बारा–३ र ४ मा रास्वपा विजयी
बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित भएका हुन् । बारा–३ मा साहले ४० हजार ६७७ र बारा–४ मा अन्सारीले ४१ हजार २०० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बारा–४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरे भने बारा–३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १२३ मत प्राप्त गरेका छन् ।
नुवाकोट–२ मा रास्वपाका अच्युत लामिछाने विजयी
काठमाडौं। नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अच्युत लामिछाने निर्वाचित भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ३२ हजार ५४ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगदीशनरसिंह केसीले १५ हजार ५०५ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरे । त्यस्तै, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत ल्याएर तेस्रो स्थानमा रहे भने नेपाली कम्युनिस्ट पार्टीका हिरानाथ खतिवडाले ६ हजार ७२० मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन् ।
झापा ५ मा बालेनको जित सुनिश्चित
काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहको विजय सुनिश्चित भएको छ । बालेनले ४७ हजार ७७९ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १२ हजार ६९९ मत प्राप्त गरे। ओलीभन्दा बालेन ३५ हजार ८० मतले अगाडि छन् । हालसम्म ७५ हजार ३७७ मत गणना भइसकेको छ । उक्त क्षेत्रमा कुल १ लख ६ हजार ३७२ मत खसेको थियो । अब भने सो क्षेत्रमा ३० हजार ९९५ मत गणना गर्न बाँकी रहेको छ ।
मेयरमा पराजित भएका गनेस पौडेलकाे संसदीय यात्रा सुरु
काठमाडौं । कास्की– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उम्मेदवार गडकराज पौडेल (गनेस पौडेल) निर्वाचित भएका छन्। जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार पौडेलले ३९ हजार ८८३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तीलक रानाभाटले ११ हजार २१४ मत पाएर दोस्रो भएका छन् । नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ मत पाएका छन् । यस क्षेत्रबाट नेकपा उम्मेदवार राजकाजी गुरुङ ‘करण’ले २ हजार ४७९ मत र राप्रपाका बाबुराम थापाले ९७८ मत पाएका छन्। पौडेल २०७९ मा भएको स्थानीय तह निर्वाचनमा पोखरा महानगरको मेयर पदमा पराजित भएका थिए । उनी साहित्यकार पनि हुन् । उनले ‘पैतला’ नामक उपन्यास लेखेका छन् भने एक उपन्यासको अनुवादसमेत गरेका छन् ।
निर्वाचन : ३४ स्थानमा रास्वपा विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार प्रत्यक्षतर्फ ३४ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार मुलुकका १६५ निर्वाचन क्षेत्रमध्ये हाल गणना भइरहेको १६१ निर्वाचन क्षेत्रमा मध्यान्ह १२ बजेसम्म ८५ स्थानमा रास्वपा नै अगाडि छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार पाँच स्थानमा विजयी भएका छन् भने कांग्रेसले ११ स्थानमा अग्रसरता लिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दुई स्थानमा विजयी हुँदा आठ स्थानमा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एक स्थानमा विजयी आठ स्थानमा अगाडि छ । श्रम संस्कृति पार्टी चार स्थानमा अगाडि छ भने एक स्थानमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन् । समानुपातिकको पनि गणना जारी समानुपातिकतर्फ हालसम्म गणना भएको एक लाख १२ हजार १२४ मतमध्ये रास्वपाले ६१ हजार ८६७, कांग्रेसले १९ हजार ३५८, एमालेले ११ हजार ४५७, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार ६५५ मत प्राप्त गरेका छन् । साथै नेपाली कम्युनिष्ट पार्टीले चार हजार ३२३, राष्ट्रिय परिवर्तन पार्टीले दुई हजार ५४०, श्रम संस्कृति पार्टीले दुई हजार २२७, नेपाल मजदूर किसान पार्टीले ८६९ मत प्राप्त गरेका छन् ।
सर्लाही ४ मा अमेरशले १६ हजार २२७ पाउँदा गगनले कति मत पाए ?
काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेश सिंहले १६ हजार २२७ मत पाएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका गगन थापा साढे ६ हजार मतान्तरले पछि परेका छन् । कांग्रेसका थापाले ९ हजार ६७४ मत पाएका छन् । यसैगरी, नेकपा एमालेका अमनिश कुमार यादवले ३ हजार २६१ मत पाएर तेस्रो स्थानमा छन् भने एक हजार २२ मतसहित जनमत पार्टीका राकेश मिश्र चौथोमा छन् । नेकपाका रजनिस रायले ७०३ मत ल्याएका छन् ।
सुनसरी–१ मा हर्क साम्पाङको अग्रता, रास्वपाकी गोमा तामाङ दोस्रो स्थानमा
काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले अग्रता बढाउँदै लगेका छन् । निर्वाचन आयोगको हालसम्मको अपडेटअनुसार साम्पाङले ७,८१३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले ५,८७१ मत पाएकी छन् । सुरुवाती मतगणनामा तामाङ अघि रहे पनि पछिल्लो परिणामअनुसार साम्पाङ १,९४२ मतले अग्रस्थानमा पुगेका हुन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई १,४७३ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा एमालेका टीकाराम लिम्बू १,२१४ मतसहित चौथो स्थानमा छन् । नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १,०९३ मत प्राप्त गर्दै पाँचौँ स्थानमा रहेका छन् ।
झापा ५ मा ७५ हजार ३७७ मत गणना हुँदा बालेन र केपीले कति पाए मत ?
काठमाडौं । झापा ५ मा ७५ हजार ३७७ मत गणना भएको छ । रास्वपाका उम्मेदवार बालेन्द्र शाहले ४७ हजार ७७९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १२ हजार ६९९ मत पाएका छन् । नेपाली कांग्रसेकी मंधरा चिमाेरियाले भने १ हजार ३१८ मत पाएकी छन् । त्यसैगरी, श्रम संस्कृतिका उम्मेदवार समीर तामाङले ७ हजार ५३५ मत पाएका छन् ।