चितवनमा टेलिकमका १० नयाँ मोबाइल टावर थपिने, फोन नलाग्ने समस्या हटाउँदै
काठमाडौं । नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेटवर्क विस्तार तथा पूर्वाधार स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख उप प्रबन्धक राकेश चौधरीका अनुसार भरतपुर महानगरपालिका-२९ को लमाहल, इच्छाकामनाको हात्तिवाङ, माडीको अमरौली र बगौडा, भरतपुर अस्पताल क्षेत्र, रामनगर-पटिहानी सडकखण्ड, टिकौली-रत्ननगर सडक, चौबीसकोठी तथा सिएमसी अस्पताल आसपासका क्षेत्रमा मोबाइल सेवाको क्षमता विस्तार तथा स्तरोन्नति गरिएको छ । उनका अनुसार सेवा कमजोर रहेका क्षेत्रमा नयाँ मोबाइल टावर निर्माण गर्नुका साथै सञ्चालनमा रहेका टावरको क्षमता पनि वृद्धि गरिएको छ । पूर्व-पश्चिम राजमार्गका केही स्थानमा फोन नलाग्ने गुनासो आएपछि टिकौली क्षेत्रमा सेक्टर विस्तार गरिएको छ भने रामनगर सडक मोडमा अतिरिक्त उपकरण जडान गरेर सेवाको गुणस्तर सुधार गरिएको छ । प्रमुख चौधरीले भने, ‘भिडभाड हुने अन्य स्थानमा पनि आवश्यकताअनुसार क्षमता विस्तार गर्दै गएका छौं ।' माडी जाने चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा विद्युत् आपूर्तिको समस्या रहने भएकाले नेटवर्क विस्तारमा चुनौती रहेको उनले बताए । चालु आर्थिक वर्षमा सिमलढाप, तिरुवा डाँडा (कालिका-१), पन्याडाँडा, चौकीडाँडा, मोहना, खैरहनी र मङ्गलपुर लगायतका क्षेत्रमा सेवा विस्तार गरिएको छ । तीमध्ये केही स्थानमा नयाँ टावर निर्माण गरिएको छ भने विद्युत् सुविधा नपुगेका क्षेत्रमा सौर्य ऊर्जामार्फत सञ्चालन हुने टावर जडान गरिएको उनले जानकारी दिए । हाल जिल्लाभर १३२ मोबाइल टावर बेस ट्रान्ससिभर स्टेसन (बीटीएस) सञ्चालनमा रहेका छन् । भौगोलिक विकटता, अग्ला रुख तथा घरका संरचनाका कारण केही स्थानमा अझै नेटवर्क समस्या देखिने गरेको प्रमुख चौधरीले बताए । जनघनत्व वृद्धि, विशेष कार्यक्रम तथा भिडभाडका समयमा मोबाइल तथा इन्टरनेट प्रयोगकर्ता बढ्ने भएकाले आवश्यकताअनुसार अतिरिक्त उपकरण जडान गर्दै सेवा क्षमता विस्तार गरिएको उनको भनाइ छ । आगामी आर्थिक वर्षमा तत्काल १० वटा नयाँ मोबाइल टावर निर्माण गरिने र आवश्यकता तथा मागका आधारमा जिल्लाका अन्य स्थानमा पनि थप टावर निर्माण तथा क्षमता विस्तार गरिने प्रमुख चौधरीले जानकारी दिए । विद्युत् आपूर्ति अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित हुने समस्यालाई समाधान गर्न पश्चिम चितवन, दिव्यनगर लगायतका क्षेत्रमा वैकल्पिक ऊर्जा तथा ब्याकअप प्रणाली विस्तारको कामसमेत अघि बढाइएको उनले बताए । ‘विद्युत् अवरोध हुँदा सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले ब्याट्री ब्याकअप र वैकल्पिक ऊर्जा प्रणाली थप सुदृढ बनाउँदै गएका छौं,' प्रमुख चौधरीले भने ।
दाउन्नेबाट हट्यो वर्षौंको सास्ती, बर्खामा पनि सहज भयो यात्रा
काठमाडौं । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो । गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा सवारीसाधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो । विशेषगरी बर्खा र हिउँदमा हजारौं यात्रुले घण्टौं सडकमै बस्नुपर्ने अवस्था थियो । तर यस वर्ष सडकको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो सास्ती भोग्नुपरेको छैन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ अन्तर्गत पर्ने दाउन्ने क्षेत्र २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको तथ्याङ्क रहेको छ । तर यस वर्ष त्यो अवस्था हटेको छ । दैनिक रूपमा यही सडक प्रयोग गर्ने स्थानीयवासी तथा चालकहरू पनि यस वर्षको अवस्था विगतभन्दा फरक रहेको बताउँछन् । यस राजमार्गमा नियमित सवारीसाधन चलाउँदै आउनुभएका रामु भुसालले पहिले दाउन्ने पार गर्नै घण्टौं लाग्ने गरेको स्मरण गर्दै अहिले सहज रूपमा यात्रा गर्न पाइएकामा खुसी व्यक्त गरे । ‘गत वर्ष पानी पर्ने बित्तिक्कै दाउन्नेको जाममा फसिन्थ्यो । अहिले सडक फराकिलो र कालोपत्रे भएकाले यात्रा सहज भएको छ । यात्राको समय पनि घटेको छ,’ उनले भने । दाउन्ने क्षेत्रमा सहजरूपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीय बासिन्दा, व्यवसायी र यात्रुले राहत महसुस गरेका बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताए । ‘दाउन्नेको समस्या राष्ट्रिय चिन्ताको विषय बनेको थियो । अहिले सडक विस्तार अन्तिम चरणमा पुग्दा आवागमन सहज भएको छ । यसले स्थानीय अर्थतन्त्र, पर्यटन र दैनिक जनजीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ,’ उनले भने । गत वर्षको तुलनामा यस वर्ष दाउन्ने क्षेत्रमा सवारी व्यवस्थापन सहज भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए । ‘गत वर्ष निर्माण कार्य र वर्षाका कारण पटक-पटक लामो जाम व्यवस्थापन गर्नुपर्थ्यो । अहिले सडकको अवस्था सुधारिएकाले सवारी सञ्चालन सहज छ । सामान्य अवस्थामा लामो समय सडक अवरुद्ध हुने अवस्था आएको छैन । प्रहरी र आयोजनाबीचको समन्वयले पनि यातायात व्यवस्थापन प्रभावकारी बनेको छ,’ उनले भने । नारायणघाट-बुटवल सडक आयोजना (पूर्वी खण्ड) का सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले मुख्य सडकको कालोपत्रे र कङ्क्रिट ढलान सम्पन्न भएसँगै यात्रा सहज भएको बताए । ‘अहिलेसम्म पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति ९२.३८ प्रतिशत पुगेको छ । अब सडक सुरक्षा, लेन मार्किङ, साइनबोर्ड, रेलिङलगायतका काम भइरहेका छन् । विगतमा जस्तो निर्माणका कारण यात्रुले सास्ती बेहोर्नुपर्ने अवस्था धेरै हदसम्म हटेको छ,’ उनले भने । पूर्व-पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्डमध्ये पर्ने नारायणघाट-बुटवल सडक एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ । आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सडकको कालोपत्र तथा कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ भने सडक सुरक्षा तथा अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ । सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा पनि घण्टौं सडक अवरुद्ध हुने अवस्था यस वर्ष देखिएको छैन ।
मजदुरीको पैसा माग्न जाँदा खुकुरी प्रहार गरी हत्या, एकै घरका ३ जना पक्राउ
काठमाडौं । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका-१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्यु भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् । घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उनकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ परेका हुन् । तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए । अधिकारीको मृत्युपछि तीलकबहादुर आफैले फोन गरेर प्रहरीको सम्पर्कमा आएका थिए । उनकी श्रीमती र छोरीविरुद्ध मृतकका आफन्तले किटानी जाहेरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको उनले बताए । मुख्य आरोपित तीलकबहादुरको घरमा मजदुरी गरेको पारिश्रमिक माग्न गएको समयमा अधिकारीमाथि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका आरोपीलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको सूचना अधिकारी बस्नेतले बताए । अधिकारीको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । मृतक अधिकारी र सार्की परिवारबीच आर्थिक कारोबार रहेको तथा मृतक अधिकारी सार्कीको घरमा पुगेको अवस्थामा विवाद हुँदा सार्कीले खुकुरी प्रहार गरेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
आज ६ प्रदेशमा मेघगर्जनसहित भारी वर्षाको चेतावनी
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । देशका हिमाली भू-भागका केही स्थान, पहाडी भू-भागका धेरै स्थान र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ । देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागको धेरै स्थानमा तथा कर्णाली प्रदेशको पहाडी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा र कोशी प्रदेशको पहाडी, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा
काठमाडौं । स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान अमेरिकाको लस एन्जलसस्थित सोफी स्टेडियममा भएको क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो । स्पेनका लागि फाबियन रुइजले ३० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर बेल्जियमका चाल्र्स डे केटेलाएरले ४१औं मिनेटमा बराबरी गोल फर्काउँदै पहिलो हाफ १–१ मा टुंग्याए । दोस्रो हाफमा दुवै टोलीले अवसर सिर्जना गरे पनि खेलको ८८औं मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए । मेरिनोले यसअघि अन्तिम १६ मा पोर्चुगलविरुद्ध पनि निर्णायक गोल गरेका थिए । बेल्जियमले खेलको ७१औं मिनेटमा ठूलो धक्का बेहोर्नुपर्यो । अनुभवी गोलरक्षक थिबो कोर्टुवा तिघ्राको चोटका कारण मैदान छाड्न बाध्य भए । उनको स्थानमा आएका सेन्ने लामेन्सले अन्त्यतिर आएको प्रहार नियन्त्रण गर्न नसक्दा मेरिनोले रिबाउन्डमा गोल गरेका थिए । यो जितसँगै युरो २०२४ को विजेता स्पेनले विश्वकप उपाधितर्फको आफ्नो अभियानलाई थप मजबुत बनाएको छ । स्पेनले अब सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
पूर्वन्यायाधीश र संवैधानिक पदाधिकारीको सम्पत्ति छानबिन नगर्न सर्वोच्चको रोक
काठमाडौं । सर्वोच्च अदालतले पूर्वन्यायाधीश लगायत महाभियोगबाट मात्रै पदमुक्त हुने संवैधानिक पदाधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले नेपालको संविधानको धारा २३९ को विशेष व्यवस्था आकर्षित हुने व्यक्तिहरूलाई सम्पत्ति विवरण बुझाउन बाध्य नपार्न यस्तो आदेश दिएको हो । अधिवक्ता डा. प्रेमराज सिलवाल लगायतले सरकारले गैरसंवैधानिक रूपमा सम्पत्ति छानबिन आयोग गठन गरेको दाबी गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको हो । सर्वोच्चले पूर्ण इजलासबाट अन्तिम टुंगो नलाग्दासम्म कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु भन्दै उनीहरूले पेश गरिसकेको विवरण पनि छानबिन नगरी यथास्थितिमा राख्न र कसैलाई कानुनी कारबाहीको सिफारिस नगर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार आदेशमा प्रयोग गरिएको कसैलाई पनि भन्ने शब्दावलीले संविधानको धारा २३९ मा किटान गरिएका पदाधिकारीहरूलाई मात्र इंगित गरेको र यो सबैका हकमा लागू हुने छैन । अदालतको यो आदेशले पूर्वन्यायाधीशहरू, पूर्व संवैधानिक पदाधिकारी र नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरूलाई प्रभाव पार्नेछ । बहालवाला सैनिक अधिकारीका हकमा भने आदेश स्पष्ट छैन । संविधानको धारा २३९ अनुसार महाभियोगबाट पदमुक्त हुने व्यक्ति, न्यायपरिषदबाट पदमुक्त हुने न्यायाधीश र सैनिक ऐन बमोजिम कारबाही हुने व्यक्तिलाई पदमुक्त नभएसम्म अख्तियारले अनुसन्धान गर्न नपाउने व्यवस्था छ । बहालवाला न्यायाधीश र संवैधानिक पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउनुपर्ने बाध्यकारी व्यवस्था नभए पनि महाभियोग, न्यायपरिषद् वा सैनिक ऐन बमोजिम पदमुक्त भइसकेका व्यक्तिहरूले भने विवरण बुझाउनुपर्नेछ । मुद्दाको सुनुवाइका क्रममा सर्वोच्च अदालतले तीनवटा महत्वपूर्ण संवैधानिक प्रश्नहरू अघि सारेको छ । जसमा संविधानले नै भ्रष्टाचार अनुसन्धानका लागि अख्तियारको परिकल्पना गरेको अवस्थामा जाँचबुझ आयोग ऐन, २०२६ अनुसार अलग्गै आयोग गठन गर्नु संविधान र कानुन अनुकूल छ कि छैन ? यस्तै, महाभियोग, न्यायपरिषद् र सैनिक ऐन बमोजिम कारबाही भोग्ने अधिकारीहरूमाथि अनुसन्धान गर्ने संवैधानिक क्षेत्राधिकारको अतिक्रमण गरी सम्पत्ति छानबिन आयोगले जाँचबुझ गर्नु कति सम्मको संविधानसम्मत हो ? संविधानको धारा १३२ ले प्रधानन्यायाधीश वा सर्वोच्चको न्यायाधीश भइसकेको व्यक्तिलाई अन्य सरकारी पदमा नियुक्ति हुन बन्देज गरेको अवस्थामा (मानव अधिकार आयोग बाहेक), सर्वोच्चकै पूर्वन्यायाधीशलाई यस आयोगको अध्यक्षमा नियुक्त गर्नु संविधानसम्मत देखिन्छ कि देखिँदैन ? रिट निवेदनमा अत्यन्तै गम्भीर र जटिल संवैधानिक एवं कानुनी प्रश्नहरू समावेश भएको निष्कर्ष निकाल्दै सर्वोच्चले यसलाई पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ । यदि प्रधानन्यायाधीशले यसमा थप जटिलता देखेमा मुद्दा संवैधानिक इजलासमा समेत जान सक्नेछ । अदालतले विषयको गम्भीरतालाई ध्यानमा राख्दै मुद्दालाई अग्राधिकार (प्राथमिकता) दिएर १५ दिनभित्र पेशीमा राख्न र एक साताभित्र दुई/दुई जनाका दरले एमिकस क्यूरी अर्थात् अदालतका सहयोगी पठाइदिन नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई आदेश दिएको छ । आयोगले असार मसान्तसम्म सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको पृष्ठभूमिमा अदालतको यो आदेश आएको हो । अब गठन हुने पूर्ण इजलासले यिनै प्रश्नहरूमा केन्द्रित रहेर आयोगको औचित्य र क्षेत्राधिकारबारे अन्तिम न्यायिक व्याख्या गर्नेछ ।
नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी-२० शृंखला हुने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कीर्तिपुरस्थित त्रिवि (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी-२० शृंखला आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघले प्रेस विज्ञप्ति जारी गर्दै उक्त खेल तालिकासहितको विवरण सार्वजनिक गरेको हो । क्यानका अनुसार यो खेल शृंखला आगामी डिसेम्बर सन् २०२६ मा संचालन हुने तय भएको छ । स्कटल्याण्डमा सम्पन्न आइसिसी कन्फरेन्सका क्रममा नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्डका सचिव देवजीत साइकियाबीच भएको विशेष बैठकले यस टी-२० शृंखला आयोजना गर्ने महत्वपूर्ण निर्णय गरेको थियो । सार्वजनिक गरिएको खेल तालिका अनुसार नेपाल र भारत ’ए’ बीचको पहिलो टी-२० खेल डिसेम्बर ९ मा हुनेछ । यसैगरी, दोस्रो खेल डिसेम्बर ११ मा र तेस्रो तथा अन्तिम टी-२० खेल डिसेम्बर १३ मा कीर्तिपुर मैदानमा खेलिने नेपाल क्रिकेट संघका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
पशुपतिमा साउने सोमबारको तयारी सुरु
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ । मन्दिरका मूल भट्ट, भण्डारी, कोषका सञ्चालक परिषद्का सदस्यहरू तथा कोषका पदाधिकारीहरूबीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरेको हो । तयारी स्वरुप यही असार २७ गते शनिबारदेखि प्रत्येक दिन बिहान पशुपति क्षेत्रमा सफाइ गर्न सुरु गरिएको छ । बैकमा भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित रूपमा दर्शन तथा सेवा उपलब्ध गराउने विषयमा आवश्यक तयारी, व्यवस्थापन तथा समन्वयका विविध पक्षहरूमा विस्तृत छलफल गरी तयारी अघि बढाइएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।