११औँबाट छैटौँ स्थानमा उक्लियो त्रिशक्ति सेक्युरिटिज, आम्दानीमा २४१ प्रतिशत छलाङ
काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ४८) ले गत आर्थिक वर्ष २०८१/८२ मा २३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा २४१.१७ प्रतिशत अर्थात् १६ करोड ४० लाख रुपैयाँ बढी हो । अघिल्लो वर्ष कम्पनीले ६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। कम्पनीका अनुसार पछिल्लो समय बजारमा उपस्थिति विस्तार हुनु, सरकार तथा नेपाल राष्ट्र बैंकका नीतिगत सहयोगबाट पुँजी बजारको वातावरण अनुकूल बन्दै जानु, साथै सूचीकृत कम्पनी र कारोबारयोग्य धितोपत्रको दायरा विस्तार हुनुले आम्दानीमा उल्लेख्य सुधार आएको हो । यो सुधार चालु आर्थिक वर्ष २०८२/८३ मा पनि निरन्तर रहेको कम्पनीले जनाएको छ। चालु आवको ९ महिनामा कम्पनीले १९ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीका अनुसार सेयर बजारले ऐतिहासिक उचाइ छोएको वर्ष त्रिशक्ति सेक्युरिटिजको कुल सञ्चालन आम्दानी १९ करोड ४० लाख रुपैयाँ पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब ६ सय प्रतिशत बढी थियो । त्यसपछि बजारमा आएको करेक्सनका कारण आम्दानी ५ देखि ७ करोड रुपैयाँको हाराहारीमा सीमित भएको थियो । वि.सं. २०६४ पुसमा स्थापना भएको त्रिशक्ति सेक्युरिटिजले लगानीकर्तालाई पुँजी बजारसम्बन्धी सेवा सहज, सुरक्षित र प्रभावकारी रूपमा उपलब्ध गराउँदै आएको छ । धितोपत्र बोर्ड नेपालबाट इजाजतप्राप्त धितोपत्र दलाल तथा निक्षेप सदस्यका रूपमा रहेको कम्पनीले सेयर खरिद-बिक्री तथा अभौतिक सेयरसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । कम्पनी नेपाल स्टक एक्सचेन्जको कारोबार सदस्य तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निक्षेप सदस्य पनि हो । यसमार्फत कम्पनीले सेयर खरिद-बिक्री सेवा, हितग्राही खाता, सेयर राफसाफ तथा निक्षेपसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले हाल देशभर ६ वटा शाखामार्फत सेवा दिँदै आएको छ । कम्पनीको अध्यक्ष टंकप्रसाद गौतम छन् भने सञ्चालकमा मनोज खड्का, गोविन्द दाहाल, रुपा अधिकारी र बासुदेव बजगाईं रहेका छन् । चालु आवको पछिल्लो तथ्याङ्क अनुसार त्रशक्ति सेक्युरिटिजसँग ६७ हजार ९६७ सक्रिय ग्राहक आबद्ध रहेका छन् । समग्र बजार कारोबारमा संकुचन आएको अवस्थासमेत कम्पनीले आफ्नो बजार हिस्सा २ प्रतिशतबाट बढाएर २.९० प्रतिशत पु¥याएको जनाएको छ । गत वर्ष ९२ धितोपत्र दलाल कम्पनीमध्ये ११औँ स्थानमा रहेको कम्पनी चालु आवको ९ महिनामा छैटौँ स्थानमा उक्लिएको दाबी गरिएको छ । कम्पनीका अनुसार कुल आम्दानीमध्ये करिब ९८ प्रतिशत हिस्सा धितोपत्र खरिद-बिक्रीबाट प्राप्त हुने दलाली शुल्कबाट आउने गरेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ६० करोड ८० लाख रुपैयाँ पुगेको छ । धितोपत्र बोर्ड नेपालले २०८२ फागुनमा मार्जिन कारोबार सुविधा निर्देशिका, २०८२ जारी गरेसँगै इजाजतप्राप्त धितोपत्र दलाल कम्पनीहरूले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा उपलब्ध गराउने बाटो खुलेको छ । यसैअनुसार त्रिशक्ति सेक्युरिटिजले आगामी आर्थिक वर्ष २०८३/८४ देखि मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। मार्जिन कारोबार सेवा सञ्चालनका लागि कोष व्यवस्थापन गर्न कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ५० करोड रुपैयाँ ऋण लिएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन कर्जासम्बन्धी केही नियामकीय प्रावधान खुकुलो बनाउँदै एकल ऋणी सीमा बढाउनुका साथै जोखिम भारलाई १०० प्रतिशतमा सीमित गरेपछि यस क्षेत्रमा बैंकहरूको कर्जा प्रवाह बढाउन सहज वातावरण बनेको उल्लेख गरिएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको अवस्थामा राष्ट्र बैंकको यस्तो नीतिगत सहजीकरणले मार्जिन कर्जा प्रवाहलाई थप प्रोत्साहन गरेको कम्पनीको भनाइ छ ।
अटो उद्योगलाई प्रतिस्पर्धी बनाउन नीतिगत स्थिरतामा जोड
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले नेपालको अटोमोबाइल उद्योगको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ आयोजना गरेको छ । ‘सीईओ फोरम : इन्जिनभन्दा परे, नेपालको अटोमोबाइल उद्योगको कथा’ शीर्षकमा आयोजित कार्यक्रममा युवा व्यवसायी, उद्योगी तथा नीतिविज्ञहरूले अटोमोबाइल क्षेत्रको विकास, नीतिगत सुधार र लगानी वातावरणका विषयमा छलफल गरेका हुन् । फोरममा सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरी (मारुती), भोइथकी प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य (टोयोटा) र सिमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ (बीवाईडी) प्यानलिस्टका रूपमा सहभागी थिए । कार्यक्रमको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरेका थिए । कार्यक्रमको सुरुवातमा सीएनआईवाइईएफकी नेटवर्क एन्ड कम्युनिकेशन सभापति साइनी खेतानले कार्यक्रमको उद्देश्य र रूपरेखाबारे जानकारी दिएकी थिइन् । छलफलका क्रममा नेपालको अटोमोबाइल उद्योगले भोगिरहेका नीतिगत तथा कानुनी चुनौती, औद्योगिक विकासका अवरोध, प्रविधिको प्रयोग, बजारको बदलिँदो प्रवृत्ति र लगानीको वातावरणका विषयमा प्यानलिस्टहरूले धारणा राखेका थिए । खुला प्रश्नोत्तर सत्रमा उत्पादन, प्रविधि तथा सेवा क्षेत्रका प्रतिनिधिहरूले नीतिगत स्थिरता, बजारका समसामयिक चुनौती र लगानीमैत्री वातावरणका विषयमा प्यानलिस्टसँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए । कार्यक्रमको समापनमा सहजकर्ता साकेत संघाईले प्यानलिस्टहरूको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए । सीएनआईवाइईएफले यस्ता संवादमार्फत उद्योग–व्यवसायसँग सम्बन्धित नीतिगत बहसलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
काभ्रेपलाञ्चोक । वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा रातका समयमा यातायात सेवा बन्द नगरिने भएको छ । सो सडकखण्ड हाल स्तरोन्नती भइरहेको छ । निर्माणलाई तीव्रता दिन आजदेखि १५ दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने निर्णय गरिएको थियो । उक्त सडकखण्डमा पहिलो चरणको कालोपत्रे गर्नका लागि रातको समयमा बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको थियो । केही दिनको वर्षाले ‘सिटिबी’ तथा ‘डिबीएम’ गर्न सडक सम्याएर हालिएको सब–बेश केही स्थानमा बगाएको र कतै क्षति पुर्याएकाले आवागमन रोकेर गर्ने भनिएको काम सम्भव नदेखिएकाले सडक बन्द नहुने सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका इञ्जिनियर सीताराम बुढाथोकीका अनुसार निर्माण कम्पनीले आजदेखिको निर्धारित कार्यतालिका फेरबदल गर्नुपरेकाले केही समय सार्ने जानकारी गराएको हो । यसअघि जिल्ला सुरक्षा समिति काभ्रेले उक्त सडकखण्डमा आजदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारी आवागमन बन्द गरिने निर्णय गरेको थियो । उक्त सडकखण्ड कालोपत्रे गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुबाहक तथा अन्य मालबाहक सवारी साधनलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको थियो । विस्तारित उक्त सडकखण्डको दूरी चार किमी रहेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले असार दोस्रो सातादेखिनै राती यातायात रोकेर निर्माणकार्यलाई तीव्रता दिने जनाएपनि आर्थिक वर्षको अन्त्यको समय भएकोले निर्माण सामग्री ढुवानीमा प्रभावित नहोस् भन्ने हेतुले समितिले सडक निर्माण प्रक्रियालाई केही ढिलाई गर्न लगाएको थियो । गत चैतमा पनि करिब एक महिनाभर रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर अढाई किमी कालोपत्रे (डिबिएम–पीच)को काम गरिएको थियो । रासस
नागढुङ्गा–मुग्लिङ सडक विस्तार, ६० प्रतिशत काम सम्पन्न
काठमाडौं । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेन्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाका अनुसार यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । आयोजनाले चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति पुर्याउने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय बजारमा देखिएको बिटुमिन अभावका कारण लक्ष्य प्राप्तिमा केही अवरोध सिर्जना भएको थियो । मध्यपूर्वको तनावका कारण बिटुमिन आपूर्तिमा समस्या भए पनि हाल पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि आपूर्ति सहज भएको र कामले पुनः गति लिएको उनले बताए । उनका अनुसार पहिलो खण्ड अन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे खण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगिसकेको छ । दोस्रो खण्ड (नौबिसे–मलेखु) मा हालसम्म सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २.५ किलोमिटर दुई लेनको रहेको छ भने बाँकी २२.५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ । उनले भने, ‘हामीले ४३ मध्ये २५ किलोमिटर कालोपत्रे गरिसकेका छौँ । २ किलोमिटर ढलान भइसकेको छ । मौसमको अनुकूलता हेरेर यो काम वर्षाअघि पूरा गर्ने लक्ष्य राखेका छौँ । पहिलो प्याकेजको नागढुङ्गादेखि नौबिसेसम्मको प्रगति करिब ८८ प्रतिशत छ भने यो खण्डको ६० प्रतिशत छ ।’ निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेले मौसमले साथ दिएमा आगामी केही दिनभित्रै थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार बिटुमिन आपूर्ति सहज भएयता नौबिसे–मलेखु खण्डमा मात्र ३ हजार ३ सय मिटर थप कालोपत्रे भइसकेको छ । उनले भने, ‘हामीले २७ किलोमिटर काम सकिसकेका छौँ । ४३ किलोमिटरमा २ किलोमिटर ढलान भएको छ । २५ किलोमिटर कालोपत्रे भइसकेको छ । मौसमले साथ दिएसम्म ब्रेक नगर्ने भन्ने हाम्रो लक्ष्य छ । बिटुमिनको सहजता र मौसम अनुकूल भयो भने काम गर्न सहज हुन्छ । मौसमका कारण बिहानदेखि बेलुकासम्म काम गर्न पाएको छैन ।’ हाल निर्माण कम्पनीले दैनिक ४ सयदेखि ५ सय मिटरसम्म कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको छ । प्रतिकूल मौसम र प्राविधिक कठिनाइका बाबजुद आयोजनाले यसै आर्थिक वर्षको अन्त्यसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्य लिएको छ । वर्षात् सुरु हुनुअघि नै उत्खनन गरिएका पुराना पिच खण्डहरूलाई पुनः कालोपत्रे गरी सवारी आवागमन सहज बनाउन आयोजनाले उच्च प्राथमिकता दिएको छ ।
अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका २५ जोडीलाई प्रतिजोडी तीन हजार ५०० नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, 'हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि कायम रहेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ । पालिकाका सातवटै वडाबाट दलित समुदायसँग अन्तरजातीय विवाह गरेका ज्येष्ठ नागरिकदेखि युवा–युवतीसम्मलाई सम्मान गरेर जातीय विभेद अन्त्य गर्नुपर्ने सन्देश दिन खोजेका हौँ ।' गाउँपालिकाको केन्द्र दरवाङमा आयोजित कार्यक्रममा अध्यक्ष गर्बुजा, उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुन, प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकाल, वडाध्यक्ष उदयबहादुर बुढाथोकी र पथबहादुर रोका, कार्यपालिका सदस्य प्रतिक्षा रसाइली, दलबहादुर खड्काथोकी तथा वडा नं १ का कार्यवाहक वडाध्यक्ष मानसिंह सापकोटा लगायतले सम्मान गरेका थिए । कार्यपालिका सदस्य प्रतिक्षा रसाइलीले अन्तरजातीय विवाहपछि विभिन्न प्रकारका सामाजिक विभेद र अदृश्य हिंसाको सामना गरिरहेका जोडीलाई सम्मान गरिएको बताउँदै गाउँपालिकाले पहिलो पटक यस्तो कार्यक्रम सञ्चालन गरेको जानकारी दिइन् ।
बजारमा गोलभेँडा सस्तो, च्याउ र सुकेको माछा महँगो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४२, आलु रातो (गोलो) प्रतिकिलो रु ४०, आलु रातो (मुढे) प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ५०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ । समितिका अनुसार बोडी तने प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ५०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ३०, परवर (लोकल) प्रतिकिलो रु ३०, परवर (तराई) प्रतिकिलो रु ३०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ । रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, प्याज (हरियो) रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४३०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ । कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ५०, चुकन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकिलो रु ५०, जिरीको साग प्रतिकिलो रु ९०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ६०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ । स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २५०, केरा (मालभोग) २००, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ४५०, आँप (मालदह) प्रतिकिलो रु १६०, आँप (दशहरी) प्रतिकिलो रु १७०, तरबुजा (हरियो) प्रतिकिलो रु ७०, जुनार प्रतिकिलो रु ३००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ५०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २७०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३५०, नरिवल (काँचो) प्रतिकिलो रु ७० र नरिवल (हरियो) प्रतिकिलो रु १७० तोकिएको छ । अदुवा प्रतिकिलो रु १८०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ५०, अकबरे प्रतिकिलो रु २५०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ९५, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १७०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु ३२० निर्धारण भएको छ ।
चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन गरेका ८१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०१, सङ्केत बत्ती उल्लङ्लनकर्ता १५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना छन् । साथै ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक पुथपाथ पार्किङमा ११०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना रहेका छन् । उक्त कारबाहीबाट रु १० लाख ६२ हजार असुली गरिएको छ ।
अब नेपालमै अत्याधुनिक हेयर ट्रान्सप्लान्ट, अनोभाले भित्र्यायो नयाँ प्रविधि
काठमाडौं । जावलाखेलमा रहेको अनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण प्रविधिको अत्याधुनिक डिभाइस ट्रिभेलिनी माम्बा नेपालमा भित्र्याएको छ । ललितपुरमा आयोजित एक विशेष समारोहमा वरिष्ठ छाला रोग विशेषज्ञ डा.स्मृति श्रेष्ठ, मिस नेपाल अर्थ डा.सरिसा श्रेष्ठ, सोसल मिडिया इन्फ्ल्यूएन्सर करिष्मा श्रेष्ठ, सुजाता श्रेष्ठ मान्सी तामाङ, मिस्टर फुडी तथा क्रिकेटर ललित राजवंशी लगायतले उक्त डिभाइस अनावरण गरेका हुन् । उक्त डिभाइस अनावरण गर्दै क्लिनिकका सञ्चालिका डा.श्रेष्ठले यो आधुनिक प्रविधि कपाल प्रत्यारोपण प्रक्रियालाई अझ सटीक, प्रभावकारी र सहज बनाउन विकसित गरिएको बताउँदै यसले प्रत्यारोपणका क्रममा चिकित्सकलाई बढी नियन्त्रण तथा शुद्धताका साथ काम गर्न सहयोग पुर्याउने दावी गरेकी छिन् । क्लिनिकले यो प्रविधिबाट बिरामीलाई उच्च गुणस्तरको उपचार अनुभव प्रदान गर्ने तथा कपाल पुनर्स्थापनालाई थप परिष्कृत र आधुनिक बनाउने लक्ष्य राखेको जनाएको छ । नेपालमा पहिलोपटक भित्रिएको अत्याधुनिक ट्रिभेलिनी माम्बा प्रविधिमा आधारित हेयर ट्रान्सप्लान्ट उपकरणको प्रयोगसँगै कपाल प्रत्यारोपण प्रविधिमा आधारित हेयर ट्रान्सप्लान्ट उपकरणको प्रयोगसँगै कपाल प्रत्यारोपण सेवालाई अझ सटीक, सुरक्षित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । डा.श्रेष्ठका अनुसार चिकित्सकहरूका अनुसार ट्रिभेलिनी माम्बा प्रणालीले कपालका फोलिकल (ग्राफ्ट) निकाल्ने प्रक्रियामा उच्च नियन्त्रण, कम क्षति र राम्रो गुणस्तर कायम गर्न सहयोग पुर्याउँछ । यसमा विभिन्न गति र मोड समायोजन गर्न सकिने भएकाले बिरामीको कपाल र छालाको अवस्थाअनुसार प्रक्रिया सञ्चालन गर्न सकिन्छ । यो प्रविधि विश्वका विभिन्न हेयर रिस्टोरेशन केन्द्रहरूमा प्रयोग हुँदै आएको आधुनिक प्रणालीमध्ये एक मानिन्छ ।यसको प्रयोगले उपचार प्रक्रियालाई अझ सहज बनाउनुका साथै प्राकृतिक देखिने नतिजा प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । डा. श्रेष्ठका अनुसार नेपालमा पहिलोपटक यो उपकरण भित्र्याएर अन्तर्राष्ट्रियस्तरको हेयर ट्रान्सप्लान्ट सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । कपाल झर्ने समस्याबाट पीडित सेवाग्राहीले अब अत्याधुनिक प्रविधिमार्फत उपचारको सुविधा नेपालमै प्राप्त गर्न सक्ने क्लिनिकको दावी छ । नवीन प्रविधि र गुणस्तरीय सेवाप्रति आफ्नो प्रतिवद्धताअनुसार नेपालमा विश्वस्तरीय कपाल प्रत्यारोपण समाधान ल्याइएको क्लिनिकको भनाइ छ । एनोभा स्किन एण्ड हेयर क्लिनिक जावलाखेलस्थित ज्वाला भवनको तेस्रो तलामा रहेको छ । क्लिनिकले इच्छुक सेवाग्राहीलाई परामर्शका लागि सम्पर्क गर्न पनि आग्रह गरेको छ । उक्त डिभाइस अनावरण समारोहमा एनोभा स्किन एण्ड हेयर क्लिनिककी प्रमुख डा.श्रेष्ठ, प्रमुख अतिथिको रुपमा सहभागि भएका भारतका वरिष्ठ छाला रोग विशेष डा. असीम शर्मा तथा धुलिखेल अस्पताल (काठमाडौं विश्वविद्यालय अस्पताल) छाला रोग (डर्माटोलोजी) विभाग प्रमुख डा.मनिषा सिंहबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा नेपालका हावापनी, वातावरण प्रदुषण आदिका कारण छाला तथा कपालको स्वास्थ्यमा परिरहेको प्रभाव, त्यसको रोकथाम तथा सार्वजनिक भएको डिजाइसको सकारात्क पक्षका बारेमा चर्चा भएको थियो ।