगोलिक अखण्डताको सम्मान’ गर्न आह्वान गरे । विश्लेषकहरूका अनुसार यो द्वन्द्वले अमेरिका–चीन कूटनीतिक सम्बन्ध र यस महिनाको अन्त्यमा ट्रम्पको बेइजिङ भ्रमण योजनामाथि असर पार्न सक्छ । फेब्रुअरी ४ मा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको फोन वार्तामा इरान, ताइवान र व्यापारका विषय उठाइएको थियो । लन्डनस्थित च्याथम हाउसका फेलो अहमद अबौदूहका अनुसार बेइजिङले इरानबारे नरम अभिव्यक्तिको बदलामा ताइवान र व्यापारजस्ता आफ्ना प्राथमिक मुद्दामा सहुलियत खोज्न सक्छ । उनका अनुसार विडम्बनापूर्ण रूपमा कमजोर इरान चीनका लागि अनुकूल हुन सक्छ, किनकि इरानी शासन जति कमजोर हुन्छ, उसले कूटनीतिक, आर्थिक र प्राविधिक रूपमा चीनमाथि त्यति नै निर्भर हुनुपर्ने अवस्था आउँछ । दीर्घकालीन रूपमा चीनले क्षेत्रमा प्रभाव जमाउन दबाब महसुस गर्न सक्ने भए पनि तेल आपूर्ति असुरक्षाले तत्काल उसले विकल्प सीमित पार्न सक्छ । यसबीच सैन्य कारबाहीले इरानको आणविक कार्यक्रमबारे वार्ताको सम्भावना कम्तीमा हालका लागि ध्वस्त पारेको देखिन्छ । अमेरिका र इरानबीच आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम र प्रतिबन्ध हटाउने विषयमा तीन चरणका अप्रत्यक्ष वार्ता भएका थिए । विश्लेषक म्याट गर्केनका अनुसार इरानी शासन ‘अत्यन्तै कमजोर अवस्था’को क्षणमा पुगेपछि वासिङ्टन र जेरुसेलमले तेहरानबाट पूर्ण परमाणु निरस्त्रीकरणको ग्यारेन्टी नपाएको ठहर गर्दै क्षेत्रीय शक्ति सन्तुलन पुनःआकार दिन मौका नगुमाउने निर्णय गरेका हुन सक्छन् । (सीएनबीसीबाट अनुदित तथा सम्पादित) इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली इरानमाथिको आक्रमणले तेलको मूल्य प्रतिव्यारेल १०० डलर नाघ्ने संकेत, एसियाली अर्थतन्त्रमाथि दबाब
जनता अब बाठो भइसके, भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन् : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनता अब सचेत भइसकेको र कसैको भ्रममा नपर्ने दाबी गरेका छन् । झापा क्षेत्र नम्बर ५ को चुनावी घरदैलोका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले देश बचाउने र देश जलाउने शक्तिहरूलाई चिनिसकेको बताएका हुन् । उनले विकास गर्ने र विनाश गर्ने शक्तिबीचको फरक जनताले बुझिसकेको उल्लेख गरे । देश बचाउने र विकास गर्ने शक्तिलाई अत्याधिक मतले जिताउन आग्रह गरे । ओलीले दमक र आसपासका क्षेत्रमा भएको विकासको स्मरण गराउँदै विकासको यो गतिलाई निरन्तरता दिन सूर्य चिन्हमा मतदान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले कस्तो चलेको छ भने एउटा आकाशे हल्ला छ । एक दुई जना जनता अलिकति अल्मलिन्छ, अलिकति भ्रममा पर्छ । कोही कोही भ्रममा पर्छ तर आम जनता भ्रममा पर्दैन । जनता अब बाठो भइसक्या छ । देखिसक्या छ । बुझिसक्या छ । जनतालाई कसैले छक्काउन खोज्यो भने जनता छक्किने वाला छैन । त्यत्तिको बुझ्ने भइसक्या छ ।’ अध्यक्ष ओलीले जनताले अब कसले विकास गर्छ र कसले आगो लगाउँछ भन्नेकुराको फैसला गर्ने बेला आएको बताए ।
मेरियट होटलको आम्दानी १.६२ अर्ब, बैंकमा ऋण १.४३ अर्ब रुपैयाँ
काठमाडौं । काठमाडौंको नक्सालस्थित ‘मेरियट’ ब्रान्डअन्तर्गत सञ्चालनमा रहेको एभरेष्ट हस्पिटालिटी एण्ड होटल्स लिमिटेडले सन् २०२५ मा १ अर्ब ६२ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ९.६४ प्रतिशत अर्थात् करिब १७ करोड ३० लाख रुपैयाँले कम हो र सन् २०२४ मा कम्पनीले १ अर्ब ७९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार बढ्दो प्रतिस्पर्धाका कारण औसत कोठा दर (एआरआर) र कोठा उपयोग दरमा आएको गिरावटले आम्दानी प्रभावित भएको हो । कोठा दर सन् २०२४ को १९ हजार ६९९ रुपैयाँबाट घटेर सन् २०२५ मा १८ हजार १५३ रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कोठा उपयोग दर करिब ६७ प्रतिशतबाट घटेर करिब ६१ प्रतिशतमा झरेको कम्पनीले जनाएको छ । यसअघि कम्पनीले कम्पनीले सन् २०२३ मा १ अर्ब ७० करोड १० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब २ करोड ४० लाख रुपैयाँ, सन् २०२१ मा २९ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा ८३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थानसँगै पछिल्ला वर्षहरूमा आम्दानी र नाफामा सुधार देखिए पनि सन् २०२५ मा प्रतिस्पर्धात्मक दबाबले केही असर पारेको कम्पनीले जनाएको छ । कम्पनी वि.सं २०७० फागुन १६ गते प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको थियो भने वि.सं २०७९ असार १५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो । १.३५ एकड क्षेत्रफलमा फैलिएको यस होटलमा कुल २१४ कोठा रहेका छन् । होटल २०७६ वैशाखदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो र अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्ड मेरियट इन्टरनेशनलअन्तर्गत ‘मेरियट’ नामबाट सञ्चालन भइरहेको छ । एभरेष्ट हस्पिटालिटी एण्ड होटल्स एमएस ग्रुप अफ कम्पनीजअन्तर्गत सञ्चालित हो । एमएस ग्रुप इस्पात, चिनी, रसायन, कागज, कपडा, घरजग्गा, आतिथ्य, बैंकिङ तथा बीमा लगायत विविध क्षेत्रमा सक्रिय छ । कम्पनीका अध्यक्ष सुमित कुमार अग्रवाल हुन् । उनी भगवती स्टिल इन्डस्ट्रिजका अध्यक्षसमेत रहेका छन् र ‘फेयरफिल्ड बाइ मेरियट’ ब्रान्डअन्तर्गत सञ्चालित नेपाल हस्पिटालिटी एण्ड होटल प्रालिका सञ्चालक पनि हुन् । कम्पनीका प्रबन्ध निर्देशक गौरव अग्रवालले समूहअन्तर्गतका होटलहरूको प्रत्यक्ष व्यवस्थापन सम्हाल्दै आएका छन्। कम्पनीले ‘मेरियट’ ब्रान्ड सञ्चालनका लागि मेरियट इन्टरनेशनलसँग होटल व्यवस्थापन सम्झौता गरेको छ । अमेरिकामा आधारित यस कम्पनीका ३० ब्रान्डअन्तर्गत १४४ देशमा ९ हजार ३०० भन्दा ठाउँमा होटलहरु सञ्चालनमा छन् । सम्झौताअनुसार मेरियटले प्राविधिक सहयोग, तालिम, आरक्षण प्रणाली र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन सेवा उपलब्ध गराउँदै आएको छ, जसबाट विश्वव्यापी ग्राहक सञ्जाल र ब्रान्ड पहिचानको लाभ मिलेको कम्पनीको भनाइ छ । सन् २०२५ को अन्त्यसम्म कम्पनीसँग २८ करोड ७० लाख रुपैयाँ नगद सञ्चिति रहेको छ, जुन अघिल्लो वर्ष ३९ करोड ९० लाख रुपैयाँ थियो । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट दीर्घकालीन १ अर्ब ३३ करोड ४४ लाख रुपैयाँ र अल्पकालीन १० करोड रुपैयाँ गरी कुल १ अर्ब ४३ करोड ४४ लाख रुपैयाँ ऋण लिएको छ । यसअघि कम्पनीले १ अर्ब ७४ करोड ३३ लाख रुपैयाँ बैंकबाट ऋण लिएको थियो ।
फोनपेको ‘सक्षम नारी’ अभियान सुरु, महिलामा वित्तीय आत्मविश्वास बढाउने लक्ष्य
काठमाडौं । फोनपेले वार्षिक अभियान ‘सक्षम नारी’ को तेस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक गरेको छ । डिजिटल वित्तीय समावेशीकरणमार्फत महिलामा वित्तीय आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको राष्ट्रव्यापी अभियान मार्च १ देखि मार्च ३१, २०२६ सम्म सञ्चालन हुनेछ । फोनपेले महिलालाई केवल वित्तीय सेवामा पहुँच दिलाउने मात्र नभई ती सेवा आत्मविश्वासका साथ प्रयोग गर्न प्रेरित गर्ने लक्ष्य अभियानले लिएको जनाएको छ । नेपालमा महिलाको वित्तीय पहुँच बढ्दै गए पनि वास्तविक सशक्तीकरणका लागि विश्वास, समझदारी र प्रयोग महत्वपूर्ण रहेको फोनपेको अनुभव छ । ‘सक्षम नारी’ अभियानले यही अन्तरलाई सम्बोधन गर्दै क्रेडिटप्रति रहेको परम्परागत धारणा परिवर्तन गर्न र जिम्मेवार वित्तीय निर्णयलाई प्रोत्साहन गर्न केन्द्रित रहेको कम्पनीले जनाएको छ । यस वर्षको अभियानले ‘क्रेडिट डराउने विषय हो’ भन्ने सोचलाई चुनौती दिँदै क्रेडिट कार्डलाई वृद्धि, लगानी तथा दैनिक जीवन सहज बनाउने वित्तीय साधनका रूपमा प्रस्तुत गरेको छ। अभियानको केन्द्रमा पूर्ण रूपमा भर्चुअल फोनपे क्रेडिट कार्ड रहेको छ, जुन सहभागी बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सक्रिय गर्न सकिनेछ । भौतिक कार्डबिना नै सुरक्षित रूपमा कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले साँचो वित्तीय समावेशीकरण भनेको सेवा उपलब्ध गराउनु मात्र नभई त्यसको प्रयोगमार्फत जीवन सुधार्न सक्ने आत्मविश्वास विकास गर्नु रहेको बताए । उनका अनुसार ‘सक्षम नारी’ अभियानले महिलालाई हिच्किचाहटबाट आत्मविश्वासतर्फ अघि बढ्न सहयोग गर्नेछ । अभियान सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडसँगको सहकार्यमा सञ्चालन भइरहेको छ । सहभागी बैंकका योग्य महिला ग्राहकले फोनपे क्रेडिट कार्ड सक्रिय गरी अभियान अवधिभित्र न्यूनतम तीन वटा कारोबार पूरा गरेर सहभागिता जनाउन सक्नेछन् । यो पहल नयाँ तथा विद्यमान दुवै प्रयोगकर्ताका लागि खुला रहेको छ भने पहिलोपटक प्रयोग सुरु गर्नेहरूलाई विशेष प्रोत्साहनको व्यवस्था गरिएको छ । अभियानअन्तर्गत फोनपेले साजुना ज्वेलर्ससँग सहकार्य गर्दै आकर्षक उपहार घोषणा गरेको छ । प्रत्येक सहभागी बैंकबाट पाँच जना विजेताले डायमण्ड गहना सेट प्राप्त गर्नेछन्, जुन पुरस्कार अभियान अवधिमा पहिलोपटक फोनपे क्रेडिट कार्ड सक्रिय गर्ने नयाँ प्रयोगकर्ताका लागि मात्र हुनेछ। साथै, प्रत्येक बैंकबाट ५० जना विजेताले ५ हजार रुपैयाँ बराबरको छुट भौचर प्राप्त गर्नेछन् । फोनपेले ‘सक्षम नारी २०२६’ अभियानमार्फत वित्तीय पहुँचसँगै वित्तीय आत्मविश्वास निर्माण गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको जनाएको छ। अभियानले देशभरका महिलालाई आत्मनिर्भर वित्तीय निर्णयमार्फत आफ्नो आर्थिक भविष्य निर्माण गर्न प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
यस्तो छ सोमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ९० पैसा र बिक्रीदर १९६ रुपैयाँ ७१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १८ पैसा र बिक्रीदर २१ रुपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९७ पैसा र बिक्रीदर २३ रुपैयाँ ०६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ४८ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ८८ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ३८ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोलाई आईपीओ जारी गर्न अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले आइतबार दुवै कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो । सोपान फर्मास्युटिकल्सले ४२ करोड ९० लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त रहेको छ । त्यसैगरी, याम्बलिङ हाइड्रोपावरले २८ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २८ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । याम्बलिङ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
नेपाल वायुसेवाद्वारा दुबई र दोहाका हवाई उडान पूर्ण रुपमा रद्द
काठमाडौं । नेपाल वायुसेवा निगमले दुबई र दोहा विमानस्थलमा तय गरिएका आइतबार र आज सोमबारका आफ्ना उडानहरू पूर्ण रुपमा रद्द गरेको छ । मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थितिपछि निगमका दुबई र दोहा विमानस्थलमा फागुन १७ र १८ गतेका लागि तय गरिएका सबै उडान पूर्ण रुपमा रद्द गरिएको नेपाल वायुसेवा निगमका कनिष्ठ सहायक अङ्कित ढुङ्गानाले जानकारी दिए । उनले भने, ‘मध्यपूर्व क्षेत्रमा भएको असहज परिस्थिति तथा हवाई क्षेत्र बन्दका कारण नेपाल वायुसेवा निगम (आरए २२९÷२३०) का दुबई र दोहाका सबै उडान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्ण रुपमा रद्द गरिएको हो ।’ यसैगरी, नेपाल वायुसेवा निगमका मध्यपूर्व दुबई, दोहा र दमाममा हुने आगामी दिनका उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको सूचनाअनुसार वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल प्रस्थान गर्न निगमले अनुरोध गरेको छ । थप जानकारीको लागि नेपाल वायुसेवा निगमको आधिकारिक ‘वेबसाइट तथा निगमको आधिकारिक सामाजिक सञ्जाल नियमित रुपमा अवलोकन गर्न तथा अत्यावश्यक सोधपुछका लागि ९८५१२७३४५९÷९८५१४२२१५६ मा सम्पर्क गर्न निगमका जुनियर सहायक ढुङ्गानाले बताए ।
खामेनीको हत्यापछि इरानमा सङ्क्रमणकालीन योजना सार्वजनिक, अन्तरिम नेतृत्वमा तीन नेता
काठमाडौं । इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहितका केही अधिकारी र दर्जनौं उच्च सैन्य अधिकारीको संयुक्त आक्रमणमा मृत्यु भएपछि तेहरानले सङ्क्रमणकालीन योजनाको घोषणा गरेको छ । सरकारले राष्ट्रपति, न्यायपालिकाका प्रमुख र ‘गार्जियन काउन्सिल’ का एक न्यायविद्सहित अन्तरिम नेतृत्व परिषदको गठन गरेको छ । यो अन्तरिम परिषदले इरानी कानुनको निरीक्षण र चुनावी उम्मेदवारहरूको जाँच गर्दछ । इरानका उच्च सुरक्षा प्रमुख अली लारीजानीले पनि केन्द्रीय भूमिका निर्वाह गरिरहेका छन् । इरानी संस्थापन नेता तथा राष्ट्रपति रहेका ७१ वर्षीय मसुद पेजेश्कियान नयाँ सर्वोच्च नेता निर्वाचित नभएसम्म देशको नेतृत्व गर्ने अन्तरिम परिषदका तीन सदस्यमध्ये एकको भूमिकामा रहने छन् । मुटु सर्जनबाट सुधारवादी राजनीतिज्ञ बनेका उनले सन् २०२४ जूनमा आफ्नो पूर्ववर्तीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि पदभार ग्रहण गरेका थिए । पेजेस्कियनको जन्म सन् १९५४ मा टर्की मूलका इरानी पिता र कुर्द आमाबाट पश्चिम अजरबैजानको उत्तर पश्चिमी प्रान्त महाबाद शहरमा भएको थियो । आफ्नो शान्त व्यवहारका लागि चिनिने प्राविधिज्ञ पेजेस्कियनले अशान्त समयमा सरकारको नेतृत्व गरेका छन्, उनको कार्यकालसँगै गत वर्ष इजरायलसँग १२ दिने युद्ध र जनवरीमा बढ्दो जीवन लागतको बारेमा ठूलो विरोध प्रदर्शन भएको छ । आइतबार उनले खामेनीको हत्यालाई ‘मुस्लिम विरुद्धको युद्धको घोषणा’ को संज्ञा दिँदै इरानको प्रतिक्रिया ‘वैधानिक कर्तव्य र अधिकार’ का लागि हुने बताए । अर्का नेता ६८ वर्षीय शिया धर्मगुरु घोलमहुसेन मोहसेनी इजेईलाई पनि नेतृत्व परिषदको सदस्य बनाइएको छ। उनको जन्म मध्य इरानको इस्फाहान प्रान्तको एजेह गाउँमा भएको थियो । इस्लामिक गणतन्त्रको न्यायपालिका र सुरक्षा संयन्त्रमा लामो समयदेखि अनुभव रहेका यी व्यक्तित्वलाई खामेनीले सन् २०२१ मा न्यायपालिकाको प्रमुख नियुक्त गरेका थिए । न्यायपालिकाको वेबसाइटका अनुसार इजेईले शिया धर्मको पवित्र शहर कोमबाट इस्लामिक अध्ययन पूरा र अन्तर्राष्ट्रिय कानुनमा स्नातकोत्तर गरेका छन् । उनले होजातोलेस्लामको लिपिकीय पद पनि पाएका छन् । यो पद अयातोल्लाहभन्दा एक पद तल मानिन्छ । सन् २००९ मा तत्कालीन राष्ट्रपति महमुद अहमदिनेजादले गुप्तचर मन्त्रीको रूपमा काम गरिरहेका बेला भएको प्रदर्शनमा भएको दमनको कारण उनलाई ‘गम्भीर मानवअधिकार उल्लङ्घन’ गरेको आरोपमा अमेरिकी प्रतिबन्धमा राखिएको थियो । खामेनीको हत्यापछि उनले भने, ‘अमेरिकाको दुष्ट शासन र अपमानित र निन्दक सियोनलाई थाहा हुनुपर्छ कि महान राष्ट्र इरानले आफ्नो वीर नेताको हत्यारालाई कहिल्यै माफ गर्नेछैन ।’ अन्तरिम नेतृत्व परिषदमा रहेका तेस्रो अधिकारी ६५ वर्षीय धर्मगुरु अलिरेजा अराफी इरानको शिया मदमिनहरूको व्यवस्थापन केन्द्रका प्रमुख हुन् । उनी ‘एसेम्ब्ली अफ एक्सपर्ट’हरूको दोस्रो उपाध्यक्षको रूपमा काम गर्छन् र यो सर्वोच्च नेताको नियुक्ति र निरीक्षण गर्ने निकाय हो । उनी गार्जियन काउन्सिलका सदस्य पनि हुन् । अराफी सन् १९७१ मा इस्लामिक विज्ञानको अध्ययन गर्न पवित्र शहर कोममा सरेका थिए । उनको आधिकारिक वेबसाइटका अनुसार शाह मोहम्मद रेजा पहलवीको विरोध गरेको आरोपमा १६ वर्षको उमेरमा जेल सजाय सुनाइएको थियो । तीन काउन्सिल सदस्यहरू मध्ये सबैभन्दा कान्छो र कम चिनिने उहाँले सामान्यतया शान्त तथा सावधानीपूर्वक आफ्ना धारणालाई नागरिक र विश्व समुदायबीच पुर्याउने गरेका छन् । तथापि, आइतबार उनले एक विद्रोही टिप्पणी राख्दै भने, ‘राष्ट्र क्रान्तिको बाटोमा अघि बढ्नेछ । मानिसहरूको, प्रिय युवाहरू र प्रिय विद्यार्थीहरूको रगतको बदला लिनेछु ।’ वर्तमान सरकारको नेतृत्वमा रहेका ६८ वर्षीय अली लारीजानी हाल इरानको सर्वोच्च सुरक्षा निकाय, सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुख हुन् । इस्लामिक गणतन्त्रको सेना, मिडिया र विधायिकामा लामो सेवापछि उहाँले खामेनीको विश्वास प्राप्त गरेको विश्वास गरिन्छ । उनको जन्म सन् १९५७ मा इराकको नजाफमा एक प्रमुख शिया धर्म गुरुको घरमा भएको थियो जो इस्लामिक गणतन्त्रका संस्थापक अयातोल्लाह रुहोल्लाह दिवंगत खोमेनीका निकट मानिन्छन् । उनको परिवार दशकौँदेखि इरानको राजनीतिक प्रणालीमा प्रभावशाली रहँदै आएको छ । आइतबार लारीजानीले खामेनीपछि इरानको सङ्क्रमणकालीन योजनाको रूपरेखा प्रस्तुत गरेका थिए । र, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तै भाषा प्रयोग गर्दै इजरायल र अमेरिकामाथि ‘उनीहरूले पहिले कहिल्यै अनुभव नगरेको शक्ति’ ले आक्रमण गर्ने वाचा गरेका थिए ।