विकासन्युज

युवालाई रोजगारीसँग जोड्न पहल, तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन् । मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभागलगायत निकायका प्रमुखहरूसँग भएको छलफलमा मन्त्री चौधरीले वर्तमान सरकारप्रति विशेषगरी युवा पुस्ताको ठूलो भरोसा र अपेक्षा रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न आग्रह गरिन् । उनले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिनाभित्र आफ्नो मातहतबाट कति युवालाई रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने यथार्थ विवरण तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिइन् । ‘युवा पुस्ताको अपेक्षाअनुसार परिणाम देखिने गरी काम गर्नुपर्छ। मन्त्रालय अन्तर्गतका सबै निकायले यसै महिनाभित्र कति युवालाई रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप र स्वयंसेवामा जोड्न सकिन्छ भन्ने स्पष्ट योजना पेश गर्नुपर्छ,’ मन्त्री चौधरीले भनिन्। उनले कार्यान्वयनमुखी र परिणाममुखी ढंगले काम गर्न आग्रह गर्दै कृषि, वन तथा वातावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्। साथै नयाँ स्नातक तथा विदेशबाट स्वदेश फर्किएका युवालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिइन्। छलफलका क्रममा विभागीय प्रमुखहरूले देशभर रहेका आफ्ना कार्यालयमार्फत हाल पनि पारिश्रमिकसहित तथा पारिश्रमिक बिनाका इन्टर्नसिप र स्वयंसेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए । विभिन्न विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीलाई इन्टर्नसिप सहभागी गराउने प्रयास भइरहेको भए पनि केही कानुनी व्यवस्थाका कारण कतिपय अवस्थामा सेवा-सुविधा उपलब्ध गराउन कठिनाइ रहेको उनीहरूको भनाइ थियो । जवाफमा मन्त्री चौधरीले आवश्यक कानुनी संशोधनका लागि सम्बन्धित मन्त्रालयसँग पहल गर्ने बताउँदै अहिलेका लागि मन्त्रालय अन्तर्गतका सबै कार्यालयबाट तत्काल कति युवालाई रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप तथा स्वयंसेवामा सहभागी गराउन सकिन्छ भन्ने विस्तृत तथ्याङ्क तत्काल पेश गर्न निर्देशन दिइन्। मन्त्री चौधरीले कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ नयाँ स्नातक तथा विदेशबाट स्वदेश फर्किएका नेपाली युवाका लागि साझा मञ्च निर्माण गर्ने तयारीसमेत अघि बढाइएको जानकारी दिइन्। मन्त्रालयले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड तथा जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गरी रोजगारी, पारिश्रमिकसहितको इन्टर्नसिप र स्वयंसेवाका अवसर उपलब्ध गराउने तयारी गरेको उनले बताइन्।

पीआर लिने लामा र तामाङलाई सरकारले सोध्यो स्पष्टीकरण

काठमाडौं । विदेशी मुलुकको स्थायी आवासीय अनुमति (पीआर) लिन आवेदन दिएको आरोपमा २ निजामती कर्मचारीसँग स्पष्टीकरण सोधिएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदा समाप्त भएपछि पनि कार्यालयमा अनुपस्थित रही विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन आवेदन दिएको देखिएकाले कम्प्युटर अपरेटर कुमारी लामा र दिपेश तामाङलाई स्पष्टीकरण सोधिएको हो । लामा र तामाङलाई ३० दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । निजामती सेवा ऐन, २०४९ को दफा ६१ उपदफा (१) को खण्ड (छ) र उपदफा (२) को खण्ड (ग) बमोजिम कसुर गरेको देखिएको उल्लेख गरिएको छ । साथै, सोही कसुरमा ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (२) बमोजिम सजाय किन नगर्ने भन्नेबारे ३० दिनभित्र स्पष्ट जवाफ दिन भनिएको छ । यसअघि पनि असार ४ गते निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) बमोजिम सूचना प्रकाशित गरिएको थियो । तर तोकिएको समयभित्र सफाइ पेश नगरेपछि पुनः ३० दिनको समय दिँदै स्पष्टीकरण माग गरिएको मन्त्रालयले जनाएको छ ।

भक्ति थापाको बाल्यकालसँग जोडिएको हरसिङडाँडा, गण्डकीकै उदाउँदो गन्तव्य

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ स्थित हरसिङडाँडा पछिल्ला केही वर्षदेखि आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । राष्ट्रिय विभूति भक्ति थापाको बाल्यकालसँग जोडिएको यो ऐतिहासिक डाँडा प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, शान्त वातावरण र ऐतिहासिक महत्वका कारण पर्यटकको आकर्षण बन्दै आएको छ । हालैमात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि हरसिङडाँडाको परिचयमा नयाँ आयाम थपिएको छ । नेपाल विद्युत् प्राधिकरण, लमजुङ वितरण केन्द्रले केही दिनअघि हरसिङडाँडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार गरेसँगै साँझपख डाँडा झिलीमिली बन्न थालेको छ । लामो समयसम्म सोलारको भरमा दैनिक काम चलाउँदै आएका स्थानीयले अहिले नियमित विद्युत् पाएका छन् । यसले स्थानीयको दैनिकीमात्र सहज बनाएको छैन, पर्यटन व्यवसायमा नयाँ ऊर्जा दिएको छ । प्राधिकरण लमजुङका प्रमुख सोवित बहादुर क्षेत्रीका अनुसार पर्यटकीय सम्भावना भएका स्थानलाई प्राथमिकतामा राखेर विद्युत् विस्तार गर्ने योजनाअनुसार हरसिङडाँडामा राष्ट्रिय प्रसारण लाइन पुर्याइएको हो । उनका अनुसार यसअघि बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन । अहिले करिब १० लाख रुपैयाँमा १८ वटा पोल गाडेर विद्युत् विस्तार गरिएको हो । आगामी दिनमा बजेटको उपलब्धताअनुसार जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पनि विद्युत् सेवा विस्तार गरिने उनले बताए । हरसिङडाँडामा पर्यटन व्यवसाय सञ्चालन गर्दै आभएका पूर्णबहादुर गुरुङका अनुसार विद्युत् पुगेपछि स्थानीय र पर्यटक दुवैलाई सहज भएको छ । ‘पहिले सोलारको भरमा काम चलाउनुपर्थ्यो । अहिले बिजुली आएपछि पर्यटकलाई सेवा दिन सहज भएको छ । मोबाइल चार्ज गर्न, खाना पकाउने, रातिको उज्यालो र अन्य सेवा प्रभावकारी भएका छन् । डाँडा झिलीमिली बनेपछि यहाँको आकर्षण पनि बढेको छ,’ उनले भने । सो स्थानमा केही वर्षअघि पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवाले संयुक्त रूपमा करिब ११ लाख रुपैयाँ लगानी गरी ३५ जनासम्म अट्ने हल निर्माण गर्दै खाना र बासको व्यवस्था गरेका थिए । स्थानीय युवाको यही पहलपछि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । अहिले विभिन्न मौसममा सयौँ पर्यटक यहाँ पुग्ने गरेका छन् । विद्युत् पुगेपछि पर्यटन व्यवसाय थप व्यवस्थित हुने अपेक्षा गरिएको छ । स्थानीय कृषि तथा पशुपालनबाट उत्पादित वस्तुको बिक्री बढ्ने, युवाले गाउँमै रोजगारी पाउने र गाउँको आर्थिक गतिविधि विस्तार हुने विश्वास स्थानीयवासीको छ । पहिलेजस्तो साँझ पर्नासाथ सुनसान हुने हरसिङडाँडा अहिले उज्यालोले मनमोहक भएको छ । हरसिङडाँडामा पुग्ने पर्यटकहरू यहाँको प्राकृतिक सौन्दर्यबाट लोभिने गरेका छन् । उनीहरूका अनुसार मनास्लु हिमशृङखला, बुद्ध हिमाल, डा हर्क पिक, मस्र्याङ्दी नदीको नागबेली, घलेगाउँ, कल्मेडाँडा, बेँसीसहर बजार तथा तनहुँको बन्दीपुरसम्मको दृश्यले मनै लोभ्याउँछ । सूर्योदय र सूर्यास्तको मनोरम दृश्यले यहाँ पुगेका जोकोहीलाई फेरि फर्केर आउन मन लाग्ने बनाउँछ । पर्यटकहरूका अनुसार हरसिङडाँडा घुमफिरका लागि मात्र होइन, साथी भाइ र परिवारसँग एक-दुई रात बसेर रमाउन मिल्ने उत्कृष्ट गन्तव्य बनेको छ । यहाँको शान्त वातावरण, स्थानीय आतिथ्यता, प्राकृतिक सौन्दर्य र भक्ति थापासँग जोडिएको इतिहासले थप मनोरम बनाएको छ । नयाँ पुस्ताले नेपालको वीर इतिहास बुझ्न पनि हरसिङडाँडा एकपटक पुग्नै पर्ने स्थल भएको उनीहरू बताउँछन् । हरसिङडाँडाको अर्को महत्त्वपूर्ण पक्ष यसको ऐतिहासिक महत्व हो । वि. सं १८०२ मा मर्स्याङ्दी गाउँपालिका-३ खुदीको ढुङ्गेबेँसीमा जन्मनुभएका राष्ट्रिय विभूति भक्ति थापाले बाल्यकालका धेरै समय यही डाँडामा गाईवस्तु चराउँदै बिताउनुभएको इतिहासमा उल्लेख छ । सोही स्थानमा उहाँले छेलो हान्ने, साथीहरूसँग खेल्ने र गाउँको परिवेशमा हुर्किने अवसर पाउनुभएको स्थानीयको विश्वास छ । भक्ति थापाको वीरताको सम्मानस्वरुप लमजुङका विभिन्न स्थानमा उहाँका सालिक तथा स्मृति पार्क निर्माण गरिएका छन् । तर उनको बाल्यकाल बितेको हरसिङडाँडाले भने अहिलेमात्र विकासको लय समात्न थालेको छ । सडक, विद्युत् र पर्यटन पूर्वाधार विस्तारसँगै यो स्थलको महत्व झन् बढ्दै गएको स्थानीय बताउँछन् । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङका अनुसार हरसिङडाँडा गाउँपालिकाको प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्य हो । राष्ट्रिय विभूति भक्ति थापाको इतिहाससँग जोडिएको यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्ने योजना गाउँपालिकाले अघि बढाएको उनले बताए । उनका अनुसार हरसिङडाँडासम्म पुग्ने सडकलाई थप स्तरोन्नति गर्ने, पर्यटकलाई सहज हुने पूर्वाधार निर्माण गर्ने, आवश्यक बजेट व्यवस्थापन गर्ने तथा देशव्यापी रूपमा प्रचारप्रसारलाई प्रभावकारी बनाउने तयारी भइरहेको छ । विद्युत् पुगेपछि पर्यटन विकासले थप गति लिने विश्वास व्यक्त गर्दै उनले स्थानीय सरकार यस क्षेत्रलाई गण्डकी प्रदेशकै आकर्षक ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताए । अध्यक्ष गुरुङले विद्युत् सेवा विस्तारले पर्यटनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने बताए । पर्यटकको सङ्ख्या बढ्दै जाँदा स्थानीय उत्पादनले बजार पाउने, होटल तथा होमस्टे व्यवसाय विस्तार हुने, युवाले गाउँमै रोजगारी सृजना गर्ने र समग्र गाउँको आर्थिक गतिविधि चलायमान बन्ने उनको विश्वास छ । स्थानीयका अनुसार केही वर्षअघिसम्म सुनसान देखिने हरसिङडाँडा अहिले विस्तारै चहलपहलले भरिन थालेको छ । सडक पुगेको छ, विद्युत् पुगेको छ, बास र खानाको व्यवस्था भएको छ । थपिँदो पूर्वाधारले एक दिन घुमेर फर्किनेमात्र होइन, एकदुई रात बसेर प्राकृतिक सौन्दर्य, हिमालको दृश्य र स्थानीय संस्कृतिको अनुभव लिन आउने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ । इतिहास, प्रकृति, संस्कृति र आधुनिक पूर्वाधारको सुन्दर सङ्गम बनेको हरसिङडाँडा अब केवल भक्ति थापाको बाल्यकालसँग जोडिएको ऐतिहासिक स्थलमात्र होइन, उज्यालोसँगै नयाँ सम्भावनाको ढोका खोल्दै अघि बढिरहेको पर्यटकीय गन्तव्य पनि बनेको छ । प्राकृतिक सौन्दर्य, ऐतिहासिक गौरव र स्थानीय आतिथ्यतालाई एकैसाथ अनुभव गर्न चाहनेका लागि हरसिङडाँडा आज लमजुङको मात्र होइन, गण्डकी प्रदेशकै उदाउँदो गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विकासका योजनाले निरन्तरता पाए र आवश्यक पूर्वाधार थपिँदै गए, राष्ट्रिय विभूति भक्ति थापाको सम्झना बोकेको यो डाँडा निकट भविष्यमै नेपालको प्रमुख ऐतिहासिक तथा पर्यटकीय गन्तव्यको सूचीमा दरिन सक्ने प्रबल सम्भावना देखिन्छ ।

स्वास्थ्य अवस्था अस्थिर बनेपछि गणेश नेपालीलाई तत्काल भारत नलैजाने

काठमाडौं । सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगुको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलैजाने निर्णय गरेको छ । उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझावका आधारमा सरकारले नेपालीलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पताल लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो । उनलाई तत्काल विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ आफैं खटिएका थिए भने सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरिएको थियो । सरकारले नेपालीका लागि एयर एम्बुलेन्सको व्यवस्था गर्नुका साथै भारतको विमानस्थलदेखि एम्स अस्पतालसम्म लैजाने सम्पूर्ण बन्दोबस्त मिलाएको थियो । यसअघि नै उनको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट व्यहोर्ने निर्णय पनि सरकारले गरिसकेको थियो । तर, वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानको जोखिम अझ बढ्न सक्ने चिकित्सकहरूले बताएका छन्। त्यसपछि उनलाई तत्काल भारत नलैजाने निर्णय गरिएको हो । चिकित्सकहरूले स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान उपयुक्त हुने सुझाव दिएका छन् । त्यसैले गृहमन्त्री गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका सदस्यहरू बिहीबार रातिदेखि वीर अस्पतालमै तयारी अवस्थामा खटिएका छन् । बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीरको ५५ प्रतिशत भाग जलेको छ । हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा.डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोली उनको उपचारमा खटिएको छ । चिकित्सकहरूको टोलीले उनको रक्तचाप नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्था स्थिर बनाउन निरन्तर विशेष औषधि उपचार गरिरहेको छ ।

३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली आयोजना अघि बढ्यो, लागत ५५.३३ अर्ब

काठमाडौं । मुगुको कार्मारोङ र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु भएको छ । अर्धजलाशय प्रकृतिको सो आयोजना ३०६ मेगावाट क्षमताको हो । एलिभेट इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाको उत्पादन अनुमतिपत्रको प्रक्रिया अगाडि बढाइएको छ । कम्पनीले २०७७ सालमा आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ । आयोजनाबाट वार्षिक सरदर एक हजार ६२९ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविन अर्यालले सम्भाव्यता अध्ययनको पूर्ण प्रतिवेदन प्राप्त भएपछि वास्तविक उत्पादन क्षमता टुङ्गो लाग्ने बताए ।  योजनास्थलमा प्रारम्भिक काम सम्पन्न भइसकेको छ । यस्तै, डिजाइन र हेडवक्र्सको अध्ययन हाइड्रोल्याबमा भइरहेको कम्पनीले जनाएको छ । विद्युत्गृहमा चारवटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन र जेनेरेटर जडान गरिनेछ । उत्पादित विद्युत् ५५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत फुकोट हब सबस्टेशनमा जोडिनेछ । कम्पनीले सन् २०३३ को अगस्टसम्म व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । विद्युत् विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन र सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाको कुल लागत ५५ अर्ब ३३ करोड रुपैयाँ बराबर रहनेछ ।

राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण

चार विधेयक प्रमाणीकरणकाठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।  राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहीबार नै राष्ट्रपति कार्यालयमा पेस भएका थिए । 

बीपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने

काठमाडौं । पटक पटकको बाढी पहिरोले क्षतिग्रस्त भई पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रेपलाञ्चोक-सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ । पुनर्निर्माणसँगै अबको केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाटै सवारी सञ्चालन गरिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेको थियो । हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरुद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ  । ‘वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्ड-खण्डमा पुनर्निर्मित ट्रयाकबाटै पूर्ण रूपमा सवारी आवागमन हुनेछ, विपद्का कारण अवरुद्ध भएमा आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ, यसका लागि आवश्यक उपकरण तम्तयार अवस्थामा राखिएको छ,’ कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले भने ।  उनका अनुसार साविककै स्थानमा पुनः निर्माण भएका अधिकांश खण्डबाट आवागमन भइरहेको छ । यसअघि भने खोलामै अस्थायी डाभइभर्सन बनाइएकाले रोसी खोलाको बहाव बढ्नेबित्तिकै डाइभर्सन बगाउने र सडक अवरुद्ध हुने गरेको थियो ।  सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकबाट सवारी चलाइएको छ । चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले-बर्खेखोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरेको छ । क्षतिग्रस्त स्थानमा ग्राभेलको काम तथा अन्य केही स्थानमा वर्षाका ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ । वि.सं २०८१ असोजको बाढी पहिरोले राजमार्गको भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । सवारी सञ्चालन गर्न रोसी खोलामा अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढीले बगाउने गरेको थियो ।  क्षतिग्रस्त चार खण्डमध्येको खण्ड बर्खे खोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक निर्माणको काम जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले गरिरहेको छ । जाइकाले उक्त खण्डमा माटो भरेर बोल्डर (ठूला ढुङ्गा) राख्ने काम गरिरहेको छ । राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ ।  ‘पुनः निर्माण हुने सडक खण्ड दुई लेनको छ । हाल सञ्चालनमा रहेको पुलसँगै अर्को नयाँ पुल निर्माण गरिन्छ,’ योगेशले भने । उनका अनुसार पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ । क्षतिग्रस्त कुल २९.५ किलोमिटर सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडकलाई जाइकाले २ अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारी भएको छ ।  जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो ।

मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । पेनाल्टीमा चुकेका कप्तान केलियन एम्बाप्पेले दोस्रो हाफमा गोल गर्दै आफ्नो गल्ती सच्याए भने उस्मान डेम्बेलेको गोलसँगै फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। बोस्टन स्टेडियममा भएको खेलमा फ्रान्सका एम्बाप्पेले ६०औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको जित सुनिश्चित गरे । जारी विश्वकपमा एम्बाप्पेले आफ्नो गोलसंख्या ८ पुर्‍याएका छन्, जुन अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँग बराबरी हो । मोरक्कोले खेलभर संघर्ष गरे पनि फ्रान्सको सुदृढ रक्षापंक्तिलाई तोड्न सकेन ।  खेलमा जित निकालेसँगै फ्रान्सले आफ्नो तेस्रो विश्वकप उपाधि जित्ने अभियानलाई जीवित राखेको छ ।  फ्रान्सले यसअघि १९९८ र २०१८ मा विश्वकप जितेको थियो भने २०२२ को कतार विश्वकपमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । २०२२ को कतार विश्वकपमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरक्कोले यसपटक पनि उत्कृष्ट यात्रा तय गर्दै अन्ततः क्वार्टरफाइनलबाट बिदा भयो ।