तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले बढ्ने प्रक्षेपण
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा नेपालको अर्थतन्त्र ३.५१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको त्रैमासिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ३.५१ प्रतिशतले वृद्धि हुने देखिएको हो । कार्यालयका अनुसार यो वृद्धि मुख्यतः विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बिमा प्रिमियम संकलन, व्यापार सेवा लगायतका क्षेत्रमा भएको विस्तारका कारण सम्भव भएको हो । तेस्रो त्रैमासमा समेटिएका १८ औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक बाँकी अधिकांश क्षेत्रमा सकारात्मक वृद्धिदर देखिएको छ । मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्कअनुसार विद्युत तथा ग्याससम्बन्धी क्रियाकलापमा सबैभन्दा उच्च २४.८८ प्रतिशत वृद्धिदर देखिएको छ । त्यसपछि वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारणमा ७.८३ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा ५.२५ प्रतिशत वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान रहेको कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत रहने अनुमान छ । धान उत्पादनमा कमी आए पनि पशुपन्छी, तरकारी, फलफूल तथा वनपैदावारको उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ। त्यस्तै, अर्थतन्त्रको दोस्रो ठूलो हिस्सा ओगटेको थोक तथा खुद्रा व्यापार क्षेत्र ५.२५ प्रतिशतले बढ्ने देखिएको छ । व्यापारजन्य वस्तुको स्वदेशी उत्पादन तथा आयातमा भएको वृद्धिले यस क्षेत्रमा सुधार आएको जनाइएको छ । यद्यपि, सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.५९ प्रतिशत र औद्योगिक उत्पादनमा ०.५४ प्रतिशतले ऋणात्मक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण सामग्रीको आयातमा कमी, धानबाली उत्पादनमा गिरावट तथा केही वस्तुको घरेलु उत्पादनमा आएको कमीका कारण समग्र त्रैमासिक वृद्धिदर सामान्य स्तरमा सीमित भएको कार्यालयको भनाइ छ । मौसमी प्रभाव समायोजित तथ्याङ्कअनुसार भने चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अर्थतन्त्र ०.५८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यस अवधिमा १८ औद्योगिक वर्गीकरणमध्ये ११ वटामा सकारात्मक र सात वटामा ऋणात्मक वृद्धिदर देखिएको छ । मौसमी प्रभाव समायोजित तथ्याङ्कमा पनि विद्युत तथा ग्यास क्षेत्र ६.८७ प्रतिशत वृद्धिसहित अगाडि देखिएको छ । त्यसपछि खानी तथा उत्खनन २.२३ प्रतिशत र थोक तथा खुद्रा व्यापार २.०२ प्रतिशतले बढेको अनुमान गरिएको छ। अर्कोतर्फ, आवास तथा भोजन, औद्योगिक उत्पादन र केही अन्य क्षेत्रमा भने गिरावट देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानेर त्रैमासिक राष्ट्रिय लेखाका अनुमान तयार गर्दै आएको छ । कार्यालयले प्रत्येक त्रैमास समाप्त भएको ९० दिनभित्र यस्तो अनुमान सार्वजनिक गर्ने अभ्यासअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको हो ।
कांग्रेसको प्रश्न : प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ?
काठमाडाैं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सम्पत्तिको स्रोतमाथि प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सम्पत्तिको स्रोत खुलाउनु सबैको दायित्व भएको उल्लेख गर्दै बालेनकाे सम्पत्ति र सुनकाे स्राेत खाेज्नुपर्ने धारणा राखे । उनले छानबिन आफूबाटै सुरु गर्न पनि तयार रहेको बताए । 'मबाटै सम्पत्तिको छानबिन सुरु होस् । मेरो घर पाँचथर हो । सुरु प्रधानमन्त्री र प्रतिपक्ष दलको नेताबाट गरियोस्,' उनले भने । आङ्देम्बेले प्रधानमन्त्रीले आर्जन गरेको सम्पत्ति वैध स्रोतबाट भएको हुनुपर्ने कामना गर्दै ठूलो परिमाणमा रहेको सुनको स्रोतबारे प्रश्न उठाए । उनले पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री तथा सार्वजनिक पदमा रहेकाहरूको सम्पत्तिमाथि पनि निष्पक्ष छानबिन गर्नुपर्ने धारणा राखे । सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण तथा सेवा प्रवाहका केही क्षेत्रमा सुधारका प्रयास गरेको स्वीकार गर्दै उनले प्रधानमन्त्री संसदप्रति अझ बढी उत्तरदायी हुनुपर्ने बताए । प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने दायित्व रहेको उनको भनाइ थियो । प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा बढी सक्रिय देखिनु संसदको अवमूल्यन भएको उनको टिप्पणी थियो । उनले प्रख्यात हुनु र लोकप्रिय हुनु फरक कुरा हो भन्दै भाइरल हुने प्रवृत्तिभन्दा जिम्मेवार नेतृत्व प्रदर्शन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । आङ्देम्बेले लोकतान्त्रिक अभ्यासमा प्रतिपक्ष दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री संसदमा उपस्थित हुनु सामान्य परम्परा भए पनि नेपालमा त्यसो नहुनु आश्चर्यजनक रहेको बताए ।
दर्ताबिना नै मोटो रकम असुल्ने झापाका शैक्षिक परामर्श संस्थाहरू कारबाहीको दायरामा
काठमाडौं । झापा जिल्लामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा आएका छन् । नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) झापाले जिल्लामा झन्डै २०० वटा शैक्षिक परामर्श संस्था नियमविपरीत सञ्चालन हुँदै आएको दाबी गरेको छ । इक्यानको परामर्शमा इलाका प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरी कानुनअनुसार दर्ता नभएका शैक्षिक परामर्श दाता संस्थाको कागजात जफत गरी कारबाहीको दायरामा ल्याइएको छ । प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले कोशी प्रदेश सरकारमा जिल्लाका १८८ शैक्षिक संस्था नियमानुसार दर्ता भएका छन् । तर, झन्डै आधाले दर्ता अनुमतिबिनानै भाषा अध्यापनका लागि शैक्षिक परामर्श कक्षाहरु सञ्चालन गरेका भेट्टिएकाले कानुनको दायरमा ल्याउनुपरेको जानकारी दिए । दमकमा करिब ९०, विर्तामोडमा १२५ शैक्षिक परामर्श दाता संस्था छन् । दमकमा सञ्चालित परामर्श दाता संस्थामध्ये ३२ वटाले दर्ता अनुमति लिएका छन् । भाषा अध्यापन गराउने शैक्षिक परामर्श दाता संस्थाले विद्यार्थीसँग मोटो रकम असुल गरी आएको गुनासो आएपछि प्रशासनले अनुगमन तीव्र बनाएको हो ।
बुक बिल्डिङमार्फत आईपीओ ल्याउँदै टाइम फर्मास्युटिकल्स
काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासनको तयारीस्वरूप योग्य संस्थागत लगानीकर्ताका लागि रोड शो कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आयोजना गरेको कार्यक्रममा १४५ भन्दा बढी योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीले आफ्नो वित्तीय अवस्था, व्यवसाय विस्तार योजना र आईपीओसम्बन्धी जानकारी प्रस्तुत गर्नुका साथै इच्छुक संस्थागत लगानीकर्तालाई आशयपत्र (इन्डिकेटिभ बिड) सम्बन्धी विवरण उपलब्ध गराएको छ । कम्पनीका अनुसार बुक बिल्डिङ प्रक्रियाअन्तर्गत नेपाल स्टक एक्सचेञ्ज (नेप्से), निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकको समन्वयमा आईपीओ प्रक्रिया अघि बढाइएको हो । समन्वय समितिको निर्णयअनुसार योग्य संस्थागत लगानीकर्ताले असार २२ देखि २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् भने असार २९ गते बोलपत्र खोलिने कार्यक्रम तय गरिएको छ । टाइम फर्मास्युटिकल्सले ५३ करोड रुपैयाँ जारी पुँजीको २०.५ प्रतिशत बराबर १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष डा. जी. नारायणबहादुर क्षेत्रीले करिब २९ वर्षअघि एक करोड रुपैयाँ पुँजी, २५ कर्मचारी र आठ प्रकारका औषधि उत्पादनबाट सुरु भएको कम्पनी अहिले ६० करोड रुपैयाँ अधिकृत पुँजी, ३५० भन्दा बढी कर्मचारी तथा २०० भन्दा बढी औषधि उत्पादन गर्ने अवस्थासम्म पुगेको जानकारी दिए । नेपालमै पहिलो पटक क्लिनिकल ट्रायल सुरु गरिएको र त्यसको प्रतिवेदन छिट्टै सार्वजनिक हुने पनि उनले बताए । कम्पनीले विभिन्न मूल्यांकन विधिका आधारमा प्रतिकित्ता औसत मूल्य ६६६.७८ रुपैयाँ निर्धारण गरेको छ भने योग्य संस्थागत लगानीकर्ताका लागि ६०० रुपैयाँ आधार मूल्य प्रस्ताव गरिएको जनाएको छ ।
प्रशान्त महासागरमा चीनको क्षेप्यास्त्र परीक्षण, जापानसहितका देशले जनाए असन्तुष्टि
काठमाडौं । चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । परीक्षणअघि नै क्षेत्रका केही राष्ट्रलाई जानकारी गराइएको भए पनि यस कदमले जापानसहितका देशहरूको चिन्ता बढाएको छ र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य उपस्थितिमाथि नयाँ बहस सुरु भएको छ । चिनियाँ नौसेनाका प्रवक्ता वाङ सुएमेङका अनुसार स्थानीय समयअनुसार दिउँसो १२ः०१ बजे पिपुल्स लिबरेसन आर्मी नेभीको रणनीतिक आणविक पनडुब्बीबाट प्रशिक्षण प्रयोजनका लागि सिमुलेटेड वारहेड बोकेको रणनीतिक क्षेप्यास्त्र प्रक्षेपण गरिएको थियो । क्षेप्यास्त्र तोकिएको समुद्री क्षेत्रमा सफलतापूर्वक खसेको उनले बताए । यो चीनको वार्षिक सैन्य प्रशिक्षण कार्यक्रमअन्तर्गतको नियमित अभ्यास भएको र सम्बन्धित राष्ट्रहरूलाई पूर्वसूचना दिइएको पनि उनको भनाइ छ । प्रक्षेपण भएको दिन नै चीन र रुसले पूर्वी चीनको प्रमुख नौसैनिक बन्दरगाह छिङदाओबाट संयुक्त वार्षिक नौसैनिक अभ्यास पनि सुरु गरेका छन् । यद्यपि उक्त क्षेप्यास्त्र परीक्षण संयुक्त अभ्यासकै हिस्सा थियो वा थिएन भन्नेबारे बेइजिङले स्पष्ट पारेको छैन । जापानले भने परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको जनाएको छ । पपुवा न्यू गिनीका विदेशमन्त्री जस्टिन टाकाचेन्कोले आफूलाई चिनियाँ राजदूतमार्फत परीक्षणबारे अग्रिम जानकारी दिइएको पुष्टि गरेका छन् न्युजिल्यान्ड सरकारको एक स्रोतले पनि चीनले सम्भावित अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणबारे जानकारी गराएको बताएको छ, यद्यपि क्षेप्यास्त्र खस्ने स्थान खुलाइएको थिएन । बेइजिङले पछिल्ला वर्षहरूमा आणविक हतियार र सैन्य क्षमता तीव्र रूपमा विस्तार गर्दै आएको छ । अमेरिकी रक्षा मन्त्रालयका अनुसार सन् २०२३ सम्म चीनसँग ५०० भन्दा बढी आणविक हतियार थिए भने सन् २०३० सम्म त्यो सङ्ख्या एक हजारभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको छ । यसअघि सेप्टेम्बर २०२४ मा चीनको रकेट फोर्सले फ्रेन्च पोलिनेसिया नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा डमी वारहेडसहित लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । यो चार दशकभन्दा बढी अवधिपछि गरिएको पहिलो यस्ता प्रकारको परीक्षण थियो । विश्लेषकहरूले त्यसबेला थर्मोन्युक्लियर वारहेड बोक्न सक्ने डोङ फेङ–३१ क्षेप्यास्त्र प्रयोग गरिएको अनुमान गरेका थिए । गत महिना सार्वजनिक भएको न्युजिल्यान्डको रक्षा बलको आन्तरिक दस्तावेजले पनि प्रशान्त क्षेत्रमा चीनको नौसैनिक गतिविधि र ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण अब नियमित बन्दै जाने चेतावनी दिएको थियो । दोस्रो विश्वयुद्धपछि यही क्षेत्रमा भएका आणविक परीक्षणले प्रशान्त टापु राष्ट्रहरूमा गहिरो असर छोडेकाले चीनको बढ्दो सैन्य गतिविधिलाई उनीहरूले विशेष चासोका साथ हेरिरहेका छन् । यद्यपि चीनले अस्पताल, सडक र खेलकुद पूर्वाधारजस्ता विकास परियोजनामार्फत पनि प्रशान्त टापु राष्ट्रहरूसँग आफ्नो प्रभाव विस्तार गर्ने प्रयासलाई निरन्तरता दिइरहेको छ ।
इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले चिकित्सा शिक्षण संस्थाहरूमा अध्ययनरत इन्टर्न चिकित्सकहरूले भोग्दै आएको न्यून पारिश्रमिक र श्रम शोषणको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ओलीले एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न माग गरेकी हुन् । सांसद ओलीले सरकारी मेडिकल कलेजहरूको तुलनामा निजी मेडिकल कलेजहरूमा इन्टर्न चिकित्सकहरूले निकै कम भत्तामा अत्यधिक समय काम गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरिन् । नीतिगत कमजोरी र विद्यमान व्यवस्थाका कारण उदाउँदा चिकित्सकहरूको श्रमको निरन्तर शोषण भइरहेको भन्दै यसले दक्ष जनशक्ति विदेश पलायन हुने जोखिम बढाएको बताइन् । विभिन्न कार्यदलहरूले इन्टर्न चिकित्सकहरूलाई आठौँ तहको शुरु तलब स्केलको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउन सिफारिससहितको प्रतिवेदन तयार पारे पनि हालसम्म कार्यान्वयनमा नआएको उनले सदनलाई जानकारी गराइन् । ओलीकाअनुसार प्रतिवेदन चिकित्सा शिक्षा आयोगमा पुगेको ९० दिन बितिसक्दा समेत आयोगको बैठक बसी ठोस निर्णय र कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छैन । उनले भनिन्, ‘नेपालका विभिन्न चिकित्सा शिक्षण संस्थाहरूमा अध्ययनरत एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूलाई न्यूनतम मापदण्डभन्दा निकै कम इन्टर्नसिप भत्ता प्रदान गरिएको भन्ने गुनासोहरू निरन्तर प्राप्त भइरहेका छन् । साथै, उनीहरूलाई अत्यधिक लामो समयसम्म काम गर्न बाध्य पारिएको विषय पनि बारम्बार उठिरहेको छ । विशेष गरी सरकारी मेडिकल कलेजहरूको तुलनामा निजी मेडिकल कलेजहरूमा यस्ता समस्याहरू बढी रहेको पाइएको छ ।’ उनले नेपालको श्रम ऐन, २०७४ अनुसार श्रमिकका लागि तोकिएको कार्यघण्टा र न्यूनतम पारिश्रमिकको व्यवस्था इन्टर्न चिकित्सकहरूको हकमा कार्यान्वयन नभएको भन्दै समान कामका लागि समान पारिश्रमिक र मर्यादित कार्यघण्टा सुनिश्चित गर्न माग गरिन् । सरकारले पटक–पटक आश्वासन दिएपनि ठोस पहलकदमी नलिएको भन्दै इन्टर्न चिकित्सकहरूले आउँदो शनिबारदेखि संगठनात्मक रूपमा शान्तिपूर्ण प्रदर्शनको घोषणा गरेको समेत उनले जानकारी दिइन् ।
नेप्सेका सीईओ चुडामणि चापागाईंले दिए राजीनामा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् । चापागाईंले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा पत्र बुझाएको जानकारी विकासन्युजलाई दिएका हुन् । चापागाईंले भने आफ्नो राजीनामा कुनै दबाब वा विवादका कारण नभएको स्पष्ट पारेका छन् । साथै, १५-२० दिनभित्र खुसीको खबर सार्वजनिक हुने संकेत पनि उनले दिएका छन् । तर, उक्त विषयबारे उनले थप खुलाउन चाहेनन् । ‘१५-२० दिनपछि खुसीको कुरा सुन्न पाउनुहुन्छ । अहिले राजीनामा पत्र बुझाएर आएँ,’ चापागाईंले भने । चापागाईं २०८१ चैत १९ गते नेप्सेको सीईओमा नियुक्त भएका थिए । झापा निवासी उनी बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी व्यवस्थापक हुन् । उनले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसकेका छन् ।
हालान्ड : दि नर्वेजियन हिरो
काठमाडौं । आफ्नो शान्त स्वभाव, अद्भूत गोल गर्ने क्षमता र अनुहारको मुस्कानसहित नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डले फेरि एकपटक फुटबल इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरमा लेखाएका छन् । ‘यो नर्वेको इतिहासकै सबैभन्दा अविश्वसनीय दिनमध्ये एक हो,’ फिफा विश्वकपको क्वार्टरफाइनलमा नर्वेलाई पुर्याएपछि उनले भने । २५ वर्षीय हालान्डको खेलको अन्त्यतिर गरेको दुई गोलले पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई प्रतियोगिताबाट बाहिर पठायो र नर्वेलाई इतिहासमै पहिलो पटक अन्तिम आठ (क्वार्टरफाइनल) मा प्रवेश गरायो। हालान्डको अग्लो कद, बलियो शारीरिक बनावट र जन्मजात गोल गर्ने क्षमता कठिन क्षणमा नर्वेलाई अघि बढाउने सबैभन्दा ठूलो हतियार मानिन्छ । पूरै खेलभरि खासै प्रभाव जमाउन नसकेका हालान्डले दोस्रो हाफको ‘हाइड्रेसन ब्रेक’ का क्रममा प्रशिक्षक स्टाले सोलबाकेनसँग छोटो कुराकानी गरेका थिए । त्यसबेला प्रशिक्षकले उनलाई बाँकी सबै ऊर्जा मैदानमा खन्याउन र निर्णायक आक्रमण गर्न आग्रह गरेका थिए । प्रशिक्षकको त्यो सन्देश हालान्डले अक्षरशः पूरा गरे । उनले ७९औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे भने निर्धारित समय सकिनुअघि अर्को गोल थप्दै नर्वेको ऐतिहासिक जित सुनिश्चित गरे। हालान्ड अहिले नर्वेका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ५४ खेलमा ६२ गोल गरेका छन्, जुन प्रति खेल १.१५ गोल हो । लामो कपाल, उत्कृष्ट फिनिसिङ र शान्त स्वभावका कारण उनलाई प्रायः ‘द स्माइलिङ असासिन’ भनेर पनि चिनिन्छ । ब्राजिलविरुद्धको दुई गोलसँगै नर्वेका लागि उनको पछिल्ला १४ खेलमा गोल संख्या २७ पुगेको छ । खेलको उत्कृष्ट खेलाडी घोषित भए पनि हालान्डले जितको सबैभन्दा ठूलो श्रेय गोलरक्षक ओर्जान नाइलान्डलाई दिए। ‘मेरो लागि खेलको उत्कृष्ट खेलाडी उनी नै हुन्, मैले दुई गोल गरेँ पनि । उनले यति धेरै उत्कृष्ट बचाउ गरे कि त्यसबिना हामी सायद घर फर्किन्थ्यौं,’ हालान्डले भने, ‘हाम्रो इतिहासमै पहिलो पटक क्वार्टरफाइनल खेल्ने अवसर दिलाउने मुख्य व्यक्ति उनी हुन् । उहाँप्रति मेरो ठूलो सम्मान छ ।’ मेसी, एमबाप्पे र रोनाल्डोको छायाँबाट आफ्नै पहिचान विश्वकपअघि सबैको ध्यान लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र केलियन एमबाप्पेतर्फ केन्द्रित थियो । तर हालान्डले आफ्नै प्रदर्शनबाट उनीहरूसँग बराबरी गर्दै विश्व फुटबलमा छुट्टै कथा लेखिरहेका छन् । म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्ड अहिले गोल्डेन बुटको दौडमा मेस्सी र एमबाप्पेसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन् । तीनैजनाले प्रतियोगितामा समान सात गोल गरेका छन् । विश्वकपअघि उनको सबैभन्दा ठूलो उपलब्धि करिब तीन दशकपछि नर्वेलाई पुनः विश्वकपमा फर्काउनु थियो । त्यसपछि उनले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताभर आफ्नै छाप छोडेका छन्। १९५ सेन्टिमिटर (६ फिट ५ इन्च) अग्ला हालान्डको सफलताको आधार नम्रता, आत्मविश्वास र लक्ष्यप्रतिको अटल समर्पण मानिन्छ। ‘यस प्रतियोगितामा मैले धेरै पटक आफ्नो उत्कृष्ट स्तर भेट्टाएँ, तर हरेक पटक त्यसपछि अर्को नयाँ स्तर आएको छ,’ उनले भने । ‘यदि मैले एक वा दुई अवसर पाएँ भने प्रायः त्यो गोलमा परिणत हुन्छ । म के गर्छु भन्ने मलाई पनि खासै थाहा हुँदैन, म स्वभावैले यस्तै छु । मुख्य कुरा एकाग्र रहनु हो । अवसर आउँदा के गर्ने भन्ने मलाई स्पष्ट थाहा हुन्छ,’ उनले थपे । हालान्डले यो रात पुस्तौंसम्म सम्झिइने पनि उल्लेख गरे । ब्राजिललाई हराएर सुपरस्टार नेयमारको अन्तर्राष्ट्रिय करिअर अन्त्य गराउने ऐतिहासिक क्षणको महत्त्व हालान्डले राम्रोसँग बुझेका थिए। ‘ब्राजिलविरुद्ध दुई गोल गर्नु मेरो जीवनकै अविस्मरणीय उपलब्धि हो । तर ती गोल केवल मेरामात्र होइनन्,’ उनले भने । ‘ती हाम्रा प्रत्येक त्यागी खेलाडीका हुन्, हामीमाथि विश्वास गर्ने प्रशिक्षकहरूका हुन्, कठिन समयमा पनि साथ नछोड्ने समर्थकहरूका हुन् र आजपछि ‘सबै सम्भव छ’ भन्ने विश्वास गर्ने नर्वेका हरेक बालबालिकाका हुन्,’ उनले थपे । उनका अनुसार आजको रात नर्वेका हरेक घरमा सधैं सम्झिइनेछ । नर्वेले केवल ब्राजिललाई हराएका होइन, आफ्नो देशलाई पुस्तौंसम्म बाँचिरहने एउटा अमूल्य सम्झनासमेत दिएको हो । जितपछि आफ्ना आँखा रसाएको स्वीकार गर्दै हालान्डले भने, ‘अब जे भए पनि कसैले हामीबाट यो अनुभूति, यी आँसु र इतिहासको यो गौरव खोस्न सक्दैन ।’ सामाजिक सञ्जालका लोकप्रिय स्टार मेसी, रोनाल्डो र एमबाप्पे विश्वव्यापी सुपरस्टारका रूपमा विश्वकपमा प्रवेश गर्दा हालान्ड सामाजिक सञ्जालमा आफ्नो रमाइलो स्वभावका कारण झन् लोकप्रिय बनेका थिए । विशेषगरी स्न्यापच्याट र इन्स्टाग्राममा उनका हास्यपूर्ण पोस्टहरूले उनलाई समर्थकहरूमाझ अझ नजिक र सहज व्यक्तित्वका रूपमा स्थापित गरेका छन्। ब्राजिलमाथिको ऐतिहासिक जितपछि पनि उनले आफ्नै शैलीमा ड्रेसिङ रुमबाट जर्सी घाँटीमा बेरेको तस्बिर पोस्ट गरे, जसले केही घण्टामै लाखौं लाइक बटुल्यो । एन्सेलोटी भन्छन्– हालान्डलाई रोक्न सबैभन्दा गाह्रो कुरा उनको समय छनोट गर्ने क्षमता हो ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले हालान्डको वास्तविक शक्ति उनको शारीरिक बल वा गति नभई सही समय रोज्ने क्षमतामा रहेको बताए । ‘उनले हरेक बलका लागि दौडेर ऊर्जा खर्च गर्दैनन् । उनी डिफेन्डरलाई अध्ययन गर्छन्, धैर्यपूर्वक पर्खन्छन् र डिफेन्डरको ध्यान कहिले भंग हुन्छ भन्ने बुझ्छन्,’ एन्सेलोटीले भने, ‘त्यसपछि एकै सेकेन्डमा उनी तपाईंको नियन्त्रणभन्दा बाहिर पुगिसकेका हुन्छन् । तपाईं ८९ मिनेटसम्म उत्कृष्ट डिफेन्स गर्न सक्नुहुन्छ, तर फुटबलको निर्णय केही क्षणले गर्छ र ती क्षण चिन्नमा हालान्ड सम्भवतः विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’ ‘त्यसैले त डिफेन्डरहरू उनलाई सामना गर्न रुचाउँदैनन् । तपाईंले पूरै खेल नियन्त्रण गरेको महसुस गर्नुहुन्छ, तर अचानक उनी फेरि अर्को गोलको उत्सव मनाइरहेका हुन्छन्,’ उनले थपे । अब इंग्ल्यान्डसँगको चुनौती अब नर्वेले क्वार्टरफाइनलमा ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्डसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले सह–आयोजक मेक्सिकोलाई ३–२ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो । इंग्ल्यान्डविरुद्ध हालान्डसँग आफ्नो देशका लागि फेरि इतिहास रच्ने अर्को अवसर हुनेछ । क्वार्टरफाइनलमा प्रवेश गरेपछि नर्वेका खेलाडीहरू अर्लिङ हालान्डसँगै जितको खुसी मनाउँदै । [डिलन मार्टिनेज/रायटर्स] तर अहिलेका लागि उनी आफ्ना देशवासीलाई केवल यो ऐतिहासिक क्षणको आनन्द लिन आग्रह गर्छन् । विजयपछि मैदानमै चर्चित ‘भाइकिङ रो–बोट’ उत्सवको नेतृत्व गरेका हालान्डले भने, ‘सबैले यो क्षणको आनन्द लिनुपर्छ ।’ ‘मैले भने झैं, यो नर्वेको इतिहासकै सबैभन्दा अविश्वसनीय दिनमध्ये एक हो। यसलाई मनाउनुहोस्, आत्मसात् गर्नुहोस् र यो क्षणलाई पूर्ण रूपमा जिउनुहोस्,’ उनले थपे । अन्य सान्दर्भिक सामग्रीहरू : चम्किँदै भिनिसियस जुनियर गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे